~खेम बतास~
पूर्णिमा पोखिएर धर्तिमा
चन्द्रागीरिबाट देखिने काठमाडौँ जस्तै
देखिएर के गर्नु आकासका तारा ?
मेरो घरको बलधारी माथी
सिढिलाएर उभिएको भए पनि
त्यो इन्द्रेणीको रङ्ग
गौथली जस्ता मेरा इच्छा
उड्दै उड्दै गएर अल्झिएका छन
बाह्रखरी लेख्ने सिलट माथी
किताबहरु सैपाल जस्ता भएर के गर्नु ?
अक्षरहरु जम्मै उल्टा तावा जस्ता
म त्यही उल्टा तावा पढेको मान्छे
मलाई कालो रङग मन पर्छ ।
बुढी औला कलम बनेर
लेखिए तमसुकमा
हलोको अनौँले दुबो हल्दो बाडे मेरा बा को नाममा
मेरी इजाले पनि डोकोका डोको पर्सो बोकेर
भएको हो माटोको रङ्ग कालो
मालश्रीका धुन बज्नु अघि
मेरी बैनीले लिप्ने घरका भित्ताको रगंपनि कालो
पृथ्वी घुमेझै घुम्ने
खला किनारको आफरमा
फलाममै अनुवाद भएका ल्वार दाईका
कुटो कोदालो र आँसीको रङ्ग कालो
म त काला औजारले र कालो माटोमा
फुली रफली फक्रेका अन्न खाएको मान्छे
मलाई कालो रङ्ग मनपर्छ ।
यसै धर्तिको कालो माटोको
कुनै बगैचामा
रातो गुलाब टिप्न खोज्दा
बगेको रगत रातो भएर के गर्नु ?
खत तिलाकोटी जस्तै छ–कालो
उनैसंग ओढेको अन्तिम पछौरीको याद
टपक्क आएर बसिदिन्छ –– चुरोट र हिमाल जस्तो देखिने धुवाँमा
चुरोट सेतो भएर के गर्नु ? एष्ट्रेरमुटु त कालै भैगएछ ।
यो बैसालु बिधवा जस्तो हिमालको जम्मै हिउ पग्लिएर
कालो चट्टान कहिले देखिएला ?
मलाई कालो रङ्ग मनपर्छ ?
तिम्रो हड़मा पोखिएको भएपनि
कोईर्यालको रंग
मलमलको सोफामा बसेर
तिमी कुनै राष्ट्रिय दैनिकको
रेमिट्यान्सको खबर पढिरहेको मान्छे
मिमी बस्नेकार कुनै चित्रकारको अर्मूत पेन्टिङ लाग्छ
हेर्दा आँखै छोडिजाउ जस्तो मनमै बोकी लैजाउ जस्तो भएपनि
गरिब आदमीको पसिना मुछिएको
अलकत्रा पोखिएको यहि सडकमा गुडछन
तिम्रो पजेरोका खुट्टा पनि
जसको रङग पनिकालो
म जहिल्यै छेउलागेर
खाली खुट्टा हिट्छु त्यै सडकमा
मलाई कालो रङ्ग मनपर्छ ।
न्यूरोड, इन्द्रचोक र बानेश्वरमा
पृथ्वीनारानको नयाँ अवतारले
कालै पोति माग्छ जुत्ता माथी
शुन्दरी जलको बन्द कोठा जस्तो कुनै रेष्टुराँमा
सुम्नीमा उपन्यासको नयाँ पाण्डुलीपि लेख्ने
कलमको मसि पनि कालो
तिमिले हेर्ने हर दृष्यहरू
झुठा बकपत्र मात्र हुन्
बाँकी रङगहरूका
तिम्रा आँखाको रेटिना पनि कालै देखिन्छ
ओ साईबौ
दुनियाको जम्मै अध्यारो हटाउने
गाँउका टुकिहरुले
टनकपूर झर्ने उहिलेका बटुवाझै
बोकि हिटेको छन पिठ्युमा एक पोको कालो रङ्ग
तिमी कालो देख्ने बित्तिकै
किन आत्तिन्छौ – मेरे दोस्त
जब लोरी गाउने हातहरु
थप्पथपाउथे हाम्रा छाती माथी चोखा नलागुन भनि
इजाले भाग्यको गौथली बस्ने गुडमा
लगाईदिएको रङ्ग कालो होईन र ?
मलाई कालो रङ्ग मनपर्छ ।