लघुकथा : न्यायमूर्ति

~हेमबहादुर गन्धर्व~

“न्यायमूर्ति ढल्यो–न्यायमूर्ति ढल्यो” भन्दै शहरको बीचमा कोलाहल र कौतुहल मच्चिरहेको थियो । न्यायमूर्ति ढलेको हल्ला एकै छिनमा चैतको डढेलो जस्तै शहरका गल्ली गल्ली, चोकचोक हुँदै देशभरी फैलियो । न्यायमूर्ति ढलेको हल्ला सुनेर आश्चर्य चकित मान्दै गाउँदेखि शहरसम्मका हुलका हुल मान्छेहरू न्यायमूर्ति ढलेको हेर्न शहरको बीचमा जम्मा भए । त्यहाँ ठूलो भीड लाग्यो । धेरै मान्छेहरू न्यायमूर्ति ढल्यो भन्ने विश्वासै लागेको थिएन । “इतिहासमै आजसम्म नढलेको न्यायमूर्ति कसरी ढल्न पुग्यो ।”–यही चासो र चिन्तामा मान्छेहरू डुबिरहेका थिए । तर साँच्चै नै शहरको बीचमा स्थापित न्यायमूर्ति जंगे पिल्लार ढले जस्तै गल्र्याम्म ढलेको थियो ।

दया र सहानुभूति राख्ने गाउँलेहरूमध्ये कसैले न्यायमूर्ति भोकले ढलेको होला भन्थ्यो । कसैले रोगले ढलेको होला भन्थ्यो । कसै कसैले शोकले ढलेको होला भन्थ्यो । शहरका केही मान्छेहरू भन्दै थिए–“मूर्ति कसरी भोक, रोग र शोकले ढल्न सक्छ ? बरू सुनामी आएर ढल्न सक्छ । बरू भुकम्प आएर ढल्न सक्छ । कि आँधीहुरीमा ढल्न सक्छ ।”–यसरी त्यो भीडमा एक अर्काबीच तर्क वितर्क चलिरहेको थियो ।

तर त्यही भीडमा न्यायमूर्तिका केही हिमायतीहरू पनि जम्मा भईसकेका थिए । तिनै षडयन्त्रकारी हिमायतीहरूले नै रातरात न्यायमूर्ति ढलाएका थिए । आफ्नो लोभी, पापी र स्वार्थी मनोकांक्षा न्यायमूर्ति पुजा गरेर ढाक्न र जोगाउन चाहन्थे । तर केही समय यता ती लोभी, पापी र स्वार्थीहरूको स्वार्थ विपरीत न्यायमूर्तिले फैसला गरेको कारण न्यायमूर्तिलाई अस्तित्वहीन बनाउन रहस्यमय ढंगले त्यो न्यायमूर्ति ढलाएका थिए । तर त्यो रहस्य त्यो भीडमा कमै मान्छेहरूलाई मात्र थाहा थियो । “यो न्यायमूर्ति ढलेकै छैन । केवल मस्त सुतिरहेको छ । केवल एउटा अवतारबाट अर्को अवतार मात्र बदलिएको छ ।”– यसो भन्दै थिए ती न्यायमूर्ति ढल्नेहरूले दुनियाँका आँखा अगाडि न्यायमूर्ति ढलेको देख्दा देख्दै पनि ती न्यायमूर्ति ढलाउने न्यायघातीहरूले न्यायमूर्ति ढल्दै नढलेको जिकिर गर्दै थिए ।

आखिर त्यो विशाल भीड दुई भागमा बाँडियो । एक पक्षका मान्छेहरूले भन्दै थिए–“न्यायमूर्ति ढलेको छ । ” र अर्को पक्षका मान्छेहरूले भन्दै थिए–“न्यायमूर्तिको अवतार मात्र बदलिएको हो तर ढलेको छैन ।” यसरी एक अर्का भीड बीच विवाद चल्दै जाँदा न्यायमूर्ति ढलेकै हो भन्ने पक्षमा मान्छेहरूको भीड बढ्दै गयो । “न्यायभूर्ति किन र कसरी ढल्यो । निस्पक्ष छानवीन हुनै पर्छ ।” भन्दै न्यायमूर्ति ढलेको विरोधमा उत्रिएको भीड केही आक्रोशित बन्दै गयो । “छानविन गराएर छाड्छौं –आक्रोशित भीडले क्रमशः आन्दोलनको रूप लिन थाल्यो । शहरको गल्ली, चोक र सडकमा आक्रोशित भीडले भरिंदै गयो । शहर पूरै अवरूद्ध बन्दै गयो । भोलिपल्ट स्वतन्त्र छानविन आयोग गठन भएरै छाड्यो । आयोगले न्यायमूर्ति ढलेको छ या छैन ? आफ्नो छानविन कार्यलाई अगाडि बढायो ।

केही समयको लामो छानविन पश्चात् स्वतन्त्र छानविन आयोगले आफ्नो रिपोर्ट प्रतिवेदन सार्वजनिक गर्दै भन्यो–“न्यायमूर्ति निर्जिव नभएर सजिव छ । न्यायमूर्ति बोल्न, खान, हिंड्न सक्छ । विगतमा न्यायमूर्तिले राष्ट्रहीत पक्षमा ठूलाठूलो फैसला पनि गरेको रहेछ । तर अहिले प्रकृति प्रकोप कारण नभएर पद र प्रतिष्ठाप्रति लोभ, लोभिने र लोभ्याउने कारण न्यायमूर्ति ढलेको रहेछ ।”–त्यो छानविन आयोगको प्रतिवेदन सार्वजनिक भएकै दिन न्यायमूर्ति ढलेको विरोधमा आक्रोशित भीडले देशव्यापी जुलुस निकाल्यो । राजधानीका चोक चोकबाट निस्केको जुलुस विशाल बन्दै गयो । जुलुस गगनभेदी नाराहरू लगाउँदै अघि बढ्यो–“ढल्ने न्यायमूर्ति काम छैन –देवालय बस्ने ठाउँ छैन ।”

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २३ – April 24, 2013 – २०७० बैशाख ११ गते, बुधबार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.