~मोहन बन्जाडे~
ऊ बेला
उपनिवेश, अत्याचार र शोषण रक्षाको लागि
पहिरन फेरेर
जासुसीका लागि
नेपाल छिरेका जासुस जिलेस्पिले
षडयन्त्र खुले पछि
बेतिया पुगेर
ओकलेको ईख र विषलाई
इतिहास मानेर
जिन्दगीको जोहो गर्दैछन् कोही,
नेपालसंग हतियार उठाएको
क्याप्टेन कर्कप्यात्रिकले
कर्नेल बनेपछि
मजकुरहरुको
अनुमति र निर्देशन पाएर
अल्प दिनको बसाईमा
सर्वज्ञ बनेर लेखेको
प्रायोजित आक्रोशको
जप गर्दै गुजारा चलाउदैछन् कोही
वा, चन्द्र शमशेरबाट
मरिचमान मार्फत
पुगीसरि असुलेर
राममणि आ.दि.ले लेखेको पाण्डुलिपि
र, टि.यन. रायले गरेको अनुवादलाई
आफ्नो नाममा छपाउने
पर्सिवल ल्याण्डनको किताव पढेर
घृणा पस्किरहेछन् कोही
आफ्नै सभ्यता र माटोका संस्कृतिसंगै
पर्वत , पाखा र समतलमा
झरी बादल संगसंगै
कहिले सुखमा रमाउंदै
कहिले दुखसंग पैठेजोरी खेल्दै
मिलेर बसेका मानिसलाई
कतै धर्मका आधारमा
कतै जातका आधारमा
अपमान गर्ने फ्रान्सिस ह्यामिल्टनको
कुण्ठाबाट प्रेरित भएर
खुट्टा खोज्दै छन् निधार बिसाउन कोही
र अरु कतिले गरेको
जात जात र थातथात्का
अपमानहरुको सानो संग्रह
ब्रेकिन्ग नेपाल र
उता छिमेक विरुद्धको
ब्रेकिंग इण्डिया पढेर
तिनका षडयन्त्र बुझेकाहरु
ती दासताको निम्ति सावित हुने भन्दा
साँच्चै फरक छन्
सायद त्यसैले
तिमीले नेतृत्व गरी
चार वर्ण छत्तीस जातबाट
एकतृत गरेको र
सिन्धुलिगढ़ी र मकवानपुरमा
पराईलाई हार चखाई पठाएर
जोगाएको देशको निम्ति
आत्मा र इमानधर्म नबेचेका
मनले नै नेपालीहरु
स्वान्त सुखाय
तिम्रो नाममा
एकछिन एकजुट भएर
तिमीलाई सम्झंदै छन् |
पृथ्वी जयन्तीको उपलक्षमा