~ज्ञान बहादुर राई~
एक सय चार सालको कालो औंशी रात
सुतिराख्या, सबै मौन, जंगे भुतको त्रास
मान्छे खाने भुत रे’छ, गाँइगुई कुरा चल्यो
एक कान, दुई कान, हुदैं मैदान, मुलुक भरी फैल्यो
हुन्न क्यारे सुति यसै, सबको खुल्यो आँखा
कोही जुटे घरैबाट, कोही कुदे पाखा
बिगुल बज्यो संघर्षको, घन्के जुलूस नारा
रातो खूनले लतपत, भिज्यो मुलूक सारा
डगाउन संघर्षलाई, मानव धर्मै छल्यो
गोलि बारी, काट मार, चल्नु सम्मै चल्यो
क्रान्ति र संघर्षले, ल्यायो आँधी बेरी
उडाईलग्यो भु्तको त्रास, छायो शान्ति फेरी
कठ्याङ्ग्रीदो हिउँद पछि, माघ फागुनको दिन
एक हुल मानिस जंगल पसे, परिवर्तन लिन
नयाँ युगको नयैं बिचार, गर्छौं भन्थे क्रान्ति
खुन, पसिना बगाएरै, ल्याउछौं भन्थे शान्ती
गोली संगै गोली हाने, बमै परे बम
मर्न-मार्नै अघि सरे, ठुलै भो नोक्सान
सिपै नभाका नेपाली भन्थे, होईन रैछ ब्यार
प्रयोग भए अत्याधुनिक, घरेलु हतियार
गन्ती आयो मर्नेहरु, हजारौं हजार
बालक, बृद्ध, शोषक, सामन्त, थिए सराबर
भिज्यो मुलुक, बिधुवाका अश्रु धारा द्वारा
टुहुराका क्रन्दन संगै, रोयो मुलुक सारा
राजा गए, नेता आए, छैन परिवर्तन
आफै भित्र लड्दै रहे, बिर्से आफ्नै दर्शन
लुछा-चुडी मात्रै गरे, कुर्सी पाउन लाई
जनतालाई बन्दक राखि, देश लुट्न लाई
दर्शक हुन हुन्न अब, जनता उठ्नु पर्छ
सत्ता-कुर्सी मोह त्यागि, सबै जुट्नु पर्छ
को पहाडे-को मधेशी, समान छौं जानि
रुपान्तरण को बिज रोप्न, अघि बढौं हामी
– उपल्लो दन्तकाली-८ गौरीगंज, झापा
Tuesday, July 19, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार)