~कमला सरुप~
“बैनीको दया छ भने रोधी घर मै नाचु नभने” विर्खबहादुरले हातमा बोकेको रेडियोबाट यी गीतहरु घन्किदा शुक्रबारे हाट नै रिमझिम भएको छ । सेतो पाइन्ट, पूmलबुट्टे सर्ट, घाँटीमा सानो चिटिक्क परेको रिवन, हातमा घडी र रंगीन चस्मा लगाएको र आफूले भिरेको रेडियोमा अलइण्डियाका हिन्दी र नेपाली फर्माइसका गीतहरु घन्काउँदै विर्खबहादुर आज शुक्रबारे हाट भर्न आएको छ ।
दश वर्षपछि भारतको लाहुरे भएर फर्किएको विर्खबहादुरको फूर्तीले गाउँका तरुनीहरु “लाहुरे दाइको जोवनै राम्रो भनेर गिज्याउन थालेका छन् ।” म त जस्ता पाए त्यस्तीलाई कहाँ विहे गर्छु र ? हाम्रो लाहुरमा कत्रो कोठी किनको छु मैले ठूला बडासँग उठबस भइसकेको म जस्तोसँग विहे गर्न त खप्पर लिएर आउनुपर्छ ।”
विर्खबहादुरले आफ्नै घर आँगन अगाडि भेला भएका दाँत फुस्केका बुढाबुढी र भूरा भूरीलाई गफ लगाउँदै थियो । लाहुरबाट ल्याएका सबै सामानहरु सत्तरी नाघिसकेका बाबुले आँगन अगाडि ओसार्दै थिए । मानौ विर्खबहादुरले सानो प्रदर्शनी नै लगाउँदैछ आगनमा । “गाउँका मान्छे नत बोल्न जान्दछन् नत हिड्न नै जान्दछन्, हाम्रो लाहुरमा त कति सफा लुगा लगाएर दिनको दुईपल्ट नुहाएर टलक्क टल्किन्छन् मान्छे तर नेपालका पाखा भित्तामा हुर्किएकाहरुलाई नुहाउन पनि औंशी नै आउनुपर्ने” फेरी पनि विर्खबहादुरले छेड हान्न छोडेन । आमातिर फर्केर विर्खबहादुरले भन्यो, आमै पानी तपाई देऊ न । म लाहुरमा त ननुहाइ त पानी पनि पिउँदिन थिएँ । एक विहानै पानको थुप्रोले मुख गाँजिएको विर्खबहादुरले प्याच्च थुक्दै यी कुराहरु बोल्यो ।
हैन, तिम्रो लाहुरमा मान्छे हामी जस्तै नै हुन्छन् र ? हामी जस्तै हिड्ने बोल्ने खाने हुन्छन् र ? लगभग पैंसठी पुगेका झलकनाथ खतिवडाले विर्खबहादुरलाई प्रश्न गर्दै विर्खबहादुरलाई उनले भने हाम्रो विर्खे त फिलिमको चटके जस्तै भएछ । छेउमै रमित हेरिरहेका भुराभुरीहरु खितिति हाँस्न थाले ।
खै लाहुरमा यति कमाएको र उति कमाए भन्छ तर पैसाको नाममा गोडा सातेक हजार यिनै थोत्रा सामान मात्रै बटुलेर ल्याएको छ विर्खेले, आमाले सबैका अगाडि गुनासो पोखिन् । हैन हाम्रो लाहुरमा जीवन नै मन्तर लागेको जस्तो पो छ त ? रेलगाडी पनि जमीन मुनि गुड्छन्, पसलका ढोका आफैं खुल्छन्, सिनेमामा देखिने तरुनीहरु जस्तासँग कुममा कुम जोड्न पनि यहाँ जस्तो आइतबार पर्दैन । फेरि यहाँका जस्ता पैसा जोगाउदैनन् त्यहाँका मान्छे । जति कमायो उति मोज गर्यो त्यसैले मैले पनि देश अनुसाको भेष त गर्नै पर्यो नी उसले गफ चुटिहाल्यो । “आफ्नो मात्र गफ लगाउँछस् कि गाउँका गन्यमान्यलाई पनि केही कोशेली ल्याइदिएको छस् ए नाथे” आफ्नै काका प्रेमनाथले यतिखेर भने विर्खबहादुरको सातो लिए ।
