~दुर्गा विनय~
मुकेश
धेरै दिनपछि आज फेरि घाम लागेको थियो । सँधैसँधैको झरीले मान्छेहरू हिंड्न छाडिसकेका थिए । यहाँ “हिंड्न छाड्नु” भन्नुको मतलब “कम हिंड्नु” भन्नु हो । झरीले मान्छेहरूलाई काम गर्न अप्ठ्यारो बनाइरहेको थियो । कत्तिका दिनहरू सुतेरै बित्थे, कत्तिका भिजेरै । तर आज राम्रै घाम लागेको छ । धेरै दिनपछि मेरोझैं सबैको अनुहारमा उज्यालो आएको छ । सफा लुगा, जुत्ता पनि लगाएर म हिंडेको थिएँ साथीहरूलाई भेट्न ।
स्कूले जीवन सकिएको झण्डै पाँच वर्ष पो पुग्न आँटेको रै’छ । पाँच वर्षपछि हामी पुराना साथीहरूको आज भेट्ने दिन थियो, अर्थात् “गेट टुगेदर” थियो । पानी पर्न रोकिए पनि बाटो त हिलै थियो । हिलोबाट कपडालाई, जुत्तालाई, आपूmलाई जोगाउँदै म स्कूलतिर लागें । बाटोमा धेरै थोक देखें । मलाई आज किन हो सँधै विरक्त लाग्ने बाटो मनप¥यो । सँधै देख्दा रिस उठ्ने ती बडाबा मनपरे । घाम मनप¥यो । आकाश मनप¥यो । मलाई आज सबै कुरा मनप¥यो । कत्ति दिनपछि आज त्यो बाटो हिंडेझैं लागिरह्यो । आफ्नो वेग बढाएर स्कूल पुगुँ भइरह्यो । कौतुहलताले मलाई गाँजिरह्यो । को–को आउने हुन्, “उनी” आउने हो कि होइन ?
हिंड्दाहिंड्दै मैले पाँच वर्ष अगाडिको म र अहिलेको ‘म’ लाई दाँज्न खोजें । “पाँच वर्ष अगाडि कति सानो फुच्चे थिएँ म, अहिले त आपूm ……(?) अहिले पनि के पो भइएको छ र ? उही पढाइ नै त हो कमा’को भन्नु । अरूले के–के गरिसके होलान् ।” हिंड्दा हिंड्दै मलाई मुकुन्द याद भयो, रमेशको याद भयो, शोभाको याद भयो । हामीसँगै कत्ति खेल्थ्यौं । कत्ति रमाइलो थियो त्यो स्कूले जीवन । अहिले पनि म सम्झन्छु त्यो दिन जब हामीले सरलाई पुच्छर लगाइदिएर कुटाइ खाएका थियौं ।
दिनहरू कत्ति रमाइला थिए ।
कत्ति रमाइला थिए ती दिनहरू ।
अहिले म सम्झन्छु, दिनहरू कति छिट्टै बित्दा र’छन् । फिल्मका रिलहरू जस्तो गरी यादहरू आउँछन् झल्याक–झुलुक ।
ती घटनाहरू, ती फटाइँहरू सम्झन्छु । हाँस्छु मुसुक्क । हिड्दाहिंड्दै । अरू पनि कत्ति गरेका थियौं मोज र मस्तीहरू । आनन्दले बितेका थिए दिनहरू । कुनै परवाह थिएन । कुनै डर, त्रास थिएन । कुनै पीर पनि थिएन ।
हिंड्दाहिंड्दै म त्यही ठाउँमा आइपुगेछु, जहाँ हामी स्कूलबाट भाग्दा भेला हुन्थ्यौं । हामी सबै भिन्नै–भिन्नै ठाउँबाट भागेर त्यही ठाउँमा भेला हुन्थ्यौं । एकछिन त्यहाँ उभिएँ । त्यो चौतारो अलि भत्किएको रहेछ । बाटो पहिलाको जस्तो नभएर पक्की भएको रहेछ । त्यतिखेर सानो देखिएको कदमको बोट पनि अब त रूख भैसकेको रहेछ । “समय कत्ति छिट्टो बितेको हगि ?” आफैलाई सोधेको थिएँ । “समयलाई बाँध्न सक्ने भए । चिताएको समयमा पुग्न सक्ने भएको भए म अगि नै कति खेर त्यो समयमा पुग्थें हुँला ।” एउटा स्वैरकल्पना फेरि गर्छु । मन आनन्दले विभोर भएको थियो । पाइला आफैं चलिरहेका थिए । त्यो पुरानो बाटो, जीवनको दशौं वर्ष हिंडेको बाटो । तर पहिलाको जस्तो नइच्छा नभएको अहिले । पहिला स्कूल भन्दाखेरी लागेको दिक्क नलागेको अहिले । स्कूल जाँदाजाँदै भागुँ नलागेको अहिले ।
