समालोचना : नाटककार तिवारीको प्रवृत्तिगत मूल्याङ्कन

~अशोक थापा~

सारसङ्‌क्षेप:

यो लेख ताना शर्मा र अन्यद्वारा सम्पादित तिवारी नाट्य-साहित्यको विश्‍लेषण नामक ग्रन्थमा विविध समालोचकले नाटककार तिवारीका विषयमा उठाउन गरेका विविध धारणालाई आधार मानी तयार गरिएकको छ । तिवारी नेपाली सहित्यका विशिष्ट प्रतिभा हुन भने नाटकलेखनका एक गहकिला प्रतिभा । उनका नाटकलाई विवेचनाबाट केही निश्चित प्रवृत्तिहरूलाई खुट्याउन सकिन्छ । यस लेखको उद्देश्य पनि तिवारीका नाटकीय प्रवृत्तिको उल्लेख गर्नु रहेकाले ती प्रवृत्ति छुट्‍याउन उनका नाटकीय कृतिलाई प्राथमिक स्रोत र उनका नाट्यकारतिका विषयमा विगतमा भएका टिप्पणीलाई द्वितीय स्रोतका रूपमा लिएर निष्कर्षमा पगिएको छ ।  

प्रवेश:

भीमनिधि तिवारी (१९६८-२०३०) नेपाली साहित्यका विशिष्ट सर्जक हुन् । तिवारी विशेषगरी नेपाली नाटककारका रूपमा चिनिन्छन् ।आइ.ए सम्मको औपचारिक शिक्षा हासिल गरेका तिवारी सरकारी सेवामा लामो समयसम्म कार्यरत रहनाका साथसाथै साहित्यिक गतिविधिमा क्रियाशील व्यक्तित्व हुन् । नेपालका विविध स्थान लगायत छेमेकी मूलुकभारत, पाकिस्तान लगायत युरोपेली राष्ट्र इटली, बेलायत जस्ता देशमा भ्रमण गरी नेपाली साहित्यलाई अन्यत्र परिचित गराउन सफल तिवारी नेपाली साहित्य साधक नै हुन् । साहित्य लेखनमा उनको विविधतामय उपस्थिति देखिए पनि उनी नाटकारका रूपमा बढी उर्भर छन् । काव्य र आख्यान विधाउनको दोस्रो रोझाइको विधा क्षेत्र हुँदा हुँदै पनि कथा लेखनमा उनको सक्रियता प्रशंसनीय देखिन्छ । उनको पहिलो रचना ‘कविता हरायो’ शीर्षकको कविता हो जुन वि. सं. १९९१ मा गोरखापत्र पत्रिकामा प्रकाशित देखिन्छ । यो लेख विशेष गरी भीमनिधि तिवारीको नाटकीय पहिचानमा केन्द्रित रहेकाले अन्य विधाका विषयमा मौन हुन यस लेखको सीमा हो । प्रस्तुत लेखमा ताना शर्मा र अन्यद्वारा सम्पादित (२०५४), तिवारी नाट्य-साहित्यको विश्‍लेषणात्मक अध्ययन नामक पुस्तकमा विविध समालोचकहरूले तिवारीको नाट्यकारिताका विषयमा उठान गरेका अवधारणाका आधारमा उनको नाटकीय प्रवृत्तिहरूको समीक्षा गरिएको छ ।

नाट्‍य कृतिहरू:

तिवारीले साहित्यका सबैजसो (कविता, नाटक, आख्यान र निबन्ध) विधामा लेखनगत सक्रियता देखाएका छन् । प्रस्तुत लेखको उद्देश्य तिवारीका नाटकीय प्रवृत्तिको छोटो विमर्श गर्नु रहेकाले उनका नाट्य सिर्जनाहरूलाई तल उल्लेख गरिएको छ ।
१.       सहनशीला सुशीला (१९९५)
२.       आदर्श जीवन (२००८)
३.       पुतली (१९९९)
४.       काशीवास (१९९८)
५.       किसान  (२०१० तृ.सं.)
६.       नैनिकाराम (२००४)
७.       विवाह (२०१०)
८.       पाँच ऐतिहासिक एकाङ्की (२००८)
९.       इन्द्रधनुस (२००८)
१०.   आत्महत्या (२०३३)
११.   महाराजा भूपतीन्द्र (२०२८)
१२.   चौतारा लक्ष्मीनारायण (२०२४)
१३.   शिलान्यास (२०२३)
१४.   नोकर (२०१४)
१५.   सिद्धार्थ गौतम (२०१३)
१६.   सत्य हरिश्चन्द्र (२०१३)
१७.   माटोको माया (२०२७)
१८.   एकाङ्की पल्लव (एकाङ्की सङ्ग्रह, ९ वटा एकाङ्की सङ्कलित)
१९.   एकाङ्की कली (एकाङ्की सङ्ग्रह, २०११, ९ वटा एकाङ्की सङ्कलित)

