~रमेश खकुरेल~
छौ हाम्रा दाजुजस्ता धनजनबलमा छौ निकै नै बढेका
धेरै शस्त्रास्त्र जोडी अधिक मद चढी आज छौ रे सडेका
नालापानी चपायौ अझ पनि जसको घाउ दुख्तैछ हाम्रो
कालापानी पस्यौ जो कलुषित मन ली यो भयो झन् नराम्रो ।।
भन्थ्यौ त्यै देशबाटै भुवनभर सबै ज्ञान सिक्लान् भनेर
झन् आफै दुष्ट बन्छौ किन अब अघिको ज्ञान सारा भुलेर
जो छन् तिम्रा छिमेकी सबसित निहुँ नै मात्र खोजेर बस्छौ
भित्री कालो लुकाई कुटिल मुख गरी खिस्स पारेर हाँस्छौ ।।
मेची खायौ पचायौ छल र बल गरी फेर्दछौ नित्य सीमा
डाँकाझैं ताल ठोकी पशुपतिनगरी भाग गाभ्यौ तिमीमा
सुस्ता पस्ता बिरालो सरह घुसघुसे चाल मारेर आयौ
कोशी औ गण्डकीको जल पनि छलको सन्धि पारेर खायौ ।।
खाने इच्छा छ तिम्रो कुटुकुटु यसरी लाख टुक्रा गरेर
सिङ्गै नै थाल खान्छौ जनगणमनमा गाभ्न पो के छ वेर
ठान्छौ हामी लुते छौं लुरुलुरु जय हे मात्र बोली बसौंला
होस् तिम्रै राज्य हामी खुसुखुसु पहरा कन्दरामा पसौंला ।।
यस्तो ठान्ने नगर्नू पशुपति शिवले हेर्न यो सक्नुहुन्न
नेपालीको भलै यो गरदन छिनियोस् माथ कैल्यै नुहुन्न
हाम्रा सञ्जीवनी छन् जुन हिमगिरिमा छन् त्यहीं कालकूट
खोलामा बग्न थाल्लान् जब सकल तिमी बन्दछौ भस्मभूत ।।
सोझाको हुन्छ लाटो रिस बुझ यसले धेर उत्पात गर्ला
गल्ती झट्टै सुधार्ने जतन नगरिए माथमा लात पर्ला
झट्टै फर्केर जाऊ निज घर हँसिलो पार्नमै दृष्टि लाऊ
भोका जो छन् तिनैको उदर भर उतै घाउमा लेप लाऊ ।।
काठमाडौं