~उषा हमाल~
आलिशालाई कथा सुन्न मन लाग्यो। आामाबाट कथा सुन्न पल्किएकी यो एघार वर्षे फुच्चीले जिद्दी गर्दै भनी, ‘कथा सुनाउनुस् न आमा।’ तर उसकी आमालाई आज कथा सुनाउन उतिसारो जाँगर छैन। उनको मनलाई शून्यभावले गाँजेको छ। आफ्नो पानीले बगाएजस्तो विगत, यही विगतले समस्याग्रस्त बनेको वर्तमान र छोरीको भविष्यको चिन्ताले घर जमाएको छ। तर, आलिशालाई के थाहा आमाको मानसिकतामा भएको बोझले उनी कसरी थिचिइरहेकी छन्! उसलाई त आमाबाट कथा सुन्नुछ र भोलि स्कुलमा फुर्किंदै साथीहरूमाम्क कथावाचक भएर रवाफ जमाउनुछ। उसले किन जिद्दी छोड्थी!
आलिशालाई उसकी आमाले कथा सुनाउन थालिन्।
एकादेशमा सविता नामकी एउटी केटी थिई। दस कक्षामा पढ्दै गर्दा उनको बिहे भयो। उनको बिहेको खबर स्कुलभरि फैलियो। कक्षाका साथीहरू यो खबरले हतास भए। साथीको बिहे भएको खबरले पनि उनीहरू रमाउन सकेनन्। मामा घर गएकी सविता केही दिनमा फर्केर आउँछे भन्ने उनीहरूलाई लागिरहेको थियो। निडर र हकी स्वभावकी सविता आफूमाझ नहँुदा उनीहरू सहाराहीन महसुस गरिरहेका थिए। सविता हँुदासम्म उनका साथीहरूलाई कसैबाट हेपिनु पर्दैनथ्यो।
सविताको बिहेको खबरले सबैभन्दा बढी ज्ञानलाई हतास बनायो। उसले एकछिन त सबैतिर अँध्यारो देख्यो र बेन्चमा थचक्क बस्यो। सबभन्दा पछिल्लो बेन्चको कुनातिर बसिरहेको उसलाई कसैले वास्ता गरेन। बेन्चमा किताबमाथि टाउको राखेर ऊ निकैबेर घोप्टिरह्यो। पढाइमा अब्बल रहे पनि ऊ सधैँ पछाडिकै बेन्चमा बस्थ्यो। शिक्षकहरूले एकाध पटक अगाडिकै बेन्चमा ल्याइदिए पनि साथीहरूले उसलाई घचेडेर पछाडि पुर्याेइहाल्थे। उसलाई साथीहरूले कहिल्यै पनि ज्ञान नामले बोलाएनन्। ऊ सबैको ज्ञाने र सधैँको ज्ञाने रह्यो। शिक्षकहरूले पनि उसलाई ज्ञाने नै भने। अहिलेसम्म ज्ञान भनेर बोलाउने सवितामात्र थिई। त्यस दिन उही सविता स्कुलमा नहुँदा उसलाई पढ्नै छोडिदिउँझैँ भयो।
दिनभर उसको मन कक्षामा अडिएन। शिक्षकहरू आए, पढाएर गए तर ज्ञानले टाउको उठाएर उनीहरूतिर हेरेन। उसको मनस्थितिको अन्दाज कोही शिक्षक वा विद्यार्थीले लगाएनन्। कसैले ऊप्रति चासो राखेनन्। सवितामात्रै थिई उसप्रति चासो राख्ने।
के सविता र ज्ञानको ‘लभ’ थियो आमा? आलिशाले बीचैमा आफ्नो अनुमान प्रस्तुत गरी।
कस्तो बीचमा जान्ने भैहाल्नुपर्ने भन्या? ऊ साथीमात्र थियो क्या सविताको— आमाले स्पष्टीकरण दिइन्।
कथा अघि बढ्यो।
जेठको टन्टलापुर घाम। बेलाबेलामा हावा चलेर धुलो उडाउँथ्यो। तैपनि, विद्यार्थी हाफछुट्टी भयो कि बाहिर निस्कन्थे। टाढा रहेको पँधेरोबाट स्कुल सहयोगीहरूले घैँटोमा पानी ल्याउँथे। विद्यार्थी घैँटोबाट पानी लोटामा खन्याएर पिउँथे।
तर, ज्ञानलाई घैँटो छुन दिइँदैथ्यो। ऊ कामी थियो। पानी पिउन अरूलाई गुहार्नुपर्थ्यो उसले। अरुले हालिदिएको पानी दुई हातको अन्जुली बनाएर मुखमा जोड्थ्यो ऊ। उसलाई पानी दिनेले कि त ठूलो धारो नाकमै पर्नेगरी खन्याइदिन्थे, कि त सानो धारा बनाएर खन्याइदिन्थे्क यसले उसको तिर्खा मेटिँदैनथ्यो।
कस्तो अचम्म है आमा स्कुलमा पनि पानी छुन नपाउने— आलिशाले आश्चर्य व्यक्त गरी। अहिले पनि त कामीलाई सबैले कहाँ घरभित्र पस्न दिन्छन् र? आमाले भनिन्।
कथा अघि बढ्यो।
उसको पानी तिर्खा बु‰ने सवितामात्रै थिई। आफू पानी पिउन जाँदा सधैँ ज्ञानलाई सँगै लिएर जान्थी ऊ। पिउन मिल्ने धारा बनाएर लोटाबाट उसको अन्जुलीमा पानी खन्याउन जान्दथी सविता। यतिबेला उसलाई लाग्यो— यो संसारमा सवितामात्र छ, उसलाई पानी पियाउन जान्ने। सविता उसलाई नै पानी पियाउन जन्मेकी हो।
अब स्कुलमा उसलाई कसैले पानी दिने छैनन्। दिए पनि निधारदेखि नाकसम्म आइरहेको पसिना पानीमा मिसिनेगरी अन्जुलीमा पानी खन्याइदिनेछन्। अब उसले आफ्नो नाकको डाँडीमाथिबाट खन्याइदिएको पानी पिउनु पर्नेछ। यो सम्झेर उसलाई लागेको पानी प्यास नै मर्यो्। कसैसँग पानी मागेन उसले। पानी पिउन निस्केको ऊ चुपचाप फर्केर कक्षा कोठामा पस्यो।
ज्ञान घर फर्कंदा आमा पिँढीमा बसेर मकैका च्याँख्ला निफन्दै रहिछन्। उनले छोराको उदास अनुहार टाढैबाट पढिन्— के भयो ज्ञानु तँलाई? किन न्याउरो अनुहार पारेको? उसले ‘केही भएको छैन आमा’ भन्यो र आफ्नो अनुहार लुकाउन खोज्दै भित्र पस्यो। आमाले ‘भान्छामा भुटेको मकै छ खा बाबु’ भनिन्। उसले मकै खायो र एक अँखोरा पानी पियो। अनि सधैँझँै बाबुले आरन लगाइरहेको कटेरोतिर लाग्यो। बाबुचाहिँ घनले फलाम पिट्दै थिए। फलाम तताउने अँगेनामा आगो निभेको थियो। उसले दाउराका ठुटाहरू खेरखार पारेर आगो सल्कायो। आगो बाल्न दुवै हातले गोरूको छालाले बनेका दुईवटा खलाती माझी र चोर औँलाको बीचमा अल्झाएर चलाउन थाल्यो। तर, त्यस दिन उसले चलाएको खलातीमा दम नभएको उसले महसुस गरिरह्यो। बाबुले फलाम पिटेर थाकेको देखेर ऊ घन लिएर आफै फलाम पिट्न थाल्यो। तर, फेरि निशाना राम्ररी लगाउन सकेन।
अब पुगेन त आजलाई? आमाले कथा रोक्दै भनिन्।
अँहँ कहाँ हुन्छ आमा यत्तिले कहाँ कथा सकिन्छ? निशाना लगाउन सकेन उसले किन आमा?
कथा फेरि अगाडि बढ्यो।
स्कुलमा सविता नभएको न्यास्रो मान्ने उसका साथीहरू अरू पनि थिए। सविता फरासिली, सबैसँग बोल्नेखालकी र सबैलाई सहयोग गर्ने स्वभावकी थिई। पढाइमा पनि मन लगाउने भएकाले शिक्षकले पनि उसलाई माया गर्थे। अब उसको बिहे भैसकेको र पढ्न नपाउने खबरले धेरैलाई नरमाइलो लाग्यो।
भोलिपल्ट ज्ञान स्कुल गयो। सधैँजस्तो जेठको धुपमा पनि उसका खुट्टामा चप्पल थिएनन्। उसले मैलो र कुम च्यातिएको नीलो पोलिस्टरको कमिज र कालो हाफ पाइन्ट लगाएको थियो। यही लुगा लगाएर ऊ सुत्थ्यो। काम गर्थ्यो र त्यही लुगामै स्कुल जान्थ्यो। उसको घरबाट स्कुल पुग्न आधा घन्टा लाग्थ्यो। त्यस दिन उसले सवितालाई सम्झँदै सुस्त गतिमा पाइला चाल्यो।
एकपटक दसैँ बिदापछि स्कुल जाँदा ज्ञानले नयाँ लुगा, चप्पल पाइन्ट लगाएको देखेर सविता खुसी भएकी थिई। तर, रविन र उसका साथीहरू कसरी ऊमाथि जाइलागेका? रविन त झन् उसलाई देख्नै सक्दैनथ्यो। उसैले त हो अरू केटालाई उचालेर ज्ञानलाई पिटेको। ‘त कामीले पाइन्ट लगाउने भनेर उसैले हो ज्ञानलाई हेपेको! ‘कामीले पाइन्ट लगाउन पाउँदैन त’ भनेर सविताले प्रतिकार गरेपछि अरूले पनि ज्ञानको समर्थन गरेका थिए। अनिमात्र रविन र उसका साथीले ज्ञानलाई छोडिदिएका थिए। त्यसपछि ज्ञानले पाइन्ट लगाउनै पाएन। यो कुरा थाहा पाएपछि बुवाले दमाइकहाँ लगेर त्यो पाइन्ट कटाएर हाफ पाइन्ट बनाइदिएछन्।
खुट्टामा चप्पल नलगाइ, हाफ पाइन्टमा स्कुल जाने ऊमात्र थिएन। गाँउका गरिब बाहुन–क्षेत्रीका छोराछोरी पनि त्यसरी नै स्कुल जान्थे। फरक के थियो भने, उनीहरू नभएर लगाउँदैनथे। तर, ज्ञानले भएको बेला पनि लगाउन पाउँदैनथ्यो। चप्पल, पाइन्ट लगाउने केटाहरू व्यापारी र जमिनदारका सन्तान हुन्थे र उनीहरू नै कामीले पाइन्ट लगाउन पाइँदैन भन्थे।
रविन व्यापारीको छोरा थियो। उसलाई चप्पल, पाइन्ट लगाउनको कुनै दुःख थिएन। ऊ ज्ञानलाई साह्रै हेप्थ्यो। उसले हेप्नुको कारण ज्ञानले उसको घरमा बाबुले बनाएको कुटो–कोदालो लिएर जानुपर्थ्यो। सविताले ज्ञानको समर्थन र सहयोग गरेको रविन देख्नैसक्दैनथ्यो। रविन सवितालाई मन पराउँथ्यो। तर, सविता भने रविनको उद्दण्ड व्यवहार मन पराउँदैनथी।
बाबुलाई फलामको काममा सघाउँथ्यो ज्ञान। यसरी काम गर्दै जाँदा उसले कुटो, कोदालो, खुकुरी बनाउन सिकिसकेको थियो। उसले पहिलोपटक बनाएको खुकुरीमा दाप राख्न काठ कँुदेर माछा आकारको बनायो। बिँडमा माछाको पुच्छर र खुकुरीतिर माछाको शरीर भएको आकर्षक सानो आकारको खुकुरी बन्यो। खुकुरीमा कुँदेर उसले त्यसमा ‘सविता’ लेख्यो। उसलाई त्यो खुकुरी सवितालाई उपहार दिन मन लाग्यो। एकदिन ऊ त्यो खुकुरी हाफ पाइन्टको गोजीमा लुकाएर स्कुल गयो।
स्कुलमा प्रार्थनाको समयमा लाइन बस्दा रविनले त्यो खुकुरी देख्यो र खोस्यो। उद्दण्ड स्वभाव र बलियो पनि भएकाले खुकुरी ज्ञानले खोसेर लिन सकेन।
ज्ञानले रुन्चे आवाजमा भन्यो– सविता मैले तिमीलाई एउटा आफैले बनाएको सानो खुकुरी ल्याइदिएको थिएँ, रविनले खोसेर लियो।
हाफछुट्टीको बेला चारैजना केटी मिलेर रविनलाई भने— यो खुकुरी ज्ञानलाई फर्काइदेऊ। किन तिमीले यसरी अर्काको खुकुरी खोसेको? तर, उसले खुकुरी ज्ञानलाई फर्काएन। उल्टै रविनले शिक्षकसँग ‘ज्ञानले स्कुलमा खुकुरी ल्याएर दादागिरी गर्न खोजेकोले मैले खोसेर राखिदिएको’ भनिदियो। रविनको कुरा पत्याउँदै शिक्षकले ज्ञानलाई नराम्ररी कुटे।
यो कुरा प्रधनाध्यापकसम्म पुग्यो। उनले ज्ञान र रविन दुवैलाई कार्यालयमा बोलाएर केरकार गरे। रविनले ठूलो आवाजमा बोल्यो— सर, ज्ञानले स्कुलमा खुकुरी ल्याएर आतंक मच्चाउन खोजेको थियो। त्यसैले मैले खुकुरी खोसेर राखेको हो। ज्ञानको स्वर दबेको थियो। उसले डराउँदै भन्यो— यो कुरा झुटो हो सर। मैले आतंक मच्चाउन खुकुरी स्कुलमा ल्याएको हैन।
त्यसो भए किन ल्याएको थिइस् त स्कुलमा खुकुरी? प्रधानाध्यापक कड्किए। ज्ञानले टाउको झुकाउँदै भन्योे– सर यो मैले बनाएको पहिलो खुकुरी हो। प्रधानाध्यापकले प्रश्न गरे– किन स्कुलमा खुकुरी ल्याएर आतंक मच्चाएको तैँले? मैले यो खुकुरी सवितालाई उपहार दिन ल्याएको हो, ज्ञान अनकनाएर बोल्यो। रविनले अघिसम्म उसलाई लगाएको आतंकवादीको आरोपमा नाटकीय परिवर्तन गर्दै बोल्यो— हो सर त्यो खुकुरीमा सविताको नाम लेखिएको छ। सविता र उसको गहिरो मित्रता छ। सविताले नै उसलाई किताब पनि दिन्छे। उसले नै ज्ञानलाई पानी पिलाउँछे। सबैले उनीहरूको ‘लभ’ परेको छ भन्छन्!
त्यो खुकुरीमा लेखिएको सविताको नामले अब बढी कुरा खोतलिरहनु आवश्यक देखिएन। प्रधानाध्यापकले उनीहरूलाई कक्षातिर धपाए। र, आफू सोचमग्न भए। सविताका बुवाजस्ता यो गाउँकै भद्र र सज्जन समाजसेवीलाई आज उनकै छोरीमाथि कामीको बात लाग्नु कति नराम्रो हुन गयो। यी अल्लारे केटाकेटीको कुरा के बु‰न सकिन्छ र? सविताको दोष नहुन पनि सक्छ, तर छोरीको जात हो। यो कुराले उसको जीवन बरबाद गर्न के बेर! यी केटाकेटीहरू स्कुलभरि हल्ला गर्दै हिँड्छन्। यिनलाई कसरी तह लगाउने?
आफू प्रधानाध्यापक भएर यस्ता संवेदनशील विषयमा अनभिज्ञ रहेकोमा उनलाई ग्लानि भयो। सविताका बुवा स्कुलप्रति चासो राख्ने समुदायकै अगुवा हुन्। आज उनकै छोरीमाथि यस्ता गम्भीर ‘बात’ लागिरहेको छ। स्कुलका समस्यामा उनले सविताकै बुवासँग छलफल गर्ने गर्थे। अब उनकै छोरीबारे उनलाई जानकारीसमेत नदिएर कसरी बस्न मिल्छ? उनले स्कुलबाट सरासर सविताको घर जाने विचार गरे।
आम्मै नि अब के हुन्छ आमा? अब सविताका बुवाले सवितालाई के गुर्न हुन्छ होला? आलिशा आत्तिई। सुन्दै जा न भन्दै आमाले कथा यसरी अघि बढाइन्।
सविता प्रधानाध्यापकभन्दा पहिला घर पुगिसकेको थिई। उसका बुवा आँगनको डिलमा भएको कपुरको रुखको सियालमा बसेर कृष्णचरित्रको मोटो किताब पढ्दै थिए। सविताकी आमा आँगनको डिलमुनि बारीमा खुर्सानीका बिरूवा गोड्दै थिइन्। उनले प्रधानाध्यापक आउँदै गरेको टाढैबाट देखिन्। उनीहरूबीच नमस्कार आदानप्रदान भयो। सविताले चिया ल्याएर दिई।
सविताका बुवाले स्कुलतिरको हालखबर सोधे— सबै ठीकै छ नि स्कुलतिर? मेरा छोराछोरी राम्रै पढ्दैछन् होला नि?
म आज सविताका बारेमा केही सरसल्लाह गर्न आएको छु– प्रधानाध्यापकले अलि हड्बडाएको आवाजमा भने। के पर्योो त्यस्तो भन्नुस् न— सविताका बुवाले भने।
स्कुलमा केटाकेटीहरू सविता र ज्ञानको नाम जोडेर नानाथरी कुरा गर्न थालेका छन्। अब के गर्ने?
सविताका बुवाको मनमा चिसो पस्यो। उनले छोरीलाई बोलाए। ज्ञानसँग तेरो नाम जोडेर हल्ला गरिदिएछन् के हो छोरी?
आज ज्ञानले तेरो नाम लेखेको खुकुरी स्कुलमा ल्याएछ। स्कुलमा नानाथरी हल्ला चल्यो। उसलाई गाली गर्ने कि तँलाई? प्रधानाध्यापकले भने।
बुवा र प्रधानाध्यापकको अगाडि त्यो पनि यस्तो असहज विषयमा सविता बोल्न डराइ। तर, नबोली उसलाई सुखै थिएन।
ज्ञानलाई स्कुलमा कसैले पानी पिउन दिँदैन। उसले एक दिन पानीको घँैटो छुँदा केटाहरूले पिटे र सरले पनि उसैलाई गाली गर्नुभयो। त्यो पानीको घैँटो नै फुटाएर अर्को ल्याउनुभयो। मैले उसलाई पानी दिने गर्छु। त्यसैले ऊ आफैले बनाएको खुकुरी मलाई उपहार दिन ल्याएको हो। रविनले त्यो खुकुरी खोसेर आज स्कुलमा हल्ला भएको थियो बुवा। बाबुचाहिँले सवितालाई भित्र जान भने।
जे नहुनु थियो कुरा त्यही भयो! त्यो कामीसँग सविताको नाम जोडेर हल्ला भइरहेको छ। भोलि बिहा गरेर दिनुपर्ने छोरी तपाईं के भन्नुहुन्छ। म ज्ञानलाई स्कुलबाट निकालिदिन्छु। तपाईं सवितालाई स्कुल पठाउँदै गर्नुस्— प्रधानाध्यापकले सदासयता देखाउँदै भने। तपाईंले मेरै लागि भन्नुभयो, तर एउटा कामीको छोराले बल्लतल्ल दस कक्षासम्म पढ्दैछ। उसैलाई स्कुलबाट निकाल्ने? उसलाई स्कुलमा पानी पिउनसमेत यति ठूलो समस्या? मेरी छोरीले उसलाई पानी पिउन दिँदा तपाईंहरूले उसलाई स्याबासी दिनुपर्ने हैन र? तपाईंहरू शिक्षकको काम के हो? केही परिवर्तनको सोचाइ राख्न सक्नुहुन्न? तपाईंलाई समस्या नै भएको हो भने म मेरी छोरीलाई उसको मामाघर राखेर पढाउँछु। भोलिदेखि सविता स्कुल जाने छैन— सविताका बुवाले प्रधानाध्यापकलाई भने।
यद्यपि, सवितालाई मामाघर पठाउने कुरा उनलाई पटक्कै मन परेको थिएन। कमसेकम छोरीलाई एसएलसी पास गराएरमात्र बिहे गरिदिने उनको सोच थियो। त्यसैले उनले मामाघरमै राखेर भए पनि छोरी पढाउने योजना बनाए।
तर, मामाघरमा मामा–माइजुले भान्जीलाई आफूकहाँ राखेर पढाउनुभन्दा बिहे गर्ने कुरा गर्न थाले। अन्ततः त्यही भयो। छोरीलाई यसरी बिहे गरेर दिनुपरेकोमा उनको मन रोइरहेको थियो।
आलिशाले जिज्ञासा राखी–
ती सविताका बुवा कस्ता भद्र है आमा! हाम्रा हजुरबुवाजस्तै ठूलो मन भएका। अरूले भए ज्ञानलाई स्कुलबाट निकाल्थे। आफ्नी छोरीलाई किन स्कुल छुटाएर बिहे गरिदिन्थे। ती त हाम्रै हजुरबुवा हुनुपर्छ हैन र आमा?
२९ जेष्ठ, २०७३
(स्रोत : नागरिक – शनिबार)