~हेमबहादुर गन्धर्व~
एउटा
ढाका टोपी
टाउकोमा झल्काउँदैमा
एक जोडा
सेता दौरा सुरूवाल
शरीरमा टल्काउँदैमा
एउटा
कालो कोट
छातीमा हल्लाउँदैमा
तिमीलाई म
कसरी नेपाली मानौँ ?
कसरी नेपाली ठानौँ ?
एउटा
बोक्रे भाषण
नेपाली शब्दमा बोल्दैमा
एउटा
जन्मपत्र
नेपाली भूमिको राख्दैमा
तिमीलाई म
कसरी नेपाली भनाँै ?
कसरी नेपाली गनौँ ?
जबकि
यही माटोमा जन्मिएर तिमी
यही माटोमा हुर्किएर तिमी
यही मोटो
तोड्न हिँड्छौँ भने
जब कि
यही देशमा बाँचेर तिमी
यही देशमा हाँसेर तिमी
यही देश
फोर्न हिँड्छौँ भने
तिमीलाई म
कसरी नेपाली भनेर बुझौँ ?
कसरी नेपाली भनेर बोलौँ ?
जब
तिमी बोल्दा
अखन्डता रोइरहन्छ
र, विखन्डता हासिरहन्छ भने
जब
तिमी हिँड्दा
राष्ट्रियता भासिँदै जान्छ
र, राष्ट्रघात चुलिँदै जान्छ भने
तिमीलाई म
त्यसैले
नेपाली बन्न तिमी
टाउकोमाथि ढाका टोपी
झल्काएर होइन
टाउकोभित्र
राष्ट्रप्रेम झल्किएको हुनु पर्छ
शरीर बाहिर
सेता दौरा सुरूवाल
टल्काएर होइन
शरीरभित्र
रातो देशभक्त रगत
बगेको हुनु पर्छ
छातीमा
कालो कोट हल्लाएर
होइन
छातीभित्र
अखन्ड नेपालीको तस्विर
कोरिएको हुनु पर्छ
त्यसैले
नेपाली हुन तिमी
भाषामा
नेपाली होइन
भावनामा नेपाली हुनु पर्छ
जन्मपत्रमा नेपाली
होइन
जीवन नै नेपाली
हुनु पर्छ
त्यसैले
तिमीभित्र
राष्ट्र भावनामा खडेरी
परेका कारण
अखन्ड भावनामा डढेलो
सल्केको कारण
बेकार लाग्छ
नेपाली गन्न पनि तिमीलाई
धिक्कार लाग्छ
नेपाली भन्न पनि तिमीलाई
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १३ – Feb. 06, 2013 – २०६८ माघ २४ गते, बुधबार)