कथा : सेक्सफ्री अमेरिका !

~शिव प्रकाश~

त्यसपछि …!
उसले टीसर्ट फुकाल्दै भनी, ‘मलाई सेक्सको भोक अलिकति पनि छैन तर सेक्स एक्सपिरियन्सको भोक कति हो कति छ।’

त्यसअघि …!
अचानक एक दिन सोधेको थियो। उसले वाचा गरेकी थिई, कुनै दिन बुझाऊँला- सेक्स फ्री अमेरिका !’
चौबीस-पच्चीसकी हुदीँ हो। नौनीजस्तो छाला। सुनकेस्राजस्तो कपाल।

सागरजस्ता आँखा। कसिलो जीउ। बाटुला पाखुरा। पोटिला पिँडुला। नम्र बोली। भद्र हिँडाइ। जन्मँदै ओठमा मुस्कान टाँसिएजस्तो। सधैं मुसुक्क !

ऊ काम गर्ने पसलमा कहिलेकाहीँ बियर किन्न आउँथी। बिस्तारै बिस्तारै सधैं आउन थाली। झन्डै तीन महिनापछि एक दिन सोधी, ‘तिमी कुन देशबाट आएको ? ‘

‘नेपाल।’

पढेलेखेकी केटी। नेपालको भूगोल र संस्कृतिका बारेमा राम्रै जानकारी। दिनहुँ गफिन थाली। धेरै दिनपछि सोधी, ‘तिम्रो नाउँ के हो ? ‘उसले आफ्नो नाउँ बतायो। उसको नाउँ सुनेर आँखा घुमाई। मुसुक्क हाँसी। ऊ पनि हाँस्यो। तिमीसँग भेटर खुसी लाग्यो भन्दै हात मिलाई, हिँडी। एउटी सुन्दर युवतीको कोमल हातको हार्दिकताको तरंग भित्रभित्रै फैलियो।’म तिमीलाई अर्कै नाउँले बोलाउँछु, हुन्छ ? ‘ अर्को दिन आएर अर्को कुरा गरी।

पुरुष हो, अप्सराजस्ती सुन्दरीले भनेको कुरा माइन्ड गर्ने मूर्ख को होला ? उसले त्यो युवतीको सुन्दरतालाई आफ्ना हैन, विश्वामित्रका आँखाले हेर्न थालिसकेको थियो। लाग्थ्यो, उसका सामु कामरूपी मेनका उभिएकी छे।
‘म तिमीलाई मिस्टर सी भन्छु है त।’

जे भने पनि स्वीकार्ने भइसकेको थियो। स्वीकार्दै धन्यवाद भन्यो। मुसुक्क हाँस्दै कामरूपीको नाउँ सोध्यो। हात अघि बढायो, ‘मेरो पनि तिम्रोजस्तै छ तर अलिकति फरक ! मिस सी अर्थात् मिस क्रिस्टल !’

हाँसोमा हाँसो मिलाई। हातलाई हातले साथ दिई। आँखामा आँखा मिसाई।मान्छेका काँचा हात होइन, वाफिलो वासना भरिएको जिउँदो फूल सुम्सुम्याएजस्तो भयो उसलाई। एकछिन सुम्सुम्याइरह्यो। क्रिस्टलले हातमा अर्को हात पनि मिसाई। मुसुक्क मुस्कुराई। सी यु टुमरो भन्दै हिँडी।

क्रिस्टलका हात फेरि एकपटक छुन पाए कस्तो हुँदो हो भन्ने भोक थियो। छोयो तर भोक मरेन, भोकमाथि भोक थपियो। भोकको आगो राँकिन थाल्यो।

क्रिस्टलका हात सुम्सुम्याएका उसका हातलाई शरीर सुम्सुम्याउने आगोले पोल्न थाल्यो। आगो शरीरभरि फैलियो। चिताजस्तो भयो सधैं सुत्ने ओछ्यान। काँचो मुढो बलेजस्ते बल्न थाल्यो। सास फेर्न छोड्यो। सास फेर्ने नाकबाट सेक्सको धूवाँ पुत्पुत् निस्कन थाल्यो।

भोलिपल्ट उसका आँखा पसलभन्दा सडकतिरै हराउन थाले।घाम डुब्दै गर्दा क्रिस्टल झुल्किई। उसको मनमा अर्को घाम झुल्कियो। काउन्टरबाट दौडियो। ढोकामा गयो। खुसी हुँदा मुजुरले प्वाँख फिँजाएजस्तै ढोकामै क्रिस्टलले दुई हात फिजाइँ। निक्कै बेर क्रिस्टलका बाटुला पाखुरामा बाँधियो। भरिलो छातीमा लुटपुटियो, बालख लुटपुटिएजस्तो।

भत्भती उम्लेको तातो पानीबाट निस्किएको वाफजस्तै छ, क्रिस्टलको काँचो शरीरबाट निस्किएको राग ! तातो रागको रापले झन् भित्रभित्रै तप्तप् भयो, उसको भोको शरीर।

‘आई लाइक योर गोटी !’उसका दाह्री सुम्सुम्याउँदै क्रिस्टलले गहिरा आँखाले हेरी। पानीमा पानी मिसिएजस्तो आँखामा आँखा मिसिए। एकछिन आँखामा आँखा विलीन भए।

‘आज तिमी कति बजेसम्म काम गर्छौ ? ‘ क्रिस्टलले सोधी।
‘राती ११ बजेसम्म !’ उसले सीधा जवाफ दियो।

‘भोलि ? ‘
‘भोलि पनि।’
‘छुट्टी कहिले ? ‘
‘सोमबार ? ‘
‘भोलि मिलाउन सक्छौ ? ‘
‘भोलि नै किन ? ‘
‘म तिम्रो प्रश्नको प्राक्टिकल जवाफ दिन्छु।’

त्यति बेलै क्रिस्टललाई लागेको थियो, यसको प्रश्न एक अबोध जिज्ञासा हो। उत्तर प्राक्टिकल दिनुपर्छ। त्यही प्रश्न उसले क्रिस्टललाई सोधेको थियो, जुन प्रश्न उसलाई अँणबादुरले सोधेको थियो।

ऊ भोलिको दिनलाई शुभदिन बनाउन चाहन्थ्यो। जसरी भए पनि छुट्टी मिलाउनु थियो। अब आजै उसलाई थाहा भो, भोलि ऊ बिरामी हुँदैछ।

भोलिपल्ट आधा काम गरेपछि बिरामी भयो। रुघाखोकीले एक्कासि सिकिस्त भएजस्तो भयो। एकाएक सन्चो भएन भनेर साहूसँग बिदा माग्यो। बिदा पाएपछि हाइसन्चो भयो।

यताबाट ऊ गयो। उताबाट क्रिस्टल आई। साँझको ठीक ७ बजेको छ। यता धरतीमा उनीहरूको भेट भयो। उता आकाशमा अर्को एक जोडी सूर्य र सन्ध्याको भेट हुँदै थियो। सिँदुरे रङ पोतेर सिँगारिएको आकाश रोमाञ्चक थियो। उनीहरूको मनमा रोमान्सको झन् गाढा रङ पोतिएको थियो।

क्रिस्टल हाँस्दाहाँस्दै सुन्तलाका केस्राजस्ता दुवै ओठ टप्प बन्द पार्छे। भुइँतिर आँखा गाड्छे। गाडीको फ्लोरमा लत्रिएको जिन्स ज्याकेट उठाउँछे। भित्री खल्तीबाट फुत्त छुरी निकाल्छे। झ्याप्प ऊतिर तेस्र्याउँछे। निलूलाँजस्ता आँखा हेर्दै भन्छे, ‘यही हो, सेक्स फ्री अमेरिका !’

दुवै प्रोभिडिएन्स हाइवेको एउटा रेस्टुरेन्टमा छिरे। क्रिस्टलले कक्टेल र स्यान्याक्स् अर्डर गरी। ऊ अँणबादुरको कथा सुनाउन थाल्यो।

अँणबादुर अमेरिका आएको चार वर्ष भयो। अरूले जस्तै उसले पनि नेपालमै सुनेको थियो, सेक्स फ्री अमेरिका ! ठानेको थियो, अमेरिकामा फालाफाल हुन्छ। खोज्नै पर्दैन, रोज्नुमात्र पर्छ- हिमालजस्ता सेता गोरेनी।

अँणबादुर मखमली सपना देख्न थाल्यो। उसका मनभरि सेता मखमली फुलेका थिए।अमेरिका आएपछि गोरेनी केटीहरू आकाशका ताराभन्दा पनि दुर्लभ लागे। छुन नपाए पनि आकाशका तारा हेर्न पाइन्छ।