तिवारीका नाटकीय प्रवृत्तिहरू

आयामगत प्रवृत्ति:

विविध विषयलाई पक्रेर नाटक लेख्ने तिवारी बहुल विषय केन्द्री नाटककार हुन् । तिवारीका नाटकको भावभूमि सामाजिक रहे पनि उनले पुराणमा आधारित, इतिहासका घटना वा तथ्यसँग सम्बन्धित नाटक पनि सिर्जेका छन् । तितिवारीका नाटकीय विषयमा चर्चा गर्दा समालोचक मोहन दुवालको भनाइ उठाउन गर्नु सान्दर्भिक देखिन्छ ‘उहाँका सामाजिक, ऐतिहासिक तथा पौराणिक नाटकहरूमा समेत पात्रहरू जिउँदा प्रतीत हुनु, वर्ग सुहाउँदा भाषाहरूको प्रयोग हुनु, सामाजिक वस्तुगत विचारका स्पन्दनहरू व्यक्त हुनु आदि कारणले भीमनिधि तिवारीका नाटकहरूमा कुनै पनि नेपाली नाटककारहरूका भन्दा कम वैशिष्ठ्य पाइन्न (पृ. ४६), दुवालको यस भनाइले तिवारीका नाटकहरूका विषयवस्तु सामाजिक, ऐतिहासिक एवं पौराणिक सबै प्रकृतिका छन् भन्न सजिलै सकिन्छ । यो उहाँ प्रतिको सही मूल्याङ्कन हुन जान्छ किनभने तिवारीको चौतारा लक्ष्मी नारायण जस्तो ऐतिहासिक नाटक, सत्यहरिश्चन्द्र जस्तो पौराणिक नाटक अनि किसान, सहनशीला सुशिला जस्तो सामाजिक नाटकले निकै ख्याति प्राप्त गरेको छ’ यस भनाइमा तिवारीको नाटकीय विषयवस्तुको आयाम तथा उनको भाषिक प्रबलताको गुञ्जायस भेट्टाउन सकिन्छ । हुन पनि आयामका दृष्टिले तिवारी निकै पाँजिएका छन् । भाषिक चुस्ततामा उनले आफूलाई सबल सावित गरेका छन्।  पूर्णाङ्की नाटक हुन् वा एकाङ्की भाषिक दृष्टिले ती तिवारीका नाटक अब्बल देखिन्छन् । एक अर्को सन्दर्भमा दुवाल पुन: दोहोर्‍याउँछन् ‘प्रभावकारी रूपले नाटकलाई पेश गर्न सक्नु नै भीमनिधि तिवारीका नाट्यकारिता हो; जसले उहाँको जीवन्ततालाई अजर-अमर तुल्याएको छ’ यस कथनबाट तिवारीलाई हेर्दा उनको नाटक पाठकीय नाटक मात्र नभएर रङ्गमञ्चीय शिल्पबाट पनि सफल छन् भन्ने तर्क राख्न सकिन्छ किनभने तिवारीका कैयन् नाटक तथा एकाङ्कीहरूले रङ्गमञ्चमा वाह-वाही प्राप्त गरेका छन् । यसर्थ आदर्शमूलकविशेषता सहित सहनशीला सुशीला, किसान, आदर्श जीवन, सत्यहरिश्चन्द्र, सिलन्यास, चौताता लक्ष्मीनारायण जस्ता नाटकका आधारमा भिमनिधि तिवारी विषयगत व्यापक क्षेत्रमा कलम चलाउने नाटककार हुन भन्ने निष्कर्ष निकाल्न सकिन्छ । विषयगत आयाम र संरचनागत आयामका आधारमा तिवारी उत्तिकै बहुआयामिक देखिएका छन् । सहनशीला सुशीला, पुतली, किसान, नैनीका राम, आदर्श जीवन, विवाह, नोकर, आत्महत्या आदि समाजिक विषयवस्तुको नाटक लेखेकाले तिवारी बहुआयामिकता भित्र पनि सामाजिकतालाई केन्द्रमा राख्ने नाटककार हुँदै हुने भने उनको वस्तुगत आयाम निकै फराकिलो छ ।

दु:खान्तता:

बालकृष्ण समको समकालीन नाटककारका रूपमा तिवारीले दु:खान्त नाटकहरूको सिर्जना गरेका छन् । यस सन्दर्भमा मोहन सिटौलाले तिवारीका दु:खान्त  नाटकका विषयमा यस्तो धारणा व्यक्त गरेका छन् ‘तिवारीका प्रस्तुत दुई वटा नाटक (चौतारा लक्ष्मी नारायण र आत्महत्या) अलिकति थपेर भन्नु पर्दा विश्‍वकै सर्वोच्च नाटकहरूका कोटिमा पर्छन् (पृ. २८) । भन्दै सिटौला तिवारीको नाटकहरूको अलि अतिरञ्जनात्मक टिप्पणी गर्न पुग्छन् किनभने विश्‍वकै सर्वोच्च नाटकमा पुग्नका लागि के र कस्ता श्रेणीहरू पार गर्नु पर्छ भन्ने कुरा सिटौलाले प्रस्ट पारेका छैनन् । सिटौलाको टिप्‍पणीका आधारमा तिवारी दु:खान्त नाटक लेखनमा कुशल सिप भएका नाटकार हुन् । बालकृष्ण समका विशिष्ट दु:खान्त नाट्यकारिताको वटवृक्षको तप्केनीमा तिवारीका दु:खान्त नाटकहरू परेका हुन् भन्ने धारणा राख्न सकिन्छ । सुखान्त नाटकका साथै दु:खान्त नाटकको लेखनमा तिवारी निकै सशक्त देखिएका छन्।

मौलिकता:

नाटककार तिवारीका नाटकमा पूर्व पश्‍चिमका नाट्‍य शास्त्रको अन्धानुकरण गरिएको हुँदैन । उनी नेपाली भाषा साहित्य र यहीँको वातावरण बमोजिम नाटक लेख्‍ने नाटककार हुन भन्ने कुरा उनका नेपाली जनजीविकाका नाटक सिर्जनाले देखाउँछ । उनका नाटकीय भावको दुर्व्याख्या र अपव्याख्या भएको छ भन्ने गुञ्जायस पनि यदाकदा सुन्ने गरिन्छ यस सन्दर्भमा नाटककार सरुभक्तको तिवारीको नाटकीय योगदानका विषयमा धारणा यस्तो छ ‘सम, रिमाल, गोठाले आदि महान नाटककरहरूका वैशिष्ट्यद्वरा प्रभावित समालोचकहरूले उहाँका नाटकमा नभएका कुराहरू खोजे, भएका कुराहरू खोजेनन् । …जुन दिन उहाँका नाटकहरूमा उहाँकै मौलिकता खोज्ने परम्परा कायम हुनेछ, त्यस दिनदेखि उहाँको नाटककारले अर्को जन्म लिनेछ (पृ.४३) । यो भनाइ पनि आंशिक सत्यजस्तो लाग्छ किनभने तिवारीको नाटकीय योगदानका विषयमा नेपाली समीक्षकहरूबाट प्रशस्त मूल्याङ्कन नहुन सक्छ तर नेपाली समालोचकले तिवारीका नाटकभित्र नभएका पक्षहरू मात्रै खोजी गरेको भन्ने कुरा गलत हो । तिवारीको अबमूल्यन भएको धारणा भित्र वस्तुविन्यासमा तिवारी जडी छन् भन्ने धारणा अन्तर्भूत देखिन्छ भने अर्कातिर उनको मौलिकताको सही कदर नभएको भन्ने धारणा पनि अभिव्यक्तिन्छ । यसै सन्दर्भमा समालोचक घटराज भट्टराईको भनाइ पनि चोटिलो लाग्छ ‘तिवारीका नाटकमा न भास छन्, न कालीदास, न सेक्सपिरय छन्, न त इब्सन । त्यसैले उनी नेपाली जनजीवनका चोखा र गतिला नाटककार हुन् । उनले तिवारीको नाटक पढेर नाट्य सिद्धान्त तयार गर्न सकिन्छ’ भन्ने मान्यता पनि राखेका छन् (पृ. ८१-८२) । यस भनाइमा केही हदसम्म सहमत हुन सकिन्छ कुनै नाटकको सिर्जना गर्नका लागि कुनै साहित्य सिद्धान्तको बोध गरेको हुनै पर्छ भन्ने पनि छैन । साहित्य सिद्धान्त पहिला कि साहित्य सिर्जान पहिला भन्ने विवाद वा वादविवाद फुल पहिला कि चल्लाको कहानी जस्तै हो । यदि तिवारीका नाटकमा समालोचक भट्टराईले दावा गरे जस्तै नाटकीय मौलिकताहरू छन् भने नाटकको पठनपछि सैद्धान्तिक पक्षको विकास गर्न सकिने सम्भावनाको ढोका भने खुलै राख्नु पर्छ । यस भनाइमा भट्टराईको अर्को तथ्य पनि लुकेको देखिन्छ त्यो के भने तिवारीका समकालीन नाटककारहरू (सम,गोठाले,रिमाल) प्राय:सबै पाश्‍चात्य तथा पूर्वीय नाट्य सिद्धान्तबाट प्रभावित छन् तिनीहरूको सापेक्षतामा तिवारीका नाटकहरू बढी हाम्रो हावापनी र माटो सुहाउँदो छन् भन्ने मान्यता यस सन्दर्भमा व्यक्त भएको देखिन्छ । यसै गरी समालोचक समालोचक केशव प्रसाद उपाध्यायले नेपालीमा प्रचलित परम्परागत पूर्वीय र पाश्‍चात्य शैलीलाई अस्वीकार गरी तवारीले नयाँ र मौलिक नाट्यशैलीको आविष्कार गरेको देखिन्छ र यसलाई नेपाली नाट्य विधामा उनले ल्याएको नौलो मोड भन्न सकिन्छ (पृ. २०९) भन्ने धारणा राखेका छन् । तिवारीको नाटमा प्रयुक्त नाटकीय मौलिक पक्षको उपाध्यायले पनि खुलेरै प्रशंशा गरेका छन् । नाटकीय मौलिकताका सवालमा तिवारी अब्बल दर्जाका नाटककार हुन भन्ने उपाध्यायको तर्कले तिवारी मौलिक नाटककार हुन् भन्न थप बल मिलेको छ ।