मन उत्तेजित भएको छ, प्रफुल्लित भएको छ । “रमेश कस्तो भयो होला, श्याम कस्तो भयो होला । के गर्दै होलान् अहिले । श्यामले त बिहे पनि ग¥यो अरे । छोरा–छोरी पनि भए होलान् उसका । रमा एस.एल.सी. फेल भएकी थिई । कम्पार्ट दिई कि दिइन ? पछि फेरि रेगुलर पो दिई कि ?” धेरै कुरा क्रम नमिलिई आइरह्यो । आएका कुनै कुरालाई, कुनै थोकलाई बन्देज लाइन मैले ।
ती मुखेनीको पसल त्यही ठाउँमा थियो । तर अहिले त्यहाँ पसल रहेनछ मुखेनीको । दुईचार ओटा काठमा फलेक मात्र रहेछन् । मुखेनी आमै दुई–तीन वर्ष अघिनै मरेको खबर पाएको थिएँ । मुखेनी आमैले मलाई साह्रै माया गर्थिन् । “मेरो नाती पनि तिमी जत्रै भयो होला ।” भन्थिन् सँधै । सँधै एउटा मिठाई दिन्थिन् । छोराबुहारी, छोरीज्वाइँबाट अपहेलित भएकी थिइन् उनी । अहिले म सोच्छु ती बृद्ध भएका आमाबुबालाई कसैले कसरी फ्याँकिदिन सक्छ, कुनै झुम्रो जसरी । माया, दया कसरी मर्छ, त्यति सजिलै आमाबुबादेखि घृणा जाग्छ र ?
ती मुखेनी आमै सँधै रोगी देखिन्थिन् । उनलाई थाहा नदिकनै म सुटुक्क पाँच–दश रूपैयाँ बतलनेर राखिदिन्थें । हजुरआमा नभएको म र नाति नभएकी मुखेनी बूढीबीचमा माया पलाइरहेको थियो । सँधै स्कूलबाट फर्कंदा त्यहाँ निस्कनुपथ्र्यो । आज मलाई नराम्ररी मुखेनी आमैको सम्झना आयो । आँखा रसाएर मेरा पनि । एकछिन त्यस फलेकमा बसें, मायालाई फलेकमा अढाएँ । मुखेनी आमै बस्ने गरेको ठाउँमा छामी हेरें । मन भारी भयो । मुखेनी आमैको सम्झनाले अमिल्यायो मलाई ।
स्कूल त्यहाँबाट धेरै टाढा थिएन । तैपनि शरीर गले जस्तो भयो । स्कूलमा नयाँ रङ्ग लगाइएको रहेछ । बाटो राम्रो बनाइएछ । भवन पहिलाकै थिएछ । धुपीका बोटहरू लगाइएका रहेछन्, सिसौका पनि बोट रहेछन् किनारतिर ।
मलाई रमाइलो लागिरहेको थियो । परैबाट दुईचारजना साथीलाई हात हल्लाएँ, उनीहरूले पनि हात हल्लाएको देखें । हिंडाइको गति बढाउँ जस्तो भएकै थियो । तर सामान्य गतिमै हिंडे ।
– “अरे के छ यार तँ त पूरै चेन्ज भइछस् नि ।” रमेशले अनौठो प्रतिक्रिया जनायो ।
– “हो र । तँ पनि त चेन्ज भइछस् नि त ।” मैले पनि त्यसै भनें ।
भलाकुसारी सबैसित भयो । धेरै साथीहरू आएका थिए । कत्तिजना छोरा लिएर, कत्तिजना छोरी लिएर, कत्ति त्यसै, कत्तिको त विवाह नै नभएको । सरहरूसित भेट भयो । आदर–स्नेह आदान प्रदान भयो । साथीहरू आइरहेका थिए । विदाको दिन “गेटटुगेदर” को कार्यक्रम मिलाएको (एक) फाइदा यसलाई मान्न सकिन्छ । मेरा आँखाले खोजेको अर्कैलाई थियो । आँखाले धेरै दुःख गरे । साथीहरूको भीडलाई छिचोल्दै थिए मेरा आँखा । साथीहरूसँग कुरा गर्दा गर्दै म मेरो बाल्यकालका ती दिनहरू सम्झन्छु, जब रूपा र मसँगै खेल्थ्यौं । उनले बोलेका वाक्यहरू सम्झन्छु । म उनलाई सम्झन्छु ।
