कविता : सहर, क्रिस्प्यान्डो र भित्ते नाराहरू

~गिरी श्रीस मगर~

छुरीमा धार लाइरहेछ बगरे
एक लाइनमा छन् भेडाच्याङ्ग्रा
र अर्कोतिर लाइनमै छ सहर पनि !

सडकको व्यस्त भीडमा
रिक्सा तानिरहेछ एक बालक,
द्रुत गतिमा कुदिरहेछ हत्यारा टिप्पर,
दौडिइरहेछ नाङ्गो पागल,
सडक छेउमा मकै पोलिरहेकीछिन् एक बृद्धा
बसभित्र उभिएका छन् बृद्धहरू
कुटाई खाइरहेछ पाकेटमार
फुल्की बेचिरहेछ भैया,
ट्वाइलेट गन्हाउने गल्लीमा
पालो कुरिरहेछन् विमारीहरू,
चियाको कपमा
आँधी उठाइरहेछन् बुद्धिजीबिहरू
रेमिट्यान्स थापेर
प्रेमी कुरिरहेकी छे युवती,
अपराधीलाई ब्ल्याकमेल गरिरहेछ पुलिस,
तस्करसँग बार्गेनिङ गरिरहेछ पत्रकार
सुटुक्क छिरिरहेकी छे किशोरी एबोर्सन सेन्टर
धाइरहेछ विद्यार्थी इपीएस सेन्टर
दौडिइरहेछ शिक्षक पार्टी कार्यालय !
…. ….. …. …. !!!

सहरमा सामान्य लाग्ने
यी दृश्यहरू हेरिरहेछ क्रिस्प्यान्डो
ऊ भन्छ – सहर खतरनाक हुँदैछ ।

एडीबी र विश्व बैंकले थमाएको ब्रश
चोबेर प्राचीन सभ्यताको रगतमा
सहर बनाइरहेछ आफ्नो नयाँ चित्र
र निकालिरहेछ मुखबाट
नवउदारवादी रेविजको रयाल !
बेचिरहेछ-
स्वयम्भूका आँखा र आँखीझ्यालहरू !
बुद्धको मूर्ति र दुःखमुक्तिको मार्ग !
अँलैची र यार्सागुम्बा !
कागज कारखाना र पुस्तकालय !
धर्म र मन्दिर !
सहर आफूभित्र कतै
दर्जनौं हातहरूमा सल्किरहेको चुरोट लिएर
बन्दी फूलको छाती पोल्दैछ !
कोपिलामाथि एसिड फ्याँक्दैछ !
ह्वीस्की र वियरले
गुलाबको योनी र अमुहार छ्याप्दैछ !
… …… …. …. !!!!!

झट्ट हेर्दा नदेखिने
यी भूमिगत दृश्यहरू पनि देखिरहेछ क्रिस्प्यान्डो
ऊ भन्छ- सहर झनझन खतरनाक हुँदैछ ।

खण्डहरमा डम्पिङ साइटजस्तो प्रवेशद्वार,
अस्पताल अगाडि अक्रान्त असहायहरू,
व्यापारको बर्को ओढेर
लुटतन्त्र चलाइरहेको झिलीमिली !
नाङ्गा तस्वीर र रक्सीको होर्डिङबोर्ड,
नाइट क्लब र डीजेहरू
कण्डम र पील्सको विज्ञापन
पिज्जा र आइसक्रिमको शोकेस,
सपिङ मल र बक्स अफिस
मसाज सेन्टर र ब्युटी पार्लर,
सहरको परिमितिमा
शासक घोडाका सालिकहरू !
… … … … !!!!!!
सहरको शब्दकोशमा परिभाषित
नवीनतम् सहर-सौन्दर्य यही हो !
जसलाई देख्न अभिशप्त छ क्रिस्प्यान्डो !
ऊ भन्छ- सहर धेरै, धेरै नै खतरनाक हुँदैछ ।

क्रिस्प्यान्डोले हेर्दाहेर्दै
भर्खरै आएको छ नयाँ शासक सहरमा !
नयाँ शासक सचेत छ-
कि कुरुप नभैजाओस् सहरको सौन्दर्य !

नयाँ शासकलाई थाहा छ-
पुर्खाहरूको पालादेखि नै
सहरका भित्ता भित्तामा लेखिएका नाराहरू
खतरनाक हुन सक्छन् सहर सौन्दर्यका लागि
तिनले बाध्य पारिरहन सक्छन्-
सोंचको बीउ छर्न
आशा र विश्वास गर्न !
तिनले देखाइरहन सक्छन्
सपना र मुक्तिको गोरेटो !

सहर-सौन्दर्य बचाउने दावीका साथ
नयाँ शासकले जब
पोत्न थाल्नेछ सत्ताको अश्लिल रंग
भित्ताका नाराहरूमाथि,
भन क्रिस्प्यान्डो !
कति गुणा खतरनाक देखिनेछ सहर ?

क्रिस्प्यान्डो ! सहर तिम्रो पनि हो !
जबसम्म मुक्त हुने छैन सहर
यो कुरुप सौन्दर्यबाट
र जबसम्म लागिरहनेछ तिमीलाई
कि सहर खतरनाक हुँदैछ
केही गरी मेटिने छैनन्
भित्ताका पुर्ख्यौली नाराहरू !

एक दस सय हजार लाख करोड क्रिस्प्यान्डोहरू
लेखिरहेका हुनेछन् भित्तामा नाराहरू !!

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.