कथा : अन्तर संघर्ष

~अल्पविराम~AlpaBiram

प्रात तथा सन्ध्या भ्रमण प्रेमीहरुको लागि मात्र नभएर प्रेमी युगल जोडीको पनि तीर्थस्थल लभ्ली पार्क आज झरी पछिको मनमोहक गोधुली साँझ बनेको छ / लभ्ली पार्क ,पोखरा नजिकैको थुम्को डांड़ो चढेर पैदल भ्रमणको साथै व्यायामको मजा आफ्नो ठाँउमा छुट्टै छ , थुम्कोबाट देखिने पोखराको रमणीय दृश्य अवलोकनको मजा छुट्टै /भ्रमण प्रेमीहरु कोहि थुम्को र फेदीको म्याराथन दौड गरि रहेकाछन त कोहि मन माफीकको व्यायाममा / युगल जोडीहरु भने एकान्तमा गफिरहेका छन् / ती युगल जोडीहरुमा विप्लव बिक र क्रान्ती परियारको जोडी पनि छ /तिनीहरु चिलाउने रुखको फेदीमा वार्तालापमा मग्न छन् /

तिम्रो कोईली स्वरले मलाई दास तुल्यायो क्रान्ती ! आहा SSS क्या गजबको स्वर पाईछ्यौ तिमीले /तिम्रो रुप र स्वरको सङ्गम मिलाउने क्रममा प्रकृतिले ठुलो मेहनत गरेको छ /

प्रकृतिले होइन भगवानले

जुन भगवानले मलाई दलित पीडित बनायो , म त्यसको नाम पनि उच्चारण गर्न चाहन्न /

तपाईलाई मात्र होइन हामीलाई पनि दलित पीडित बनाएको भगवानले होइन / भगवानको शृष्टि गर्ने स्वार्थी मान्छेले नै हामीलाई दलित पीडित बनायो , होइन र विप्लव ?

फेरि तिमीले मलाई तपाइँ भन्यौ ? मलाई तिमीले तपाई भनेको सुन्दा कता कता कुवाबाट डर लाग्दो आवाज घन्के जस्तो लाग्छ / मलाई बाघ भालु देखी डर लाग्दैन तर तिमीले मलाई तपाई भन्दा डर लाग्छ / तिमी पराइ त होईनौ नि ! तिमी त मेरो आत्मा /

ल ल फुर्क्याउनु पर्दैन / अबदेखि म तिमी नै भनुँला लौ भएन / अनि गायक ज्यु मलाई त कोइलीको उपमा दियौ तिमीलाई केको उपमा दिउँ / साँच्ची कति मीठो स्वर हो / कहाँ सिक्यौ ?

क्रान्ति ! गीत गाउने कला अरुले सिकाएर सिकिन्न / कलालाई निखार्ने अरुबाट हो अर्थात् गुरुबाट सिक्ने हो / मैले औपचारिक रुपमा गुरु थापेर सङ्गीत कला सिक्न पाएको छैन / मैले आठ कक्षामा प्रवेश गरे पछी गीत गाउन स्वअभ्यास गरें र स्कूलमा हुने कार्यक्रमहरुमा गीत गाउने मौका पाएँ , सबैले मन पराए त्यसैले मेरो हौशला बढ्यो / क्याम्पसमा पनि बिबिध कार्यक्रम हुँदा गीत गाउने अफर पाएको हुनाले तिमीसंग मायाको नाता गाँस्ने एउटा अपुर्ब अबसर मिल्यो / क्याम्पसका ति आयोजकहरुलाई धन्यवाद दिनु पर्छ , होइन त क्रान्ति ! उनीहरुको पनि जोडी सलामत रहोस / अनि तिम्रो सांगीतिक क्यारिएर कहिले देखि सुरु भएको हो नि /

तिम्रो र मेरो कथामा खासै भिन्नता छैन , विप्लव ! तिमीले जस्तै म पनि ति आयोजकहरुलाई आशिस दिन्छु जसले हामीलाई एकापसमा नजिक तुल्यायो / अब त घर जाँऊ ,विप्लव ! साँझ छिप्पिएर रात परि सक्यो /

हुन्छ जाँऊ , क्रान्ति ! यो ठाँउ जति सुन्दर छ उति नै डरलाग्दो पनि छ / भोलि यहि ठाँउमा भेटौं न है /

