युद्ध कथा : प्रतिवद्धता

~सरल सहयात्री पौडेल~

हामी भन्दा तिन–चार सय मिटर तल भिषण वाढी लिएर वग्ने धमिलो नदि वगिरहेको छ ।, अकल्पनिय अप्ठ्यारो पहरामा कुनै स्पार्टाकसले वनाएको साँघुरो सिंडि हँुदै हामी उकाली लागीरहेका र्छौं ।, मुसलधारे वर्षातले हामीलाइ चुटिरहेको छ मानौं हामीले यसअघि उसको ठुृलै काम विगारेकोले गर्दा वर्षात हामीलाइ कठोर सजाएँ दिइरहेको छ । र यो क्षण औंसिरातको अन्धमुष्टि छ । मेरो मनको स्पार्टाकशले वनाएको यस गोरेटो आज धेरै पुरानो भएकोले ठाउँठाउँमा सिढींहरु छिनेको छ र कोहि नयाँ स्पार्टाकसहरु अझै जन्मीसकेका छैनन् । प्रत्येक छिनेको गोरेटो हाम्रो मृत्युको खुड्किलो हो । यदि हामी ती छिनेका गोरेटोलाइ ठम्याउन सकेनौं भने तल वग्ने धमिलो नदी हामीलाइ लैजान तयार भएर सुसाइरहेको छ ।

हामी यस अन्धकार रातमा अप्ठ्यारो पहराको सँाघुरो सिढी उक्लदै गर्ने एककम्पनि को टोली छौं अर्थात एकसय जना जति । मेरो पिठ्यँुमा कम्तिमा विस किलो जतिको भारि छ । मेरो ओड्ने कपडा, लगाउने लुगा, ओछ्याउने प्लाष्टिकको गुन्द्रि, दुश्मनसंग लड्ने वम, र जनतालाइ मुक्तिको कुरा सिकाउनको लागी भनेर मैले पढ्ने किताव । अर्थात यसोभन्दा पनि फरक पर्दैन त्यो मेरो एउटा सानो घर हो जसलाइ म पिठ्यँुमा वोकेर हरदिन यात्रारत रहन्छु । साथै मेरो कम्मरमा पचास थान गोली र काँधमा लगभग पाँचकिलोको राइफल छ जसको उपनाम जीवन साथी भनेपनि हुन्छ । जसमाथी प्लाष्टिक ओडेर म आफुलाइ भन्दा यी सामाग्रीलाइ पानीवाट वँचाउनको लागी वढी सचेत छु । म भन्दा अगाडी क.शुशिल छ र सुशिल भन्दा अगाडी क.सोनाम हुनुन्छ । म पहिलो ग्रुपको कमाण्डर अर्थात सैनिक भाषामा फ्रन्ट गार्ड लिडर र उनीहरु दुइजना मेरा सदस्यहरु हुन । उनीहरुसंगपनि उतिकै समान छ, जति मसंग छ । वा ती एकसय मान्छेहरु जोसंग कुनै न कुनै रुपमा वरावरि गह्रौं भारि छ । हामीलाइ यो गन्तव्यको टुंगोको वारेमा कुनै प्रश्न छैन र कुनै अपसोच पनि । आशा छ – हामी यो भारिलाइ साम्यवादमा लगेरमात्र विसाउने छौ्रं ।, विश्वास छ – मेरो शरिरले सकेन भने अर्को नौजवान जन्मने छ र मेरो भारि वोकेर यात्रालाइ नीरन्तरता दिइनै रहनेछ ।

हर अप्ठ्यारा गांैडाहरुमा जव म तल पर्छु क.शुशिल ले आफ्नो हात पसारेर भन्छ – आउनुस । म उसको हात पकड्छु र माथी उग्लन्छु । निःस्वार्थ भावना सहित ऊ मलाइ माथीतिर तान्छ । म निःश्छल तरिकाले सोच्छु – उसको ठाउँमा अरु हुन्थ्यो भने उसलेपनि मलाइ तान्थ्यो, किनकि मपनि मेरो पछिको साथीलाइ हरपटक हात पसारेर भन्थें – आउनुस । यो हाम्रो आम कर्तव्य हो र महान यात्राको नियम पनि । हर यात्रामा र हर विछोडपछिको भेटमा केवल दुइ सेकेण्डको लागी हात मिलाउदै गर्दा वा यदाकदा वसाइको वेला संयोगले उसको र मेरो आँखा कयौंपटक जुधेकोपनि छ । तर आँखाहरुकोे यस जुृधाइमा न मैले अप्ठ्यारो महशुष गरेको छु न त उसले नै । सहजतामा हामी एक अर्कालाइ वुझ्छौं र व्यवहार गर्छौं ।

