कविता : भाले बासेन

~एम.एल. ओली~

डालीमा बसी न्याउली रूँदा प्याउली टुसायो
भैंसीले दूध लुकायो आज पारोले चुसायो
कुरेर बस्दा आएको पालो सुनायो फैसला
कुर्लेर आयो झक्कली भाले काटेर कसला ।

खोरको धन्दा गरेर बस्दा पुगेन चारोले
फुत्फुती खेल्ने करेसा बारी उडायो छारोले
चल्लाको साथ झारेर आँसु जाडोले हल्लियो
विहानी भयो बासेन भाले भोकले थल्लियो ।

भोकको झोक्ले अन्नेरी गर्दा तन्नेरी थर्कियो
सुत्केरी घर थिएन खोर कम्मर मर्कियो
विवाह कार्य बाँकी नै थियो नातिनी जन्मिए
बासेन भाले लगन बित्यो दुलही अन्मिए ।

रोजेर भोज डकारी खाए सल्लाह गरेर
बजायो ताली पखेटा जोडी धुरीमा चरेर
उठायो कुरो मिलेन सल्ला चल्लाको बिचल्ली
बासेन भाले रिसायो किन ? समय छिचोली ।

कुराको गाँठो थिएन ठूलो थितिको बहाली
छोडेर गए सपुत भाले विधिको कहाली
तुजुकी भाले फेरिए धेरै ओजार्छु भनेर
नवासी बाहिर निस्केर आयो ठसठसी कनेर ।

समाते दाह«ी समय टार्दा खोरका चल्लाले
उठाए हात नदिई साथ हिर्काए डल्लाले
पुगेन चारो भोकले थला परेका बचेरा
बासेन भाले खाएर चारो आँखामा कचेरा ।

नसुती राती मिलेर खाए आएन निचोड
सपना देख्यो दिनमा सुती भएको बिछोड
खाएर मस्ती बढायो गस्ती डकार कारेर
बासेन भाले रछ्यान पस्यो खकार चाटेर ।

आसमा बसे खोरका चल्ला सपना साँचेर
नभेटी चारो उडायो छारो आँगन नाचेर
छोपेर मौका हानेको चौका कोसेली भेटायो
बासेन भाले अबेरसम्म इरादा मेटायो ।

जुटेका थिए गाउँका भाले मिलन थलीमा
मिलेन कुरो भेटायो चारो अडियो गलीमा
ककारी गरी खेलेका थिए चुलामा फुत्फुती
बासेन भाले भोकले चल्ला ढलेका भत्भती ।

फेरियो भाले बास्ने छ भनी समय गनेर
पर्खियो चल्लो भालेले केही गर्ने छ भनेर
खाएर मत्त भएको भाले बेसरी फुल्लियो
बासेन भाले समय फाली खोरमा हुल्लियो ।

भएन सुर्ता चल्लाको कुनै भोजमै छिल्लियो
भेटायो खोर चलेन जोर कुनामै किल्लियो
फेरियो भाका राखे‘छ साका इजार सुर्कियो
बासेन भाले समय गयो कट्टुमा तुर्कियो ।

चल्लाको बास भरिलो आस देखेन भालेले
उठायो माउ मारेर बाउ डुलुवा स्यालले
पुगेर पर भेटायो खोर दिएन निकास
बासेन भाले उज्यालो भयो भएन विकास ।

फेरूला साटो भनेर चल्ला बढाए पाँसुला
चिनेर भोलि इज्जत खोली खुशीले हाँसुला
पौरख गरी खोजेर चारो खाएर बाँचौँला
बासेन भाले अबेर भयो गाएर नाचौँला ।

२०७१ मंसिर २८ गते
(खलङ्गा, रूकुम)

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १२ – Feb. 11, 2015 – २०७१ माघ २८ गते बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.