~थम्मन के.सी.~
कुखुराको डाँको पर्खिएको रात
आमा ! तिम्रो आँखा नचिम्लिएको रात
शुक्रतारा उदाउँदासम्म तिमी खोकिरहेकी थियौँ ?
मोतिबिन्दुले पोतिएका आँखामा आँशु पोेखेर
थर्थर गर्दै मेरा बाबा तिन तारा झुप्रामाथि
सुस्त सुस्त ढल्किँदा छट्पटिएको रात
पारू तकिया भिजाउँदै मेरो हात समाउँदै
किङ्र्कतव्यविमुढ भएर मेरा हात अठ्याएकी थिइन्
प्रिया नजाउ भनेर
सायद, अपशकुन बोकेर रोएको थियो त्यो रात
गए साल ठुल्दाइ इराक हानिँदा पनि
यो रात जस्तो त्यो रात थिएन
पूर्वको मिर्मिरे उज्यालोमा
सेतो काँसको अम्खोरामा
मखमली र सयपत्रीका हरिया पातहरूले
मलाई साइत पारेकी थियौँ
आमा बातले अठ्याइएका हातहरूले
अनि, मोतिबिन्दुबाट फुस्किएका आँसुका थोपाहरूले
अक्षताहरू रप्रप्ती भिजाउँदै
“ल बाबु श्वास भेटाउन आएस्” भनेकी थियौ
बाबाले बैठक कोठाको झ्यालबाट
हात बल्ल बल्ल दाया बाँया हल्लाउनु भएको थियो
पारूले आँचलभरि आँशु
अनि मुटुभरि हिक्कारले विदाइ गरेकी थिई
साइलाले दाजु नजानु भन्दै
कमिजको बाउलो समातेको थियो
कान्छाले हात समातेर हिक्का छोडेको थियो ।
आज पाँच दशै बितिसकेछन्
आमा, साइलो जङ्गल पसेको छ अरे
कान्छो आन्दोलनमा नारा लगाउँदै छ अरे
कति पटक दशैँ निस्तै बिते रे
कति पटक तिहारमा दिदी रित्तै फर्किन् रे !
आमा ! जङ्गलमा बुकीहरू सेतै फुलेको देख्दा
अनि लश्करै सिरूका हरिया पातहरू देख्दा
मलाई बिवशताले आक्रान्त बनाउँछ
के मैले भिरेको बन्दुक साँच्चै
मुक्तिका लागि हो भन्ने आशयले च्याप्प छोप्छ
के हुने र नहुनेको खाडल सम्याउन
मैले बन्दुक भिरेको हो ?
प्रश्न गर्छ, मनैमनका लामा जुलुशहरूले ?
आफ्नाका छातीमा मेरो बन्दुकले चाँदमारी बनाएर
मेरो मुक्तिकोे सपना पूरा गर्दछ
प्रश्न–प्रतिप्रश्नका चाङहरूले कथित जनयुद्धमा
रक्तमुच्छेल पाइलाले प्रश्न गरिरहन्छन् ।
शिकारीले शिकार खोजे जस्तै
मैले साइलालाई खोजे जस्तो लाग्छ
अनि शहरका गस्तीमा खटिँदा
कान्छालाई सङ्गीन रोपे जस्तै लाग्छ
हजारौँ विधवा नारीलाई देख्दा
तिम्री बुहारीको उजाड सिउदो जस्तो लाग्छ
त्यसैले हिनताले जकडिएको छु म
सम्प्रभुता बचाउन भिरेको अलङ्कार
आफ्नो भाइलाई चाँदमारी बनाउनु पर्दछ भने
निरर्थक छ
मेरा छातीभरि भरिएका तक्माहरू
साइला अब म यस्तो बन्दुक भिर्न सक्दिनँ
तिम्रो बन्दुक पनि बिसाउनु पर्दछ
कसका लागि ?
हुने खाने मान्छेलाई बचाउन
हुँदा खानेलाई सङ्गीन रोपेर
कदापि यी आफ्ना भाइको बली चढाउदिनँ म
इराकमा रेटिएको ठूल्दाइको डाह मेटाउन
साइला आमाको काखमा आउनै पर्छ तिमी
म फर्किसकेको छु ।
कान्छा, हामी सबै सँगै लम्कनु पर्दछ
हाम्रो अजेय विचार जीवित पारिरहनु पर्दछ
हुने र नहुनेहरूको खाडल सम्याउन
साँचो जनवादी क्रान्तिका निम्ति अघि लम्कनु पर्दछ
विस्तारवाद, साम्राज्यवादलाई परास्त गर्दै
देशीय प्रतिक्रियावाद, सामन्तवादको नामोनिसान मेटाउन
तिम्रो र मेरो तालिम निरर्थक हुने छैन
किनभन्दा अमरसिंहबाट हामी सिकेका छौँ
बलभद्रको इतिहास हाम्रा सामु छ
सयौँ वीर सपुतले सिँगारिएको इतिहास
र, हजारौँ सहिदको रगतका थोपाका खातिर
यहाँ नयाँ क्रान्तिको हुण्डरी चाहिन्छ
नयाँ आस्थाको ननिभ्ने ज्योति चाहिन्छ
सयौँ रगतका बुँदहरूले
दुःखी–गरिबको राज्य पलाउँछ भने
मागे एक अञ्जुली रगत आन्दोलनमा चढाउनु पर्दछ ।
परिर्वतनको हुँकार हतियारभन्दा बलियो हुने छ
आमाको पुकार लक्ष्यभन्दा नजिक हुने छ
जार, हिटलर र मुसोलिनी आदि जस्तै
सडेगलेको व्यवस्था ढल्ने छ
नयाँ बिहानीसरि
सुन्दर संसार हाम्रो आँगनमा रमाउने छ
पूर्वमा लालिमाका नयाँ आभाहरू
धर्तिभरि टल्किन लाग्दा
हाम्रो आदर्शको संसारका लागि
नयाँ युद्धले विजय पाउने छ
साँच्चै त्यो नै जनताको मुक्तिको दिन हुने छ ।
२०६१ भाद्र २६ (अर्घाखाँची)
(स्रोत : हाँक विक्ली – वर्ष ३२ अङ्क २८ – June 10, 2015 – २०७२ जेष्ठ २७ गते, बुधबार )