यसरि विप्लव र क्रान्तिको भेटघाट बाक्लिन थाल्यो /प्रेम पुष्प बाटिकामा फूलहरु झ्यांगिदै गए / जीवन संगै जिउने संगै मर्ने वाचा कसम उनीहरुले पनि खाए / उनीहरुको प्रेम प्रसंग चर्चाको बिषय बन्यो / एक कान दुई कान मैदान भने झैं यो चर्चा उनीहरुको घर सम्म पनि पुग्यो / परिवारमा बाबु-आमा , दाई-भाउजू , नाता-गोत्र र ईस्ट- मित्रहरुलाई कामी र दमै वीचको प्रेम सम्बन्ध अपाच्य बन्यो /

एक दिन विप्लवलाई भेटेर साँझ ढले पछी घर पसेकी थिईन ,क्रान्ति / वावु घर थिएनन , लोडशेदिन्गको कारणले काम नहुँदा साथीको घरमा गएका थिए /एसएलसीमा पांच बिषय लागेको भाइ पढाई छोडेर कटिंग सिक्न गएको घर आइ पुगी सकेको थिएन / आमाले झम्टी हालिन ” थुईया नकटी ! अरु कोहि भेटिनस तैंले र त्यो कामीलाई नाठो बनाइस , ए डंकिनी तैंले आजसम्म हामीले कमाएको ईज्जत धूलोमा मिलाउन थालि छेस, हाम्रो नाक काट्न थालिछेस” भन्दै आमाले क्रान्तिलाई कुएंलिन , पिटिन तर क्रान्तिले सियो र धागोसंग पौंठे जोरी खेल्नदेखि बाहेक अरु केहि नजानेकी आमासँग कुनै प्रतिवाद गरिनन् / एक शब्द पनि नबोली आफ्नो कोठामा गईन र डंग्रंग पल्टिन / उनलाई थाहा थियो एक दिन यस्तो अवस्था आउँछ भनेर तर चांडै आयो / अब संघर्षका दिन शुरु भएछ भन्ने सोंचेर उनले त्यो घटनालाई नजर अन्दाज गरिदिईन् / बिबिए प्रथम बर्षको अन्तिम पेपरको परीक्षाका लागि तयारीमा जुटिन /

पढ्दा पढ्दै कति खेर निदाईछन् पत्तै पाइनन् / कल्यांग बल्यांगले उनको निद्रा खुल्यो घडी हेरिन रातको दश बजेको थियो / केको कल्यांग बल्यांग हो यो भनेर कान थापेर सुनिन / उनको वावु -आमाको वीचमा छलफल चलिरहेको रहेछ /

बाबुले भनिरहेका थिए –” हाम्रो सन्तानमा यहि एउटी छोरीले बि ए पढ्दै छे /दलित समाजमा यति धेरै पढ्नेहरुको संख्या औंलामा गन्न सकिन्छ यहि औंलामा गनिनेहरुमा हाम्री क्रान्ति पनि पर्छे / हाम्रा पांच ओटी छोरी र एउटा छोरा मध्ये यहि एउटी छोरीलाई त पढ्न देऊ , भर्खर त एक्कैसकी लागी अहिले नै बिहेको चटारो किन गर्नु पर्यो र ? “

आमाले वीचैमा कुरा काटेर भनिन –” हाम्रो नाक काट्न थाली सकी त्यो छौंडीले , तिमि भन्छौ के को चटारो पर्यो ! “

किन ! के गरी र त्यसले ?

“गर्नुसम्म गरी /पानी नचल्ने कामीको छोरोसंग लगन गाँठो जोड्न थालेकी छे, त्यो भन्दा अरु के गर्नु पर्यो ?” –आमा एक्कासी च्याँठिंन /

आमै नि हो र ? ……….एकै क्षणको स्तब्धता पछी वावुको आवाज आयो –” हुन त आजभोलि जातभातको कुरो छैन भन्ने सुनिन्छ /सरकारले दलित गैर दलित वीचको अन्तर जातीय विवाहलाई प्रोत्शाहन भत्ता पनि दिने गरेको छ /फेरी पनि हाम्रा पुर्खाले नमानेको कुरो हामीले कसरि मान्ने ! कुलदेवता रिसाउँछन् कि भन्ने डर / ठिकै छ म छोरीलाई सम्झाउँछु , तैंले केहि नभन /”

