~सविन मिश्र~
पोहोर साल
जीवनको आधा उमेर त कृषि क्षेत्रकै लागि बलिदान गरेर बिताएँ। पार्टीले मेरो क्षमता त बुझेकै हो। एमाले पार्टी फुटाउँदा काम्रेड वामदेवलाई मैले दिएको साथको गुणले काम गर्यो।
पार्टी फुटाएर गएँ वामदेव काम्रेडसँग। त्यसको गुण तिर्न काम्रेडले कृषिमन्त्रीमा मेरो नाम सिफारिस गर्नुभयो। जे भए पनि सिंगो पार्टी हाँकेका मान्छेले सिफारिस गरेको मान्छे भनेपछि पार्टी अध्यक्ष काम्रेड ओलीले अनुमोदन नगर्ने कुरै थिएन।
नेतालाई सहयोग गरेकै भरमा ख्यालख्यालमै मन्त्री पो भइयो। ४८ सालको चुनावमा उठेकै हो, हारियो। संविधानसभाको चुनावमा पनि उठ्न दिएनन्। समानुपातिकमा पनि परिनँ। तर खाइयो त मन्त्री फ्याट्ट। मेरो भाग्य, राम राम राम। डोकोमा दूध अडिने रहेछ भाग्यमा भएपछि त। वामदेव कमरेडको खल्तीबाट मन्त्री बनेको मान्छे म।
मन्त्री भएपछि जिम्मेवारी पनि कति थपिएका। ओहो ! न कतै जाँदा खैनी माड्न पाइन्छ, न त मातेर हिँड्न पाइन्छ। म त निस्सासिएरै मर्छु कि क्याहो ! फेरि पार्टीले कृषि क्रान्तिको जिम्मेवारी सुम्पेको छ। हे दैव, भाग्यमा लिएर मन्त्री त बनियो तर मेरो स्वतन्त्रता त खर्लप्पै पो होला जस्तो छ। पार्टीको साख जोगाउनु नि पर्यो, आफ्नो प्रतिष्ठा पनि कायम राख्नु पर्यो।
बच्चैदेखि रौसे मान्छे म। मन्त्री बनेर दौरा सुरुवाल लाएपछि त उकुसमुकुसै हुन्छ। कतिबेला दौरा सुरुवाल खोलौं र राजाको राँगो बनौं झैं लागिहाल्छ। त्यसैगरी हुर्किएँ त म के गरौं।
कृषि मन्त्री भएपछि किसानसँग संगत। उनीहरु झुम्रे लुगामा आफू टक्क दौरा सुरुवाल र कोटमा। यसबेला चाहिँ मलाई साह्रै टेस पर्छ। यसो कार्यक्रममा गएका बेला तलतल लाग्छ। चट्ट उपरखुट्टी लाएर घुँडामाथि हात राखेर मचक मचक सुर्ती माँड्न कम्ता मज्जा आउँदैन। तर खुरापातीहरु देखिसहँदैनन्। मन्त्री भएर सभामा सूर्ती माँड्ने भन्छन्। हैन, मन्त्री चाहिँ मान्छे हैन? उसका चाहिँ इच्छा चाहना हुँदैनन्? डाढेहरु !
अघिल्लो दिन
धान दिवसमा जानुछ। पार्टीका कामरेडहरुले धान दिवस मनाउने भन्नुभा’छ। कति हुन् कार्यक्रम पनि, हत्तेरिका। बिहान उठेर ठ्याक्क हाफपेन्ट लगाएर एक ठाउँमा गएर मस्त हिलो खेल्न पाए पो। कहिले यता कुदाका छन् कैले उता। नजाम् पनि मन्त्री ठूलो भो भन्छन्। हुनत मन्त्री ठूलै हो नि हैन? नजाम् कि क्याहो कतै पनि !
पोहोर साल पनि गएकै हो हिलो रोपाइँमा। खासै रमाइलो भएन। यसपाली गएर बिन्दास रमाइलो गर्ने हो। ललितपुरको चापागाउँमा पोहोर साल झुरै भयो नि। अब मन्त्री भैसकेको मान्छे, खेतमा गइँदैन होला। यो मुला मन्त्री पदको पनि के भर छ र। यसपाली जमाइन्छ। मजाले हिलो खेलिन्छ। मन्त्री पो हुँ त म। सेक्युरिटीसँगै हुन्छ, मलाई के को डर !
घट्ना भएको दिन
यी कार्यक्रममा बोलाउनेहरुले पनि खानेकुराको बारेमा ध्यानै दिँदैनन्। अँ, बरु बाटोमा एकछिन् रोकेर दुई पेग लाउनुपर्ला। हुनत पेगभन्दा आफूलाई खोयाबिर्के नै मीठो लाग्छ। खुमलटारबाट मुलपानी पुग्नुछ। बाटोमा छुस्स दुई गिलास लगाउनुपर्ला। त्यसैपनि रोपाइँमा दौरा सुरुवाल लाउने हैन क्यारे। दौरा सुरवाल खोलेपछि मूड आइहाल्छ।
ओहो ! ११ बजेलाई पो बोलाएका थिए त। ज्या ! ३ पो बज्न लागेछ। हल्का टाउको दुख्लाजस्तो पो भयो त। युरिया हालेको झोल परेछ कि क्याहो। अनि यो धान रोप्ने मेसिन पनि स्टार्ट हुँदैन त। ल भयो भयो। मन्त्री भएर गाडी गाडीमा दौडेपनि पाखुरामा दम चाहिँ छ है मेरो।
कति महिला कम्रेड आएका हुन् फेरि यो रोपाइँमा। सबै स्वयंसेवक जस्ता छन्। आफ्नै पार्टीका कार्यकर्ता रहेछन्। ल अब मज्जा हुन्छ। उहिले उहिले उमेरमा तरुनीलाई च्याप्प समातेर हिलोमा चोपल्दा कम्ता मज्जा हुँदैनथ्यो। ओहो ! कस्तो झ्याप्पै पार्यो त पुराना कुराले। आफ्नै कार्यकर्ता हुन्, रमाइलो गर्न पर्यो। अनि यी बुढाहरु चाहिँ किन मेरो छेउ छेउ किन आउने होलान् के? डाढेहरु ! अलि तरुनीसँग चाहिँ हिलो खेल्नुपर्ला, बुढीहरुलाई अँगालो हालेर आशिर्वाद लिन पर्ला अब।
हैन यी पत्रकारहरुको पनि काम छैन कि क्याहो? कार्यक्रम त सक्किसक्यो त। मस्तै रमाइलो गरियो जे होस्। आज त अँगालो हालियो तर भोलि पो पत्रिकामा फोटा आउने हुन् कि अँगालो हालेका !
***
हँ ! के हो, जताततै मेरै चर्चा पो छ त। अचेलका केटाकेटी उम्रँदै तीनपात, फेसबुक र ट्विटरमा झुण्डिने तर किताब फिटिक्कै नहेर्ने, घरमा अक्षर नपढ्ने अनि परीक्षामा कडाई भयो भने गार्डलाई मुड्की कस्ने, आफू सिन्को नभाँच्ने अर्काले गरेको देखी नसहने। डुबाए मलाई यीनले डुबाए। ओहो, कति हो गाली गरेका पनि। आफू हिलो छुन घिनाउँछन्, मैले हिलो खेल्दा हेर यीनको छटपटी।
कसैले सम्झाइदेओ न ए यिनरलाई। देशको मन्त्रीका हैसियतले कृषकहरुलाई उत्साहित बनाउनु मेरो कर्तव्य हो भनेर। यसरी त खान्छन् कि के हो मेरो मन्त्री पद। थुक्क ! खल्तीबाट पाएको मन्त्री पद खल्तिमै फर्किन्छ कि क्याहो? टिभी, पत्रिका, फेसबुक ट्विटर जताततै म मात्रै पो छु त। हो, चर्चा कमाउन त कि सुर्ती नै माँड्नुपर्ने रै’छ कि त रोपाइँमै जानु पर्ने रै’छ। गाली गर्ने गरिराखुन्। सुत्छु अब।
भोलिपल्ट
ओहो ! कस्तो टाउको दुखेछ। पत्रिका पढ्नुपर्यो। जम्मा एउटाले मात्र फोटो छापेछ। ठीकै भो। टिरिङ टिरिङ ! टिरिङ् टिरिङ् !! हँ? अध्यक्ष कम्रेड !
