कविता : तिनले बोधि प्राप्त गरुन्

~बिभोर बराल~

जंगलसँगको मेरो सम्बन्ध
निकै पुरानो हो
आदिकालमा मेरा पुर्खा
जंगलमै बस्थे
पछि बिस्तारै उनीहरुले
गाउँ, बस्ती हुँदै
शहर बसाले
तर जङ्गलसँगको तिनको सम्बन्ध
कायमै रह्यो
कहिले परिबन्दमा परेर
भगवान राम अनि पाण्डवहरु
जंगल पसे
कहिले भने ज्ञानको खोजीमा
गौतम बुद्ध
जंगल पसे

स्मृतिपटबाट
झन्डै झन्डै धुमिल भइसकेको
जंगलसँगको मेरो सम्बन्ध
ब्यूँताउनेगरी
आज फेरि
मेरा रामसीताहरु जंगल पसेकाछन्

म कल्पनामात्रमै रमाउँछु
रामले झैं
करुणामयी आभा छर्दै
उनीहरु नगर प्रवेश गर्ने छन् !
बुद्धले झैं
शान्तिको असीम ज्योति बोकेर
उनीहरु जंगलबाट फर्किनेछन्

एउटा संग्लो ब्रम्हाण्ड
आकाशझैं ब्याप्ति बोकेर फुकेको छाती
‘मान्छे’ हाँसेको स्पन्दनमा
आहा ! कति मीठो कल्पना !
मेरा रामहरुले,
मेरा गौतमहरुले,
चाँडै बोधि प्राप्त गरुन् !

Bibhor Baral ,
Tangal, Kathmandu, Nepal

(स्रोत: तन्नेरी डट कम – Issue 9 – Bhadra, 2062)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.