व्यङ्ग्य कथा : बिघ्नहर्ता गणेशको गुनासो

~अल्पविराम~AlpaBiram

भर्खरै एउटा बिरामीको छ घण्टा लामो अपरेसन सिध्याएर म आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा पसेको थिएँ / मैले एउटा आकृतिलाई त्यहाँ बसिरहेको भेट्टाएँ /च्याम्बर अँध्यारो अँध्यारो थियो त्यसैले त्यो आकृतिलाई मैले ठम्याउन सकिन / त्यहाँ त्यो आकृतिको उपस्थिति देखेर मनमनै रिश पनि उठिरहेको थियो / तैपनि संयमित हुँदै बत्ती बालें , देख्छु त बिघ्नहर्ता लम्बोदर गणेश हुनुहुँदो रहेछ / सम्पूर्ण थकाई बिर्सेर मैले धनुष टंकार नमस्कार गर्दै भनें—“हे ..भगवन ! आज मेरो कुटी पबित्र भयो ,म धन्य भएँ / मेरो जन्म सार्थक भयो /आज्ञा बक्स्योस प्रभु ! मैले हजुरको के सेवा गरूँ ?”

…भगवानले आज्ञा गर्नु भयो –“हे वत्स ! डाक्टर प्रसूनविभा श्रेष्ठ तिमी नै होइनौ ?”

……………मैले भनें –“हो प्रभु !”

………….प्रभुले आज्ञा गर्नु भयो– “मैले तिम्रो धेरै नाम सुनेको छु /आधुनिक चिकित्सा क्षेत्रमा तिम्रो सफलता र प्रशिद्धि यो जम्बुदीप भरि फैलिएको छ /”

…….मैले भनें –” प्रभु ! यो सब हजुरकै आशिर्वादको कारणले हो /यस्तै आशिर्वाद भविष्यमा पनि रहिरहोस् /”

………प्रभुले आज्ञा गर्नु भयो –” हे वत्स ! यो मेरो आशिर्वादले होइन /तिमी आफ्नै मेहनतको कारणले यहाँसम्म आइपुगेका हौ /तिम्रो हातमा जादुगरी शक्ति छ / त्यसैले तिमीबाट मेरो समस्याको समाधान हुन्छ भन्ने सोंचेर आएको हुँ / के तिमी मेरो समस्या समाधान गर्न तयार छौ ?”

…”हजुर आफै बिघ्नहर्ता ,संकट मोचन अनि हजुरलाई नै त्यस्तो कुन संकट आइलाग्यो ,प्रभु !” –मैले भनें / ……. “म यति बेला मानसिक पीडाले आहत छु , .व्यंग्य नगर ,वत्स ! मेरो समस्या सुन / लामो कालखण्ड पछी आज मैले मेरो समस्या समाधानको झिनो आशा लिएर आएको छु / मेरा अदूरदर्शी ,अब्यबहरिक र अबैज्ञानिक माता-पिताको कारण आजसम्म मैले यो दुख झेल्नु पर्यो / जब म टाउको सहित तीस किलोको बालक थिएँ ,मेरो पिताले आफ्नै छोरालाई नचिनेर मसंग युद्ध गर्नु भयो /युद्धमा मेरो पिताले गींड र टाउको छुट्याएर मेरो हत्या गर्नु भयो /मेरो माता गौरीको अनुनय बिनय पछी त्यहीं नजिकै रहेको मेरो एक किलो भरिको टाउको मेरै शरीरमा नजोडेर जंगली हात्तीको तीस किलो वजन भएको टाउको जोडी दिनाले मलाइ हिड्न डुल्न चल्न फिर्न कठीन भएको छ /मेरो यो धानी नसक्नु तीस किलो वजनको टाउको काटेर फ्याकी देऊ र कुनै एउटा मान्छेको टाउको जोडी देऊ ,वत्स ! मेरो लागि यो ठुलो कल्याण हुनेछ /

……………….प्रभुको यो बिन्ति भाऊले मलाइ फसाद पार्यो /हुदैन भनेर ठाडै जवाफ पनि कसरि दिने ? मैले उपाय सोच्न थालें र उपाय सुझे पछी भनें –“भगवन ! हजुरको भक्त यो अदना मनुवाले भन्दा महा -बुद्धिमति ,बिद्ध्याकी खानी हजुरको दिदी सरश्वतीले यो समस्याको समाधान दिन सकी बक्सन्थ्यो कि ! एक पटक उहाँलाई सोधी बक्स्योस् /”