************

यो रात होइन यो खुल्ला आकाश देखिने दिन हो । हामी हाम्रो यात्रालाइ गौरिसंकर हिमालको फेदिको वाटो भएर नीरन्तरता दिइरहेका छौं । हामी भन्दा अगाडी खुल्ला वाटो छ, तर तलमाथी भिरालो अप्ठ्यारो जमिन छ । अकस्मात ! अगाडी गएको दुइजना संकेत विभागका कमरेडहरुको अनुसार दुश्मन नजिकमात्र होइन हामीसंगै जस्तो आइपुगेको कुरा पत्ता लगाउन कठिन छैन । उनीहरु वेतोडले भाग्दै हामीतिरै फर्किरहेका छन् । मैले कासन गरें । सुशिल दायाँतिर पोजीसनमा वस्यो, सोनाम सुशिल भन्दापनि दायाँ र म वायाँतिर वसें । नभन्दै दुश्मन मुक्कामुक्किको दुरिमा आइपुगेको छ । मैले गरेको सवै फायरहरु मिस भयो । मलाइ समात्ने सुरमा झम्टदै आएको एकजना दुश्मनको सिपाईलाइ शुशिलले एकै खुकुरिले छ्वाप्पै पार्यो । म दुश्मनको पहिलो प्रहारमा नै लडेको छु । पछाडीवाट दुश्मनले हानेको गोलीलाइ छल्न पछाडी हटेर कभर लिनुको विकल्प छैन तर उठेर कभर सम्म पुग्ने संभावनापनि कहाँ वाकि छ र ? लडीरहेको म माथी लडेर सुशिलले मलाइ च्याप्पै समात्यो र मलाइ समेत रोलीङ गराउदै हामी कभर भएको ठाउमा झर्यौं । हाम्रो पछाडीको टोलीले दुश्मनलाइ व्लक गर्न शुरु गरिसकेको छ । रोलीङ गर्दै याहा आइपुग्दा म शुशिलको छातिभन्दा माथि परेको छु । उसको दुवै हात मेरो काखिमुनिवाट मेरो काँधमा छ र मेरो हात उसको काँधमा । नजिकवाट अर्थात एक अर्काको अंगालोमा वाँधिएर मैले उसको आँखामा आँखा मिलाएँ केबल तिन सेकण्डभन्दापनि कममात्र । जुृरुक्क उठेर पोजिसनमा वसें । ऊपनि आफ्नो पोजीसनमा वस्यो । हामी भन्दा दुश्मन कम छ त्यसैले उसले आफुलाइ पछाडी हटाइरहेको छ हामी अगाडी वढीरहेका छौं ।

लडाइ पछिको स्वभाविक फर्मेशनमा हिड्न शुरु भइसक्यो । मैले उसलाइ सोधें – शुशिल ! किन तपाइले मेरो लागी ज्यान जोखिममा पार्नु भएको ?, म ढल्नु वा तपाई ढल्नुमा के फरक छ र क्रान्तिको लागी ? मलाइ वचाउदा तपाइ ढल्नु भएको भए ….? ऊ आफ्नो तिस किलोको भारि वोकेर लुखुर–लुखुर हिंडिरहेको छ । पछाडी नफर्केरै उत्तर दिन्छ – कमरेडली भावना जो मेरो मनभित्रपनि उर्लन्छ, कमाण्डरप्रतिको कर्तव्य जो मेरा मनमा पनि इमान्दारितापूर्वक छ……………… । अरुपनि केहि वोल्लाकि भन्ने मेरो अपेक्षा यतिमै व्रेक लाग्छ । मेरो प्रतिक्रिया वुझ्नका लगाी भनेर फेरि ऊ फर्केरपनि हेर्दैन । म उसको पछिपछि उस्तै भारि वोकेर हिडेरहेकी छु । उसले दिएको जवाफ ‘कमरेडली भावना’ र ‘कमाण्डरप्रतिको कर्तव्य’ भन्ने शव्दले मलाइ चित्त वुझेको छैन । तर मलाइ फेरि उहि प्रश्न कोट्याउन मनपनि लाग्दैन ।

