~उमाशङ्कर द्विवेदी~
उद्यालक मुनिका कहोड नामले प्रसिद्ध एउटा शिष्य थिए । उनले आफ्नो गुरुदेवको बडो सेवा गरे । सेवाबाट अत्यन्त प्रसन्न भई गुरुले उनलाई जम्मै वेदको अध्ययन गराइदिएर आफ्नी सुजाता नामकी कन्यासित विवाह पनि गरिदिए । केही समय बितेपछि सुजाता गर्भवती भइन् । त्यो गर्भ अग्निको समान तेजस्वी थियो । एक दिन कहोड वेदपाठ गरिरहेका थिए । यत्तिकैमा गर्भस्थ शिशुले गर्भबाटै भने– “बुवा, तपाईं रातभरि वेदपाठ गर्नुहुन्छ तर सो पाठ ठीकसँग हुने गर्दैन ।” शिष्यहरूका बीचमा आफ्नै गर्भस्थ शिशुको आक्षेप सुनेर पिता क्रोधित भएर गर्भस्थ शिशुलाई शाप दिंदै भने– “तँ आमाको गर्भमा भएर पनि यस प्रकारले बा·ो–बा·ो कुरा झिकिरहेछस्, त्यसैले त आठ ठाउँबाट बा·ो भएर जन्मेस् ।” अष्टावक्र पेटमा बढ्न थालेपछि सुजातालाई अत्यन्त पीडा हुन थाल्यो । उनले एकान्तमा पतिसित धनको जोहो गरेर ल्याउनका लागि प्रार्थना गरिन् । कहोड धनका लागि राजा जनकको दरबारमा गए । तर त्यहाँ शास्त्रार्थमा पार·त बन्दी नामक विद्वानले उनलाई पराजित गरी शास्त्रार्थको नियमानुसार उनलाई पानीमा डुबाइदिए । उद्यालक मुनिले यो समाचार थाहा पाएर छोरी सुजातालाई जम्मै व्यहोरा सुनाइदिएर भने– “छोरी, अष्टावक्र जन्मेपछि उनलाई यस विषयमा केही पनि नभन्नू ।” यसै कारणले अष्टावक्र जन्मेपछि यसबारेमा केही पनि थाहा पाएनन् । उनी उद्यालक मुनिलाई नै आफ्नो पिता तथा उनका छोरा श्वेतकेतुलाई आफ्नो भाइ बुझ्दथे ।
एक दिन बार्ह वर्षको आयुका अष्टावक्र उद्यालक मुनिको काँखमा बसिरहेका थिए । त्यसै बेला श्वेतकेतु त्यहाँ आएर अष्टावक्रलाई आफ्नो पिताको काँखबाट तान्दै भने– “यो तिम्रो बुवाको काँख होइन ।” श्वेतकेतुको यस प्रकारको कटुक्तिले अष्टावक्रको चित्त सार्है दुख्यो तथा उनले घर गएर आमालाई सोधे– “मेरो बुवा कहाँ गए ?” यस प्रश्नले सुजाता आत्तिइन् तथा शापको भयले जम्मै कुरा भनिदिइन् । यस प्रकारको रहस्य सुनेर अष्टावक्रले रात्रिको समयमा श्वेतकेतुलाई भेटी सल्लाह गरे– “हामी दुवैजना राजा जनकको यज्ञमा जाऔं । त्यो यज्ञ बडो विचित्रको हुन्छ भन्ने सुनिन्छ । त्यस यज्ञमा ठूल्ठूला ब्राह्मणहरूले शास्त्रार्थ गरेको सुन्न पाइनेछ ।” यस प्रकारको आपसी सल्लाह गरेर अर्को दिन बिहानै मामा–भाञ्जा दुवैजना राजा जनकको समृद्धिसम्पन्न यज्ञमा सामेल हुन भनी हिंडे ।
यज्ञशालाको ढोकामा पुगेर जब उनीहरू भित्र पस्न लागे अनि उनीहरूसित द्वारपालले भन्यो– “तपाईंहरूलाई नमस्कार छ । हामीहरू राजाका आज्ञापालक हौं, राजाको आदेशानुसार हाम्रो निवेदनमाथि विचार गर्नुहोस् । यस यज्ञशालामा बालकहरूलाई प्रवेशाज्ञा छैन, यसमा वृद्ध र विद्वान ब्राह्मणहरू मात्र प्रवेश गर्न पाउँछन् ।” द्वारपालको कुरा सुनेर अष्टावक्रले भने– “द्वारपाल, मानिस धेरै आयुको भएको हुनाले, कपाल फुलेको हुनाले अथवा धेरै आत्मीयहरू हुनाले मात्र ठूलो मानिंदैन । त्यो ब्राह्मण ठूलो हुन्छ, जो वेदहरूको वक्ता हुने योग्यता राख्दछ । तिमीहरू हाम्रोतर्फबाट राजालाई यो कुरा सुनाऊ कि हामीहरू राज्य दरबारको यज्ञमा उपस्थित भएका ब्राह्मणहरूसित शास्त्रार्थ गर्न चाहन्छौं ।”
द्वारपालले भन्यो– “हुन्छ त, म कुनै युक्तिले तपाईंहरूलाई भित्र लग्ने प्रयत्न गर्नेछु तर भित्र गएपछि तपाईंहरूले विद्वानहरू योग्य काम गर्नुपर्ने छ ।” यति भनेर द्वारपालले उनीहरूलाई भित्र राजाको छेउमा लान लागेको थियो । बाटोमा पङ्क्तिबद्ध बसेका विद्वान भनाउँदा ब्राह्मणहरूले अष्टावक्रको बा·ोटि·ो रूप र आकार देखेर पेट मिचिमिची हाँस्न थाले । अष्टावक्र मामा श्वेतकेतुका साथ ठि· उभिएर राजालाई भन्न थाले– “राजन्, यस दरबारमा विद्वानहरूको भेला छ र यहाँ हुने दिव्य शास्त्रार्थको चर्चा सुनेर हामीहरू पनि आफ्ना केही जिज्ञासाहरूको समाधानका लागि आयौं तर यहाँ त सार्कीहरूको जमघट पो लागि रहेको रहेछ । हाम्रो समय खेर गयो, हामीहरू अब फर्किंदै छौं । आठ अ·बाट वक्र रहेको अष्टावक्रको कुरा सुनेर विद्वान ब्राह्मणहरू तथा राजा पनि जिल्लिए । राजाले भने– “अष्टावक्र बालक, यहाँ प्रकाण्ड विद्वान् र तेजस्वी ब्राह्मणहरू पो बसिरहेका छन्, तपाईंले सार्की कहाँ देख्नुभयो र यस्तो नचाहिंदो कुरा भन्दै हुनुहुन्छ ?” अष्टावक्रले भने– “राजन्, तपाईंले भनेका ब्राह्मणहरूले मेरो छाला तथा आकार देखेर हास्नु भनेको यिनीहरू छालाको पारखीबाहेक अरू के हुन सक्छन् । छालाको पारखी भनेको सार्की नै होइन र ? राजन्, तपाईं जनक वंशमा प्रधानस्थान राख्नुहुन्छ र चक्रवर्ती सम्राट हुनुहुन्छ । हामीले सुने अनुसारले त यस दरबारमा बन्दी नाम गरेका कोही विद्वान बस्छन् । त्यसले ब्राह्मणहरूलाई शास्त्रार्थमा पराजित गरेर उनीहरूलाई जलमा डुबाएर मारिदिन्छ रे, यो कुरा ब्राह्मणहरूको मुखबाट सुनेर म अद्वैत ब्रह्मको विषयमा ऊसित शास्त्रार्थ गर्न चाहन्छु । म त्यसैका लागि यस दरबारमा आएको हँु ।”
अष्टावक्रको कुरा सुनेर राजाले अष्टावक्रलाई बन्दीलाई देखाउँदै उनको परिचय दिए । अष्टावक्र बन्दीतर्फ फर्कि भन्न थाले– “आफूलाई शास्त्रार्थ विजयी र अतिवादी मान्ने बन्दी, तिमीले शास्त्रार्थमा पराजित हुने विद्वान ब्राह्मणलाई जलमा डुबाउने नियम बनाएका रहेछौ, तर मेरोसामुने तिमी बोल्न सक्नेछैनौ । अब तिमीले मेरा प्रश्नहरूको उत्तर देऊ तथा म तिम्रा प्रश्नहरूको उत्तर दिनेछु ।” यस प्रकार दुवैबीच घोर शास्त्रार्थ शुरू भयो, जसमा अन्तत: बन्दीले पराजय भोग्नुपर्यो । अष्टावक्रले राजा जनकसित भने– “राजन्, यो बन्दी भन्ने अभिमानी ब्राह्मणले शास्त्रार्थमा पराजित गरेर धेरै ब्राह्मणहरूलाई जलमा डुबाइसकेको छ । अहिले ऊ पनि शास्त्रार्थमा पराजित भइसकेको हुनाले उसको पनि सोही गति हुनुपर्दछ ।” अष्टावक्रको कुरा सुनेर बन्दीले भने– “राजन्, म वरुणदेवको छोरा हुँ । यहाँ जस्तै वरुणलोकमा पनि बार्ह वर्षे यज्ञ भइरहेको छ । त्यसैका लागि मैले जलमा डुबाउने बहानामा श्रेष्ठ ब्राह्मणहरूलाई रोजेर त्यहाँ पठाउने गरेको थिएँ । अब वरुणलोकको यज्ञ समाप्त हुने भएकोले मैले जलमार्गबाट पठाएका ब्राह्मणहरू छिट्टै नै फर्किआउने छन् ।” जनकले भने– “देव, म तपाईंका दिव्यवाणी सुनिरहेको छु । तपाईंले बन्दीलाई शास्त्रार्थमा परास्त गरिदिनुभएको छ । म तपाईंको इच्छानुसार अहिले नै दण्डको व्यवस्था गर्नेछु ।”
सभामा यस प्रकारले वादविवाद हुँदै थियो, यत्तिकैमा जलमा डुबाइएका जम्मै ब्राह्मणहरू वरुणदेवबाट सम्मानित भई जलबाट बाहिर निस्किएर जनकको सभामा आइपुगे । तीमध्येबाट कहोड मुनिले भने– “मानिसले यस्तै कामको लागि नै पुत्रको कामना गर्दछ । जुन काम मैले गर्न सकिनँ, त्यही काम मेरो पुत्रले गरेर देखायो । राजन् कहिलेकाहीं दुर्बल मानिसको पनि बलवान् तथा मूर्ख मानिसको पनि विद्वान् पुत्र उत्पन्न भइहाल्छ ।” यसपश्चात् बन्दीले राजासित आज्ञा लिएर पानीमा हामफालेर डुबे । अष्टावक्रले आफ्ना पिता कहोड मुनिको पूजा गरे तथा बुवा र मामा श्वेतकेतुसित आश्रम जान भनी हिंडे । बाटोमा पर्ने सम·ा नदीको किनारमा पुगेपछि कहोड मुनिले अष्टावक्रलाई सम·ा नदीको जलभित्र डुबुल्की मार्न अर्हाए । अष्टावक्रले बुवाको आज्ञापालन गर्दै सो नदीको जलमा डुबुल्की लगाए । नदीबाट बाहिर निस्कँदा उनका वक्र अ·हरू सोझो भइसकेका थिए ।
(स्रोत : महाभारतबाट सङकलन तथा अनुवाद गरिएको )