~सङ्कलन : इश्वर देवकोटा~
एउटा कक्षामा मनोविज्ञानका प्राध्यापक पढाउँदै थिए | त्यसै बीचमा उनले आफ्ना विद्यार्थीहरुलाई एउटा खेल खेलाउने विचार गरे | उनले एक विद्यार्थी “आशा” लाई कक्षाको अघिल्तिर बोलाए |
प्राध्यापकले आशालाई आफ्नो जीवनका ३० जना महत्वपूर्ण मानिसहरुको नाम लेख्न अह्राए | आशाले परिवार आफन्त , साथीहरु सहपाठी अनि छिमेकीका नाम क्रमश लेखिन् |
प्राध्यापकले ३० जना मध्यबाट ३ जना कम महत्वपूर्ण मानिसहरु हटाउन भने | आशाले आफ्ना ३ जना सहपाठीको नाम तुरुन्तै मेटिन् | त्यसपछि अरु ५ जनालको नाम पनि मेट्न प्राध्यापकले आग्रह गरे | आशाले ५ जना छिमेकिको नाम पनि मेटी दिइन् |
यो क्रम जारी रह्यो | आशाले आफ्नो जीवनका कम महत्वपूर्ण मानिसहरु हटाउदै क्रमश अन्तिम ४ जना बाँकि राखिन् | ती महत्वपूर्ण ४ जनामा आमा, बाबु, पति र छोरा थिए |
खेल यो अवस्थामा पुगे पछि कक्षामा एक प्रकारको सन्नाटा छायो , किनकी यो खेलमा अघोषित रुपमा सबैले आफुलाई सहभागी भएको पाए | अब यो खेल आशाको मात्र रहेन |
प्राध्यापकले आशालाई ४ मध्ये अरु २ जनाको नाम पनि क्रमश कम महत्व पूर्ण लाग्ने बाट मेट्दै जान भने | आशालाई गम्भीर चुनौती आइ पर्यो | उनले लामो सोचिनन् , तत्काल आमा र बाबु दुबैको नाम मेटिन् | आशाको जीवनमा सबै भन्दा महत्वपूर्ण २ मानिस पति र छोरा बाँकि रहे |
कक्षाका विद्यार्थीहरुमा यो खेल होइन यथार्थ हो भन्ने आभाष भैसकेको थियो | सबै चुपचाप थिए | फेरी पनि प्राध्यापकले भने अब अर्को एक जनाको नाम पनि मेट | आशा मनभित्रबाट नै आफुलाई निकै नै डराएको महसुस गर्दै थिईन् | उनले हात कमाउदै छोराको नाम मेटिन् , अनि घोप्टो परेर सबैका अघिल्तिर रोइन् | आशा निकै दुखित भईन् |
प्राध्यापकले आशालाई आफ्नो सिटमा गएर बस्न आग्रह गरे | उनि सिटमा बसिन् र अझै पनि रोइनै रहिन् |
प्राध्यापकले आशालाई सोधे ” किन तिमीलाई पति महत्वपूर्ण ? तिम्रा अभिभावकले तिमीलाई जन्म दिएर हुर्काएका होइनन् , र तिमीले नै आफ्नो एक मात्र सन्तान छोरालाई जन्म दिएकी होइनौ ? र तिमीले सोचेनौ की तिमि जीवनमा अर्को पति फेरी पनि खोज्न सक्छौ ? ”
कक्षा अझ स्तब्ध बन्यो |
सबैलाई आशाले के जवाफ दिनेछिन् भन्ने प्रतिक्षाको विषय बन्यो |
आशा अलि हताष देखिइन् , उनले विस्तारै जवाफ दिइन् ‘ एक दिन मेरा अभिभावक मलाई छोडेर म भन्दा अघि नै यो संसारबाट जाने छन् |”
आशाले भनिन् “मेरो छोराले समेत हुर्कदै गए पछि पढ्न वा अन्य व्यापार ब्यबसायको नाममा होस् वा अरु कुनै कारण देखाएर टाढा हुदै जानेछ | र अरु कुनै अवरोध सिर्जना भएन भने म सँग अन्तिम समय सम्म साथ दिने मात्रै मेरा पति रहनेछन् | ”
सबै विद्यार्थी आफु बसेको बेन्चबाट उठेर उभिए , जोडदार ताली बजाए, सबैले भने जीवनको सत्य त यहि नै हो |
त्यसैले भनिन्छ जीवनसाथी सधै सबै भन्दा महत्वपूर्ण हुन्छ | यो कुनै पतिब्रता पत्नीका लागि मात्र होइन पतिका निम्ति पनि पत्नी सबैभन्दा महत्वपूर्ण हुन्छिन् |
प्राकृतिक रुपमा नै यी दुइ आत्मालाई संयोजन गर्न सम्भव तुल्याइएको छ, यो महत्वपूर्ण सम्बन्धलाई स्थापित गर्ने जिम्मवारी दाम्पत्य जीवनमा चाहिँ तपाइको हो |
(नोट: यो छोटो कथा यस अघि मैले सुनेको आधारमा यहाँ प्रस्तुत गरें , यस अघि अरु कसैले सुनी/पढि सक्नु भएको पनि हुनसक्छ | प्रस्तुत कथाका पात्र काल्पनिक हुन् |)
– इश्वर देवकोटा , गोरखा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)