************

गएराति देखिनै म अलि विरामी जस्ती छु । अलिअलि रिंगाटा लागेको छ । सायद मासिक धर्म भएर पो हो कि ? यस्तो वेला कमजोर हुनु हामी महिलाको लागी स्वभाविक हो । तर भन्नुचाहिं अर्को कमरेडको लागी भार थपिनु हो, किनभने मेरो झण्डै तिस केजीको भारी अर्को कमरेडले थप्नु पर्छ । तर म हिंड्दा हिंड्दै रिंगाटा लागेर अकस्मात ढलें । शुशिलले मलाइ उठायो र मेरो झोलापनि उसले थपेर मलाइ एउटा लठी दिएको छ । अप्ठ्योरोमा उसले मलाइ डोहोर्याइरहेको छ । हामी सेल्टरमा आइपुग्छौं । उसले मलाइ सम्झाउदै भन्दैछ – महिलाको सवै रोगहरु हामीलाइ भन्न गाह्रो हुन्छ होला तर कसैलाइ न कसैलाइ त भन्नु पर्छ नि । वाटैमा तपाईलाइ केहि भएको भए के हुन्थ्यो ? मप्रतिको उसको गंभिर रेखदेखको मौका छोपेर म उसलाइ प्रश्न गर्छु – मलाइ केहि भएपनि के हुन्छ र यत्रो क्रान्तिमा ? आखिर कयौं होनहार योद्धा त छँदै त छन नि ! मेरो अपेक्षाको विपरित उसले जवाफ फर्काउछ – वाटोमा तपाईलाइ केहि भएको भए साथीहरुले वोक्नुपर्ने हुन्थ्या,े सवौलाई दःुख हुने थियो ।, राम्रो सोच्नेले त राम्रो सोच्लान नराम्रो सोच्नेले झन्झट मान्ने थिए, र हुनसक्छ पछाडी पछाडी कुरा काट्नेपनि थिए अनि ………..? यी वाँक्यहरुको प्रस्तुतिमा उसको मुद्रामा कुनै परिवर्तन छैन ।

म हिजो आज उसको इमान्दारितालाइ नजिक वाट नियाल्न थालेकि छु । ऊ अनुहारमा सुन्दर मान्छे होइन । तर उसको निश्छलता देखेर ऊ असाध्यै सुन्दर लाग्छ मलाई । संयोगले यदाकदा जुध्ने नजर र कहिलेकहिं थोरै समयको लागी छुटेपछि एकसेकेण्ड हात मिलाउदा दुइ सेकेण्ड जृुध्ने नजर्लाइ आज भोली म लम्व्याउन थालेकी छु । मेरो गहिरो हेराई देखेर ऊ के सोच्छ मलाइ थाहा छैन तर हाम्रो एकोहोरो यात्रा मात्रपनि त झण्डै एक वर्ष भन्दा वेसि भइसकेको छ । यद्यपी आजसम्म न मेरो व्यक्तिगत कुरा मैले उसंग धेरै गरेकी छु न उसले नै आफ्नो वारेमा मलाइ भनेको छ । तैपनि केहि समय यतादेखि मलाइ फुर्सदको समय उसैको छेउमा पाएको मा खुसि लाग्छ । वरु लामो यात्रा होस उसको पछि पछि यात्रा गरिरहन मन लाग्छ । तर यो मेरो मनको अनुभुति न अरु कसैलाइ व्यक्त गर्न सक्छु न उसलाइ नै । मेरो मनमा अनिर्णयको यो काउकुति निकै समयदेखि गुम्सिीदै आएको छ ।

************

योपाली हाम्रो लडाईको तरिका अलिक वदलिएको छ । हामी कमाण्डो कार्वाहिको लागी भनेर छोटा हतियार लिएर सदरमुकाम तिर गइरहेका छौं । टोलीमा छ जना केटाहरु छन् र हामी चारजना केटि छौं । हामी जम्मा जम्मि दश जनाको टोलीमात्र हिंडेको कारण शुशिल र मलाइ संगै हिड्ने संयोग मिलेको छैन । मलाइ कुनैपनि वहानामा संगै हिडौं झैं लागेको छ । फर्मेशनमा फर्मेशनको अनुशासन अनुसार हरेक व्यक्तिको दुरिको निर्धारण पहिलेनै गरिएको हुँदा समूहमा हिड्नु वा कुनैपनि छलफल गर्नु निशेध हुन्छ तर हामी खास फर्मेशनमा हिडेका छैनौं । तोकिएको स्थानमा पुग्नु भन्दा अगावै हामीलाइ खासै सतर्क हुन जरुरीपनि छैन । तसर्थ कुराहरु सामूहिकतामा भइरहेको छ । सामूहिक कुराकानि ले कमरेडहरुलाइ रमाइलो त वनाइरहेको छ तर मेरो मनमा एउटा अर्के कुरा उर्लिरहेको छ – जुन कुरा मैले यो लडाइ भन्दा अगाडी नै सुशीललाइ भन्न चाहन्छु । तर आज भन्न सकिन भने भोली विहानै देखी कमाण्डो कार्वाहिको तयारि देखि यात्राको चाप समेत हुनेछ । कमाण्डो कार्वाहि हो के विश्वास ? मेरो कुरा भन्नै नपाइ विछोड हुने पो होकि ? तर अस्वभाविक रुपमा मैले शुशिललाइ छुटै कुरा गर्नुपनि मेरो समकालिन र नेतृत्व कमरेडहरुको अगाडी सुहाउदिलो कुरा छैन । साथै मेरो मनको कुरा पहिले नेतृत्वलाइ राख्नुपनि मैले उचित मानिरहेको छैन । मनभित्रको यावत द्धन्दको कारण दिनभरको यात्रामा मैले खास वोल्ननै सकिन । कसरि मेरो मनको कुरा उसुलाइ सुनाउने भन्ने चिन्तनमा नै मेरो यात्रा वित्यो ।

आज वेलुकिपनि हाम्रो सुताइ फरक घरमा पर्यो । महिला एकातिर र पुरुष अर्कातिर । मनमा खेलेको कौतुहलताको हलविना निन्द्रापनि राम्रो लागेको छैन । आधारात तन्द्रामानै वितिसक्यो । विस्तारै एकजना कमरेड मेरो नजिक आइ र मलाइ कोट्याइ । मैले थाहा पाएँ मेरो सेन्ट्रीको पालो आएछ । जुरुक्क उठेर वाहिर निस्केकि छु । अन्धकार रातमा आवाजका संकेतहरु पत्ता लगाउनु र झालाक–झुलुक टर्च लाइटका संकेतहरुलाइ हेर्नु नै रातको सेन्ट्रीको खास काम हो । यदि हर्कत अनुसार खतराको संकेत पाएमा सवैलाइ जानाकारि गराउनु पर्छ । मैले एकपटक चरैतिर नजर लगाएँ ।, कान थापेर सुनें । र घरको २५ मिटरजति वरिपरि घुमें तर कुनै संकेत पाइन । त्यसैले मूल वाटोलाइ ध्यान दिनेगरि पोजीसन रोजेको छु एउटा ठुलो रुखलाइ कभर वनाएर । पोजीसनमा वसेको केहिवेर मात्र भएको छ, मभन्दा अगाडी मूलवाटोवाट एकजना मान्छेको संकेत म देख्दैछु । अन्धकार रातमा सुमसुम हिड्दै म तिरै आइरहेको सो संकेत पक्कापनि मान्छेको नै हो भन्नेमा मलाइ कुनै सन्देह छैन । तर कस्को हो ? यो अन्योल मात्र होइन खतरापूर्णपनि छ । मेरो मुटु ढुक्क गरेर फुलेको छ । हातमा रहेको पेस्तोललाइ संकेततिर सोझ्याएर पुवृ निर्धारित पास वर्डको रुपमा निर्धारित गरिएको कोइलीको आवाजमा संकेत गर्छु । उसले मृगको आवाज निकाल्यो । याहासम्म ठिकै छ जुन संकेत हामील नै वनाएका हौं । यसले मलाइ अलि सान्तवना दिएपनि ढुक्क वनाएको छैन । मैले पेस्तोललाइ तयारि अवस्थामा उतैतिर ताकिरहेको छु । आखिर आफ्नै कमरेड भए त्यो को हुन सक्छ त ? मेरो मनको जवाफ दिन आकृति नजिक आइपुग्यो र वोल्छ – चिन्नुभएन ? म शुशिल । ऊ तलतल सम्म दुश्मनको स्थीति वुझ्नको लागी एक्लै गएको रहेछ । त्यो अन्धकार रातमा त्यति टाढा सम्म ऊ ढुक्कसंग घुमेर भर्खर आउदै छ । मेरो नजिकमा आएपछि ऊ आफ्नो पोजीसनमा जान लाग्छ । मैले उसलाइ रोक्छु ।

अन्धकार रातले चारै तिर छोपेको छ । डाँडाहरु कालो स्तम्भको रुपमामात्र खडा देखिन्छन् । वस्ति पुरै सुनसान छ । हामी दुःखि जनताको सपनालाइ साकार पार्न भनेर रातलाइपनि चुनौति दिंदै लडाईमा होमिएका छौं । तर यतिवेला यस्तो लागीरहेको छ – यो संसारम व्यँुझो केबल म छु र मभन्दा त्यस्तै आधाफिट पर रहेको क.शुशिलमात्र छ । मैले आग्रह गरें – लामो समय देखि मलाई तपाईसंग एउटा कुरा गर्न मन लागेको थियो । ऊ पन्छन खोज्दै जवाफ दिन्छ – हामी यतिवेला ड्युटिमा छौं । त्यसैले कुरा भनेको त भोली गरेपनि हुन्छ नि । भो ! भोली गरौंला ।

होइन शुशिल ! मलाइ आजै गर्नुृ छ । म जीद्धि गर्छु – तपाई भर्खरै परसम्म पुगेर आउनु भएको छ ।, मैले वरिपरि घुमेर हेरेकी छु । त्यस्तो केहि हुदैन । यति भन्दासम्म मेरो अनुहार रातो भइसकेको छ र ओठ सुकेको छ । उसले के अनुभति गरेको छ वा सोचेको छ त्यस अन्धकार रातमा मैले अनुमान गर्न सकेको छैन ।

उसले मुख खोल्यो – ठिक छ के कुरा हो भन्नुस न त फटाफट !

– पहिले वस्नु न । म वस्नलाइ आग्रह गर्छु । ऊ अप्ठ्यारो मान्दै वस्छ ।

बारिको डिलमा एउटा ठुलो रुखलाइ कभर वनाएर हामी नजिकै वसेका छौं । दुवैजनाको घुडा एक अर्कामा जोडिएको छ । अध्यारोमा देखिने रुखका काला पातहरु हल्का हावाको सुरमा हल्लिरहेका छन् । मैले जवरजस्त मुख खोल्ने प्रयास गर्छु – शुशिलजी ! यदि तपाईले अन्यथा मान्नु हुदैन भने ……………मेरो मुखवाट त्यो भन्दा धेरै आवाज निस्कन नै सकेको छैन । ऊ चुपचाप प्रतिप्रश्न नगरि वसेको छ । यदाकदा मलाइ भान भएको छ म कुनै लोग्नेमान्छे संग वसेकी छु वा कुनै निर्जीव मुडोसंग टासिएर वसेकी छु ? म आफैंले फेरि उही वाँक्यलाइ दोहोरयाउने प्रयास गर्छु – …तपाई अन्यथा मान्नु हुदैन भने म…………….म तपाईलाइ प्रेम गर्न थालेकि छु । यो पटक चाहिं मैले आफ्नो वाक्य पुरा गरेरै छाडें । तर मेरो मनमा डर र अन्योलताको भावना एकाएक उर्लिएको छ , मुख सायद रातो भएको छ तर अन्धकार रातले यसलाइ छोपेर सहयोग गरिरहेको छ ।

उसले कुनै प्रतिक्रिया दिएको छैन । म पनि चुपचाप उसको प्रतिक्रियाको पर्खाइमा वसेको छु । केहिवेरको सन्नाटा पछि उसले मलाइ सोधीरहेको छ – किन प्रेम गर्ने विचार आयो तपाइको मनमा ? तर मैले यसको जवाफ दिन उचित मानिन । ऊ अझै वोल्दै गयो – हामीले प्रेम गरेर के फाइदा छ ?, व्यक्तिगत सम्पति व्यक्तिगत माया, व्यक्तिगत भावना सारा कुरालाइ नष्ट गरेर आएका छौं याहाँ सम्म । अनि ………अनि फेरि व्यक्तिगत सम्पतिलाइ जोड्न चाहनु हुन्छ तपाइ ?

– चोखो प्रेम र व्यक्तिगत सम्पति भनेको एउटै कुरा हुन सक्छ र सुशिल ? के हामी कम्युनिष्टहरुको भावना सवै मरेको हुन्छ ? , के हामी नीर्जिव कुनै ठुटाहरु हौं ? हाम्रो मन हुनु हुदैन ? हाम्रो मनमा इच्छा र चाहना पलाउनु हुदैन ? म धेरैवटा प्रश्नै माथि पश्नको वर्षा गर्छु ऊ माथी ।

– मलाइ यसको गहिरो अध्ययन छैन । तर मेरो अन्तरमनले भन्छ कम्युनिष्ट आदर्श र व्यक्तिगत प्रेमवीच ठुलो अन्तरविरोध भए जस्तो लाग्छ । लेखिएका कितावहरुमा त म कुनै अन्तरविरोध पाउँदिन तर गरिएका व्यवहारहरुमा म ठुलो अन्तर पाउने गर्छु । हेर्नुस ! मेरो मनमा पनि प्रेम जाग्छ, मेरा भावनामा पनि इच्छा र आकांक्षाहरु पलाउछ । मलाइ थाहा छ, तपाई मलाइ जहिले देखि प्रेम गर्न थाल्नु भएको छ त्यहिवेला देखि मलाइ राम्रो अनुभुति भएको छ । तर म चाहन्थें यसलाइ यतिकै दवाइ दिऊ । तर तपाइले यसलाइ उतार्नको लागी कोशिष गर्नुभएको छ । म के भनौं ? यस्तो लाग्छ ऊ यो वहसमा मलाइ जिताउन चाहन्छ । मेरो साहस वढेको छ । मलाइ विजय भएको अनुभुति भइरहेको छ अर्थात उसले मलाइ स्वीकारेको छ ।

– शुशिल ! हामीले प्रेमलाइ निजी सम्पतिको विकृत रुप हुन नदिने गरी शुरुवात गरे कसो होला ? आखिर कुनैपनि समस्या समस्या भित्रनै छिरेर नै त समाधान हुन्छ नि ! त्यसैले हामीपनि संघर्षवाटनै समाधान गर्ने जमर्को गरौं न । मैले उसको काधमा हात राखी सकेको छु । मैले जोड गरें – हुन्छ भन्नु न ।

– ठिक छ । मलाइपनि त तपाइ साहै्र मनपर्नुहुन्छ नि । कालो यस रातमापनि ऊ मुस्कुराउदा उसको दाँत टल्कीरहेको छ । …. तर चाहन्छु हामी व्यवहारिक कम्युनिष्ट आदर्श को वाटो भएरनै अगाडी वढ्न सक्नुपर्छ । यो जवानिको फोस्रो आदर्शमात्र हुनु हुदैन । जीवनका कुनैपनि अप्ठ्यारोहरुमा हामीले यो पहलो प्रतिवद्धतालाइ भुल्नु हँुदैन । उसको स्वीकारोक्ति संगै मैले उसको हातमा एउटा रुमाल राखिदिन्छु । जुन रुमाल पार्टिको झण्डा हो र त्यसभित्र एउटा माउजरको गोलीपनि संम्झनाको लागी छ ।

मन निकै हल्का भएको छ । खुसिले गर्दा त्यो रातपनि विहानी जस्तो लागेको छ । वसेको ठाउँवाट उठ्दै गर्दा आवेगमा मैले उसको गालामा एकसेकेण्डको लागी चुम्वन गर्छु । उसले मेरो हातमा चुम्छ । अकस्मात !… अकस्मात हाम्रो नजिकै निकै पाइलाहरुको आवाज आएको हामीले सुनिरहेका छौं । पक्कापनि यतिका आवाज दुश्मनको वाहेक अरुको हुन सक्तैन । म भन्छु – शुशिलजी तपाई साथीहरुलाइ उठाउनुस, म यता कभर गर्छु । तर उसले मान्दैन र मलाइ धकेल्दै भन्छ – तपाइ जानुस म कभर गर्छू उनीहरुलाइ । विवाद गर्ने समय छैन म दगुर्दै छु उसले थप्छ – तपाइहरु त्यतैवाट रुट सफा गर्नुस म पनि उतै आउछु । म हतारमा गएर साथीहरुलाइ उठाउछु । तर उठेर आगनमा आउना साथ घर भन्दा माथीवाट दुश्मनले फायर खोल्छ । हामीसवै जनो तल्लो कान्लामा कभर लिन पुग्छौं तर हामी भन्दा तलपनि र क. शुशिल भएपटिपनि फायर शुरु भइसकेको छ । हामी अलिकति पछाडी हटछौं । हामी पछाडि हट्नासाथ दुश्मनको घेरा पुर्ण सर्कल भइसकेको छ । हामी घेरा वाहिर छौं । घेरा भित्र केवल शुशिल मात्र छ । दुश्मनले अन्धाधुन्ध फायर गर्दै अगाडी वढीरहेको छ । घेरा साँघुरिरहेको छ । हामी संग भएको पेस्तोलको गोलीपनि सकिइसकेको छ । हामी अलि परवाट शुशिलले घेरा तोड्छ कि भन्दै पर्खि रहेका छौं । ओल्लो छेउमा जहाँवाट हामीले घेरा तोड्यौं त्याहाँ आएर उसले हामीलाइ संकेत गर्दैछ । दुश्मनले यहि संकेतमा फायर केन्द्रीत गर्न शुरु गरिसक्यो । सायद उसको फुत्कने संभावना कम भइसक्यो । अव पेस्तोलकोे फायर शुरु भइरहेछ । मेरो विचारमा पेस्तोलको फायर पक्का पनि शुशिल ले नै गरेको हो । लगातार सात राउन्ड फायर हुन्छ । शुशिलसंग भएको गोली पनि त्यतिनै हो जम्मा । केहिवेर भयो फायर पुर्णरुपमा वन्द भएको छ । अकस्मात ! आकाश थर्कने गरि आवाज आउछ – साम्यवाद – जिन्दावाद !, मेरो प्रिय कमरेड !! मलाइ सुन्नुहुन्छ ??? …म तपाईको चिनोलाइ सदाका लागी मेरो मुटुमा राखिरहनेछु र साथै लिएर गइरहेको छु । सुन्नुभयो ??? गगन वेदी यी आवाज संगै पेस्तोलको अन्तिम फायर पड्कियो जुन फायर शुशिल स्वयंले आफ्नो कन्चटमा राखेर पड्कायो भन्ने अनुमान लगाउन गाह्रो छैन र सो गोल भर्खरै मैले उसैलाइ दिएको थिएँ ।

आदरणीय पाठक वृन्द ! उसले आफ्नो कन्चटमा पड्काएको त्यो गोली हरपटक मेरो मुटुमा लाग्छ र म व्युझन्छु । म हररात सपना देख्छु र यहि अन्त्यष्टिमा व्युझन्छु । कहाँ मेरो आजको कथा हो र यो । यो त झण्डै एकदशक पुरानो कथा हो । पाठकवृन्द ! आज म कथित शान्तिकालमा छु । मलाइ उसको हर आदर्शको संझना आइरहन्छ । म देख्छु कतैपनि प्रेमहरु कम्युनिष्ट आदर्श अनुसार भएका छैनन् । म आफु कम्युनिष्ट विचारको कुन उपमा टेकेकि छु मलाइ थाहा छैन तर उसको एकनिष्ठ र इमान्दार प्रेमको निश्छल, निस्वार्थ एक चुम्वनको संझनामा वेरिएकी छु । मलाइ लाग्छ – उहि मेरो जीवनसाथी हो र ऊ मरेको छैन । मेरा समकालिन कमरेडले मलाइ भन्छन् – यो त तेरो आदर्श हो । पुरानो सोंच हो । यस्तै यस्तै कयौं थरिका उपमा सहित । तर मलाइ लाग्छ – मेरो शुशिल हरशव्दलाइ हिसाव गरेरमात्र वोल्थ्यो । ऊ भन्थ्यो – ‘कम्युनिष्टहरुले गरिरहेको प्रेम भनेको नीजिी सम्पति नै हो । किनभने एउटा योद्धा आफुलाइ जनताको लागी सवकुरा त्याग गरेर जीवन समेत समर्पित गर्छ तर फेरि प्रेम गर्छ, विवाह गर्छ, र वच्चा जन्माएर नीजि सोंच र निजी चन्तनको विकाश गर्न थाल्छ । अन्ततः नीजि सम्पतिको श्रोत नै यहि त हो । प्रेम गर्नुृ, विवाह गर्न भनेको प्राकृतिक सत्य हो तर कम्युनिष्ट आदर्श मिथ्या त पक्का पनि होइननि ।’ पाठकवृन्द ! म उसको पक्का सहयात्री अर्थात पथपुरक हौं, त्यसैले म उसको आदर्शमा आजसम्म प्रतिवद्ध छु ।

– सरल सहयात्री
चितवन शक्तिखोर

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.