कविता : उनीहरू जो अन्तै अस्ताए

~मुकुल दाहाल~

हिँड्ने बेलामा उनीहरूले
ढोकामा सपनाका घडा राखेर
साइतको रातो टीका मुछेर
निधारमा गुराँस फुलाएका थिए
घामले पिठ्यूँमा धाप पनि मारेको थियो ।

उनीहरू कालो पखेटामा बसेर उडेका पनि होइनन्
जाने बेलामा देशको आकासमा उडिरहेका
बादलहरू झस्किएका पनि होइनन्
जमिन कामेको पनि होइन ।

योजना बुन्दा बुन्दै
केही समयको अलमलपछि-
जसरी निस्किन्छ फुत्त
केही आलश्य हुँदाहुँदै
जसरी लागिन्छ कामतिर
उनीहरू निस्किए ।

घरको आँगनलाई पारेर ओझेल
उड्दै उड्दै पुगे अर्को किनारा ।

जाँदा आफ्नो धर्ती छातीमा राखेरै गएका थिए
बालुवामा नुन टिप्न
जाँदा आफ्नो हिमाल शिरमा राखेरै गएका थिए
पानीमा तैरेको जून टिप्न ।

घर फर्केर आफू सुत्ने ओछ्यानको सिरानी फेर्ने रहर थियो
बालबच्चाहरूको अनुहारको चमक फेर्ने रहर थियो ।

फर्केर आफ्नै आँगनमा बुढिने रहर थियो
कुप्रो परी आफ्नै बाटोमा लठ्ठी टेकी हिँड्ने रहर थियो ।

उनीहरू रहरसँगै थिए
उनीहरू कहर काट्दै थिए
उनीहरू मुस्कान राख्ने बाकस रोज्दै थिए ।

कसरी देख्न सक्थे र-
जंगलको पाटे उज्यालोमा लुकेको बाघ जस्तो
उनीहरूको रहरमै ढुकेर बसेको रहेछ मृत्यु
सपनाको सहरमै लुकेर बसेको रहेछ मृत्यु ।

आफ्नो आँगन भन्दा परको देशमा
उतै दुखे, शिशाको ऐनाजसरी उतै फुटे ।

घरभन्दा शायद आकाश नजिक थियो
उनीहरू आकाश भए
उनीहरू सदाका लागि अन्तै अस्ताए ।

(वैदेशिक रोजगारको क्रममा मृत्युवरण गर्नेहरूलाई)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.