…………मेरो यो भनाई सुनेर बिघ्नहर्ता प्रभुले मुखै अमिलो बनाउनु भयो र भन्नु भयो –“हे वत्स ! म तिमीकाँ आउनु पुर्व सरश्वती दिदीलाई पनि भेटि सकेको छु /”

सरश्वती दिदीले भन्नु भयो –“हे गणेश ! म यदि त्यस्तो बुद्धि दान र बिध्या दान गर्न सक्ने भई दिएको भए मेरो पूजा आराधना मात्रै गर्ने तर अभ्यास नगर्ने मेरा भक्तहरु असफल हुनु पर्दैनथ्यो /दुनियाका अरु मानिसहरु भन्दा बुद्धिमान र शिक्षित हुने थिए / चन्द्र र मंगल ग्रहहरुमा यानहरु पठाउन सक्ने र मानव वस्ती बसाल्ने बैज्ञानिक हुने थिए /प्रकृतिले दिएको उपहारहरुको सहि ब्यबस्थापन र सदुपयोग गरेर सुखी हुने थिए / म पनि यौटी नारी हुँ , हेर त जम्बुदीपका नारीहरुको हालत ,लोग्ने मान्छेबाट हेपिएका छन् शोसिएका छन् / तर तिनै लोग्ने मान्छेको दीर्घायूको कामना गर्दै तीर्थ ब्रत दान धर्म गर्छन् /लोग्ने मर्यो भने किरिया बस्छन् /जिन्दगी भर मृत लोग्नेको नाम जपेर बस्छन् /उता लोग्ने मान्छेहरु भने स्वास्नी मर्यो भने किरिया पनि बस्न नपर्ने , बरु अर्को बिहे गर्न हतारिन्छन् / सम्पति जति आफ्नो नाममा बनाउने गर्छन् /जम्बुदीपका नारीहरुको पुरुष निर्भर जिन्दगी पनि कुनै जिन्दगी हो ? तिनीहरुको लागि त मैले केहि गर्न सकिन भने तिम्रो लागि म के गर्न सकुँली र !’ —

सरश्वती दिदीबाट निराश भएर म धन धान्यकी देवी लक्ष्मी माता भए ठाउँमा पुगें र आफ्नो समस्या सुनाउँदै भने – -“माता ! यो मेरो समस्या समाधान गर्न म अमेरिका अथवा युरोप जान चाहन्छु / मलाइ अलिकता धन दिई बक्स्योस न /’

…………मेरो कुरा सुनेर माता लक्ष्मी व्यंग्य पुर्बक खिस्स हाँस्नु भो र भन्नु भो –“बाबु ,गणेश ! लेख्नेहरुले पुस्तकमा के के लेखि दिए कुन्नि आपत मलाई परेको छ / मैले केही दिन नसके पनि धन्न मेरा भक्तहरुले मेरो पूजा आराधनामा ,म प्रतिको आस्थामा कुनै कमी आउन दिएका छैनन् /हेरन ,मेरो सम्मानमा दीयो बाल्दा तिम्रो वाहन मुसोको बदमासीले मेरा भक्तहरुको भएको धन सम्पति पनि जलेर खरानी हुन्छ र पनि म प्रति कुनै शिकायत छैन / मैले धन वर्षा गर्न सक्ने भएको भए मेरा भक्तहरुलाई विश्वको सब भन्दा धनी बनाइ दिन्थें / विश्वमा सब भन्दा गरिब भएर अरु संग भिख माग्न पर्ने किन बनाउँथें र ?नयाँ नबीन सिर्जनशील कर्म गरे धन आफै वर्षन्छ ,पुत्र गणेश ! जाऊ कर्म गर / …………

माताको ओँठे जवाफ सुनेर रन्थनिदै थिएँ, मेरो वाहन मुसोले भन्यो –“प्रभु ! हजुरको समस्या समाधान गर्ने जम्बुदीपको नेपाल खण्डमा एउटा डाक्टर छ,त्यसलाई भेटि बक्स्योस /”–सबै भन्दा बुद्धिमान त मेरै वाहन मुसो रहेछ भन्ने मलाई लाग्यो र मुसाको सल्लाह अनुसार म यहाँ आएको हुँ ,वत्स !

