~निस्नु थिङ~
भुकम्पले लासहरू कुहेर गन्हायो
हैन यो देश कस्तो बनायो ?
मलामी जाने मान्छे पाउन गाह्रो भो
देशको मुहार फेर्ने युवा गाउँमा खाली भो
घर भत्केर मान्छे तल थिचियो
त्यही बेला विदेशीले हाम्रो सीमा मिचियो
खोई कहाँ गए भक्ति थापाका सन्तान
हिजो नेपाल नै थियो अहिले भयो हिन्दुस्तान
बुढेसकालमा छैन कसैको सहारा
घरमा एक मुठी नहुँदा आहारा
भुइँचालोको त्रास छ, बस्नु पर्ने खाली पेट कसेर
बाचेका बाँकी पनि लिएर गए भीरपाखा खसेर
हैन यति साह्रो अहिलेसम्म आपतविपत परेन
दुःखैदुःखमा जुनी बिते फेरि पनि साँझ–बिहान टरेन
सिरमाथि आकासमा कालो बादल मडारियो
कस्तो प्रकोप आयो है गाउँ शहर बढार्यो
कसको आस गरूँ सन्तान सबै परदेशमा
कति विध्न छ यहाँ कालो बजारी स्वदेशमा
मनको लड्डु घ्युसित खाने बेलामा
असारको दिन खेतबारीको मेलामा
कति बाँच्नु सधै अर्काकै हेलामा
प्रकृति नै बैरी बनेर आएको बेलामा
मर्ने त गए सारा संसार छोडेर
नबढी नहुने भने सारा जञ्जिर तोडेर
कालो धन थुपार्नेको नजर पर्यो राहतमा
ठेस कति पर्छ यहाँ ¤ दीनदुखीको चाहतमा
त्यतिकै हतियार उठ्दैन ? कोही कोहीको रहरले
जब मुटुमा सियो घोच्छ सेकेण्ड सेकेण्ड प्रहरले
शिथिल भो शरीर दुःख कष्ट भोग्दा भोग्दा
लुछिएछ आमा पनि बौलाहा कुुकुरले टोक्दा टोक्दा
आफ्नो त जीवन खत्तम भो छैन कतै बिहानी
चासो चिन्ता उसैलाई बाँकी जो छ निसानी
सङ्घर्षले साना साना विरूवामा फूल फुल्छ भने
आहुतिको यात्राले नयाँ नयाँ बाटो खुल्छ भने
जाओस् मेरा जीवन बेथितिको विरुद्ध लडेर
आऔँ, न्यायपूर्ण समाज बनाऔँ दुई कदम बनेर
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३३ – July 22, 2015 – २०७२ श्रावण ६ गते, बुधबार)