एकाङ्की प्रकाशनका आरम्भकर्ता :

नेपाली एकाङ्कीको प्रदर्शनका दृष्टिकोणले हेर्दा बालकृष्ण समको ‘प्रेम’ एकाङ्कीलाई लिन सकिए पनि प्रकाशनका दृष्टिले भिमनिधि तिवारीको काशीवास (१९९८)लाई लिन सकिने थुप्रै आधारहरू छन् । यस सन्दर्भमा समालोचक कृष्‍ण प्रसाद आचार्यको धारण यस्तो छ ‘नेपाली लेखकद्वारा लेखिएर नेपालभित्रै छापिएको र पुस्तककाकार रूपमा उपलब्ध एकाङ्की ‘काशिवास’ नै नेपाली भाषाको पहिलो मौलिक सामाजिक एकाङ्की नाटक हो भन्ने देखिन्छ (पृ.११) । यस धारणाले नाटककार तिवारी आयामका दृष्टिले पूर्णाङ्की एवं एकाङ्की दुवै सिर्जना गर्ने सर्जन हुन भन्ने तथ्यलाई प्रस्ट्याउँछ भने तिवारीका एकाङ्कीहरू नेपाली साहित्यमा ऐतिहासिक महत्त्व रख्न सक्षम छन् भन्ने धारणालाई बढवा पनि दिन्छ । नेपाली एकाङ्कीको होडमा समका एकाङ्की अगाडि देखिए पनि आचार्यले प्रकाशनका आधारमा काशीवास एकाङ्कीलाई प्रथम प्रकाशित सामाजिक एकाङ्की रहेको कुरा उल्लेख गरेका छन् । यस तथ्यले तिवारीको एकाङ्कीगत ऐतिहासिकतालाई प्रकाश पारेको छ ।

सचेत रङ्गशिल्पी:

नाटकको पाठलाई प्रदर्शनमा लाने एउटा प्रख्यात प्रविधि ‘भिजन टु भिज्वालिटी’ अस्तित्वमा छ । तिवारीका नाटकहरू पनि रङ्गमञ्चमा प्रदर्शनका लागि निकै चुस्त मानिन्छन् भन्ने समीक्षक तथा निर्देशकहरूको दावी छ । तिवारीका नाटक तथा रङ्गमञ्चीय योगदानका विषयमा चूडामणि काफ्लेको भनाइ यस्तो छ ‘नाटककार तिवारी पाठकीय नाटक भन्दा रङ्गमञ्चीय नाटक लेख्न रुचाउँछन् । नाटककार तिवारीका नाटकहरू यसै नाट्य मान्यताका आधारमा रचिएका छन् (पृ.११७) । यस अभिव्यक्तिमा नाटककार भिमनिधि तिवारीका नाटक पठनीय नाटक हुनाका साथै रङ्गमञ्चीय प्रविधिलाई  पनि निकै सोच विचारका साथ अगाडि बढाउने नाटककार हुन् भन्न खोजिएको छ । यसै गरी तिवारीका प्राय: नाटकहरू दर्शकलाई ध्यानमा राखेर लेखिएका छन् । दर्शकलाई पन्छाएर नाटक लेख्नुको कुनै अर्थ छैन-यो तथ्यलाई तिवारीले राम्ररी बुझेको महसूस हुन्छ भन्ने अशेष मल्लको (पृ. ३१५) अभिव्यक्तिले पनि रङ्गमञ्च सचेत नाटककारका रूपमा तिवारीको उपस्थिति अब्बल रहेको कुरा प्रमाणित गर्छ । यसका साथै कलाकार तथा निर्देशक रुद्रराज पाण्डेले ‘रङ्गमञ्चको सम्बन्धमा उहाँले (तिवारीले) काफी अध्ययन गर्नु भएको हुनु पर्छ । किनकि यस सम्बन्धमा उहाँको राम्रो ज्ञान देखिन्छ । हामीले उहाँका नाटक खेलाउँदा प्रकाश आदि रङ्गमञ्च सम्बन्धी कुरामा केही पनि हेरफेर गर्नु पर्दैन, सबै जस्ताको तस्तै गरिदिँदा हुन्छ, कुनै परिवर्तन गर्नु पर्दैन (पृ. ३६३) भनेका छन् । यसबाट तिवारीमा कुन विषय वस्तुको नाटकलाई कस्तो प्रकृतिको रङ्मञ्चीय साजसज्जा आवश्यक पर्छ भन्ने बोध प्रस्ट रूपमा रहेको कुरा थुप्रै समीक्षक तथा रङ्ग समीक्षकले स्वीकार गरेबाट पनि यो कुरा सजिलै पुस्टि हुन्छ । उनले नाटक र निर्दैशक पृथकपृथक हुँदा पनि दुबै जनाको लयमा साम्यता देखिनु निकै उल्लेखनीय कुरा हो भन्ने कुरा व्यक्त गरेका छन् । यसबाट सजिलै कुन निष्कर्षमा पुगिन्छ भने तिवारी सङ्गसचेत नाटक हुन् ।

भाषिक मिठासता:

नाटक विधामा भाषा भन्नाले पात्रले प्रयोग गर्ने संवादको भाषा बुझ्नु पर्छ । समालोचक महादेव अवस्थी तिवारीको नाटकीय भाषाका विषयमा यस्तो धारणा राख्छन् ‘अनुप्रास शब्दालङ्कारको सौन्दर्य यस नाटकभरि प्राप्त गर्न सकिन्छ र यसबाट प्रस्तुत नाटकको भाषाशैली मिठासयुक्त, कवितात्मक र आकर्षक बन्न गएको छ (पृ.१५१) भन्दै तिवारीले साहित्यमा प्रयोग गर्ने भाषा गद्य वा पद्य दुवैका तरेलीमा निकै मिठासपूर्ण हुने कुरा जनाएका छन् । भाषाकै सन्दर्भमा परिष्कृत र शुद्ध, सरल र मार्मिक, शैली आकर्षक र मर्मस्पर्शी नेपाली उखानहरूको समुचित प्रयोग, वाक्यांश, वाक्य पद्धतिको उचित सन्निवेश तथा सवाल जवाफमा सजीव मनोहरता एवं ठाउँमा गीत, गजल, ठुमरी, तथा लोकलयको समेत विन्यासले बढी रोचक आदि तिवारीका नाटकीय विशेषताहरू उत्तरउत्तोर विकसित हुँदै पनि गएका छन् भन्दै भरतराज पन्तले (पृ. २२९) ले तिवारीको नाटकीय भाषा पिरिष्कृत हुनाका साथै निकै प्राकृतिक र भाषिक निखारताले नाटकीय भावमा मार्मिकता थपेको अभिव्यक्ति दिएका छन् । उखान तथा टुक्काका बान्कीमा चोपिलो नाटकीय भाषा तिवारीको प्रशंशनीय पक्ष हो भनेका छन् । चरित्र चित्रणको सजीवता, वियोगान्त संयोजनको सान्दर्भिकता, करुण रस समावेशको मार्मिकता, वर्णनात्मक मुखरता तिवारीका नाटकीय विशेषताहरू हुन् (पृ. २३१) भन्दै भाषिक दृष्टिले पनि तिवारीको नाटकीय मूल्याङ्कन हुन पर्छ भन्ने मान्यता पन्तले राखेका छन् ।

संवादगत चुस्तता:

संवाद नाटकको प्राण हो।संवादमा जति सक्दो जीवन्तता आउन सक्यो त्यति नै नाटक सबल देखिन्छ। पात्रको अवस्था र योग्यता अनुसार अनि उसको जातीय परिवेश अनुसार संवाद बोल्न लगाउने नाटककारको यो आफ्नै प्रकारको विशेष वैशिष्ठ्य पनि हो भन्दै गोपाल प्रसाद अधिकारी (पृ. १७२) ले संवादमा कुनै प्रकृतिको कृत्रिमता नदेखिनु तिवारीको विशेषता हो भन्दै संवादगत चोपिला हुन तिवारीको प्रवृत्ति हो भन्ने धारणालाई निकै प्रभावकारी रूपमा उठाएका छन् । यसका साथै उनले नाटक मञ्चन गर्नका लागि मञ्चीय व्यवस्था कस्तो हुनु पर्ने र पात्रको वेशभूषा के कस्तो हुनु पर्ने भन्ने विषयमा जति मात्रामा नाटककार तिवारी दक्ष देखिन्छन् त्यति सफलता अन्य नेपाली नाटककारले कमै प्राप्‍त गरेका छन् (पृ. १८९) भन्ने धारणा राख्दै तिवारीमा निर्देशकीय चेतना पनि तीव्र रूपमा रहेको कुरा अधिकारीको व्यक्त गरेका छन् । तिवारीका छोटा, लामा, सामन्य वा काव्यात्मक जस्तोसुकै प्रकृतिका सम्वाद सुन्दर, रोचक, आकर्षक र प्रभावकारी छन् । उनले संवादको योजना गर्दा पात्रको वर्ग, जाति, , उमेर, लिङ्ग, बौद्धिक मानसिक स्तरको निकै विचार राखेका छन् र यो अध्ययनको रोचक विषय हुन सक्छ (पृ.२१३)भन्ने सम्भावनालाई पनि उनका नाटकले स्थापित गरेको कुरा व्यक्त गर्दै समालोचक केशव प्रसाद उपाध्यायले नाटकमा प्राकृतिक प्रकृतिकै संवाद विन्यास रहेको तथ्यलाई उजागर गरेका छन् ।

नारीकेन्द्री चिन्तन:

तिवारीले आफ्ना नाटकमा नारी समुदायका विविध पक्षलाई समेट्ने प्रयास गरेका छन्।नाटककार भीमनिधि तिवारीका नाटकमा नारीहरूमाथि भएको अन्याय, अत्याचार एवं शोषणको यथार्थ चित्रण त छँदैछ, त्यस बाहेक नारीका विवध रूप, महिमा र गरिमाको पनि उल्लेख छ भन्दै देवी शर्मा (पृ. २०२) ले तिवारीका नाटकमा नारीलाई निकै प्रमुखताका साथ स्थान दिएको कुरा उठाएकी छन् । तिवारीको सहनशीला शुशिला, पुतली जस्ता नाटकमा नारीको यथार्थ अवस्थाको चित्रण गरिएबाट पनि यस कुराको पुष्टि हुन पुग्छ । यसै गरी प्रजातन्त अघिको नेपाली समाजको धरातलमा थिचिएका मिचिएका नारीको अवस्था प्रति निकै संवेदनशील तिवारीले नाटकको विषय नै नारी जागरणलाई बनाएका छन् त्यति गर्नु पनि त्यस बेलाको प्रशाशनिक नियन्त्रणमा क्रान्तिकै चिराग सम्झनु पर्छ (पृ. २३२) भन्ने धारणा पनि यस सन्दर्भमा उल्लेख भएको छ । कृष्ण प्रसाद पराजुलीले नारी चेतना जगाएर सामाजिक सुधारको चाहना भीमनिधिका नाटकले राखेको कुराको उल्लेख गर्दै उनका लोकगीतमा सामाजिक विसङ्गतिको चित्रण पाइन्छ भने त्यस प्रतिको व्यङ्ग्य पनि भेटिन्छ भन्दै यसका साथै हाँस्यको मिश्रण भेटिन्छ (पृ. २४१) भन्दै नारी समुदायका पक्षमा तिवारीले आदर्शोन्मुख तरिकाबाटै किन नहोस् नारी आत्माको भित्री कुना कन्तरामा छुन तिवारी सफल रहेका छन् भन्ने निष्कर्ष निकालेको कुरा जनाएका छन् । यसै गरी नारीलाई पतिव्रता बन भनेर सिकाउने थुप्रै छन् तर पुरुषलाई पत्नीव्रत बन्नु पर्छ भनेर सिकाउने को छ र तिवारीबाहेक? त्यसैले उनको नाटक आदर्श जीवनमा पनि आफ्ना पात्र कुनैलाई पनि दुई बिहा गर्न दिएका छैनन् । उनको दृष्टिमा नारी र पुरुष बराबर छन् समाजको साझा उत्तरदायित्व बहन गर्ने समानजीवी हुन् भन्ने विचार जताततै प्रतिपादित गर्छन् उनी भन्दै प्रमोध प्रधान (पृ.२८८) ले तिवारीको सबैभन्दा सबल पक्ष भनेको वैचारिक धरातलमा नारी पुरुषको समानता र पुरुषलाई महिलामाथि समान अनि सामाजिक न्यायको भाव व्यक्त गर्ने दिशामा केन्द्रित हुन अह्राउनु तिवारीको निकै सकारात्मक पक्ष हो भन्ने कुरा व्यक्त गरेका छन् ।

जातीय पहिचानका प्रवक्ता:

भीननिधि तिवारीको साहित्यको सबै भन्दा सबल पक्ष भनेको नेपाली जाति प्रति अगाद आस्था विश्‍वास र सम्मान हो । उनले नेपाली हुनुको गौरवानुभूतिलाई आफ्ना नाटकमा पनि प्रशस्त प्रकाश पारेका छन् । यस सन्दर्भमा केशव प्रसाद उपाध्यायको नाटककार तिवारी माथिको टिप्पणी उल्लेखनीय छ ‘चार जात छत्तीस वर्णको फूलबारीको रूपमा रहेको नेपाली समाजको भाषिक यथार्थलाई नाटकका माध्यमबाट व्यपकतामा प्रदर्शित गर्ने काम अरू कसैबाट नभएर तिवारीबाट नै भएको देखिन्छ (पृ.२१२) भन्दै नेपाली जातीय पहिचान र हाम्रो संस्कृतिको धरोहर र जातीय पहिचानको गहनालाई तिवारीले निकै चम्किलो बनाएको कुरा उठाएका छन् । यसै गरी तिवारीका प्राय: रचनाले राष्ट्रियता, राष्ट्रिय एकाता र राष्ट्रवादको वकालत गर्छन् । उनका दृष्टि दर्पण राष्ट्रियताको उत्थान र सम्बर्द्धनमा बद्धप्रकारका छन् भन्दै पूर्ण प्रकाश नेपाल यात्रीले (पृ. ३३५) तिवारीका नाटकमा राष्ट्रियताको व्यापक उद्घोष, राष्ट्रिय एकताको शङ्खघोष, राष्टवादीताको अनिवार्यताको पक्षमा कलम चलाएका छन् भन्ने विचार व्यक्त गरिएको छ । विष्णु अधिकारीले ‘नेपाली नाटकमा आदर्शोन्मुख यथार्थवादी धाराका प्रवर्तनकर्ताको रूपमा मानिने विवारीले आफ्ना एकाङ्कीमा मानवीय नैतिकता, राष्ट्रियता, जातीयत स्वाभिमानको चित्र प्रस्तुत गर्नुका साथै नेपाली सभ्यता, संस्कृति र परम्परा प्रति मोह प्रकट गरेका छन्, भन्दै…..तिवारी मूलत: राष्ट्रिय भावधारामा आबद्ध रही आफ्नो लेखनीलाई अघि बढाउने सर्जक व्यक्तित्व रहेकाले पनि उनका प्राय: एकाङ्कीमा राष्ट्रिय अस्मिताको प्रतिबिम्ब परेको देखिन्छ (पृ.१२२-१२३) भन्ने विचार व्यक्त गर्छन् । यस अभिव्यक्तिले नाटककार तिवारीमा राष्ट्रवादी चेतना तीव्र रूपम रहनाका साथै नेपाली संस्कृति र जातीय स्वाभिमानको निकै गौरवमय पहिचान रहेको कुरा व्यक्त गरेका छन् ।

उपयुक्त चरित्रको प्रयोग:

नाटकको विषयवस्तु अनुसार पात्रको चयन हुन नसकेमा नाटक सफल बन्न सक्दैन।आजसम्म लेखिएका ऐतिहासिक विषयका रचनाहरूमा जुन तथ्यात्मकता र यथार्थता र प्रस्तुतिको इमान तिवारीका कृतिमा पाइन्छ अरूतिर पाउन सकिएको छैन । तिवारीका  पात्र गोटी बनेका छैनन् र ती उनका मुख पात्र पनि होइनन् हुन सक्दैनन् । ती जे बोल्छन् आफैँ बोल्छन् र ती जे गर्छन् आफै गर्छन् । ती इतिहासका साँचा प्रतिबिम्ब हुन् (पृ.४०३) भन्दै ताना शर्माले चरित्र वा पात्र चयनका दृष्टिले तिवारिका नाटक कुशल छन् तिनीहरूलाई कथानकसँग जवर्जस्ती अनुबन्ध गर्नु पर्ने वाध्यता नभएर नाटकमा तिनीहरूको उपस्थिति स्वाभाविक सही अनुभूत हुने कुरा व्यक्त गरेका छन् ।

निष्कर्ष:

भीमनिधि तिवारी आधुनिक नेपाली नाटक साहित्यको परिष्कारकेन्द्री धाराका एक विशिष्ट नाटककार हुन् । उनको नाटकीय विशिष्टता प्रकारगत, ऐतिहासिकता, गुणात्मकता र परिणामात्मकताका आधारमा निर्धारण गरिएको हो । नाटक लेखन र मञ्चनमा उनको तीव्र लगाव रहेको कुरा उनका नाटकले रङ्गमञ्चमा प्राप्त गरेका सफलताले प्रस्ट हुन्छ । नाटक रङ्गमञ्चमा प्रदर्शन गरिने विधा हो भन्ने बोध भएका तिवारी नाटक प्रदर्शन गर्ने संस्थाको स्थापनामा लाग्छन् उनले ….नामक रङ्गमञ्च केन्द्री संस्थाको स्थापनाले देखाउँछन् । उनका नाटकमा विषयगत आयाम र प्रकारगत आयामिकता झल्किनाले उनी बहुआयामिक नाटककार हुन् । उनी नेपाली सहित्यमा एकाङ्कीको प्रकाशनलाई प्रारम्भ गर्ने  एकाङ्कीकार हुन् । उनका नाटकमा सुखान्त दु:खान्त दुवै प्रकृतिका नाटकको अस्तित्व देखिन्छ । दु:खान्त नाटक लेखनमा उनको निकै उल्लेखनीय योगदान छ तर उनी समका दु:खान्त नाटकको छायामा परेका हुन् भन्ने प्रारम्भिक निष्कर्ष निकाल्न सकिन्छ । उनी मौलिकताका पक्षधर नाटककार हुन् । उनले शहनशिला शुशिला नाटकको भूमिकामा नेपाली भाषामा कि त कालिदासको परिपाटीमा नाटक लेखिए कि त सेक्सपियरको अनुकरणमा नेपाली वातावरण, नेपाली परिस्थिति नेपाली बोलचाल, नेपाली समाज र नेपाली जीवनलाई सुहाउने गरी लेखिएको पहिलो नाटक नै यही हो भनेकाले तिवारी मौलिक नाटककार हुन् भन्ने पुष्टि हुन्छ (उपाध्याय, पृ. १४०) । तिवारी नाटकको पाठलाई मात्र वास्ता गर्ने रङ्गमञ्चलाई वेवास्ता गर्ने नाटककार होइनन् । उनी भाषिक रूपमा प्रस्ट र कलात्मक नेपाली गद्यपद्यमा कुशल भाषिक प्रयोग गर्ने नाटककार पनि हुन् । आदर्शमय परिस्थितिमै किन नहोस् नारी मनका कोमलतामा तिवारीका नाटक रगमगाएका हुन्छन् । नेपाली जातिप्रतिको अहम् गौरवबोधले तिवारीको रष्ट्रियतालाई प्रस्ट बनाएको छ । पात्रहरूको सही र उपर्युक्त प्रयोगले तिवारी अब्बल नाटककार हुन् भन्न सजिलो भएको छ । तिवारीका सामाजिक नाटकहरूले समन्यतया पारिवारिक जीवन र समाजिक जीवनमा आइलाग्ने समस्या प्रस्तुत गरी तिनका समाधानको केही सुधारवादी र कहीँ क्रान्तिकारी बाटो देखाएका छन् (पृ.२१८) भन्ने केशव प्रसाद उपाध्यायको निर्णायात्मक मत सही नै लाग्छ ।

यो लेख तन्नेरी पत्रिका भीमनिधि तिवारी वशेषाङ्क (२०७०) मा प्रकाशित छ। 

सन्दर्भ सामग्री

उपाध्याय, केशव प्रसाद (२०५६), नाटकको अध्ययन, ललितपुर:साझा प्रकाशन, पृ. १४०.

शर्मा, ताना र अन्य (सम्पा.) (२०५४), तिवारी नाट्य-साहित्यको विश्‍लेषणात्मक अध्ययन, काठमाडौँ:तिवारी – साहित्य समिति ।

-अशोक थापा, उप-प्रा  
नेपाली केन्द्रीय विभाग, कीर्तिपुर

This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.