चिकित्सा विज्ञानमा अहिलेसम्म टाउको ट्रान्सप्लान्ट पद्धतिको विकास भएको छैन /अब मैले कसरि सम्झाउने ?कसरि पन्छाउने ? भगवान श्री गणेशलाई/,मलाइ आपत पर्यो /धेरै बेर गम खाएँ ,युक्तिहरु सोँच्न थालें ,अन्तिममा यौटा उपाय सुझ्यो र भनें —“प्रभु ! हजुरका पिताले हजुरको शरीरमा हात्तिको टाउको जोड्न सकी बक्सन्छ भने अहिले पनि यो हात्तिको टाउको फालेर मान्छेको टाउको जोडी दिन सकी वक्शनु पर्ने हो / एक चोटी सोधी बक्स्योस न ! आखिर उहाँ देवाधिदेव महादेव होईबक्सन्छ /आफ्नो पुत्रको पीडा पिताले नबुझे अरु कसले बुझ्न सक्छ र ?”– मेरो कुरा सुनेर बिघ्नहर्ता श्री गणेशले रूँला जस्तो गरेर अमीलो अनुहार बनाउनु भयो र भन्नु भो –“हे वत्स !मेरो पिता त्यति बुद्धिमान त्रिलोकदर्शी हुनुहुन्थ्यो भने त्यहीं नजिकै रहेको मेरो आफ्नै टाउको छंदा छंदै सारा जंगल चाहारेर हात्तीकै टाउको खोजेर ल्याएर मेरो तीस किलोको शरीरमा तीस किलो भन्दा गरुङ्गो वजनको त्यो टाउको किन जोड्नु हुन्थ्यो र / हेर्दै जाऊ वत्स ! कुनै दिन मेरो पिता पनि तिमीसंग सहायता माग्न आउने छन् /बरु के तिमी मेरो सहायता गर्न असमर्थ छौ ?” ……………मैले भनें–” हो प्रभु ! हजुर आफै बुद्धिमान होइबक्सन्छ ,मैले के भनुँ ? आजसम्म चिकित्शा विज्ञानले मुटु, किड्नी, आँखा र रगत फेर्न सके पनि टाउको फेर्न अझै सकेको छैन ,प्रभु ! यो नादान मनुवालाई क्षमा गरिबक्स्योस /”

मेरो कुरा सुनेर भगवान श्री गणेश लामो सुस्केरा हाल्दै अन्तर्ध्यान हुनु भयो /

**** **** ****

प्रिय पाठकहरु कथा अझै सकिएको छैन / कथाको कुन चाहीं अंश अझै बाँकी रह्यो ? तपाईंहरु अनुमान गर्दै गर्नु होला /म लागें कथाको बाँकी अंश तिर / भगवान श्री गणेशसंग साक्षात्कार भएको करिब हप्ता दिन पछिको कथा हो यो /

.मैले आफ्नो च्याम्बरमा अन्तिम बिरामीको चेकअप सक्दा रातको एघार बजि सकेको छ / भदौ शुरु महिना, बाहिर झ्याम झ्याम पानी परिरहेको छ /आफ्नो घर जाने तरखरमा बत्ति निभाएर ढोका बाहिर निस्कनै लाग्दा एउटा आकृतिले मेरो बाटो छेक्यो /

