~कृष्णभूषण बल~
टुङ्गा को लक्ष्य साधेर हिँडेको हुँ फेदीदेखि टाकुरासम्म
निश्चिन्त कैयन् उकालीहरू नाघ्दै लम्केको हुँ आफ्नो ठेगानसम्म
पारिजसो लक्ष्य बाँकी नै रह्यो
पारिजसो पुग्नै नपाई यता घाम ओर्लिसक्यो ।
जसरी उकालो लागेको थिएँ म, आफूले खाम्न सक्ने एउटा भारी उचालेर
जसरी आज बिहानै हिँडेको थिएँ म, भारीमा एउटा बिहान उघारेर
क्रमशः रातको कालो मजोत्रोले ढाकिसक्यो अहिले त मेरो यात्रालाई
निश्चित आज भारी नबिसाए अर्को उपाय नै भएन
निश्चित आज भारी नबिसाए अर्को विकल्प नै भएन ।
डाँडालाई तल झार्नु पनि डाँडामाथि उक्लनै पर्दो रहेछ
रातलाई चिप्लाएर अर्को बिहान पर्खन पनि यसरी बास बस्नै पर्दो रहेछ
यसरी आफन्तहरू छामेर आज यतै कतै कुखुराको बास बसेको छु
यसरी बिहान पर्खेर आज भारीलाई सिरानीमा राखेर पर्खेको छु ।
रातकै कुरा त हो, कुदिरहेछ रात फक्रिरहेका फूलहरूमा तुसारो झारेर
बैँसकै कुरा त हो, दौडिरहेछ रात प्रत्येक आँगनहरूमा स्यालहरू कुर्लाएर
तर दुईचार ताराहरू भुइँमा रोपिएर अब रात आफैँमा झरिरहेछ
प्रत्येक शून्यताबाट नयाँनयाँ प्रहरहरू जन्माउँदै अब रात स्वयंलाई घचेटिरहेछ
म फट्फटाएर भोलि बास्ने बिहानसँग निश्चिन्त छु
भोलि बिहानै टुङ्गोमा पुग्न सक्ने विश्वासमा आज बासमा छु
क्रमशः डाँडाहरूका टुप्पाहरू हुँदै हिमालमा फक्रने घामसँगै भारी बोकेर भोलि पुगौँला
यद्यपि हिजै पुग्नु थियो आजै पुग्नु थियो सकिएन भोलि पुगौँला ।
केही औषधीहरू छन् भारीमा, बिरामीहरूलाई बाँडौँला
केही कितापहरू छन् भारीमा, विद्यार्थीहरूलाई बाँडौँला
केही फालीहरू छन् भारीमा, किसानहरूलाई बाँडौँला
फेरि यसरी पर्ने रातहरूको विरुद्ध लालटिन बोकेको छु भारीमा, सबैलाई उज्यालो
(स्रोत : साहित्यसरिता – अङ्क २ वर्ष-२ साउन-भदौ-असोज-२०६२)