~गीता त्रिपाठी~
यसरी नै रहन देऊ
यसरी नै…।
मलाई
जसरी बादलसँगै रहन्छ पानी
घामसँगै रहन्छ छाया
र
निद्रासँगै रहन्छ सपना
यहाँ बादलसँग छुट्टिनु भनेको त
मैलाउनुरहेछ अनुहार
रित्तिनुरहेछ बगरहरुसँग
र
आफ्नै जीवनको मरुभमिमा
निरर्थक बाँचिरहनुरहेछ मृगतृष्णा
प्रत्येक बिहान
वसन्त गाएर कोइलीले
जगत्भरिभरि रित्याउँछ आवाज
बगैँचाभरिभरि जगाउँछ सपना
र उसैगरी बारबार
निस्तब्ध खडेरीको मृत्य-मध्यान्हमा
विरानो बाँच्छ स्वयं
यही सहरमा
आफ्नै छायाको अभिसाप बोकेर
आफैबाट भाग्नुको उपहासभन्दा
तिमीसँगै रहनदेऊ मलाई
यहाँ
घामबाट अलग्गिनु भनेको त
पोखिनुरहेछ फेरिफेरि
उही अविश्रान्त अँध्यारोमा
गीताका पवित्र मन्त्रहरु
ओठमा टाँगेर
एउटा आँखा च्यातिएको तस्वीरजस्तै
भित्ताभरि पोष्टर बाँच्नुरहेछ जिन्दगी
र
टुट्नुरहेछ आफैभित्र पटकपटक
११ बैशाख २०६६
-वालुवाटार, काठमाडौं