~भेषराज रिजाल~
वरिष्ठकवि सदानन्द अभागीद्वारा लिखित ‘जीवन लीला खण्डकाव्य’ तेह्रपादमा संरचित सानो तर गहन खण्डकाव्य हो । राधा तिवारी, यशोदा अधिकारी, उमाकुमारी रिजाल र इन्दिराकुमारी रिजालले प्रकाशन गर्नुभएको यो कृति वि.सं. २०५९ साल मङ्सिरमा प्रकाशित भएको हो । आफ्नो परिवारदेखि समाजका हरेक सदस्यप्रति समर्पण गरिएको यो कृति ६४+६ पृष्ठमा फैलिएको छ । लीला, जीवन, लीलाका बाबुआमा राम र सीता, जीवनका बाबुआमा पण्डित र बज्यै, मोती, कोठी नायिका, डोटेलकाका, घरबेटी बाजेबज्यै र लीलाको छोरा हिरालाल यस खण्डकाव्यका पात्रहरू हुन् । नारायणी नदी तटको समतल फाँट नवलपुरमा जन्मिएकी लीला विद्यालय तहको पढाइ सकेर उच्च शिक्षा हासिल गर्न काठमाण्डौँ पुग्छे । नर्तकी जागिर खाँदै नायिका बन्ने सोच पालेकी लीलालाई मोतीले ठूलो नायिका बनाउने लालच देखाएर दिल्ली हुँदै बम्बई पुर्याउँछ । होटलको चौकीदार डोटेलकाकाको सहायताले भागेर नेपाल आउन सफल भएकी लीला हरेश नखाई डेरा खोजेर पुन: नर्तकीको जागिर थाल्दछे । अविवाहित लीलाको छोरो जन्मँदा ठूलो दिल भएका घरबेटी बाजेबज्यैले लीलाको बच्चाको संरक्षक भई महानता प्रदर्शन गर्दछन् । पछि जीवन र लीला मिलेर चेली संरक्षणको अभियान थाल्दछन् । जीवन असल साथी भए पनि खण्डकाव्यको उत्तरार्धमा लीलाले आफ्नो छोराको बाबु मोतीसँग विवाह गरी लीलाको पारिवारिक मिलन हुनपुग्दछ । मोतीले भने कुकर्मको सजाय पाई जेल चलान हुनजान्छ । यसरी जघन्य अपराधी मोतीलाई उन्मुक्ति नभई जेल सजाय भएको घटनासँगै कथा टुङ्गिन्छ ।
यस खण्डकाव्यमा लीला, जीवन र घरबेटी बाजेबज्यै मुख्य पात्र हुन् । त्यस्तै मोती र कोठी नायिका खलपात्र हुन् भने डोटेलकाका लगायत अन्य सहायकपात्र हुन् । लीला नायिका बन्न चाहना राख्ने, सुखसयलप्रति आकांक्षी आधुनिक युवती हो । महत्वाकांक्षाले अन्धो हुँदा बाबुको हितकारी अर्ति लत्याएर मोतीजस्तो मानव तस्करको फन्दामा पर्दछे लीला । जीवनले शुरुवाती दिनमा केही गर्न नसके पनि खण्डकाव्यको उत्तरार्धमा लीलालाई सही साथ र मार्गदर्शन गर्दै चेली संरक्षणको कार्यमा जुट्दछ । घरबेटी बाजेबज्यैले समाजले धोखा दिएकी लीलालाई आश्रय दिनुका साथै बाबु पहिचान नभएको लीलाको नवजातशिशुको संरक्षण गरेर मानवतावादी दृष्टिकोणका साथै नयाँ सामाजिक मूल्यमान्यता उद्घाटित गर्दछन् । ठगी, दलाली, तस्करी, लुटतन्त्र एवं माफियातन्त्रको बिगबिगी मौलाएको नेपाली समाजमा जे गर्न पनि हौसिने कुपात्रहरूको ज्वलन्त उदाहरण हो मोती । धनदौलतका लागि आममान्छेका जीजिविषालाई धुलो सम्झने मोती जस्ता कुपात्रदेखि सधैँ त्रस्त छ नेपाली समाज ।
यस खण्डकाव्यमा नवलपुर, काठमाडौं, दिल्ली र बम्बईका सामाजिक, आर्थिक, साँस्कृतिक, प्राकृतिक आदि परिवेश चित्रित छन् । सरल एवं सुन्दर गाउँले जीवनदेखि पल्तिरको शहरिया जीवन कति क्रुर, छलकपटपूर्ण, स्वार्थी, अमानवीय र घीनलाग्दो छ भन्ने कुरा खण्डकाव्यमा राम्ररी देखाइएको छ । मुलुकको ‘पानी र जवानी’ उपर आँखा लगाउने परचक्री र त्यसको वेवास्ता गर्ने प्रचलन रहँदासम्म दानवहरूले कसरी अर्काका छोरीचेलीलाई सीमाना कटाइरहन्छन् भन्ने वास्तविकता उजागर गरिएको छ खण्डकाव्यमा । मानवीय मूल्यमान्यता, धर्मकर्म, पूजाआजा, संस्कृति, परम्परानिहीत पुरानो समाज र छलकपट, ठगी, जालझेल, स्वार्थले लिप्त आधुनिक समाजका परिवेशबीचको द्वन्द्व चित्रित छ यस खण्डकाव्यमा । दास युगबाट शुरु भई हालसम्म कायम रहेको मानव एवं चेलिबेटी बेचविखन जस्तो समाजको अमानवीय तीतो दैनिकीलाई टिपेर मुख्य कथावस्तु बनाइएकोले जीवन्त बनेको छ खण्डकाव्य । मानव एवं चेलिबेटी बेचविखनलाई निर्मूल गर्ने केन्द्रीय उद्देश्यले रचित छन् पात्र, घटना र परिवेशहरू । खण्डकाव्यका शब्दमा निहीत सामर्थ्य अर्थात् भाव प्रबल छ । षड्यन्त्र, विरह, करुण, वीर आदि रसको सघनता पाइन्छ खण्डकाव्यमा । सरल एवं स्पष्ट भाषाशैली प्रयुक्त हुनाले पाठकको मन जित्नि सफल भएको छ कृति । लोकलयमा सजिएको खण्डकाव्यमा कथावस्तुसँग सुहाउँदिला शब्द चयन, नयाँ बिम्व र गेयात्मकताको प्रचुरता पाइन्छ ।
कविता समाजको ऐना हो भने खण्डकाव्य मझौला आकारको कविता हो । नेपाली समाजका केही घीनलाग्दा र केही सुन्दर पाटा राम्ररी उद्घाटित गरिएको छ प्रस्तुत जीवन लीला खण्डकाव्यमा ।
जीवनमा असल लीला सम्पादन गर्नसके मात्र मानव जीवन सार्थक हुने सङ्केत छ जीवन लीला खण्डकाव्यमा । सन्तानले तत्काल नमाने पनि अर्तिउपदेश दिइरहनुपर्छ भन्ने आदर्श बाबुआमाको मान्यताबमोजिम लीलालाई असल पथमा हिँड्ने प्रेरणा दिनुहुन्छ बाबुले । छोरी भेट्न शहर पुग्दा छोरीको बक्रचाल निको नलागेपछि सरल तर मार्मिक शब्दमा मार्गदर्शन गर्नुहुन्छ बाबुले–
सुबाटो र कुबाटो दुईपथ हुन्छन्
सफल जीवन नबुझ्नेले दुबै हात धुन्छन् (पृष्ठ ४४)
हरेक नेपालीको मनमा छटपटी छ, सुन्दर मानव जीवनलाई नारकीय पीडाभित्र धकेलेर निर्लज्ज रमाउनसक्ने मानव तस्करहरूको कर्तुतको कालो दाग कहिले हराउला नेपाली समाजबाट ?–
सुन, कोइला, हिराको मूल्य एकै छैन
मानिस त मानिस नै हो दानव बन्ने हैन (पृष्ठ ४४)
स्वतन्त्र जीवन बाँच्न चाहने नवीन युगको सुन्दर सपना छ कविको आँखामा । त्यही सपना कचपल्टिनथाल्दा छटपटी भएको छ कवि हृदयमा । छटपटीले जन्माएको छ हजारौँ प्रश्न– परिबन्दमा परेर बाटो बिराएका नारीका कहर हेरिदिने, सुनिदिने, बुझिदिने र सहयोग गर्ने समाजको आँखा, कान, मनमस्तिष्क, हृदय र हातखुट्टा खोइ ?–
जाउँ भने कता जाउँ जाने ठाउँ छैन
भनौँ भने के के भनौँ भन्ने कुरा भैन
