कथा : एउटा जायज प्रश्न

~समीर पाख्रिन~

अन्तर विद्यालय ‘अङ्ग्रेजी हिज्जे तथा हस्तलेखन प्रतियोगिता’ कार्यक्रममा स्थानीय डा. कुमारलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो । डा. कुमारले आफ्नो व्यस्तता देखाइ पन्छिने सक्दो प्रयास गरेका थिए तर आयोजकको ढिपीको अगाडी उनको केही लागेको थिएन । अन्तत: उनी आमन्त्रण स्वीकार्न बाध्य भएका थिए ।

“डाक्टर सापहरूलाई फुर्सत नै कहाँ पाइन्छ र । बिहान उठेर आँखा मिच्दै क्लिनिकतिर दौड्नुपर्छ । क्लिनिकबाट क्वार्टर र क्वार्टरबाट फेरि सरकारी अस्पताल । अति व्यस्त दिनचर्या । डाक्टर शब्द व्यस्तताको पर्यायवाची भन्दा पनि हुन्छ ।” प्रमुख अतिथिको प्रतीक्षामा बसेका दर्शकहरूमध्ये एकजना अधवैशे महिलाले टिप्पणी गरेकी थिइन् । हुन पनि प्रतियोगिता सम्पन्न भएको एक घण्टा बितिसक्दा पनि प्रमुख अतिथिको अत्तोपत्तो थिएन ।

आयोजक पक्षकाहरू प्रमुख अतिथिसित मोबाइल सम्पर्क गर्न व्यस्त देखिन्थे । यति नै बेला एकजना युवकले हलभित्र प्रवेश गर्दै भने,“डाक्टर साप आइपुग्नुभयो ।” नभन्दै सूट टाई लगाएका आकर्षक व्यक्तित्वका धनी डा. कुमारको आगमन भएको थियो । उद्घोषकले डा. कुमारलाई मञ्चमा आइ प्रमुख अतिथिको आसन ग्रहण गर्न निवेदन गर्दा हल करतल ध्वनिले गुञ्जयमान भएको थियो ।

आसन ग्रहण लगत्तै विजेता विद्यालयका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरणपछि उद्घोषकले प्रमुख अतिथिलाई दुई शब्द बोली दिन आग्रह गरेको थियो । मन्तव्य दिन मञ्चमा उभिएका प्रमुख अतिथि पहिले केही हिच्किचाए जस्तो देखिए पनि पछि उनले आत्मविश्वासका साथ आफ्नो कुरा यसरी राखेका थिए ।

“आदरणीय मञ्चमा आसीन अग्रज गुरुवर्ग १ अभिभावकवर्ग १ शिक्षक–शिक्षिकाहरू र प्रतिस्पर्धी विद्यार्थी भाइबहिनीहरूमा मेरो न्यानो अभिवादन १” हल पुन: एकचोटि करतल ध्वनिले गुञ्जेको थियो । “प्रथमत: मलाई भाइबहिनीहरूको कार्यक्रम अवलोकन गर्न ज्यादै इच्छा थियो तर एउटा जरुरी कामले गर्दा मैले त्यो अवसर गुमाएको छु । जेहोस् प्रतियोगितामा सबैले अभिरुचिका साथ सहभागिता जनाएका छन् भन्ने मैले विश्वास लिएको छु । रहयो कुरा हारजीतको यो सबैले आत्मसात् गर्नै पर्ने विषय हो । जित्नु राम्रो कुरा हो तर हारबाट पनि मानिसले धेरै कुराहरू सिक्न पाउँछ । त्यसैले हार भयो भनी कोशिश गर्न चाहिँ छाड्न हुँदैन । म पनि तिमीहरू जस्ता विद्यार्थी छँदा प्रतियोगिताहरूमा भाग लिने गर्दथे । मैले अङ्ग्रेजी राइटिङ प्रतियोगितामा थुप्रै पुरस्कारहरू पाएको छु । हाम्रो अङ्ग्रेजी टिचर दीपेन सरले हामीहरूलाई पिटी पिटी अक्षर सुधार्न लगाउनुहुन्थ्यो । जुन कुरा मलाई आज पनि झल्झली आइरहन्छ । अँ म पेशाले डाक्टर मान्छे शायद क्लिनिकमा बिरामीहरू कुरेर बसिरहेका होलान् । मैले धेरै बोल्नुभन्दा पनि धेरै काम गर्नु छ, सेवा पुर्‍याउनु छ । त्यसैले मैले आफ्नो भनाइलाई बिसाउन खोजेको छु । मलाई लामो समयसम्म प्रतीक्षा गर्नुभएका सम्पूर्णमा मेरो हार्दिक धन्यवादका साथै प्रमुख अतिथिको सम्मान दिने आयोजक संस्थालाई पनि धन्यवाद ज्ञापन गर्दै बिदा लिन चाहन्छु ।”

प्रमुख अतिथि आफ्नो भनाइ सिध्याएर कुर्सीमा बस्न पनि नपाउँदै एकजना अत्याधुनिक पहिरनमा सजिएकी महिलाले दर्शकदीर्घाबाट उठेर प्रमुख अतिथिलाई प्रश्न तेर्साएकी थिइन् । “डाक्टर साहेब, तपाईंले विद्यार्थी छँदा अङ्ग्रेजी हस्तलेखन अर्थात् इङ्ग्लिश राइटिङ प्रतियोगितामा थुप्रै पुरस्कारहरू जितेको छु भन्नुभयो तर तपाईंले डाक्टरको केबिनमा बसेर लेखिदिनुभएको प्रेसक्रिप्सन रिपोर्ट हेर्दा त्यस्तो पटक्कै लाग्दैन किन ? प्रेसक्रिप्सनमा न त औषधिको नामहरू बुझ्ने गरी सफा अक्षरमा लेखिएको हुन्छ, तपाईंलाई यो समस्या छ भने फलस्वरूप शिक्षित पढेलेखेकाहरूसमेत पुर्जी लिएर के के लेखिदिएको छ हेरिदिनोस् भनेर औषधिपसलेहरूलाई गुहार्न जानुपर्ने अवस्था छ । आखिर तपाईंहरूले लेख्नुपर्ने कुरा सबैले बुझ्ने गरी सफा स्पष्ट लेख्न मिल्दैन ?”

प्रश्न सुनेर कसैले ताली बजाएका थिए त कोही पेट मिचिमिची हाँसेका थिए । प्रश्नको जवाफ दिने क्रममा डा. साहेबले भनेका थिए,“शायद यो नै मेरो लागि पहिलो र अन्तिम प्रश्न हुनुपर्दछ । होइन अरू पनि छन् भन्नुहुन्छ भने पत्रकार सम्मेलनको आयोजना गर्नुहोस् म समय निकालुलाँ । अँ बहिनीको प्रश्न सान्दर्भिक नै छ किन कि मैले पुरस्कार जितेको प्रस· नउठाएको भए यो प्रश्नको कुनै औचित्य नै रहने थिएन । अँ जहाँसम्म प्रेसक्रिप्सन लेखाइको कुरा छ हामी डाक्टर कार्य समयमा ज्यादै व्यस्त हुन्छौं । यसैले विद्यार्थीले परीक्षामा मिलाइ मिलाइ लेखेजस्तो हामी लेख्न पाउँदैनौं । शायद यसैले तपाईंहरूलाई अप्ठ्यारो परेको होला । तापनि म हाम्रो चिकित्सक सङ्घको बैठकमा यो कुरा अवश्य राख्छु र सम्भव भए जुनियर सिनियर सबै डाक्टरहरूलाई अङ्ग्रेजी अक्षर सुधार्ने सल्लाह दिन्छु ।” डा. कुमारको जवाफ सुनेर फेरि एकचोटि सबैजना हाँसेका थिए । यति भनेपछि डा. कुमार अतिथिहरूको माझमा मुसुमुसु हाँस्दै बस्नुभएको थियो ।

कार्यक्रम सञ्चालकले अहिले भने समारोहका सभापतिलाई कार्यक्रम समापन भएको घोषणा गरिदिन आग्रह गर्दै माइक हस्तान्तरण गरेका थिए । सभापतिले धन्यवाद ज्ञापनका साथै कार्यक्रम विसर्जन भएको घोषणा गरेको थियो ।

इति

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.