~पुष्पलता आचार्य~
अहिले पनि फोन आयो । उठाएँ । उसैको रहेछ ।
यो फोन पनि मलाई घाँडो नै हुन थालिसकेको छ । हिजोआज कम्प्युटरमा बिहानदेखि व्यस्त रहन्छु । कति छन् आफ्ना । उ चै जहिलेपनि अन्टसन्ट कुरा गरेर मलाई जिस्क्याईरहन चाहन्छ ।
आज पनि उसले उही बेला पारेर फोन गर्यो । नबोलूँ भने पनि नहुने । सामाजिक लाजगालका लागि पनि बोल्नै पर्ने बाध्यता । चिन्नु न जान्नु घचेटी माग्नु भनेजस्तो ।
उसले आफ्नो नाम राज भनेर वताउँछ । खै ! मलाई त विश्वास लाग्दैन । के विश्वास गर्न सकिन्छ त त्यस्ताको ? कस्तो दिनमा बोलेछु झैं लागिरहेछ । अहिले हुँदो न खाँदाको फोन र वार्तालाप । कसैलाई के को धन्दा, घर ज्वाईंलाई खानकै धन्दा भने झैं देशमा यस्तो कोलाहाल, हाहाकार भईरहेको बेला उ मलाई त्यसै फोनमा जिस्काईरहन चाहन्छ । अनेक निहुँ बनाएर मसँग पो सल्कन खोज्छ । धूर्त मोरो । कहिं नभाको । अलिकति लाजसरम त हुनुपर्छ नी । अपरिचत व्यक्तिसँग कसरी बोल्ने ? कुनै न कुनै काम त हुनुपर्छ नी । काम न काजको मान्छे । अरुलाई समेत काम गर्न दिंदैन । आफुलाई भ्याई नभ्याई छ, उ भने दिनको ११ बज्यो की फोन गर्न थाल्छ ।
जापान ६ वर्ष बसेर फर्केको हुँ भन्छ उ । तर बानीव्यहोरा हेर्दा कसको घरमा भाँडा माझेर बसिरहेको जस्तो लाग्छ । धाक दिन्छ जापानको । जापानबाट फर्केको मान्छेले समयको महत्व त बुझ्नुपर्ने नी । अरुको सम्मान गर्नुपर्छ भन्ने कुरा त सिक्नुपर्ने नी ।
सुरुका दिनमा पत्याए पनि । घरमा कोको छन् भनेर सोधेकी थिएँ । दाजू भाउजू हुनुहुन्छ, दाई पनि अब जापान जाँदै हुनुहुन्छ भन्थ्यो । अहिले त विश्वास लाग्न छाडिसक्यो उसको कुरामा । त्यसको आफ्नो घर भएको भए त्यसले सँधै यहि समय दिनको ११—१२ बजे मात्रै किन फोन गथ्र्यो ? जतिवेला पनि त गर्न सक्यो नी । यो के बेला मात्र उ फोनमा बस्न पाउँछ ?
म अग्लो छु, गोरो छु, राम्रो छु रे ! अझ लाजै पचाएर “तिमी कत्री छ्यौ” ? पनि भन्छ । उसलाई मुखभरीको जवाफ दिन मन लागेको थियो । रछ्यान चलाई मुख छिटा, त्यस्तालाई बिच्क्याउनु भनेर चूप लागें ।
युवा जोस, जाँगरहरु सडकभरी छरिएका छन् अहिले । जहाँ तहिँ कोलाहलको हावा फैलिएको छ । शहरका गल्लीसमेत कालाम्य छन् । नारा जुलुसले बाटो घाटो थुनिएको छ । मानिसहरु घरमा थुनिएका छन् । दैनिक कामकाज ठप्प भएको छ । तरकारी पनि किन्न जाने स्थिति छैन । नून, तेल सकिएको पनि कतिदिन भईसक्यो । सडकमा हतियारधारी गाडीमात्र गुडेका छन् । अहिले मरिन्छ की भरे मरिन्छ, खान नपाएर मरिन्छ की गोली खाएर मरिन्छ की जस्तो छ । यस्तो संकटकालीन अवस्थामा बाहिर के निस्कनु भनेर कमप्युटरमा लेखनको काम गरेर बसिरहेकी छु । वर्षौंदेखि थाती रहेका काम यहि मौकामा सिध्याउने हतारो छ । मनमा बेग्लै खालको मुस्लो निस्किरहेको छ । यस्तो बेलामा उ दिनैपिच्छे व्लफ कल गरेर सताउनु सताउँछ ।
सुरुसुरुमा त लागेको थियो, ठीकै छ नी, के के बर्बराउँछ बर्बराओस् । कमसेकम एउटा कथाको पात्र बन्ला । त्यहि कारण पनि फोन उठाएर उसका कुरा सुनें र सुनिरहें । कथाको प्लट बनाउँदै गमिरहें । तर उसलाई त बाँदरको लिस्नोजस्तो पो भएछ । अब त मलाई पुगिसक्यो । घाँटीघाँटीसम्म आई पुग्नेगरी अघाईसकें । धेरै बोल्यो उसले । धेरै सुनें मैले । त्यसको के अर्थ ? एउटा अपरिचित व्यक्तिले व्लफ गर्छ भने त्यसको प्रयोजन के ? के औचित्य ?
म आफ्नो कार्यमा व्यस्त मान्छे । तैपनि फोनमा रिसाईहाल्न पनि मन लागेन । एउटा मोह, कथाको पात्रको । जन्मियो, हुर्कियो र सकियो पनि त्यतिखेरै ।
उ फोन गरिरहनेछ त्यतिबेलासम्म, जतिबेलासम्म मेरो कथा पूरा हुँदैन । देशको अवस्थालाई मध्यनजर राखेर केहि लेख्ने क्रममा उ आएर बसिदियो यो कलमको टुप्पोमा । मेरो लेखन मोडियो देशबाट व्यक्तिमा । यस्तो संक्रमणकालीन अवस्थामा देशको कथा लेख्न सकेको भए युगयुगान्तरलाई काम लाग्ने थियो । त्यो बेला यस्तो भएको रहेछ भनेर पुस्ता पुस्ताका मानिसले सम्झने थिए ।
तर सकिनँ । मैले व्लफ कल वालालाई छाडेर मूल विषयमा प्रवेश गर्नै सकिँन । यद्यपि यो कथाले व्लफ कलवादीहरुलाई समेट्ेछ भन्ने सोचेकी छु ।
(स्रोत : नवीन सन्देश)