अन्ततः मैले उनलाई देखें । उनीसित बोल्न मन लागिरहेको थियो । उनलाई बोलाउन मन लागिरहेको थियो । तर कसरी बोलाउने, किन बोलाउने सोचीरहें । एक किसिमको अप्ठ्यारो लागिरह्यो । विस्तारै म उनीतिर गएँ । उनीसँग भेट भयो । दुई चार कुरा भए ।
“हामी अलि पर गएर कुरा गरौं न हुन्न ।” उनको आग्रहलाई मैले नकार्न सकिन । हामी अलि पर गयौं । त्यहाँ एकान्तता थियो, म थिएँ, उनी थिइन् ।
“तिमी त मोटाए छौ नि ।” उनले कुरा शुरू गरिन् ।
“हो र तिमी पनि त मोटाए छौ नि ।” मैले त्यसै भनेको हुँ, मोटाएको हो वा होइन मलाई थाह थिएन ।
कुराकानी यस्तै भइरह्यो ।
“तिमीले कतिसम्म पढ्यौ ?” मैले उनलाई सोधें ।
“सि.एल.मात्र गरें ।”
“किन ?”
“त्यसै” फेरि मौनता छायो, लामै ।
“तिमीले कतिसम्म पढ्यौ ?” उनले मलाई सोधिन् ।
“बि.ए.को व्याक पेपर छ ।”
“ए” मौनता फेरि छायो ।
“आजकल के गर्दैछौ ?” उनले मलाई सोधेकी थिइन् ।
“केही छैन त्यसै बसिरहेको छु । तिमी नि के गर्दैछौ ?”
“म काठमाडांैमा सानो जब् गर्दैछु ।”
“तिम्रो बिहे भयो ?” उनको प्रश्नले म झस्किएँ । हत्तपत्त “छैन” भनें । फेरि सोधी हालें “तिम्रो नि ?”
“छैन” उनले पनि छैन भन्दा म ढुक्क भएँ ।
कुराकानीले खास गति लिइ रहेको थिएन । उनलाई मैले मनपराएको सानैदेखि हो । उनको शिलस्वभाव, हाउभाउ सबै मनपथ्र्यो, मनपर्छ अहिलेपनि । धेरैथोक भन्न मन लागेको थियो । केही केही भने पनि हुँला । उनी धेरै नबोल्ने हुनाले ममात्रै बोल्ने कुरा पनि भएन । उनले एकान्ततिर जाउँ भन्दाखेरि नै भन्न मन लागेको हो कुराहरू । तर मैले किन पो भन्न सकिनछु । अहिले म सोच्छु ।
“तिमी के गर्दैछौ ? ए अघि नै सोधेको नि ।” आफ्नो गल्तीलाई उनले कत्ति छिट्टै सुधारिन् मैले बोल्नै परेन ।
“केही छैन त्यसै बसिरहेको छु ।” हामी एकछिन हाँस्यौं र फेरि चुप भयौं ।
“अब के गर्ने विचार छ ?” उनको आँखा मेरा आँखासँग जुधेका थिए ।
“हेरौं जिन्दगीले के गराउँदो रहेछ । गर्न त धेरैथोक बाँकी छ । तर पनि के के हुँदोरहेछ ।” मेरो जवाफ यस्तै थियो । आँखालाई जोगाउँदै दिएको ।
कुराकानी बल्ल मोडिन थालेको थियो । साथीहरूले बोलाएको सुन्यौं । “मुकेश घर नजाने आइज ।” हिंड्नै पर्नेभयो । मन थिएन उठ्ने । उनी पनि उठिन् विस्तारै । विस्तारै चालले हामी हिंड्यौं ।
“अब काठमाडांै कहिले जान्छ्यौ ?” मैले हतार हतार सोधें
“दुई–तीन दिनमा जान्छु होला ।”
“भोलि भेटौं न, विर्तामोडमा ।”
“विर्तामोडमा कहाँ ?”