अभिवादन कमरेड ! … हजुर कमरेड। गल्ती भो कमरेड …. हुन्छ कमरेड। … अँ…. हजुर …. हुन्छ कमरेड। अभिवादन कमरेड !
सत्यानाश ! जान्छ कि क्याहो खल्तीको मन्त्री। एकपटक प्रधानमन्त्रीलाई भेट्न पर्यो। बुढाले केही उपाय सुझाउँछन् कि त।
***
अँ, बुढा मुसुमुसु हाँस्दैछन् भनेपछि मूडमै होलान्। नमस्कार प्रधानमन्त्रीज्यू !
नमस्कार मन्त्री ज्यू ! तपाइँकै फोटा र समाचार हेर्दै थिएँ। हिजो त मज्जैले उ गर्नुभएछ नि।
हजुर …. अँ… जोसमा रमाइलो गरियो। बेइज्जतै भो नि हजुर … मुख देखाउनै नमिल्ने भो !
उ (चिन्ता) नगर्नुस्। यी मुला भुराभुरीले भनेर उ गर्नुपर्दैन। तपाइँलाई थाहा छ नि, मलाई पनि कति उ (गाली) गरे। मोबाइल मात्र उ (सम्पति) देखाएको प्रमको बेडमा कसरी त्यत्रो उ (पैसा) हुन्छ भनेर पनि उ (गाली) गरे। मैले उ (चिन्ता) गरेँ? पत्रकारको कामै उ गर्ने (समाचार बनाउने) हो।
सही समयमा भेटियो प्रधानमन्त्रीलाई। सारै ढुक्क भएँ अब। यस्ता मुला झारेझुरे पत्रकारले लेखे भनेर डराउँदिनँ। प्रधानमन्त्रीले भनेपछि सक्कियो।
अब के घर जानु। वामदेव कम्रेडलाई भेट्न जानु परो। हेलो ! अभिवादन कमरेड ! हजुर… हजुरलाई भेटौं कि भनेर … हजुर हजुर। … मन्त्रालयमै हजुर? ल म आइहालेँ हजुर। अभिवादन।
एउटै संगठन (कृषि) को उहाँ अध्यक्ष, म उपाध्यक्ष। दु:ख सुखमा उहाँ नै त हो मेरो भन्नु। अभिवादन हजुर।
बस्नुस्। सारै आत्तिनुभएको छ त?
हजुर, बेइज्जतै भयो नि। ट्विटर फेसबुक त हेर्नै नहुने भएको छ।
हत्तेरिका ! किन आत्तिनुभएको कमरेड। मैले बाटोको डिभाइडर नाघेको हैन? मलाई गाली गरेनन्? पत्रिकाले खेदेनन्? कतिदिनसम्म ट्विटर फेसबुक खोल्नै नहुने भयो। केही भयो? संकटकालमा बलात्कार हुनु सामान्य हो भनेकै हुँ। गरे त गाली। तर केही भयो? मैले केही गरेँ? त्यसैले छोड्दिनुस् यस्ता कुरा।
हो हुनत, तैपनि … अध्यक्ष कमरेडले फोन गर्नुभएको थियो। जोगाउनु पर्यो हजुर एकपल्ट।
छोड्दिनुस्, म छु। केही हुँदैन। तपाइँ ढुक्कले मन्त्रालय जानुस् र ढोका थुनेर बस्नुस्। कसैका फोन उठाउनु जरुरी छैन।
***
मन्त्रालयमा सबैले मैतिर हेरिरहेका छन् कि क्याहो? हेरुन्। प्रम र उपप्रमले भनेपछि सक्कियो। यो फोन पनि कति बजेको हो ठाँडो। कुनै छैनन् चिनेका नम्बर। उठाउँदिन फोन सोन।
तर कतिञ्जेल झोक्राएर बस्ने यसरी? दुई चारवटा मिडियामा बोल्नुपर्ला।
ल गज्जप भयो। अन्तर्वार्ता दिइयो, आफ्ना कुरा राखियो। अब ढुक्कले बस्छु।
रात पनि कति ढिला परेको हो ! खाना खाएर चाँडै सुत्नुपर्ला। तर निद्रा पो कहाँ गयो। ७ बजे नै सुतेर के निद्रा लागोस्। हुनत म मात्र हो र बदनाम भएको? के चिन्ता लिनु बेक्कारमा। मजस्तै एक से एक मन्त्रीका बारेमा कति कुरा काटिए तर खै केही लछारपाटो लागेन त।