“यो केअशिष्टता हो ? ई …….! / “मेरो बाटो छेक्ने त्यो आकृतिलाई गालि गरें / आकृतिले शिस्ट भाषामा भन्यो …..”.माफ गर डाक्टर ! तिमीलाई भेट्ने यही एउटा उपयुक्त समय थियो / मलाई भित्र आउन देऊ /”………. आकृतिको शिस्ट ब्यबहारले मलाई च्याम्बरको बत्ति बाल्न प्रेरित गरिरहेको थियो / को होला यो आकृति ? जो यसबेला राति मलाई भेट्न आइरहेकोछ भन्ने उत्सुकता र डाक्टर हुनुको नाताले मलाई बत्ति बाल्न प्रेरित गरिरहेको थियो / बत्ति बालेर हेर्दा देख्छु त ….बायाँ हातमा त्रिशुल दायाँ हातमा डम्मरु लिएका जटाजुट धारी भगवान श्री पशुपतिनाथ …मैले तुरुन्तै सास्टांग दण्डवत गर्दै भनें …….हरहर महादेव ….सदाशिव शंकर भोलेनाथको जय होस् ! हजुरको साक्षात् दर्शन पाएर यो अकिन्चन मनुवाको जीवन सार्थक भयो ,प्रभो !…….. नजिकैको कुर्सि देखाउँदै मैले भने — “आशन ग्रहण गरि बक्स्योस ,प्रभो ! “……..श्री महादेव कुर्सीमा बस्नु भए पछी मैले भनें —–“आज्ञा होस् प्रभो ! मैले के सेवा गरौँ ?”……………..श्री महादेवबाट आज्ञा भयो —“डाक्टर प्रसून ! लुतो दाद र घाऊ खटिराले म व्यथित छु ,मेरो उपचार गरि देऊ /” ……………..मैले श्री महादेवको शरीरको जांच गरें /शरीर भरि ,गुप्तांग भरि ढुंगामा लेउ लागे जस्तो धातुमा खीया लागे जस्तो दागै दाग देखेर भनें —–“प्रभो ! यो सबै फोहर र दुषित पानीको परिणाम हो / डेटोल साबुन र शुद्ध सफा मनतातो पानीले नुहाई बक्स्योस,/ यो सबै सन्चो हुन्छ ,चिन्ता नलिई बक्स्योस / …मैले डेटोल साबुन दिदै भने” — हजुरले स्नान गर्ने नदीमा सेफ्टी टेंकी र ढल मिसाउने हातहरुलाई दण्ड दिनु पर्यो , प्रभो ! ………….श्री महादेवले मुसुक्क हाँस्दै आज्ञा भयो —“तिनै हातहरुले मलाई गाईको दूध तथा जलले स्नान गराई मेरो पूजा आराधना गर्छन् ,मैले कसरि दण्ड दिन सक्छु , डाक्टर !” ……”.ए ….त्यसो पो !….. रिसानी माफ भए एउटा कुरा बिन्ति गरुँ कि, प्रभो !”–मैले बिन्ति बिसाएं / मेरो सेवाले अनुगृहित हुनु भए जस्तै गरी श्री महादेवले आज्ञा गर्नु भयो /—“.हुन्छ” ……..त्यहि बेलामा मेरो मोबाइलको घन्टी बज्यो / फोन घरबाट आएको हो भन्ने कुरामा म पहिले नै सचेत थिएँ र फोन रिसिव गर्दै मैले भनें —ए पर्ख , म एक छिन ढिलो हुन्छु / भनेर फोन बन्द गरि दिएँ / मैले फोन बन्द गर्ने बितिक्कै श्री महादेवबाट आज्ञा भयो —“एउटा होइन दुईटा सोध ,म तिम्रो पनि आभारी छु , डाक्टर !……….. श्री महादेवको अनुमति पाएर मैले भनें ? —“प्रभो ! एक हप्ता अगाडी भगवान श्री गणेश पनि मलाई भेट्न आईबक्सेको थियो /” ……….”किन आएको रहेछ ?” —श्री महादेवले उत्सुकता जाहेर गरि बक्स्यो / ……….मैले भनें –“प्रभो ! उहाँको शरीरमा हात्तिको टाउको हजुरले जोडी दिई बक्सेको हुनाले त्यो टाउकाको बोझले गर्दा पीडा भयो रे / त्यो टाउको फालेर मान्छेको टाउको जोड्नु पर्यो भन्ने श्री गणेशको ईच्छा थियो / मैले भनें अहिलेसम्म चिकित्सा बिज्ञानमा त्यो प्रबिधिको अविष्कार भएको छैन /हजुरकै पिताले सकी बक्सन्छ भनेर फिर्ता पठाएको थिएँ /के हजुरबाट त्यो सम्भव छैन ? “……………..एकै छिनको मौनता पछी श्री महादेवबाट आज्ञा भयो -“-डाक्टर ! तिम्रो मस्तिष्क र शरीर दुवै आधुनिक छन् /बैज्ञानिक युगको तिम्रो मस्तिष्कले के भन्छ ?” ………………..मैले भनें–” प्रभो ! विज्ञानमा असम्भव भन्ने कुरा केहि पनि छैन / तर अहिलेको समयसम्म मान्छेकै टाउको जोड्ने प्रविधिको अविष्कार भएको छैन भने परापुर्ब कालमा हजुरले मान्छेको शरीरमा त्यो पनि बालकको शरीरमा वयस्क हात्तिको टाउको जोड्नु भयो होला भन्ने कुरामा म सहमत छैन /.”……………..”.सटिक उत्तर दियौ तिमीले /यो सब उडन्ते मस्तिष्कको सुन्दर आख्यान काब्य हो / हामी देवी देवताहरु पनि तिनै उडन्ते मस्तिष्कको सुन्दर काब्यबाट विम्व वा प्रतीकको रुपमा सिर्जना भएका हौँ /जबसम्म त्यस्तै मस्तिष्कहरुको अस्तित्व रहने छ तबसम्म हाम्रो पनि अस्तित्व रहने छ / जसलाई राजा महाराजा र सामन्तहरुले मलजल गरे र आफ्नो पक्षमा प्रयोग गरेर शक्तिशाली पनि बने / हामी त केवल आस्थाका देवी देवता हौँ /जबसम्म आस्था जीवित रहनेछ हामीलाई पुज्ने छन् /आस्थाको मृत्यु हुँदा हामीलाई कुल्चने छन् र कुल्ची रहेका पनि छन् / न त हामी हाम्रा भक्तहरुलाई केहि पुरस्कार वा वरदान दिन सक्छौं न त हाम्रा बिरोधिहरुलाई दण्ड नै दिन सक्छौं / अर्को कुरा पनि ध्यान दिएर सुन ,आस्थाका बन्दीहरुलाई झुक्याउन ठग्न र बलीको बोका बनाउन सरल र सहज हुन्छ /त्यसैले तिम्रो समाजमा पाप गर्नेको फलिफाप भएको हो /अरु पनि केहि जिज्ञाशा बाँकी छन् कि ,डाक्टर ? “………..मैले भनें –“धन्यवाद प्रभो ! अब जिज्ञाशा नै के रह्यो र /”

