~बिपिन शर्मा~
मेरो लागि संसार उस्तै हुन्थ्यो। हो कुनै कुनै कुराहरु बदलन्थे तर परिवर्तन पनि त आफैंमा निश्चित थियो। म केहि अनुमान गर्न सक्थें परिवर्तनको पनि। भोली यस्तो होला……. साँच्चै हुन्थ्यो,…. वा अलिकति फरक हुन्थ्यो। म विहान सधैं आफूलाई ऐनामा हेर्ने गर्थें। मेरो पहिरन हिजोको भन्दा फरक हुनसक्थ्यो तर म उस्तै….। म विहान उठेर सवेरै कलेज लाग्दा कलेज, नलाग्दा मर्निङवाक जान्थें। अनि फर्केर खाना खाएर ९ बजे अफिस पुगिसक्थें। मेरो लागि जीवन कुनै खास कुरो जस्तो थिएन। नियमित थियो। म खुसीमा हास्थें। रुनुपर्ने अवस्था प्राय: आउँदैन थियो तैपनि मेरो मनमा खै कस्तो कस्तो पिडाको अनुभव भने थियो त्यसबेला पनि । तर त्यसको कारण मलाई थाहा थिएन। म त्यो खोज्न पनि चाहन्नथें क्यार! बरु कहिलेकाहिं राती सुतीसकेपछि बिना आवाज आँशुमात्र झारीदिन्थें। मलाई कहिले खुसी लाग्थ्यो, कहिले रीस उठ्थ्यो, कहिले उत्साह उमंगसाथ सवैसँग खुसी बाँड्न मनलाग्थ्यो त कहिले घुर्क्याउन, दंग्याउन र वचपना-हठ गर्न पनि पछि पर्दिनथिएँ। यी सव कुरा मेरो उमेर अनुसार नसुहाए पनि म यस्तै गरिदिन्थें। आरोप-प्रत्यारोप, वाद-विवाद, तर्क-वितर्क हुन्थे अक्सर घरमा। अनि पक्ष-विपक्ष बन्थ्यो, गुटबन्दी हुन्थ्यो र फेरी यी सारा कुरा कतै विलिन हुन्थे र एक ढिक्को प्रेम बन्थ्यो त्यहीं !!
यो भयो एउटा अतीत या भनौं जेठो अतीतको कुरा। समयले सन्तान जन्माइरहँदो रहेछ। समयको कोखवाट फेरी मेरो अर्को अतीत जन्मेको थियो। यो अतीत जेठो अतीत भन्दा भिन्न थियो। कसरी……….., म भन्छु-
जेठो अतीतमा मेरो कोठामा २ वटा पलङ थिए, सीमानामा भुईमा सानो गलैचा अनि दुई घर्राको साइडबक्स। कोठामा अरु थिए बुककेश, सोफासेटका २ कुर्सी मात्र, एउटा दराज। दराज भित्र एक भर्टिकल पार्टेशन थियो जसले मलाई मेरो अधिकारको दायरा तोकिदिन्थ्यो। आज पनि मेरो कोठाको प्राय ब्यवस्था उस्तै छ। त्यहि साईडबक्स, त्यहि बुककेश, त्यहि दराज तर पलङ भने एउटा मात्र छ अव। किन किन कोठामा सबै परिवर्तन भएजस्तो लाग्छ। कोठाका सवै सामानहरुमा एकल स्वामित्व छ अव मेरो। दराजको हिजो मेरो हक नलाग्ने खण्डमा राम्रो सँग पट्याएर लुगा राखिएको छ र सवै भन्दा माथि एक जोर जुत्ता पनि छ। मैले मेरो कान्छो अतीतको पासनीको समयमा मेरो हक नलाग्ने दुई-चारवटा लुगा झिकेर लगाएँ पनि। त्यस मध्ये कति वटा त्यहिं राखिदिएँ, कति वटा अझै बाहिरै छन्।
परिवर्तन भयो धेरै यहाँ। मेरो जेठो अतीतमा जुन अनुहार हरदम मेरो सामु हुन्थ्यो, हाँस्थ्यो, बोल्थ्यो, त्यो अहिले भित्तामा सजाइएको छ र आजकल मलाई ऊ पहिला भन्दा धेरै प्रिय लाग्छ। सुरुको एक वर्ष हरेक महिना सयपत्रीको माला लगाइयो ऊनलाई तर अहिले रुद्राक्षको माला लगाइएको छ। यो अनुहार धुलोले ढाकिन्छ। तर मलाई सहास हुँदैन त्यो धुलो पुछ्न। धेरै धुलो भएपछि मैले आँट गर्नै पर्छ पुछ्नलाई। अनि यो पुछ्दा पुछ्दै खै किन हो मेरा हातहरु काँप्छन, परेलीहरु भिज्छन, मन भित्र कतै चस्केको हो….. पोलेको हो….या दुखेको हो जस्तो आभाष हुन्छ। म आफूलाई धेरै सम्हालेर मात्र त्यो काम गरिसक्छु।
मेरो दिनचर्या खास बदलेको छैन, तर बदलेको पनि छ केहि हदसम्म। म ऐना हेर्न छोडेको छैन अनि त्यसको प्रतिविम्वमा खास फरक पनि छैन। अफिस जाने समय पनि उहि छ। आजकल फरक यत्ति छ म क्याम्पस पनि जान्न अनि मर्निङवाक पनि।
दिउँसोका क्रियाकलाप पनि उस्तै छन् तर पहिला जति हलुका थियो त्यस्तो छैन। म मा एक किसिमको दवाव छ…… मानसीक दवाव। कहिलेकाहीं लाग्छ……यो दवाव मैले आफूलाई आफैले दिएको हो। कान्छो अतीतको सुरुवातमा म दिउँसो पनि अलि उदास भएँ क्यार तर मैले जेठो अतीतको अभ्यास छोडिन। म कृत्रिमता भरिएको मुस्कान छर्ने र आफू ठिक ठाक रहेको आभाष अरुलाई दिलाउने कलामा अझ प्रखर बन्दै गएँ। “म के छु …?” बिषय बनेन मेरो…, ती दिनहरुमा,”…..म के थिएँ ?” मै अभ्यस्त हुने प्रयास गरें। परिवर्तन त अवश्य पनि गरें आफूमा। तर……. एउटा झुठो….., एउटा बनावटी परिवर्तन।
साँझ पनि मेरो उस्तै थियो,…. जेठो अतीतमा जस्तो। यति मात्र फरक थियो कि डाइनिङ टेवलमा एउटा कूर्सी खाली हुन्थ्यो। एक दिन खाना खाँदा मैले आँशुले मुछेंछु……., अनि त्यहाँवाट त्यो कूर्सी हटाइदिएँ। मेरो जेठो अतीतले डाइनिङ टेवलमा मलाई अव नभेट्ने भो।
आफ्नो कोठामा भने म स्वतन्त्र थिएँ,……हास्न, रुन वा…जेसुकै गर्न पनि। कोठा भित्र पस्ने बेला एउटा सानो प्यासेज भएर गुज्रनु पर्थ्यो, त्यहाँ एउटा कम्प्युटर राखिएको थियो। म रातको अधिकंश समय त्यसैसँग बिताउँथे। कहिले त पुरै रात पनि। अनि त्यसमा अलमलिने साधन थिए: च्याट, एम.एस.एन. ……..र केहि समय पोर्नोग्राफि पनि बनेछ। मैले फेरि आफुलाई त्यहाँवाट कोठा भित्र थुन्न थालें। म कागज र कलम सँग जिस्कन थालें। म एउटा रात लेख्थें र अर्को रात च्यात्थें। ब्यर्थ लाग्थ्यो सबथोक मलाई……। म हरेक रात आँशुका धारा बगाउथें,…निर्धक्क !! सोच्थें,…..अव त रित्तियो। तर भोलिपल्ट पनि उत्तिकै बग्थ्यो। म त्यहि अँध्यारोमा बिलाउन चाहन्थें कहिलेकाहिं, तर ऊ……..मलाई घोल्न अस्विकार गर्थ्यो। यस्तै निश्चित र नियमवद्ध थियो जिन्दगी। त्यसबेला मेरो त्यो अतीतमा एउटा अतीत थियो एउटा बर्तमान । बिलकुल अलग ढाँचाका थिए दुबै। म वर्तमानवाट अतीतमा जान खोज्थें, जान्थें पनि तर वर्तमान साथ लिएर जान्थें। अनि त्यहाँवाट फर्कदा फेरी अतीत लिएर फर्कन्थें। या भनौं………, मलाई एकै साथ दुईवटा समय बाँच्नुपर्ने बाध्यता थियो……. समयको ।
थाहै नपाई समयले अर्को सन्तान जन्माएछ। उसको नाम वर्तमान रे । मैले यो कलमले लेख्दाको अवस्थामा त यो वर्तमान पनि अतीत बनिसकेको छ। तर म यसलाई वर्तमान भनेरै लेखिदिन्छु, कारण समयले जन्माएको नवजात शिशुको नामाकरण भएको छैन।
अँ त……, यो वर्तमान मेरा दुई अतीत भन्दा भिन्न छ। यसमा धेरै उतारचढाव छन्। यहाँ खुसी पनि छ र दु:ख पनि। कान्छो अतीतमा मेरा जति पिडा थिए ती सवै वास्तविक थिए, जति खुसी थिए ती सवै काल्पनिक थिए। तर आज म सँग सवैखाले खुसीहरु छन्, सवैखाले पीडाहरु छन् । म कुन पल हास्छु र कुन पल रुन्छु ती पलहरुले नै निर्धारण गरिदिन्छन्। मैले स्वतन्त्र छोडेको छु यस्ता सवै कुरालाई अनि आफू तिनैको कैदी छु। मैले एउटा सपना बुनेछु यहि बर्तमानमा र त्यो टुटेछ पनि यसै बर्तमानमा। यसको कृत्रिम पीडामा म डुबेको छु । म ठान्छु यो मैले लगाएको चोट हो…..आफैलाई। भित्ताको सजावट बनेको त्यो अनुहार उसै गरि हेर्दै छ मलाई र यो कोठालाई । कोठाको सारा व्यवस्था कान्छो अतीतकै छन्। मेरो दिनचर्या पनि कान्छो अतितवाटै केहि विकसित छ। मलाई अव समयको बोझ छैन। म दुई अतीत र एक वर्तमान पालो-पिलो बाँच्छु। म एक पटकमा एउटा समय मात्र बाँच्छु……., फेरी फर्कन्छु अर्कोमा तर रित्तो फर्किएको हुन्छु। आज म कता कति भविश्य पनि देख्न थालेको छु तर म वर्तमानलाई नै माया गर्छु। यसमै वाँच्छु धेरै।
यसरी समयले निरन्तर जन्माइराखेको छ नवजात सन्तान, ……..वर्तमान! म आजकल अभिरुचि राख्छु समयको नयाँ सन्तानका वारेमा। अनुमान गर्छु तिनीहरुको स्वभाव ती जन्मनु अघि नै। कारण मैले तीनको न्वारन गर्नु छ।
(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)