“विर्तामोडमा आएर फोन गर न ।”
“कोसिस गर्छु ।”
आज फेरि हामी छुट्टियौं । त्यत्रो वर्ष भन्न नसकेको कुरा आज पनि भन्न सकिएन । मन विग्रियो मेरो । मलाई नमज्जा, नरमाइलो लाग्यो । उनीतिर फर्केर हेरें । उनी साथीहरूसँग हाँसखेल गर्दै, ठट्टा गर्दै गइरहेकी थिइन् । उनी भोलि आउँछिन् जस्तो लागेको छैन मलाई । बेलुका फर्कंदा मलाई बाटो मनपरेन, घाम मनपरेन, आकाश मनपरेन । मेरा साथीहरू मनपरेनन् । म सोच्छु “यस्तो किन हुन्छ, यस्तो नभइदिए हुन्थ्यो ।”
फर्कंदाखेरी झरी पर्न थालिसकेको रहेछ । हामी भिज्दैभिज्दै घरतिर हिंड्यौं ।
रूपा
दिन राम्ररी उघ्रेको थियो । रात अनिदो भएरै बितेको रहेछ । आँखा राता रातै थिए । दिनको पर्खाइमा रात ढुकेरै वितेछ । कति निदाएछु, कति ननिदाएछु । हिजोको जस्तो झरी परिदिएन आज खुशी त्यसको पनि थियो । आज साथीहरू भेट्ने दिन । खुशी त्यसको पनि थियो । साथीहरू भन्दा पनि ‘ऊ’ आउँछ कि आउँदैन भन्ने थियो । काठमाडांैबाट आएको केही दिन पछि नै उसलाई भेट्ने मन नभएको हैन । तर के भनेर भेट्ने कसरी भेट्ने लागेकै हो ।
आपूmलाई सिंगारेर म साथीहरू भेट्न हिंडे । मन उद्वेलित भइरहेको थियो । एक किसिमको हडबडाहट रहिरह्यो मनमा । छिट्टै स्कूल पुग्न मन लागिरह्यो । धेरै वर्षपछि आफ्नो गाउँ आएकी थिएँ । परिवर्तन त भएको थियो नै । तर परिवर्तन त्यति साह्रै भइहालेको रहेनछ । मुकेश र मैले खेल्ने गरेको ठाउँ त्यत्तिकै रहेछ । हामी भागेर भेला हुने ठाउँ पनि त्यस्तै रहेछ । धेरै परिवर्तन बोली र कागजमा भएछ । थोरै परिवर्तन– ठाउँमा ।
जाँदा–जाँदै बाटोमा रहेको फुपुको घरमा पस्नुपर्ने । पसिहालें ।
“अरे रूपा कहिले आइस् ?” फुपुलाई थाहा थियो म आएको छु भन्ने ।
“अस्ति नै आएकी हुँ ।” मैले पनि सहजै भनिदिएँ ।
“खाना खान्छेस् होला नि ।”
“हैन, आज स्कूलमा प्रोग्राम छ । त्यहीं गएकी । खाना तीँ खाइन्छ ।”
“ए केको प्रोग्राम ?”