तर, अमेरिकामा मान्छेले मान्छेलाई सीधा आँखाले हेर्न पनि नपाइने। सेक्स फ्री अमेरिका रे ! अमेरिकालाई सराप्न थाल्यो।

नेपालमा हुँदा ऊ लुकीछिपी डर्टी मुभी हेर्न जान्थ्यो। साथीभाइसँग बसेर म्यागजिन हेथ्र्यो। आँखाका भोक मेट्थ्यो। झन् डर्टी गफ गरेर मुखको भोक मेट्थ्यो। सुरुसुरुमा यहाँ गफ गर्ने पनि कोही भएनन्। मुभी र म्यागजिन कता पाइन्छ, मेसो पाएन।

काम गर्नु, खानु र सुत्नुबाहेक ऊसँग समय छैन। सेक्स फ्री अमेरिकामा हस्तरेखा मेटिएला भन्ने डरले चिथोर्न थाल्यो ! भित्रभित्रै डिप्रेस भयो।

उस्तै थियो, फूल्कुमारको कथा। एक दिन दारु पिएर सेक्स फ्री अमेरिका भन्दै किस्नमायालाई चुप्पा खान गयो, झन्डै चप्पल खायो। फूल्कुमारको सामथ्र्य भनेको दारुको दम थियो। होशमा केही गर्न सक्दैनथ्यो, पछुताउँथ्यो। बेहोशमा सबै गथ्र्यो, होसमा फेरि पछुताउँथ्यो।

अँणबादुर र फूल्कुमारको कथा सुनेर एक्कासि ड्रेन पाइप फुटेजस्तो भई क्रिस्टल। आँसु चुहिने गरी हाँसी।
चौथो पेग स्वाट्ट पारी। फेरि उसैगरी हाँसी। बारमा नाचिरहेका पचासौं आँखा उनीहरूतिर तानिए।

तेस्रो पेगसँगै उसको तेस्रो नेत्र खुल्न थालिसकेको थियो। तेस्रो नेत्रबाट निस्केको आगोको धूवाँ क्रिस्टलको काँचो शरीरबाट निस्कन थालिसेको थियो। चौथो पेग आगोमा घ्यू भयो। त्यो आगोको रापमा ऊ पनि बलिरेहेको थियो।

क्रिस्टल जुरुक्क उठी। अक्टोपसले समाएजस्तो उसलाई समाई। सर्पले डसेजस्तो डस्न थाली। सुकिलो मुखबाट भोकको पिउष पोख्न थाली। उसका ओठ भिजाई। गाला भिजाई। परेला भिजाई।

सबै आँखा उनीहरूतिरै खनिए। उसलाई संकोचको छायाँले छोप्यो। आँखा चिम्लियो। मूर्तिवत् भयो। मूर्तिको भाषा बुझी। डन्ट ओरी भन्दै एकछिन रोकिई। एकटकले उसलाई हेरी। उसको दाहिने पाखुरो च्याप्प समाई। डोर्‍याउँदै बाहिर लगी। गाडीमा बसाई। नेभिगेट गरी।

डेडइन्ड स्ट्रिटको एकान्तमा उभिएको एउटा घर। अँध्यारो पार्किङ्लट। एउटा सोलिच्युड लोकेसनमा गाडी रोकियो।बोस्टन सहरभन्दा झन्डै पच्चीस माइल दक्षिण-पश्चिम कुइँनेटा बसेको नरउड टाउन। वरिपरि अँध्यारो छ। मूल ढोकाबाट दियालोजस्तो मधुरो बत्तीको उज्यालो झरेको छ।

क्रिस्टल पछाडिको सिटमा गई। कम अन भन्दै पछाडिबाट तानी। नारीसामु चट्टानजस्ता तपस्वी पुरुष पनि तप्तप् हुन्छन्। ठूलो चुम्बकका अगाडि एउटा सानो फलामको टुक्रोजस्तो ऊ नतानिनु असम्भव हुन्छ। तानियो।

अमेरिकी केटीहरू खुलेरै प्रेम र सेक्सका कुरा गर्छन्। कुरै कुरामा जिस्कँदै भन्यो, ‘सेटिस्फ्याक्सन ग्यारेन्टी !’
‘प्रेमभन्दा भोक शक्तिशाली हुन्छ !’ रसिला आँखा घुमाउँदै भोक दर्शनको ज्ञान दिई।