……..अलख निरन्जन उद्घोषका साथ डम्मरु बजाउँदै श्री महादेव अन्तर्ध्यान हुनु भयो / महादेवको डम्मरुको तीखो आवाजले म ब्युँझें अनन्त निद्राबाट ब्युँझें / ब्युँझंदा झलमल्ल घाम लागेको थियो चेतनाको / मेरी चार वर्षे छोरी आफ्नी आमासंगै पूजा कोठामा बसेर डम्मरु बजाईरहेको आवाज आइरहेको थियो /

***************************************************************************************

मलाई भारवी र बिनोबाभावेको कथा स्मरण हुन्छ / दुनिया संसारले आफ्नो प्रसंशा गरिरहँदा आफ्नै पिताबाट आलोचना सुन्दासुन्दा वाक्क दिक्क भएका भारवी क्रोधको चरम चुलीमा पुगेर पितालाई काट्ने निर्णय गरिरहेको बेला पिताले आफ्नो पुत्रको तुलना चन्द्रमाको कान्ति र प्रकाशसंग गरिरहेको उसले सुन्यो र खुशीले गद्गद् भयो /शुभ चिन्तकहरु सामुन्ने प्रसंशा गर्दैनन् भन्ने उसले बुझ्यो / यता बिनोवाभावे आफुलाई प्राप्त भएका प्रसंशाका पत्रहरु पढेर च्यात्थे तर आलोचना गरिएका पत्रहरु जतन साथ सम्हालेर राख्थे / दुवै सम्मानित पात्रहरु मेरा लागि प्रेरणाका स्रोत हुन् /

नारायण गाउँले ,वस्ती गुरु ,हरि मानन्धर ,भक्ति पौड्याल ,खगेन्द्र लिम्बु ,श्रीराम गौतम लगायतका धेरै साथीहरुले बिना कुनै पूर्वाग्रह मेरो सिर्जनामा गाली र ताली दिनु हुन्छ र मेरा कमीकमजोरी औंल्याई दिएर मलाई गुण लगाईरहनु भएको छ / तपाईहरुको यो गाली र ताली मेरा लागि अमुल्य निधि हुन् / म यसलाई सम्हालेर राख्ने छु /

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा, हास्य - व्यङ्ग्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.