जन्मघर जाउँ भने काँडा लागि सके
हिँडौँ भने कता हिँडौँ गोडा थाकि सके (पृष्ठ ४६)
मुख्यत: लीला र जीवन दुई मुख्यपात्रको भोगाइबाट शिक्षा लिएर आमनेपाली युवाको जीवन–लीला सुन्दर भएको देख्न चाहनुहुन्छ कवि । मान्छेका जीवन–लीलाका थोरै सप्ल्याँटा र धेरै विप्ल्याँटा पाटाहरू केलाएपछि यसरी ढाडस दिनुहुन्छ कवि–
मानिसले मानिसझैँ बाँच्न सक्नुपर्छ
प्रकृतिको अनुकूलतामा नाँच्न सक्नुपर्छ
धैर्यताको बाँध हेर कहिल्यै फुट्न हुन्न
सत्यताको अवशेष कहिल्यै मेट्न हुन्न (पृष्ठ ५०)
कवि एकातिर सामाजिक विकृति, विसङ्गतिप्रति चोटिलो प्रहार गर्न सफल हुनुभएको छ भने अर्कोतिर मानवीय संवेदना, मूल्यमान्यता, आस्था र विश्वासलाई कलात्मकरुपमा उठाउन पनि । कविको मान्यता छ, मानवता दिल ठूलो भएका मान्छेको छातीबाट कहिल्यै हराउँदैन । मानवता नभई महान कहाँ हुनसक्छ र मान्छे ?–
सूर्य प्रकाशभन्दा ठूलो दिलको प्रकाश हुन्छ
दिलको प्रकाश पुञ्ज छर्ने त्यो त महान बन्छ (पृष्ठ ५२)
संघर्षलाई जीवनको अभिन्न कर्म मान्दै जीवनवादी दृष्टिकोण प्रस्तुत गर्नुभएको छ कविले–
समाज नै संघर्ष हो संघर्ष नै संसार
संघर्षको सफल यात्रा हुनजान्छ अपार (पृष्ठ ५७)
दु:ख हैरानी र संघर्षसँग जुधेर पनि जीवन र लीलाले आफ्नो जीवनलाई सही मार्गमा डोर्या उन र समाजलाई पथप्रदर्शन गर्न सफल भएका छन्–
राष्ट्र सक्षम भए मात्र हामी सक्षम बन्छौँ
तबमात्र स्वच्छ शरीर स्वच्छ विचार पाउँछौँ
सबलताको सफल बाटो पहिला खन्नुपर्योप
राष्ट्र सबल पार्छौँ भन्ने भावना पो चाहियो (पृष्ठ ५९ र ६०)
खराब पात्रलाई घृणा गर्न, सजाय गर्न र सुधार्न पर्ने धारणा पनि राख्नुभएको छ कविले खण्डकाव्यमा । कुपात्रले सजाय पाउनु समाज सुधारको नवीन आयामतर्फ उन्मुख हुनु हो भन्ने सिद्धान्त प्रतिपादन गर्दै कुपात्र मोतीको जेल चलानमा उन्मादी भावना राख्नुहुन्छ कवि–
मोतीजीले जीवनको पापजति पोखे
सिउँदो रातो बनाइकन जेलको स्वाद चाखे (पृष्ठ ६४)
नियमित आकस्मिकता भएर आउने जीवनका कठिन क्षण पार गरेर बाँच्न मुलुकमा पद्धतिको विकास गर्दै समाज सुधार गर्नुपर्ने र कलंकका धब्बाहरूलाई अँध्यारा खाडलमुन्तिर पुर्नुपर्ने सङ्केत छ खण्डकाव्यमा । भौतिक भोगविलास र सुखसुविधाभन्दा पारिवारिक माया, प्रेम, स्नेह, सहयोग, सद्भाव र कसिलो सम्बन्धको आत्मीयता ठूलो हुने विचारसमेत व्यक्त भएको छ खण्डकाव्यमा । यस खण्डकाव्यमा मानवता, स्वतन्त्रता, समता, समानता जस्ता मानव समाजका अनिवार्य आधारहरूको खोजी गरिएको छ । जीवन लीला खण्डकाव्यमार्फत खराब तत्वलाई घृणा गर्दै सभ्य समाज र सुन्दर जीवन निर्माण गर्ने जीवनवादी दृष्टिकोण प्रस्तुत गर्न सफल हुनुभएको छ वरिष्ठकवि सदानन्द अभागी ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )