कथा : वेल्सी स्ट्रीटका जर्दारी

~विश्वराज अधिकारी~

सन् २००५ जनवरी महिनाको पहिलो हप्तामा म डन मिल्स रोडको बसाइँ सारेर वेल्सी स्ट्रटीमा आएँ । तर डन मिल्स रोडको बसाइ भने मलाई निकै मन परेको थियो । म बसेको डन मिल्स रोडको त्यो अपार्टमेन्टबाट मल र अरू स्टोरहरू जान अनि बस चढ्न अति सजिलो थियो । त्यति मात्र हो, म बसेको त्यो २६ तले अपार्टमेन्टको माथिल्लो तल्लाहरूबाट टोरन्टो शहरको लगभग आधा भाग नै देखिन्थ्यो । म बाइसौं तलामा बसेको थिएँ र त्यहाँबाट झनै प्रस्ट गरी टोरन्टो शहरको ठूलो भाग देखिन्थ्यो । त्यसैले डन मिल्स रोड छाड्ने इच्छा त थिएन । तर

 नयाँ जागिरले डन मिल्स रोड छाडेर टोरन्टोको डाउन टाउनमा अपार्टमेन्ट लिन बाध्य पार्‍यो । डाउन टाउनको एक रेस्टुरेन्टमा मैले काम पाएँ । आवतजावत सजिलो पार्न कामको नजिकमा अपार्टमेन्ट राख्नु आवश्यक भएकोले मसँग डाउन टाउनको छेउमा अपार्टमेन्ट लिनुको अर्को विकल्प पनि थिएन ।

टोरन्टो शहरको डाउन टाउनको त्यो अपार्टमेन्टमा मैले बसाइँ सारेको पाँच वर्षभन्दाबढी भइसकेको थियो । डाउन टाउनको यो अपार्टमेन्ट पनि पच्चीस/तीस तले थियो । माथिको तला मलाई अति मन पर्ने हुनाले बसाइका लागि मैले पच्चीसौं तला रोजेको थिएँ । पच्चीस तलाबाट डाउन टाउनका धेरै ठाउँहरू देखिन्थ्ये ।

म, टोरन्टोको त्यो डाउन टाउनमा रहेको मेरो त्यो अपार्टमेन्टमा बस्दाखेरिको कुरा गर्दैछु । डाउन टाउनको वेल्सी स्ट्रटीमा रहेको मेरो त्यो अपार्टमेन्टमा म दश वर्ष जति बसें । त्यो अपार्टमेन्टमा बस्दा प्रत्येक दिन बिहान काममा जानका लागि तल्लो तलामा पुग्न मैले लिफ्ट प्रयोग गर्नुपथ्र्यो । लिफ्टबाट बाहिर निस्केर लबीको मध्य भाग हुँदै ठूलो गेटबाट निस्केपछि भवनबाहिर निस्किन्थ्यो । प्रत्येक दिन जब म बिहान नौ बजे अफिस भनौं वा काममा जानका लागि तल्लो तलामा झथ्र्यें, लबी हुँदै भवनको बाहिर निस्किन्थ्यें, त्यो लबीमा सत्तर वा पचहत्तर वर्षको एक व्यक्तिलाई देख्थ्यें । ती व्यक्ति ह्वील चेयरमा बसेका हुन्थ्ये । उनको ह्वील चेयर लबीबाट बाहिर निस्किने ढोकाको ठीक छेउमा हुन्थ्यो । ढोकाको छेउमा उनको ह्वील चेयरको अवस्थिति यस्तो हुन्थ्यो कि उनले लबीबाट बाहिर निस्किने र लबीभित्र पस्ने हेरेक व्यक्तिलाई देख्थ्ये । यसैगरी लबीभित्र पस्ने र लबीबाहिर निस्किने हरेक व्यक्तिले पनि उनलाई देख्थ्यो । उनको ह्वील चेयर रहेको ठाउँ यस्तो थियो कि त्यो अपार्टमेन्टमा बस्ने हरेकले लबी भित्र–बाहिर गर्ने क्रममा उनलाई हेर्न नखोजे पनि हेर्नुपथ्र्यो नै ।

त्यो अपार्टमेन्टमा सरेको एक महिनासम्म त मैले ह्वील चेयरमा बस्ने ती व्यक्तिको बारेमा केही पनि थाहा पाइनँ । प्रत्येक दिन बिहान लबीबाट निस्किँदा र लबीभित्र पस्दा ती व्यक्तिसँग केवल देखादेख मात्र हुन्थ्यो, कुरा हुन्थेन । देखादेख हुँदा उनले नै ‘हाय’ भनेर हात हल्लाउँथे, जवाफमा म पनि हात हल्लाइ दिन्थ्यें ।

एक दिन एक खास संयोगले नै भएपनि ह्वील चेयरमा बस्ने ती व्यक्तिसँग कुराकानी हुने अवसर जुराइदियो । हुनत प्रत्येक दिन बिहान ती व्यक्तिसँग देखादेख हुन्थ्यो । देखादेखको सीमा विस्तारित भएर परिचयसम्म पुग्न सकेको भने थिएन । त्यो दिन काममा जान बिहान बाहिर निस्कँदा अपार्टमेन्टको साँचो बोक्न बिर्सेको थिएँ । अर्कोतिर, म कामबाट फर्किंदा जहिले पनि मेरी पत्नी अपार्टमेन्टमा रहने भए तापनि त्यस दिन म फर्किनु एक घण्टा जति पहिले ग्रोसरी किन्न एक स्टोरमा पुगेकी थिइन् । मसँग अपार्टमेन्टको साँचो नभएकोले उनको बाटो कुर्नुको विकल्प मसँग थिएन । र, त्यो कुराइको क्रममा नै ती व्यक्तिसँग कुरा गर्ने अवसर जुरेको थियो ।

ती ह्वील चेयरमा बस्ने व्यक्तिको नाम इमरान जर्दारी रहेछ । जर्दारी, पाकिस्तानको सिन्ध प्रान्तको लरकाना शहरबाट तीस वर्ष पहिले क्यानडा आएका रहेछन् । क्यानडा आएदेखि नै टोरन्टो शहरमा बसेका रहेछन् । टोरन्टोमा पच्चीस वर्ष निरन्तर एउटै कार्यालयमा काम गरेर सेवानिवृत्त भएका जर्दारीलाई टोरन्टोको बारेमा धेरै कुराहरू थाहा रहेछ । त्यस दिन मैल जर्दारीको बारेमा थाहा पाएको यति हो । त्यस दिनको भेटमा जर्दारीले मलाई आफ्नोभन्दा बढी टोरन्टोको बारेमा बताएका थिए ।

अर्को दिन पनि अनौठो संयोग पर्‍यो । शनिवारको दिन थियो । मेरा एक मित्रले मलाई साथमा लिएर टोरन्टोनजिक रहेको मिसिसागा शहर जाने योजना बनाएका थिए । ती मित्रले म कार लिएर आउँछु तपाईं तयार भएर दिउँसो एक बजेतिर आफ्नो अपार्टमेन्टको लबीमा आई त्यहीं मेरो बाटो कुर्नुहोला भनेका थिए । तर ती मित्रको बाटो मैले पौने एक बजेदेखि नै कुर्न बसेको थिएँ । तर तीन बज्दासम्म पनि ती मित्र मेरो अपार्टमेन्ट कम्प्लेक्सतिर झुल्किएका थिएनन् । दुई घण्टाको प्रतीक्षाको समय मैले इमरानसँग कुरा गरेर बिताएँ ।

त्यस दिन मैले इमरानको बारेमा थप कुराहरू थाहा पाएँ । मैले थाहा पाएका थप कुराहरू थिए– इमरानकी पत्नीको मृत्यु दश वर्ष पहिले भइसकेको रहेछ । उनको छोरा हरेक दिन बिहान सात बजे काममा निस्किँदा रहेछन् । बुहारीले बच्चालाई विद्यालय पुर्‍याउनुपर्ने र काममा पनि जानुपर्ने भएकोले बिहान आठ बजे निस्किनुपर्ने रहेछ । इमरानबाहेक सबैले बिहान बाहिर खाँदा रहेछन् । इमरानले भने पकाएर राखिदिएको खाना झिकेर खानुपर्ने रहेछ । घरमा दिनभरि कोही पनि नहुने र एक्लै घरमा बस्न मन नलाग्ने हुनाले इमरान मन बहलाउन आफूहरू बसेको पन्ध्र तलाबाट तल झरेर लबीमा आउँदा रहेछन् । उनी प्राय: हरेक दिन बिहान ८ देखि साँझ ६ बजेसम्म लबीमा बसेर परिचित वा अपरिचित जो देखा पर्‍यो उसलाई ‘हलो’ भनेर दिन बिताउँदा रहेछन् । बिदाको दिनमा छोराको परिवार बाहिर गएको छ भने पनि जर्दारी समय बिताउन लबीमा आइपुग्थे । दिनभरिको स·त वा साथी लबी भएर ओहोरदोहोर गर्ने तिनै व्यक्तिहरू हुँदा रहेछन् । ओहोरदोहोर गर्ने धेरैले उनलाई चिनेका पनि रहेछन् । केहीले जर्दारीसँग छोटो कुरा गर्दा रहेछन् । केहीले भने केवल इमरानको हालखबर मात्र सोध्दा रहेछन् । केहीले भने इमरानतिर हेरेर मुसुक्क हाँसिदिने गरेको मैले देखें । यसरी इमरान प्राय: प्रत्येक दिन लबीमा आएर बस्नु उनको रहर होइन बाध्यता रहेछ । लबीमा आएर धेरैजनासँग कुरा गर्न नपाए पनि धेरैजनासँग केवल देखादेख हुँदा पनि उनलाई आफू धेरै व्यक्तिहरूको बीचमा रहेको अनुभूति हुँदो रहेछ । लबीमा आएपछि एक्लो निराश भएर निर्जन अपार्टमेन्टमा बस्नुपर्ने अवस्थाबाट छुटकारा पाउँथे ।

तेस्रोपटक जर्दारीसँग कुरा हुँदा त्यसरी कुरा गर्ने अवसर कुनै संयोगले जुराएको थिएन । म स्वयम् जर्दारीसँग गफ गर्ने उद्देश्यले उनको ह्वील चेयरनजिक रहेको काउचमा बस्न पुगेको थिएँ । कामबाट फर्किंदा उनीसँग केही क्षण गफ गर्ने भनेर बाटोमैं सोचेको थिएँ पनि ।

दुई खुट्टाको सहाराले लामो समयसम्म उभिन नसक्ने हुनाले इमरानले ह्वील चेयर प्रयोग गरेका रहेछन् । एक भयड्ढर सडक दुर्घटनामा कारको सिटबेल्ट र एयर बैगले उनको ज्यान त जोगाइदिएको रहेछ । तर खुट्टा नराम्रो गरी प्रभावित भएको रहेछ । त्यो दुर्घटनादेखि नै उनका खुट्टाहरूले ठीकसँग काम गर्न छाडेका रहेछन् । पेशाले इन्जिनियर रहेका जर्दारी कुनै समयमा उत्कृष्ट इन्जिनियरहरूमध्ये एक थिए । दश वर्ष पहिले त्यो डरलाग्दो कार दुर्घटनामा परेदेखि राति सुत्ने समयमा बाहेक उनको अरू सम्पूर्ण समय ह्वील चेयरमा नै बित्ने रहेछ । यो तेस्रोपटकको भेटमा मैले जर्दारीको बारेमा थाहा पाएको यति मात्र थियो ।

एक दिन कामबाट साँझ फर्केपछि लबीमा करिब दुई घण्टाजति बसेको थिएँ । त्यति लामो बसाइको उद्देश्य केवल जर्दारीसँग कुराकानी गर्नु नै थियो । जर्दारीका कुराहरू मलाई रोचक लाग्न थालेका थिए । हामी दुवै दक्षिण एसियाको नागरिक भएको र पाकिस्तान र नेपालको जीवनशैली, खानपिन, संस्कृति, सोच, अपेक्षा आदि मिल्ने भएकोले हामीलाई कुराकानी गर्न सजिलो हुन्थ्यो पनि । यो चौथोपटकको भेटमा भने जर्दारीले निकै घतलाग्दा कुराहरू मलाई सुनाएका थिए । उनका कुराहरू म उनकै शब्दमा राख्दै छु ।

सूर्य भाइ, मानिसले विकासको मूल्य चुकाउनुपर्दो रहेछ । हामीजस्तो विकासशील मुकुकबाट आएका नागरिकहरूले त विकास वा भनौं विदेशमा बिताउने सुविधायुक्त जीवनको ठूलै मूल्य चुकाउनुपर्ने रहेछ । केवल सुविधायुक्त जीवन बाँच्ने रहरमा आफ्नो परिवार, समाज, संस्कृति, रीतिरिवाज, चाडपर्व सबै छाडेर आउनुपर्ने रहेछ । सम्पन्न एवं सुविधायुक्त जीवन बाँच्ने रहरमा म पनि आफ्नो जन्मस्थल, आफ्नो परिवार, समाज छाडेर आएको थिएँ । सुविधायुक्त सरल जीवन त पाएँ तर त्यो सुविधायुक्त सरल जीवनको मूल्य एकाकी जीवन बाँचेर चुकाइरहेको छु । यहाँ विदेशमा घरभित्र भान्सा कोठामा जीवनलाई सरल तुल्याउने र मन परेका खानेकुरा सबै थोक छन् । ती कुराहरूको उपभोग गरेर जीवन सुविधासम्पन्न छ भनी गर्व गर्न पनि सकिन्छ तर त्यो गर्वको के अर्थ जब दिनभरि एक्लै बस्नुपर्दछ । म दिनभरि कोठामा बस्ने हो भने मेरोवरिपरि कोही पनि नहुने स्थिति छ । कोठामा भएका टेबल, कुर्सी, खाट, छत, भित्ता आदिसँग कुरा गर्न सकिन्छ ? के ती कुराहरूले मान्छेले झैं कुरा गर्छन् ? बरु जेलमा भएको भएँ अरू बन्दी साथीहरू हुन्थ्ये । उनीहरूसँग कुराकानी गरेर समय बिताउन सजिलो हुन्थ्यो । मेरो जीवन जेलभन्दा पनि कष्टपूर्ण भएकोले त्यसबाट छुटकारा पाउन म हरेक बिहान यो लबीमा बस्न आइपुग्छु । यो लबीमा बस्दा मान्छेहरूसँग हेलो वा हाय गर्दा मात्र पनि आफू मान्छेहरूले घेरिएको वा भनौं मान्छेहरूका बीचमा रहेको अनुभूति हुन्छ । हुनत यो लबीमा मलाई देख्नेहरूमध्ये दिनभरि केहीले मात्र हेलो वा हाय भन्छन् । अरू देख्नेहरूले केवल मतिर हेरेर मुसुक्क मात्र गर्छन् । यहाँ कसलाई फुर्सत छ, मसँग बसेर गफ गर्ने ? सबै बेफुर्सत छन् । सबैसँग समयको अभाव छ । तैपनि मतिर हेर्नेहरूले मसँग बोलेका हुन् भन्ने मैले सोचेको छु । मेरो त्यो सोचाइ केवल एक भ्रम हो भन्ने कुरा मलाई राम्ररी थाहा छ । त्यै पनि त्यो भ्रम त्याग्न सकेको छैन ।

कहिलेकाहीं मानिसले कुनै खास किसिमको भ्रम पनि पाल्नुपर्दछ किनभने त्यो भ्रमले मानिसको कष्टकर जीवनलाई केही सजिलो तुल्याइदिंदो रहेछ । मेरो अर्को पनि एउटा भ्रम छ । त्यो के हो भने अबको केही वर्षपछि आफ्नो जन्मस्थल लरकाना जानेछु अनि यो जीवन त्यहाँ नै समाप्त गर्नेछु । यो देहत्याग गर्नेछु । मलाई थाहा छ, मेरो यो इच्छा पूरा हुन गार्‍हो छ । त्यै पनि मैले यो अर्को भ्रम पाल्नुपरेको छ । तर म सुविधायुक्त जीवनको खोजीमा बेचैन भएर विदेश नआएको भएँ, आफ्नै जन्मस्थलमा रहेको भएँ, यस्तो भ्रम लिएर तँ बाँच्नुपर्थेन । आफ्नो जन्मस्थलमा नै बसेको भएँ, असुविधायुक्त जीवन भए तापनि त्यो जीवनमा नै बाँचेको भएँ, बरु त्यो जीवन यथार्थपूर्ण हुन्थ्यो । मेरोवरिपरि मान्छेहरू हुन्थ्ये । अहिलेजस्तो विभिन्न किसिमका भ्रमहरूले जीवन भरिएको हुन्थेन । हामी गरिब देशका नागरिकहरूको पनि अचम्मको प्रकृति हुँदो रहेछ । असुरक्षित, कष्टपूर्ण र असुविधायुक्त बसाइ भयो भन्दै आफ्नो मातृभूमि परित्याग गर्छौं । विदेशमा आएर त्यस मुलुकलाई आफ्नो ठान्दै त्यसको विकासमा रगतपसिना बगाउँछौं। जीवनको सर्वाधिक उर्वर समय जवानी विदेशमा बिताउँछौं । तर आफ्नो जन्मभूमिको विकास गर्नेतिर लाग्दैनौं । सूर्य, मैले भनेका कुराहरू सही छैनन् त ? अब म लरकाना फर्केपछि जीवनको बाँकी समय किताब लेखेर बिताउँछु । विकासशील मुलुकका नागरिकहरूलाई आफ्नो मुलुकको विकास गर्न उत्प्रेरित गर्छु । त्यस किसिमको किताब लेख्ने पनि मेरो यो तेस्रो भ्रम हो । यी सबै मेरा भ्रमहरू होइन त सूर्य ?

जर्दारीलाई पछिल्लोपटक भेटेको एक हप्तापछि म नेपाल गएको थिएँ । पिताजीको देहान्त भएको खबर दाजुले पठाउनुभएकोले त्यो खबर मैले पाएको तेस्रो दिन नै काठमाडौं लागेको थिएँ । एसएलसी पास गरेर एआईटी बैंककबाट इन्जिनियरिङमा मास्टर्स गरेदेखि कहिले पनि छ महिनाभन्दा बढी पिताजीसँग सँगै बस्न पाएको थिइनँ । माताजीले म दश वर्षको हुँदा नै देहत्याग गर्नुभएको थियो । पिताजीको कुनै जागिर थिएन । यजमानी गर्नुहुन्थ्यो । दाजुको सानो आम्दानीले बा, आमा, दाजु, बहिनी र मसहित पाँचजनाको परिवार चलेको थियो । हाम्रो परिवार गरिबीले थिचिएको हुनाले पनि म राम्रो अध्ययन गर्न र बढी कमाउन विदेशतिर हानिएको थिएँ । पिताजीको मृत्युको खबरले अति दु:खी तुल्याएको हुनाले कुनै विलम्ब नगरी म उहाँको अन्तिम दर्शन गर्न नेपाल पुगेको थिएँ ।

नेपालबाट फर्केको एक हप्ता भइसकेको थियो । त्यो बितेको एक हप्ताभरि काममा जान वा अन्य प्रयोजनले धेरैपटक त्यो लबी भएर ओहोरदोहर गर्दा पनि जर्दारीलाई देखिनँ । जर्दारीको बारेमा मेरी पत्नीलाई पनि सोधें । उनलाई पनि केही थाहा रहेनछ ।

नेपालबाट फर्केको दश दिन जति भएको थियो । जर्दारीको बारेमा कुनै कुरा थाहा हुन नसकेकोले म अति नै दु:खी भएँ । एक दिन कामबाट फर्केपछि लबीमा एक छिन रोकिए अनि जर्दारीको ह्वील चेयरनजिक हुने काउचमा बसें । काउचमा बसिरहेको बेला म बसेको अपार्टमेन्ट कम्प्लेक्सको अफिस लबीको उत्तरतिरको कुनामा छ भन्ने याद आयो । मसँग सामान्य परिचय भएको त्यस अपार्टमेन्टको कार्यालयकी एक कर्मचारी फ्लोरेन्स किन हो त्यो दिन ढिलोसम्म कार्यालयमा बसेकी रहिछन् । मैले उनलाई आफू बसेको ठाउँबाट नै देखें । फ्लोरेन्सको नजिक पुगेर मैले प्रश्न गरें, फ्लोरेन्स, यो लबीमा ह्वील चेयरमा प्राय: सधैं देखिने ती जेन्टलम्यानलाई आजभोलि देख्दिनँ नि ?

फ्लोरेन्सले भनिन्,“दुई हप्ता पहिलेको कुरा हो, यो लबीमा नै भएको बेला ती जेन्टलम्यान ह्वील चेयरबाट लडेका थिए । हामीले आपतकालीन सेवाका लागि ९११ मा फोन गर्‍यौं । एम्बुलेन्सले उनलाई लिएर गयो । आपतकालीन सेवाका कर्मचारीहरूलाई उनको छोरा र बुहारीको टेलिफोन नम्बर पनि हामीले दिएका थियौं ?”

मैले हतारिंदै सोधें,“ती जेन्टलम्यान वा मिस्टर जर्दारीलाई अहिले कस्तो छ त फ्लोरेन्स ?”

फ्लोरेन्सले भनिन्,“ती जेन्टलम्यान त अस्पताल पनि पुग्न पाएनन् । बीच बाटोमा एम्बुलेन्समा नै उनको मृत्यु भयो । हामीलाई त्यो खबर आपतकालीन सेवाको एक कर्मचारीले फोन गरेर भनेका थिए ।

br2063_adhikari@yahoo.com

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.