त्यो रात क्रान्तिको लागि कालो रात भयो तर कालो रातमा पनि वावुको कुराले कता कता टा…s s ढा ताराको उज्यालो देखेको अनुभूति गरिन र भोकै निदाइन /

*** *** ***

उही लभ्ली पार्कको चिलाउनेको फेद

“क्रान्ति तिम्रो एक्जाम त सकियो क्यारे आज, मेरो भने अझै दुई पेपर बाँकी छ / कस्तो भयो त एक्जाम ? आजको एक्जाम त सकियो तर दुर्दशाको दिन शुरु भयो जस्तो छ ,विप्लव अब /

किन के भयो र ? क्रान्ति !

घरमा आमाले मेरो बिहेको चाँजो पाँजो मिलाउन खोज्दै छिन / मलाइ त डर लागिरहेछ , विप्लव !

धत् ! डर छेरुवाई / नाम भने क्रान्ति रे /

हामी आइमाई जातले के नै गर्न सक्छौं र ?

झाँसिकी रानीलाई याद गर र हाम्रो रुढी ग्रस्त अन्ध समाजमा चेतनाको राँको बाल / मेरो पनि बि बि ए अन्तिम बर्षको एक्जाम सकिन अब दुई पेपर बाँकी छ ,त्यो सकिए पछी तिम्रो क्रान्तिमा काँधमा काँध मिलाउन तिम्रो घरैमा आउँला ,धन्दा नमान /

हुन्छ ,विप्लव ! उसै पनि हाम्रो संस्कारमा यो महिना मागी विवाह हुँदैन त्यसैले म ढुक्क छु /

मेरो घरमा पनि भुसको आगो जस्तै मेरो विवाहको चर्चा चलेको छ ,क्रान्ति ! तर म तिमीलाई बाजा ठोकेरै विवाह गर्छु भन्ने मेरो आत्म बिश्वास छ / तिमीलाई थाहा छ , क्रान्ति ! हामी दलित पीडित किन भयौं ? किन भने आदिम युगमा मानिसहरु कबिला वा गणमा विभक्त थिए साथै युद्ध प्रेमी पनि थिए / बेलाबखत युद्ध गरिरहन्थे /युद्ध जित्नेहरुले हार्नेहरुलाई युद्ध बन्दी बनाउँथे र कथित् भगवानलाई खुशी तुल्याउन मानव बलि दिने संस्कृति बनाए / तर पछी सभ्यता संगै युद्ध बन्दीहरुलाई दास बनाएर खेतीपाती तथा खनिजको जटिल र जोखिम पूर्ण कार्यमा लगाउन थाले / दासहरुको क्रय बिक्रय पनि हुन थाल्यो / समय बित्दै जाँदा शभ्यता पनि बद्धई गयो राजा महाराजाहरु बने कार्य बिभाजन हुन थाले / यहि कार्य बिभाजनमा दासहरुलाई शुद्र वा अछुत भनियो र शुद्रहरुले छोएको नखाने मात्र होइन झुक्किएर छोईहालेछ भने पनि चोखिनको लागि पतिका गर्ने चलन चलाए / दासहरुमा पनि चेतना वृद्धि हुँदै गएको देखेर सामन्तहरुले कथित् भगवानको स्रीष्टि गर्दै भने भगवान ब्रह्माको मुखबाट ब्राह्मण , छातीबाट छेत्री , झांघबाट वैश्य र पैतलाबाट शुद्र स्रीष्टि भएका हुन भनेर भगवानको डर र पाप धर्मको नियम बनाउने मनु स्म्रीती , बेद ,उपनिषद् ,कथा ,पुराण आदिको निर्माण गरेर शुद्रहरुको मस्तिष्क कुण्ठित बनाउन शिक्षादेखि बन्चित गरे / यो सब झुठको खेति हो, क्रान्ति ! व्राह्मन ,क्षेत्री र बैश्यसंग समानता गर्न दलित भित्र एकता हुनु पर्छ /दलित समुदाय भित्र पनि ब्राह्मण बादको पर्खाल खडा गरेर सामन्तहरुले हाम्रो मुक्ति क्रान्तिलाई कम्जोर तुल्याउने कुचेष्टालाई हामीले विफल पार्नु पर्छ / हामीले युद्ध हारेका हौँ, शक्तिशालीहरुले दमन गरेर राखेको हुनाले हामी दलित पनि हौँ तर अछुत होइनौं / दलित भित्रैको पानी बाराबारले हामीलाई कम्जोर बनाउँछ र दलित मुक्ति क्रान्ति शिथिल हुनजान्छ /युद्ध जित्नको लागि हामी दुई जना नमुना बनेर झ्याई झ्याईं बाजा ठोकेर बिहे गर्न आबस्यक छ / एक्जाम सकिने बितिक्कै म तिम्रो घरमा आउंछु , क्रान्ति ! चार पांच दिन धैर्य गर /

मेरो वा-आमाले तिम्रो अपमान गर्नु भयो भने !

कालकुट बिष झैं पिई दिउँला , नडराऊ केहि हुँदैन / अब छुट्टीऊँ , साँझ छिप्पियो /

सेकेन्ड बित्यो मिनेट र घण्टा बित्यो , र बित्दै गयो रात र दिन / चार पांच दिन मात्र होइन हप्ता बित्यो तर विप्लवसंग भेट्न आएकी क्रान्ति चिलाउनेको रुखसंग रुँदै घर फर्कन्थिन / मोबाइलमा पनि सम्पर्क हुन नसक्दा उनी थर्र काम्थिन / उता विप्लवलाइ फुर्सद थिएन दलित युवा संघ कास्कीका अध्यक्ष भएको हुनाले आफ्नो समस्यासंगै दलित मुक्ति अभियानको राँको बाल्न रातदिन खटीरहेका थिए / पोखरामै सुनको गहना गृह संचालन गरिरहेका धनीको एक्लो छोरो थियो ,ऊ / नरिसाउने ,मिलनसार र प्रखर वक्ता भएकोले उसलाई सबैले मन पराउँथे त्यसमा पनि सुरिलो स्वरका धनी भएको हुनाले सबैको प्यारो थियो / अकस्मात संस्थाको कामले आफ्नो जन्म थलो पर्बतको चुवा गाऊँ गएका थिए /जाने बेला फोन गर्ने अनुकुल पनि भएन र गाऊँमा पुगेर फोन गर्न टेलिकमको टावरले काम गरेन / जे होस् सबै कुराको परिपन्च मिलाएर उ घर फर्क्यो र फोन गरेर क्रान्तिलाई लव्ली पार्कमा बोलायो /

भेट हुने बितिक्कै क्रान्तिले विप्लवलाई अँगालो हालेर रुँदै भनिन — पापी ! माया लाग्दैन मेरो ?

माया नलाग्ने भए तिमीलाई भेट्न म यसरि आकुल भएर किन आउँथें र ?

कमसे कम फोन त गर्नु पर्थ्यो ? कहाँ गएका थियौ ?

सरि ! क्रान्ति ! मलाई फोन गर्ने अबसर मिलेन किन भने म गाऊँमा गएको थिएं / गाऊँका मेरा दौंतरिहरुलाई गुहार्न गएको थिएं / उनीहरुलाई पनि आबस्यक पर्दा बोलाएको छु / साथी भाईहरुलाई मैले हरेक कुरामा मनाई सकें, अब वा-आमालाई मनाउन बाँकी छ त्यो पनि अब दुई चार दिन भित्र मनाएरै छोड्छु त्यस पछि म तिम्रो घरमा तिम्रो वा-आमालाई मनाउन दलबल सहित आउने छु /

किन र , एक्लै आउन डर लाग्यो ?

डरले होइन क्रान्ति ! कुनै अप्रिय घटना हुन नपाओस भनेर हो / तिम्रो पनि गाऊँ पुम्दी होइन ? हो ….पुम्दी र चुवा मात्र नभएर अरु पनि पोखरा ओरिपरीका गाऊँहरुबाट दलित मुक्ति पहरेदार युवाहरु जसमा कामी,दमै ,सार्की लगायत सबै हुने छन् /

विप्लव ! तिम्रो कुरा मलाई सबै मन पर्यो तर यो दलबल सहित आउने कुरामा म असहमत छु/अर्थको अनर्थ लाग्न सक्छ, / बरु तिमीले तिम्रो वा-आमालाई मनाइ छोड्छु भनेका होइनौ यदि त्यसो हो भने तिम्रा वा-आमा र मामाहरुलाई लिएर आए बेस होला / म पनि मेरो वा-आमालाई मनाउने प्रयास गर्छु / यदि मैले मनाउन सकिन भने तिमी एक्लै आएर मनाउने प्रयास गर्दा राम्रो होला,होइन र ?

तिम्रो कुरा पनि बेमनासिब म भन्दिन / लौ अहिलेलाई त्यसै गरौँ अब छुट्टीऊँ,मलाई हतार छ /

**** **** *****

तँलाई कामीको छोरो भनेर कसैले भन्न सक्दैन / लक्का जवान र सुन्दर छस् ,पढेलेखेको छस् , गीत गाउने गला पनि पाएको छस् भने यौटी पानी चल्ने जातकी अथवा भनौं बाहुनी , क्षेत्रिनी , नेवार्नी, जुनसुकै जातको केटी ल्याए पनि म भित्र्याई दिन्थें ,खुशीले / कहाँको त्यो पानी नचल्ने जातको दमिनी भित्र्याउन खोजिस् तनि तैंले , हाँ बुधे ?तँसंग के कुराको कमी छ ,लौ भन् त ?

बा ! सबै भन्दा पहिला तपाइंले सच्याउनु पर्ने कुरा के हो भने तपाइंको यो छोरा सानो छैन त्यसैले अब मलाई बुधे नभन्नुस ,मेरो नाम विप्लव हो /मलाई सबैले विप्लव भनेर चिन्छन / रह्यो पानी चल्ने जात र नचल्ने जात , तपाईं आफुलाई दलित भित्रको ठुलो जात भन्नु हुन्छ भने दमैहरुले पनि आफुलाई दलित भित्रको ठुलो जात भनेर घमण्ड गर्छन / हामी दलित भित्रै छुवाछुतको पर्खाल खडा गर्छौं भने बाहुन ,क्षेत्री ,नेवार आदि कथित् उपल्लो जातले हामीले छोएको पानी किन खाने ? के यस्तै चालले हामीले समानताको नारा दिएर सफल हौंला / कुरा यति मात्र होइन बा ! यो युगमा नारी र पुरुष बाहेक अरु कुनै जात रहन दिनु हुँदैन र मानवता बाहेक अरु धर्म सबै आत्मरति र सम्प्रदायको सांस्कृतिक कागजको पुलिन्दा बाहेक अरु केहि होइन… ……

बिप्लवको अकाट्य दलिलले वावु चाहिं बोल्नै सकेंन र भन्यो तेरो कुरा ठिक हो तर यो घरमा म मात्र होइन अरु पनि छन् / आमा मामाहरुलाई पनि मना /

हो ..इ ..न ! हाम्रो छोरालाई यति बिघ्न मोहनी लगाएर लट्ठ पार्ने कुन चाँही दमिनी अप्सरा परिछे , हामी पनि हेरौंन त्यसको मोहिनी रुप ,गीत पनि मीठो गाउंछे रे भन्ने सुनेकी छु , भोलि लिएर आइज त विप्लव !

आमाबाट पनि हरियो बत्तिको सिग्नल पाएर विप्लवले दङ्ग पर्दै भन्यो –“हुन्छ ,आमा ! म भोलि लिएर आउंछु / “भनेर बैठक कोठाबाट बाहिरियो उ र आफ्नो कोठामा गएर फोनमा क्रान्तिलाई खुशीको खबर सुनाउंदै भन्यो भोलि तिमी अप्सरा जस्तै राम्री भएर बस्नु है ! मम्मीले तिमीलाई हेर्ने भन्नु भएको छ / म तिमीलाई लब्ली पार्कमा लिन आउंछु //क्रान्तिले पनि बिप्लवको गुरु मन्त्र फ़लाक्दा वावु -आमा खुशी भएको खबर सुनाइन / दिदीहरु र भाइ त झनै औधि खुशी भएको कुरा पनि भन्न बिर्सिनन /

*** *** ***

भोलि पल्ट

जेठको महिना भए पनि बिहानै देखि पानी एकनासले परिरहेको थियो / बिप्लवको एक्जाम पनि सकिएको र कुनै काम पनि नभएकोले एक्जामको ह्यांग ओवर मेटाउन सुनौलो भविष्यको सपना देख्दै ओछ्यानमै सुतिरहेको थियो /

“ए बुधे ! यसबेलासम्म सुतेको छस्, चिया पनि खान्नस कि के हो ? नौ बजि सक्यो उठ” —आमाको आवाजले उसको सपना खल्बलियो र जर्याक जुरुक उठ्यो र गएर ढोका खोल्यो / ढोकामा आमालाई मन्दमुश्कानका साथ चियाको गिलास हातमा लिएर उभिरहेको देख्यो / आज उसलाई आमाको उपस्थिति ममताकी प्रतिमूर्ति जस्तो लाग्यो र चिया लिदै ,आमाको मुश्कानको जवाफ मुश्कानले दिदै उसले भन्यो — “मम्मी ! आज त प्रफुल्ल देखिनु हुन्छ ” !

” वुहारी भित्र्याउने तरखरमा लागेकी सबै आमाहरु प्रफुल्ल देखिन्छन छोरा ! खोइ कतिखेर लिएर आउँछस् त मेरो हुनेवाला वुहारीलाई ? “

” बेलुकी ५/६ बजे तिर ल्याए हुन्न र मम्मी !

” हुन्छ , तेरो बालाई पनि आज दुकानबाट चांडै आउने भन्नु पर्ला /” –भनेर विप्लवकि आमा भान्सा कोठातिर फर्किन / बिप्लवले चियाको चुस्की लगाउंदै सोंच्यो –क्रान्तिलाई लब्ली पार्कमा बोलाउनुको साटो म आफै उनको घरमा जाँदा बेश होला / क्रान्तिको भनाइ अनुसार उनको ड्याडी मम्मी पनि हाम्रो सम्बन्धलाई लिएर खुशी नै छन् क्यारे / उसले मनमनै निर्णय गर्यो र क्रान्तिलाई फोन गर्न थाल्यो /

*** *** ***

विप्लवलाई देखेर क्रान्तिका बा-आमा ,भाइ सबै खुशी भए / विप्लवकि आमाले त क्रान्तिलाई असारे झरीको रातमा देखिएको चौधहवीको चाँद भनेर तारिफ नै गरिन / बिप्लवको बाबुले भनेका थिए यी दुई जनाको हल् म यही असारमै बाँध्ने कोसिश गर्नेछु / म भोलि नै ससुराली र मेरो दाजु-भाइको सल्लाह लिन र निम्तो दिन गाउँ जान्छु/ तर बिडम्बना यता बिप्लवका बाबु र उता क्रान्तिका बाबु घोंसे मुन्टो लगाएर फर्केका थिए / विप्लवका बाबुले साँझमा घर आउने बितिकै वोदकाको बोतल लिएर पिउन थालेका थिए / सधै खुशी हुँदा वा टेन्सन हुँदा वोद्का पिउने गर्थे उनले /विप्लवकि आमा आफ्नो बुढाको चाला देखेर अप्शकुनको शंका गरिन् / त्यति नै बेला विप्लव पनि आइपुग्यो / बाबुको गम्भीर र रातो अनुहार देखेर बिप्लवले बोल्ने हिम्मत गर्न सकेन र चुपचाप आफ्नो कोठामा जान के खोजेका थिए , बाबुले कडा तर सुस्त स्वरमा भने —कहाँ जान लागिस एक छिन यहीं बसेर मेरो कुरा सुन बुधे ! विप्लवलाई बाबुले बुधे भनेर बोलाएको मन परेको थिएन तर स्थितिको नाजुकतालाई हेरेर चुपचाप पहिलेको ठाउँमा आएर बस्यो / एक छिनको स्तब्धता पछी बाबुले मुटु गाँठो पार्दै भने –” बुधे ! तेरो कारणले गर्दा आज म आफ्ना दाजु-भाइ दिदी-बहिनी र ससुरालीबाट अपमानित हुनु पर्यो / के यस्तै दिन देख्न र भोग्नको लागि छोरा-छोरीहरु जन्माइन्छन् ? विप्लवलाई बाबुको स्वर र रसाएको आँखा देखेर अपशकुनी बादलको घेरोले आफ्नो जिन्दगीको भबिष्य घेरेको आशंका हुनथाल्यो / उ फेरी पनि केहि बोलेन /

हो इ न SSS ..कसले के भन्यो तपाईंलाई ? किन बोल्नु हुन्न ? के आइमाई जस्तो पिलपिल आँशु झार्नु भएको हो —विप्लवकि आमाले आफ्नो बुढाको टाउको मुसार्दै भनिन् / असजिलो वातावरण ,धेरै वेरको मौनता कति कष्टकर हुँदो रहेछ , बिप्लवको लागि यो यौटा नौलो शिक्षा भयो / लामो स्तब्धता पछी बाबुले आँशु पुछ्दै भन्यो — म छोरा पनि त्याग्न सक्दिन र त्याग्न सक्दिन मेरा दाजु-भाइ नाता-कुटुम्ब पनि म के गरूँ ,बुधेकी आमा ?

क-कसले के के भने त्यो भन्नु न पहिला ?

“मम्मी ! आज ड्याडीलाई फ्री छोडी दिउँ , भोलि कुरा गरौंला /”—भनेर विप्लव सोफाबाट उठ्न खोजेको थियो बाबुले हातको ईशाराले उठ्न दिएन / केहि वेर पछी आफुलाई सन्तुलित पार्दै बाबुले भने –” हेर बाबु ! बिहे केटा र केटीको मात्र हुँदैन / केटा र केटीको बिहेसंगै दुई घर परिवार र खान्दानको पनि सम्बन्ध जोडिन्छन् त्यसैले बिहे केटा – केटीको पुतली खेल होइन / तिमीहरुको सम्बन्ध मेरो लागि स्वीकार्य छ तर तिम्रा जेठा-बाहरु र मामाहरु धेरैलाई स्वीकार्य छैन / फुपू फुपाजुहरुलाई पनि स्वीकार्य छैन / तिमीले दिएका दलिलहरुमा थप-थाप गरेर मेरो पनि सहरमा बस्दाको अनुभवले सम्झाउँदा पनि कोही मानेनन् बरु उल्टै मेरो अपमान गर्दै भने नीचहरुको बुद्धि निचै हुन्छ त्यसैले निचसंग सम्बन्ध गाँस्न लागेको आरोप लगाए , म के गरूँ ,बुधे !

तपाईं चिन्ता नलिनुस ड्याडी ! निरन्तर बगिरहेको समयलाई पक्रेर जसले सत्कर्म गर्न सक्छ त्यसको नाम ईतिहासमा लेखिन्छ / हरुवाको नाम ईतिहासमा लेखिन्न / निच को हो त्यो त समयले नै बताउला त्यसैले समय हेर्नुस ,समयको धार हेर्नुस अहिले कुनै हतार छैन /–भनेर विप्लव आफ्नो कोठामा गयो /

*** *** ***

आइतवारको दिन परेकोले फेवातालको वराह मन्दिरमा कुनै चहल पहल थिएन / विप्लव र क्रान्ति चौरको एउटा रुख मुनि बसेर माछापुच्छ्रे र फेवातालको प्रणय लिला हेरेर बसिरहेका छन् /बादल लाग्दा माछापुच्छ्रे लुक्थ्यो र फेवाताल आत्तिएर तरंगित हुन्थ्यो / रानीवनमा कोईली कुहु कुहु भन्दै गीत गाइरहेको छ / विप्लव र क्रान्तिको मनमा भने बेमौसमी मनसुनको झरी परेको छ / क्रान्तिका पनि जेठा-बा ,कान्छा-बा, मामा-माइजुहरु र फुपू -फुपाजुहरुलाई विप्लवको जात निच लाग्यो रे / कस्तो मानसिक दरिद्रता / आदिकालदेखि दमन गरिएको मस्तिष्कले उच्च सोंचाई सोंचोस पनि कसरि ? यी हरुवा र कुण्ठित मस्तिष्कहरुबाट कुन जुक्तिले परम्पराको भूत भगाउने हो ? कुण्ठा र गरिबीको कारण निशुल्क शिक्षा पनि यीनीहरु लिन सक्षम छैनन् / शिक्षा नभई जनचेतना जगाउन पनि कठिन छ / एउटा आशा लाग्दो किरण थोरै भए पनि युवाहरुको जमात हो तर उनीहरु पनि श्रमको खोजीमा बिदेशिन बाध्य छन् /

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.