“साथीहरू भेट्ने प्रोग्राम ।”
“चिया खाएर जा न त ।”
बाटोमा पर्ने भएकोले मात्र म पसेकी थिएँ । नत्र मलाई फूपुको घरमा त्यति जान मन लाग्दैन थियो । लाग्दैन अहिले पनि । नपस्दा ठूलो भए जस्तोे, पस्न मनै नलाग्ने । मन नभए पनि म चिया खाइन्जेल बसें । चिया खाइसकेपछि एकछिन त बस्नै प¥यो । भाइबहिनीहरूसँग कुरा गरेर एकछिन बसेर म हिंडे ।
बाटोमा धेरै यादहरू आलो भए । धेरै बिलाएका कुराहरूले सम्झना भएर झक्झकाइ रहे । म सम्झिन्छु स्कूलका ती रमाइला दिनहरू । साथीहरूसँग मिलेर मोज गरेको, खेलेको, फट्याईँ गरेको । “किन मान्छे बढेको बढ्यै गर्छ” लाग्छ अहिले । चाहेको समय टक्क रोकिनु । साथीहरू कस्ता भए होलान् । को कस्तो भयो होला । अञ्जली के गर्दै होली । मुना त बाहिर गएकी छ सुनेको थिएँ, हो कि होइन ? हामी साथीहरूमा ऊ सबैभन्दा राम्री थिई, तर रूपको घमण्डले (होला) ऊ हामीसँग त्यत्ति बोल्दिन थिई । यो हामीलाई लागेको हुनसक्छ । उसका साथीहरू “ऊ धेरै नै मिलनसार छे” पनि भन्छन् । हुन त म पनि कक्षामा त्यति बोलिहाल्दिन थिएँ । मलाई पनि त्यस्तै भन्थे कि (?) ।
मुखिनी आमैको मृत्युको कुरा मैले अस्ति भर्खर सुनेकी थिएँ । ऊ मुकेशलाई एकदमै माया गर्थिन । मुकेशलाई मिठाई दिएको बेला हामीलाई पनि दिइहाल्थिन् मुखिनी आमै । बूढी थिइन् “नाति–नातिना” भन्थिन् । हुरूक्क हुन्थिन् । रोग, भोक र शोकले गाँजेको “मुखिनी आमैले साह्रै दुःख पाइन् मर्ने बेला” भन्नुहुन्थ्यो आमा । मरेपछि छोराले आएर लाश लगेको थियो अरे । मुखिनी आमैको पसल भएको ठाउँ देखेर सम्झेकीे हुँ मैले यस कुरा । पुरानो घाउ कोट्उँदा साह्रै दुख्छ । मुखिनी आमैको मृत्यु पुरानो घाउ भएर बस्यो मुटुमा, मनमा, मस्तिष्कमा ।
म चाँडै स्कूल पुगेछु । अरूहरू एक–दुई जना आएका थिए । सरहरू पनि विस्तारै–विस्तारै आउँन थाले । आँखाले खोजेको मान्छे अझै देखापरेन । अरूसँग साधारण भलाकुसारी भए । “अहिले कहाँ छौ ? के गर्दै छौ ? पढाई कति पु¥यायौ ?” यिनै साधारण प्रश्नहरू सोधियो, यिनै प्रश्नहरूको उत्तर दिइयो । तयारीमा रहेका उत्तरहरू दिइरहें, अरूका पनि सुनिरहें ।
अञ्जली पनि आएकी रहिछ । अञ्जलीसँग कुराहरू भए । छोरो लिएर आएकी रहिछ । “विहे भएको तीन वर्ष भयो ।” ऊ भन्दै थिई । “छोरो दुइ वर्षको छ । एकछिन बस्न दिँदैन ।”
– “अनि कसरी यत्ति चाँडै विहे भयो ?”
– “हेर न एस.एल.सी. फेल भइहालें, कम्पार्ट पनि पास गर्न सकिनँ । एकवर्ष घर बसेरै वित्यो । अर्को वर्ष त विवाह गरिदिइ हाल्नु भयो नि ।”
अञ्जली हाम्रो कक्षाको सबैभन्दा सोझी केटी थिई । देखिन्थी । पढाइमा अलिक कमजोर थिई । धेरै नबोल्ने, नहाँस्ने । सँधै गम्भीर मुद्रामा हुन्थी ऊ । अहिले त बोलेर नथाक्ने, हाँसीरहने भइछ । कत्ति परिवर्तन आएछ उसमा । अञ्जलीसँग कुरा गर्दा–गर्दै समय वितेको थाहा भएन ।
आँखाले खोजेको मान्छे, मनले खोजेको मान्छे बल्ल देखें । ऊ भर्खरै आउँदै गरेको देखें । साथीहरूसँग हात मिलाइरहेको, हाँसीरहेको देखें । झस्क्याउँदै अञ्जलीले भनी
– “मलाई थाहा छ, तिमीहरूको कुरा । पहिलै स्कूलदेखिकै होइन ।” मैले उसको कुरा नबुझे जस्तो गरें ।
– “अँ ! सबैलाई थाहा छ, थाहा नभएजस्तो नगर्न ।” उसले फेरि भनि ।
मुकेशले मलाई देख्यो । मैले उसलाई बोलाएछु । थाहा नपाइ हात उठेर उसलाई बोलाउन पुगेछन् । हात झरेपछि, ऊ हामीतिर आउन थालेपछि थाहा पाएँ मैले बोलाएछु भन्ने । “ल है बोलाइहालिस, अब गफ गर्दै गर म चाहीं गएँ ।” अञ्जली छोरो च्यापेर खुसुक्क एकातिर लागी ।
मुकेश आइपुग्यो । साथीहरूको माझ मलाई अलि अफ्ठ्यारो जस्तो पनि लागेको थियो । “हामी अलि पर गएर कुरा गरौं न हुन्न ।” मैले भनिहालें । हामी अलि पर चौरमा गएर बस्यौं । चौर डाँडा–डाँडा जस्तो ओभानो परेको थियो । बसेर कुराकानी गर्न थाल्यौं । ऊ पनि बोलेको थिएन, म पनि चुप थिएँ ।
के बोल्ने–के बोल्ने हुँदाहुँदै मुख हँसिलो पार्दै भनें “तिमी त मोटाए छौ नि ।”
“हो र तिमी पनि त मोटाए छौ नि ।” अरूले मलाई दुब्लाइस् भन्थे । तर उसले मोटाइस् भनेको सुन्दा मलाई हाँस–हाँस पनि उठेको थियो । मौनता लामो छायो । ऊ भुइँको झार उखाल्दै, घरि झार च्यात्दै, घरि माटो कोट्याउँदै गर्न थाल्यो । मलाई रिस पनि उठ्यो । आपूmले बिहानभरि लाएर सिंगारिएकी थिएँ उसको लागि । तर उसको कुनै प्रतिक्रिया नै थिएन । एकपटक पनि मतिर हेरेन । कस्तो मान्छे ? सँगैका उसका साथीहरूले अघिनै भनेका थिए मलाई “तिमी त कति राम्री देखिएकी छौ ।” ऊ भने केही वास्तै गर्दैन । अरूअरू नै के के सोध्छ ।
“तिमीले कतिसम्म पढ्यौ ?”
“सि.एल.मात्र गरें ।” मैले यथार्थ कुरा भनें ।
“किन ?”
“त्यसै”
ऊ फेरि बोलेन धेरैबेर । मैले नै कुरा गरौं जस्तो लागेर सोधें ।
“तिमीले कतिसम्म पढ्यौ ?”
“बि.ए.को व्याक पेपर छ ।”
“ए”
हामी औपचारिकतामा नै अडिएछौं । त्यत्ति अनौपचारिक साथीहरू हामी । हामीबीच कुनै कुरा लुक्दैन थियो । सँगै हाँस्ने, खेल्ने हामीहरू आज औपचारिक कुरा गरिरहेको देखेर म छक्क परें । किन यस्तो भइरहेको छ । मैले बुझ्नै सकिन । किन म ऊसँग खुल्न सकिरहेकी छैन ? किन ऊ मसँग त्यति खुल्न सकिरहेको छैन ?
“आजकल के गर्दैछौ ?” मैले सोचें अब कुराकानीलाई औपचारिकताबाट ओराल्नुपर्छ ।
“केही छैन त्यसै बसिरहेको छु । तिमी नि के गर्दैछौ ?”
“म काठमाण्डौमा सानो जब् गर्दैछु ।”
कुराकानी फेरि रोकियो । लामै मौनता छायो । सोचें व्यवहारले गाँजेर होला ऊ यति गम्भिर भएको । एकपटक झसङ्ग भएँ । कतै उसको विहे त भएको छैन ?
