~शान्तिराम ढकाल~
बाले जमानामा जंगलामुलुक फांडेर ओरालो भिरालो, सम्म जोडेर कुलो पैनी खनेर एउटा ठुलो खेत तयार पार्नु भएको थियो, आमैले धेरै दुख: गरेर दुई भाइ जुम्ल्याहा दाजुभाइलाइ हुर्काउनु भो बढाउनु भो पढाउनु भो, सारै मिल्थे दुवै जना | शत्रु उनीहरूको एकता देखेर सिर ठाडो गर्न सक्दैन थिए ! शत्रुहरु इर्श्या र डाहा गर्थे उनीहरूको एकताको मिशालनै थियो उनीहरूको कारणले त्यो गाउँमा शान्ति अमन चयन र न्याय थियो| कसैले पनि अनाहकमा दुख:पाउदैन थिए सारै सभ्य गाउँ थियो त्यो |
माथि डाँडाबाट कलकल पानी बग्थ्यो, अझै उत्तर तिर हेर्दा त्यो गाउँमा हिमाल मुस्कुराउथ्यो, तल्लो फाँटमा सुन फल्थ्यो पन्हेलपुर भएर बाले बर्खा लागे पछि हलो चलाएर फाँटमा सुन फ़लाउथे अनि हिउँद लागेपछि त्यो सुन भित्र्याउथे दाजु भाइहरु दङ्ग हुन्थे सबै खाले चाड वाड़हरुमा रम्थे रमाउथे सुन्दर थियो त्यो गाउँ आखिर गाउँको नामनै सुन्दरशान्त गाउँ थियो | बाका नाना थरीका लुगा थिए हिमाल तिर जाँदा बख्खु लाउथे ती डाँडा तिर फर्कदा पानीको कल कल सँगै दौरा सुरुवाल लाउथे तल बेशीं झर्दा धोती लाउथे, आमा पनि त्यस्तै बख्खु, चौबन्दी फरिया , पेटानी चोली लाउथिन | हिमाली गोठका भेडिहरुको उन निकालेर डांडाहरुमा झार्थिन, हिउंदमा फाँटमा पुर्याउथिन | आमाले “माथिको सेतो त्यो पछिको हरियो अनि तल समतल ठाउँ तिमीहरू दाजु भाइले मिलेर हेर्नु भन्थिन सबै ठाउँको सबै तिर बाट राम्रो देखरेख गर है भनेर अराइरहन्थिन !
छिमेकमा अजंगको अजिङ्गर बस्त्थ्यो एकदिन त्यसले ठुलो आंधी त्यो गाउँमा पठायो | आंधी पहाड हुँदै मधेस हुँदै बढ्यो, पूर्वको पश्चिमको सिमानाहरूमा त्यो बायुले सखाप पार्यो विश्वासको खेतीमा रगतको पोखरीमा पौडी खेलेर धेरै बालीहरु नष्ट बनायो सेतो सारी बजारमा धेरै बिक्री भए आँशुहरु धेरै बगे | सलह पस्यो बालीमा खेतहरु रित्तो छोडेर बहरहरु सिमाना तरे हरियाली मुर्झायो सुनौलो बस्ती सुस्तायो हिमाल नहांसेको धेरै भयो | ती नंग्राहरु भुत्ते भए भाँचिए जब झुक्क्याएर टोक्न छोडे अब फेरी कुलो खन्न बाँध कस्न दाजुभाइहरु तम्सिन थाले | मनमोहक सुगन्धले भरिएको हावा बिहानको न्यानो सँगै आउन लागेको थियो त्यो अजिङ्गर फेरी ब्युँझियो !
आमाले जन्माउदा ती जुम्ल्याहरुको रङ्ग केही फरक थियो एउटा श्याम वर्णको थियो एउटा गहुँगोरो थियो | त्यही अजिंगरले फेरी तेरो रङ्ग यस्तो त्यसको किन त्यस्तो भन्दै पालैपालो दाजु भाइलाइ डस्न झमटनथ्यो निहुँ बनाएर दाजु भाइलाई एक आपसमा बिषबमन गराउथ्यो | त्यसले भन्दा भन्दा गरे पछि दाजु भाइ आपसमा भ्रमित भए अनि त्यो अजिङ्गर तिनीहरूले आपसी रिसमा भित्र्याए आपसमा भिड्न थाले कहिले कुलोको निहुँमा कहिले बाटोको निहुँमा कहिले बतासको निहुँमा कहिले सीमाको निहुँमा युद्ध चल्यो | एक आपसमा त्यो छिमेकी अजिङ्गर प्रयोग गर्न थाले कहिले त्यो अजिङ्गर दाइकोमा बस्थ्यो कहिले त्यो अजिङ्गर भाइकोमा बस्थ्यो त्यो अजिंगरबाट भाइलाई डसाए दाइलाई डसाए | जसको सिमानामा त्यो अजिङ्गर आउछ अगरबत्ती बालेर पूजा गर्थे अर्को तर्फ गए पछि पुच्छर टेकथे अनि आफ्नै रगत चुसाउथे यसरि हजारौँ वर्ष युद्ध चल्यो कालान्तरमा दाइ पनि मारियो भाइ पनि मारियो कथा समाप्त भयो !! – सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा बैकुंठेई जाला सदबुद्धि आएमा फर्केर नआउला – के हो ? इति द्वन्द पुराण रगत महात्मे अजिङ्गराये नमो नम :!
– शान्तिराम ढकाल, क्यालिफोर्निया ।