“विर्र्खे अब तँ लाहुर नजा उमेर वित्न लागिसक्यो यतै घरजम गर्नुपर्छ । दश वर्ष लाहुर बस्दा त माखो मार्न सकिनस् बरु खेतवारी या सानो तिनो व्यापार गरिस् भने आफ्नै घरको भात खान पुग्छ ।” पचहत्तर वर्ष नाघेका दमका रोगी बाबुले आफूले बोलेको भन्दा मलिनो स्वरमा विर्खबहादुरलाई अनुरोध गरे । एकाविहानै जाडोको महिना भए पनि रंगीन चस्मा, हाफसर्ट र हाफकट्टुमा विर्खबहादुर कस्एिको थियो । “किन बोल्दैनस् ए नाथे ? अब आफ्नै मुलुकमै बसेर नुनको सोझो गरेस् । घरमा पितृ हुन लागेको बाबुआमाको हेरचाह पनि त गर्नुपर्छ नी ए गाठें । एउटा छोरो भनेर बाबुआमाले सातुको भरमा बाह्रकोसको भारी खेप्दै पढाएर बढाएका कुरा बिर्सिस् भने त तेरा शरिरमा कहिल्यै घाम पर्दैनन् ।” तिनै काका प्रेमनाथले सानो भाषण नै छाँटे । “यहाँ नत मिठो मिठो खान पाइने नत कुममा कुम जोडेर ठिटीहरुसँग गाला जोड्न पाइने यस्तो गुन्द्रुके जीवन पनि कसले बाँचोस् ?” उसले ती जम्मै बुडाबुडीका अगाडि आफ्नो सफाइ दिन खोज्यो । “विहे नै गरे पनि लाहुरमै गएर मैले पनि राम्र्रै कम्पनीमा चौकिदारको काम पाउने भएको छु । लाहुरको रंगीचंगी दुनियामा रमाएका हामीहरु जस्ताका लागि नेपाल त कुवाको भ्यागुता झैं भइहाल्यो नी यहाँका जस्ता वाह्र सत्ताइस कुरा पनि हुँदैनन् त्यहाँ । नेपालमा के नै बाँकी छ र ? देशका टाउकेहरुले अब नेपाललाई नै अर्काको जिम्मा दिन मात्र बाँकी छ ।” उसले विरक्ति पोख्यो ।
“तर विर्खे जे भए पनि यहाँको जस्तो माया र सहयोग त तैंले त्यो लाहुरमा पक्कै पनि पाएको छैनस् होला । विरामी पर्दा ओखतीमूलो र घरमा अन्न नहुँदा पकाएको पनि लिएर आउने छर छिमेक त तेरा पक्कै छैनन् होला । तेरो दौंतरीहरु हेरन धन नै नभए पनि कति हँसिला फूर्तिला देखिन्छन् । उनीहरुले पनि दुई छाक खाएकै छन् एक धरो लुगा लगाएकै छन् । चाड पर्वमा मिठो मसिनो जुटाएकै छन् । त्यसैले आफ्नो माटालाई कुल्चेर अर्काको गुनगान नगा तैंले जतिसुकै गफ चुटे पनि आफ्नो माटोमा बसेको जस्तो शान्ति त तलाईं लाहुरमा पक्कै पनि छैन ।” तमाखु तान्दै काका प्रेमनाथले कुरा थपे ।
विर्खबहादुर यतिखेर भस्कियो । विर्खबहादुरलाई थाहा छ लाहुरमा उसले कति हण्डर खाएको छ । विहान सबेरैदेखि मध्य रातसम्म काम गर्दा पनि मालिकले कुकुरलाई भन्दा बढी गाली गरेको दिन ऊ कतिचोटी आफ्नै भीरपाखा संझेर रुने गरेको थियो । लाहुर जानुभन्दा अगाडि पिरती गाँसिएकी खेमकुमारीले परार सालमात्रै अर्कैसित विहे गरेका समाचार सुनेका दिन ऊ कसरी छाँगाबाट खसेको जस्तो भएको थियो । यतिखेर विर्खबहादुरले काम गर्न जानेको छैन, काम गर्न अल्छि लाग्छ भने आफ्नै मुलुक फर्की भनेर रातोदिन टोकसो दिने मालिक सम्झ्यो । हाडछाला एक एक गरेर काम गर्दा पनि समयमा तलब नपाएको आफ्नो विगत संम्झ्यो । अघाउन्जेल भात खान नपाएका आफ्ना दिनहरु संम्झ्यो र तरक्क आँशु झार्यो ।
यो साला खप्पर पनि कति अभागी । यत्रो दश वर्ष लाहुर बस्दा पनि आमा बाबुका लागि चुहिएको छाना टाल्न सकिएन नत आफ्नै लागि कुनै माखो मार्न सकियो । आफ्नो खाउँ खाउँ र लाउँ लाउँ भन्ने जोवन खरानी नै भयो । उसले आफूलाई धिक्कार्यो ।
गरिबै भए पनि हातमा हात र कुममा कुम जोडेर मेलापात घाँस दाउरा गर्ने साथीहरु भन्दा आफूलाई दुःखी सम्झ्यो । यतिखेर आफ्ना पुराना शिक्षक गामबेंसी र साथीहरु संझ्यो र तरक्क आंशु झार्यो विर्खबहादुरले । साँच्चै नै अहिले आएर भने जीवनका दश वर्षहरु खेर फालेकोमा विर्खबहादुरको मन कुँडियो ।
कमला सरुप,
जुन २५, २००३