“तिम्रो बिहे भयो ?” मैले प्रश्न सोधिहालेछु ।
उसले हत्तपत्त “छैन” भन्यो ।
“तिम्रो नि ?” ऊ पनि आत्तिएछ क्यार ।
“छैन” म लजाएकी थिएँ ।
किन कुराकानी औपचारिक मात्रै हुन्छ । किन यसले अनौपचारिक हुन नजानेको । जत्ति कुरा कोट्याउँ गफ गर्ने प्रसङ्गै नउठ्ने । के भएको । म फेरि बोल्न खोज्छु
“तिमी के गर्दैछौ ? ए अघि नै सोधेको नि ।” अघि नै सोधिसकेकी थिएँ फेरि सोधेछु । हत्तार–हत्तार कुरा मिलाइहालें ।
“केही छैन त्यसै बसिरहेको छु ।” मलाई साह्रो हाँस उठ्यो । उसले पहिलाकै ढङ्गमा फेरि भन्यो । हामी दुई मज्जाले हाँस्यौं ।
त्यसपछि कुरा धेरै भए । हामी पनि पहिलेका कुराहरू गर्न थाल्यौं । अनौपचारिक भइसकेछौं ।
“अब के गर्ने विचार छ ?” मेरा आँखाले ऊसँग जवाफ मागेका थिएछन् ।
“हेरौं जिन्दगीले के गराउँदो रहेछ । गर्न त धेरैथोक बाँकी छ । तर पनि के के हुँदोरहेछ ।” उसले मेरो कुरो बुझेजस्तो मलाई लागेन । म फेरि केही भन्न खोज्दै थिएँ । तर जाने बेला भइसकेछ । साथीहरूले बोलाउन थाले । हामी उठेर लाग्यौं । उसले भोलि भेटौं भनेको छ । भोलि भेटेर पनि उसले केही भनिहाल्ला जस्तो मलाई लाग्दैन । तर पनि हेरौं के हुन्छ ।
फर्कंदाखेरि निकै पर पुगिन्जेलसम्म मैले उसलाई हेरिरहें तर उसले एकपटक पनि फर्केर हेरेन । नमज्जा लाग्यो मलाई । कत्ति माया लागेर, कत्ति न्यास्रो लागेर उसको, म आएकी थिएँ उसैलाई भेट्न काठमाडांैबाट । तर उसले वास्तै नगरे जस्तो लागिरह्यो । मन भारी भयो । वातावरण भारी भयो । झरी फेरि शुरू भयो । पानी नराम्ररी दर्कन थाल्यो ।
मनोज
कत्ति सालपछि यस स्कूलमा पढेका कुनै एक ब्याजका साथीहरूको भेट हुने दिन । लगभग पाँच वर्ष (होला) अघि यहाँबाट विदा भएकहरूको आज फेरि भेट्ने दिन । यसै स्कूलको प्राङ्गणमा । क्षेत्रमा । यसै स्कूलमा । सम्झनाका अनुहारहरूलाई, अनुभवहरूलाई फेरि एकपटक यसै स्कूलमा आएर ताजा पार्नेछन् आज एक ब्याजका केटाकेटीहरूले ।
म यस स्कूलको एक कर्मचारी । पदै तोकेर भन्नुपर्दा म पियन । स्कूलको स्थापनाकालदेखि नै म यस स्कूलमा कार्यरत । अझै पनि छु । कत्ति केटाकेटीहरू हुर्किएर यहाँबाट विदा लागेको देखेको छु । विदा दिएको छु । प्रिय कत्तिहरू गए । कत्ति अप्रियहरू पनि । सबैलाई झेलेको छु । सबै सहन गरेको छु, अरूहरूले जस्तै ।
विद्यार्थीहरू विस्तारै भेला हुन थाले । दिन आज शनिबार । सबैको छुट्टिको दिन । मेरो धमाधम । आज हुने “कार्यक्रम” को व्यवस्था मैले नै गर्नुपर्ने थियो । सारा जिम्मेदारी सरहरूबाट मलाई नै सुम्पिएको थियो । म स्कूलको होस्टलमै बस्छु । खानेकुरादेखि लिएर कोठा मिलाउने, कुर्सी मिलाउने सबै काम मेरो जिम्मेदारीमा हुनु थियो । होस्टलका परिचारक÷परिचारिकाहरूको सहयोग प्राप्त नै थियो । हामीले कोठा मिलाइसकेका थियौं । घाम लागेकोले, रूखको छहारीमा दुई चारवटा कुर्सीहरू पनि राखिदिएका थियौं । खानेकुराको व्यवस्था कक्षाकोठामा गरेका थियौं । विहानै जम्मै काम सकेका थियौं । खाना पकाउन मात्र बाँकी राखेर हामी पनि निस्क्यौं ।
विद्यार्थी, सरहरू सबै विस्तारै भेला हुन थाले । विद्यार्थीहरूसँग माया, स्नेह साँट्यौं । कत्ति मन परेका विद्यार्थीहरू पनि आएका थिए । फोन आइरहेको थियो कत्ति विद्यार्थीहरूका । फोनहरू बोल्थे –
“आउँन नभ्याउने भएँ, सरलाई भनिदिनु ।”
“सबै आइसके, ल म पनि आइहालें ।” इत्यादि ।
कालिगढ आइ नपुगेकोले लिन जानुपर्ने भयो । कालिगढ लिएर आउँदा, प्रायः सबै भेला भइसकेका रहेछन् । म विद्यार्थीहरूलाई नियाल्न थालें, परैबाट । राम अलि मोटाएछ, रमेशले नसुहाउने लुगा लगाएछ । सरिता त पूरै फेरिइछ । अञ्जलीले कति छिट्टो विहे गरिछ । आदि आदि ।
तर मैले ननियालेको अर्को कुरा रहेछ । देखें पर मुकेश र रूपा एकान्तमा गफिएको । यत्रो वर्षपछि पनि तिनीहरू यति घनिष्ठ कसरी रहन सकेका । मलाई याद छ अझै पनि, पहिलै स्कूलमै छँदाखेरी देखिनै यिनीहरू एकदमै मिल्थे । स्कूल छिटो आए मुकेश पर चोकमा रूपालाई पर्खिरहेको हुन्थ्यो, रूपा छिटो आए ऊ पर्खिरहेकी हुन्थी । अर्थात एकबिना अर्को स्कूल आएको मलाई थाह छैन । कक्षामा पनि सँगै एउटै सिटमा बस्थे अरे । स्कूल आउँदा सँगै, स्कूलमा सँगै, खेल्दा सँगै, पढ्दा सँगै, खाजा खाँदा सँगै,घर फर्कंदा सँगै ।
मुखिनी आमैले पनि “यी दुईको जोडी के साह्रो मिलेको ? बिहे गरिदिऊँ कि क्या हो ।” भनेर जिस्काएको सुनेको थिएँ । मुखिनी आमैले मलाई भनेकी थिइन् “तिनेरू साह्रै मिल्छन् । पछि कसरी छुट्टिन्छन् होला ?” सानो छँदाको मित्रता विस्तारै हुर्कंदै गएको देखें । मेरै आँखा अगाडि हुर्किएका हुन् यिनीहरू । विस्तारै–विस्तारै एकअर्का विना स्कूलै नआउने भइसकेका थिए यिनीहरू । उपस्थित हुँदा दुबैजना, अनुपस्थित हुँदा पनि दुबैजना । भाग्दा पनि दुबैजना । एकबिना अर्को लगभग शुन्य जस्तै भएको लाग्थ्यो मलाई ।
तिनीहरूले एकान्तमा बसेर के कुरा गरे होलान् ? सोच्न गाह्रो छैन । मलाई थाहा छ तिनीहरूले आफ्नो प्रेम अभिव्यक्त गरे, भावना अभिव्यक्त गरे । माया देखाए, स्नेह देखाए ।
हात हल्लाएको देखें । रूपाले मुकेशको कपाल मिलाइदिएको जस्तो देख्छु । माया दर्शाएकी होली । दुबै जना हाँसेको पनि देख्छु । कति खुशी छन् आज, वर्षौं पछि एक अर्कालाई भेट्दा । निहुरेकी रूपा लजाएकी होली, मुकेश जिस्काइरहेको होला । रूपा रिसाए जस्तो गर्दी हो, ऊ फकाए जस्तो गर्दो होला ।
उनीहरूलाई नियाल्दा नियाल्दै समय बितेको पत्तो पाइनछु । खाना खान सबै आए । खाए गए । उनीहरू पनि विस्तारै आए । अनुहार उज्यालो देखें दुबैजनाको । आज वर्षौंपछि यादहरू मेटिएका थिए । न्यास्रोहरू सकिएका थिए । अब सायद यिनीहरू छुट्टिदैनन् होला मलाई लाग्यो । उनीहरूले पनि खाए गए । आजको कार्यक्रम सकियो । आज पनि तिनीहरू अरूहरूभन्दा पर बसेर कुरा गरेको देख्दा लाग्यो – यिनीहरूको प्रेमले अब वयश्क रूप लिएछ । “यो आकर्षण त पक्कै होइन, प्रेम नै हो । प्रेम विना यो अरू हुनै सक्दैन ।” मलाई लागेको छ ।
सबैजना फर्किएपछि पानी मज्जाले दक्र्यो । ठूलै पानी प¥यो ।
दुर्गा विनय / झापा
(स्रोत : रचनाकारको ब्लगबाट सभार )