फेरि एकटकले हेरी। हेर्दाहेर्दै केराका बोक्रा उतारेजस्तो लुगा उतार्न थाली। उसले गाडीको सिलिङ लाइट पिलिक्क पार्‍यो। झर्झरी बलेको मोतीको जिउँदो मूर्तिजस्तो झर्झराउँदो शरीर। छाती र कम्मरमुनि एक धर्सो छायाँजस्तो कालोपाटो। बाँकी सबै लिड लाइटजस्तो उज्यालो।

मुसुक्क हाँसी। भुइँमा फालेको पेन्ट उठाई। खल्तीबाट सन्ठीको ठुटोजस्तो सेतो ठुटो निकाली। लाइटर सल्काई।’गेस्ट फस्ट। तान।’

ऊ गाँजाको गन्ध खप्न सक्दैन, नशा कसरी खप्नु ? तर, गाँजाको नशाभन्दा कडा नशामा लठ्ठिएको छ। एउटी सुन्दरीको आत्मीय अफर ! जहर पनि मीठो हुन्छ, भोको पुरुषलाई ! आँखा चिम्लेर दुई सर्को तान्छ।
क्रिस्टलतिर हात बढाउँछ। हातसँगै शरीर पनि उतै जान्छ।

रिल्याक्स भन्दै बाँकी क्रिस्टलले तानी। बत्ती निभाई। झ्याम्मै ऊमाथि पोखिई।बिस्तारै गाडी हल्लिन थाल्छ। निकै बेर हल्लिन्छ। हल्लिँदा हल्लिँदै बेस्सेरी हल्लिन्छ, झ्वाट् बन्द हुन्छ।

लठारो बेरिएजस्तो बेरिएका शरीर केही बेरपछि गाँठो फुस्किएको डोरीजस्ता हुन्छन्। क्रिस्टल अझै बटारिन चाहन्थी तर उसको गाँठो फुस्किसकेको थियो। क्रिस्टल जुरुक्क उठ्छे। टीसर्ट लगाउँछे।

‘मान्छे पनि जनावर हो। डेटिङको पहिलो दिनमै मेटिङ ! यो मेरो पहिलो हो। तर, गजबको एक्सपिरिएन्स !’
‘सेक्स फ्री अमेरिकामा मेरो पनि यो पहिलो अनुभव हो। गाडीमा त जीवनकै पहिलो !’

एकछिन पछि … !
‘वाओ… लकिङ टेक्निक ! इन्ट्रेस्टिङ फिनिसिङ … वान्स मोर मिस्टर सी…!’
भर्खरै लगाएको टिसर्ट फुकाल्दै फेरि ऊमाथि झ्वाम्मै पोखिन्छे, क्रिस्टल। सागरजस्ता गहिरा उसका आँखा झन् नीला हुन्छन्।

घडी हेर्‍यो, तीनै सुईले मध्यरातको सिमाना टेक्न एक मिनेट मात्र बाँकी छ।
‘घडीले १२ बजायो अब यसले मेरो १२ बजाउने भई !’ भोकको पसिना ओभाउन नपाउँदै डरको पसिनाले रुझाउन थाल्छ।

अब मन र शरीरको तालमेल मिल्दैन। क्रिस्टलको मन अघाएको छ, शरीर अझै भोको छ। ठीक विपरीत, उसको शरीर अघाएको छ, मन अझै भोको छ। शरीर र मनको द्वन्द चल्न थाल्छ।

हुन त मन बलियो हुन्छ भन्छन्। मनकै इच्छाअनुसार शरीर चल्छ भन्छन्। उसको मनले मागिरहेको छ तर शरीर मान्दैन। अहिले बलियो मनभन्दा थकित शरीर झन् बलियो भएको छ। तंग्रिन नपाएको शरीरको काम मनले गर्दैन।

नारित्वको आगो निभाउन नसक्ने भएको छ पुरुषत्वको दमकल। टायरको हावा खुस्किएर एक्जिटमा अड्किएजस्तो ऊ अड्किएको छ।

तातेको फलामजस्ती छे, क्रिस्टल। बलेको अँगेनोजस्तो छ अनुहार ! उसको अनुहार भने काँचोमाटोको डिफ्रोस्ट भाँडोजस्तो भएको छ। चिट्चिट् पसिना चुहिँदैछ।

अँगेनोजस्तो त्यो अनुहारमा पुलुक्क हेर्छ। मनमनै बाफरेबाफ हुन्छ। वाह ! नारीशक्ति भन्छ।
‘पुरुषभन्दा नारीमा कुन शक्ति बढी हुन्छ थाहा छैन। तर, कामशक्ति सबैभन्दा बढी हुन्छ’, मनमनै ठोकुवा गर्छ, ‘लज्जा पनि नारीको शक्ति हो, जुन शक्तिसामु नाथे पुरुष थाहै नपाई सधैं झुकेको हुन्छ।’

क्रिस्टल पनि सुरुसुरुमा लजालु स्वभावकी लाग्थी। बिस्तारै फूलजस्तै फक्रँदै गई। खुल्दै गई। फुल्दै गई। रहरलाग्दी भई। अहिले आफ्नै रंगमा फक्रक्क फुलेको नांगो गुलाफजस्ती देखिएकी छे।

वशमा छैन वासना, फूलको के दोष ! फूलजस्ती क्रिस्टलको के दोष ! यस्तैयस्तै सोच्छ, मनोवादमा हराउँछ। बाहिरको अँध्यारोतिर आँखा डुलाउँछ।

डराउनुका कारण अर्को पनि छ। ऊ सेक्स फ्री अमेरिका उग्राउँदै छ। मन हलुंगो भएको छ तर शरीर बोझिलो। मनको आदेश शरीर मान्दैन। क्रिस्टललाई शरीरको भोक छ।

‘हामीमाथि आक्रमण भयो भने ? ‘ मनको अर्को बाघले मुख फोर्छ।क्रिस्टल गलल्ल हाँस्छे। हाँस्दाहाँस्दै सुन्तलाका केस्राजस्ता दुवै ओठ टप्प बन्द पार्छे।

भुइँतिर आँखा गाड्छे। गाडीको फ्लोरमा लत्रिएको जिन्स ज्याकेट उठाउँछे। भित्री खल्तीबाट फुत्त छुरी निकाल्छे। झ्याप्प ऊतिर तेस्र्याउँछे।निलूँलाजस्ता आँखा हेर्दै भन्छे, ‘यही हो, सेक्स फ्री अमेरिका !’

चिनेको सात महिनाजति भएको छ। कुनै दिन बुझाऊँला भनेकी थिई। आज बुझाई- सेक्स फ्री अमेरिका ! अहिले आफू त्यो कोमल क्रिस्टल हैन, कालको मुखमा परेको ठान्छ।

क्रिस्टलका लाम्चा आँखा साह्रै प्रिय लाग्थे। अहिले तिनै आँखा फणा उठाएको गोमनका जस्ता डरलाग्दा भएका छन्। ती आँखा कँदिएको त्यो अति प्रिय अनुहार काँडा फिँजाएको दुम्सीको शरीरजस्तो झन् डरलाग्दो भएको छ।

एकैछिन् अघिका उसका रसिला ओठ कलेटी पर्छन्। केराका सुकेका बोक्राजस्ता हुन्छन्। मुख सुक्छ। प्याकप्याक हुन्छ।घरपरिवार सम्झन्छ। आफन्तका अनुहार सम्झन्छ। केही छिनअघिको रोमाञ्च सम्झिन्छ। तिथिमिति सम्झन्छ। दुई हजार तीन, सेम्टेम्बर २७ शनिबार। मध्यरातको अँध्यारो।

देशमा दसैंको मौसम छ। ऊ परदेशमा दशाको मुखमा छ। सेक्स फ्री अमेरिकाको भोकले मेरो भोग खाने भयो भन्ठान्छ। पसिना पुच्छ। आँखा चिम्लिन्छ।

क्रिस्टल चुपचाप उसलाई हेरिरहेकी छे। त्यो एकलासमा एकछिन डरलाग्दो छन्नाटा छाउँछ।एक्कासि अक्टोपसले आहारा समाएजस्तो क्रिस्टलले फेरि समाउँछे। झसंग हुन्छ। आँखा खोल्छ। च्वप्प्…च्वप्प्… च्वप्प्… पार्दै हुन्छे, क्रिस्टल। लफक्कै पार्छे, उसका सुकेका ओठ।

‘यस्ता डरपोक पनि अमेरिकन केटीसँग रोमान्स गर्ने ! डेमो हो त्यो। हामीलाई कसैले आक्रमण गर्‍यो भने त्यसको घाँटी त्यसरी नै रेटिदिन्छु। कायर !’

अट्टाहस हाँसो हाँस्छे। हाँसो हाँसोमै चक्कु देखाउँदै थप्छे, ‘आफ्नो सुरक्षाका लागि जे चाहिन्छ, त्यो बोक्नुपर्छ। इच्छाका लागि जे पर्छ, त्यो गर्नुपर्छ।’

ऊ चुपचाप छ, भित्रभित्रै लाज लाग्छ। फिस्स हाँस्छ।सपना हो कि विपना ! नाटक हो कि वास्तविकता ! पत्यार लाग्दैन। एकतमासले क्रिस्टलका आँखामा हेर्छ। उसका दुई आँखाले दुई थरी देख्छन्।

एउटा आँँखालाई क्रिस्टलका ती डरलाग्दा आँखा फेरि हेरिरहुँजस्ता रहरलाग्दा भएका छन्, एकछिन हेर्छ। अर्को आँखालाई झन् डरलाग्दा भएका छन्, हेर्नै सक्दैन। अर्कोतिर फर्कन्छ।

‘अहिले तिमी भोकाएका छौ, म भोकाएकी छु। हाम्रो भोक मिलेको छ। यही हो, सेक्स फ्री अमेरिका ! कम अन्’ भन्दै फेरि खनिन्छे, क्रिस्टल।

उसको मनको आदेश शरीरले अझै मान्दैन। त्यही मनमा अर्को डर पनि नाचिरहेको छ, यसले फेरि के ताण्डव गर्छे ? सोच्दै हुन्छ। आजको लागि धन्यवाद भन्दै सुरुमा टीसर्ट फुकाल्दै भनेका शब्द क्रिस्टलले दोहोर्‍याउँछे।

‘मलाई सेक्सको भोक अलिकति पनि छैन तर सेक्स एक्सपिरियन्सको भोक कति हो कति छ। त्यसैले म … !’
एक इपिसोडमा कहानी टुंग्याउन चाहन्छे, क्रिस्टल। जेरीजस्ती क्रिस्टलका जेरीको रसजस्ता कुराको रहस्य बुझ्दैन।

‘म … ! मतलब ? ‘
‘म दुवैसँग सेक्सुएल रिलेसन राख्छु।’
‘अर्थात्.. ?
‘केटीसँग पनि, केटासँग पनि !’

जवाफ सुनेर ऊ छाँगाबाट खसेजस्तो हुन्छ। आँखा तिर्मिराउँछन्। पृथ्वी अचानक फन्फनी उल्टो घुमेजस्तो देख्छ। आफैंसँग ननिको लाग्छ। मनको भाव अनुहारमा उत्रिन्छ। बल्लतल्ल ओभाएको पसिना फेरि चिट्चिट् हुन थाल्छ।

क्रिस्टल उसको मनोदशा पढ्न सक्छे। ‘अचम्म नामान। सेक्स फ्री अमेरिका हो, भोक मिल्नुपर्छ। यस्ता कुरा यहाँ कमन हुन्। भित्रभित्रै धेरै छन्, पुरुष पनि छन्’, भन्छे।

केका लागि भन्दै क्रिस्टलप्रति सौम्य आक्रोश पोख्छ, प्रश्न गर्छ। एक्पिरियन्स एन्ड सेटिस्फ्याक्सन भन्दै मुस्कुराउँछे क्रिस्टल।

हाँस्दै टीसर्ट लगाउँछे। एकछिन उसलाई हेर्छे। पेन्ट लगाउँछे। बाइबाई गर्दै हिँड्छे। सोच्दै नसोचेको सेक्स फ्री अमेरिका नांगा आँखाले देख्छ। हेरिरहन्छ।

सधैं मुस्कानको मगमग उस्तै ! हार्दिकताको हर्हर उस्तै ! फेरि फनक्क फर्केर आउँछे।हाँस्दै एउटा कुरा भन्नै भुलेछु भन्छे, ‘तिम्रा साथीहरूलाई बुझाइदिनु, यो सेक्स फ्री अमेरिका हो। फ्री सेक्स अमेरिका होइन !’

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.