प्रवक्ता मन्त्री कट्टु लाएरै कार्यक्रमा गएकै हुन्। रक्सी खाएर योजना आयोगका ककसलाई गाली पनि गरे भनेर सुनिएकै हो। तर केही भएन खै ! अर्थमन्त्रीकै पिएले राहतका लागि आएको जस्ता बेचे भनेर पनि आएकै हो। तर पनि अर्थमन्त्रीको शान घटेको छैन क्यारे। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ। के चिन्ता गर्नु बेक्कारमा।
अर्का शहरी विकास मन्त्रीका त झन् के कुरा गर्नु। २५ करोडको त्रिपाल हिनामिना भनेर बुरुक बुरुक गरे। तर मन्त्रीज्यूको रौं हल्लिएन। त्यत्रो पिएचडी गरेका, योजना आयोग खर्लप्पै पारेका मान्छेले त्यत्रो पैसा हिनामिना गर्दा त केही इज्जत गएन। शान र इज्जत घटेको छैन। चुनाव जित्ने पनि तिनैले होलान्। म त चुनाव मै नउठ्ने मान्छे। त्यत्रो पढेको पनि छैन। बेक्कारको तनाव लिन्छु म पनि।
उता उर्जामन्त्रीज्यूले पनि तनहुँ हाइड्रोमा कम गर्नुभो त। आफैले थुकेको थुक चाट्नु भो समेत भने। राजीनामा मागे। तर अझै पनि उहाँ उत्तिकै जोशका साथ मन्त्री हुनुहुन्छ। मैले त आशिर्वाद मागेको न हो। खेलकूद मन्त्रीले राखेपका सदस्य सचिवमा खल्तीबाट निकालेर नियुक्ति दिनुभो, ख्वै केही भएन। माधव कमरेड र जेएन कम्रेडले खल्तीमै राखेर हिँड्नुभा’छ केरे। मैले त देशको सम्पति नि खाएको छैन, कसैलाई नियुक्ति नि दिएको छैन। म किन डराउने !
मञ्चबाटै ‘त्यो सालेलाई ठोक’ भनेर खगराज कम्रेडले पनि बोलीमा सबैलाई माथ खुवाउनुभएकै हो। कृपासुर कम्रेडको चर्चा त मैले गरेरै भ्याउँदिन। त्यत्तिको जम्प हान्न सक्ने मान्छे यो संसारमा अरु कोही छैन, सुब्बाबाट सिधै मन्त्री! कम्रेड पनि कम्ति मापाका हैनन्, ३५ वर्षसम्म छोरालाई नागरिकता नदिइकनै राख्न सक्ने।
टिरिङ टिरिङ !! हँ !! फेरि अध्यक्षको फोन?
अभिवादन कमरेड ! … हजुर.. नदिई नहुने हो र हजुर? … अँ… हो हो… हजुर हजुर। …. हुन्छ त कमरेड… अहिले नै पठाइदिऊँ? … हस् हजुर… अभिवादन कमरेड।
गयो, सकियो, खत्तम भयो। अरु मन्त्रीका बारे नसोचि निदाएको भए फोन बजेको त थाहा हुँदैनथ्यो होला। के थाहा नि, बिहानसम्म अध्यक्षको मूड पो फेरिन्थ्यो कि ! असार १५ ले किसानलाई खुसी बनाउँछ भन्थे, यहाँ किसानको छोराको जागिर गयो।
राजीनामा पत्रमा पो के लेख्ने होला? हिलो खेलेर बेइज्जती भएकाले पदबाट राजीनामा दिएको छु। … भएन, आफ्नै बेइज्जत किन गर्ने नि। …. अँ, यो ठीक छ, … पारिवारिक र स्वास्थ्यका कारणले मन्त्री पदमा बसिरहन असमर्थ भएकाले यो राजीनामा पेश गरेको छु।
अब निदाउनु पर्ला। बिहानै राजीनामा पत्र बोकेर बालकोट पुग्नुपो छ त।
(स्रोत : पहिलोपोष्ट)