~दिनमान गुर्मछान~
वास्तवमा उसलाई गुलाबको फूल दिने मेरो रहर थियो । भन्नुहोला- यो रहर त सबैको हुन्छ । रातो गुलाबको फूल त सबैले दिन्छन् नि ! म अलि फरक रङको दिन चाहन्थेँ । साथीभाइको सल्लाहअनुसार, मैले नीलो गुलाब दिने मनशाय बनाएको थिएँ । हो, यो मेरो अचम्मको रहरचाहिँ अवश्य थियो ।
नीलो गुलाब मेरो छिमेकीको घरमा थियो । घरको तेस्रो तलाको बार्दलीमा फुलेको देखिन्थ्यो । यति जतन गरेर फूल उमारिएको थियो कि त्यसको व्याख्या नगरौं । तर, गुलाबको बोटमा दुईचार फूलभन्दा बढी हुँदैनथ्यो । त्यसैले पनि ती फूल अझै रहरलाग्दा थिए ।
घर हाम्रै नगरको डीआईजीको थियो । म त्यही घर अघिल्तिरको घरमा दुई वर्षपहिले कोठा भाडामा लिएर बस्दै आइरहेको थिएँ । जब मैले उसलाई नीलो गुलाब दिने निर्णय गरेँ, त्यसपछि मैले त्यस घरलाई सधैं नियाल्न थालेँ । साथीहरू भन्थे- किनेर वा मागेर दिएको फूल के फूल ? किनेर, मागेर दिने भए रातो गुलाब नै दिए भइहाल्यो नि !
मेरो प्रेममा केही नयाँ होस् म यही चाहन्थेँ ।
मेरो छनोट कस्तो अजिबको थियो भने नीलो गुलाब चोर्ने, त्यो पनि नगरको डीआईजीको घरबाट । मभित्र यो आँटले कसरी प्रवेश गर्यो ? मलाई पत्तै भएन । यो आँटलाई पूर्णता दिन भने बाँकी नै थियो । अब म दिनहुँ त्यो बार्दलीमा नजर पुर्याउन थाल्ने भएको थिएँ । चिया वा कफीको चुस्की लिँदै मैले धेरैपटक त्यता नियालेको थिएँ ।
धेरै दिन लगाएर मैले केही सूचनाहरू बटुलेँ । जस्तो कि डीआईजी धेरैजसो त घरै आउँदैनन् । घरमा नोकरचाकर छन् । सेक्युरिटी गार्ड छ । यी त हुन्- पहिलेदेखि नै थाहा भएका कुरा । नयाँ कुराचाहिँ नोकरचाकर राति थाकेर नजिकै रहेको अर्काे एकतले घरमा सुत्थे । गार्ड पनि राति १ बजेदेखि २ बजेसम्म घुर्न थाल्थ्यो । घरमा बाँधिराखेको कुकुर पनि ठीक त्यही समयमा निदाउँथ्यो, जुन समयमा चकमन्नता छाएको हुन्थ्यो ।
यसरी सूचना संकलन गरेर म ढुक्कचाहिँ हुन सकिनँ । किनकि निदाएको कुकुर जुन बेला पनि उठ्न सक्थ्यो । भुकेर घरभरिकालाई जगाउन सक्थ्यो । गार्डको निद्रा जति बेला पनि खलबलिन के बेर ? डीआईजीकी श्रीमती ब्यूँझेकी पनि हुन सक्थी । यस्ता प्रश्न भने मेरो मनमा घरिघरि नआएका होइनन् । त्यसैले पनि म अलमलमा थिएँ ।
तर, मभित्र आँट प्रबल भइरहेको थियो । मैले गुलाब जसरी पनि चोर्नु थियो । त्यही गुलाब मैले उसलाई दिनु थियो । एक दिन कामलाई पूर्णता दिने सोच बनाएँ । जे पर्लापर्ला । दिनभरि कोठामै बसेँ । झ्यालबाट पारि डीआईजीको घरतिर एकोहोरो हेर्दै योजना बनाएँ ।
त्यो रात मैले काम फत्ते गरेँ ।
ऊ अचानक गायब भएकी थिई । त्यसैले नीलो गुलाब दिन पाएको थिइनँ । गुलाब टेबलमा उस्सै लम्पसार थियो । म भने अनलाइन खबर हेर्दै थिएँ । एउटा समाचारले निकै अचम्ममा परेँ । जति पढ्दै गएँ, डराउँदै गएँ । हत्याको समाचार थियो । मृतकको तस्बिरले म झन्झन् त्रसित हुँदै गएको थिएँ । हत्यापछि फालिएको लासलाई मैले एक हप्ताअघि जिउँदै देखेको थिएँ । त्यो बलिष्ठ ज्यान भएको व्यक्तिको हत्याको समाचारले मेरो मुटु काँप्न थालेको थियो ।
म सम्झन्छु । बडो कस्टसाथ म त्यो घरको आँगनसम्म पुग्न सकेको थिएँ । लुक्दै, छल्दै म घरको तेस्रो तल्ला पुगेँ । कोठाभित्रको आवाजले म डराएँ । डीआईजी आज घर आएका थिएनन् । तर, यो पुरुष आवाज कसको हो ? म सतर्क हुन पुगेँ । आफूलाई जोगाउन एकछिन लुकेँ ।
कुन अज्ञात शक्तिले हो म आवाज आइरहेको झ्यालतिर गएछु । झ्यालमा छलिएर चुपचाप भित्र हेर्न पुगेँ । भित्रको दृश्यले म अक्क न बक्क भइगएँ । डीआईजीकी स्वास्नी परपुरुषसँगको संसर्गमा लीन थिइन् । मैले त्यो पुरुषलाई यसभन्दा पहिले कतै देखेको थिइनँ । यो घरको वरिपरि त झन् देखेकै छैन । त्यसको अनुहार प्रस्टै देखिन्थ्यो । अहँ मैले त्यसलाई कुनै हालतमा पनि चिन्न सकिनँ ।
म नीलो गुलाबको फूल लिन गएको थिएँ । त्यो रतिराग हेरेर बसेछु । कस्तो अचम्म भने म श्वास लिन बिर्सेर हेरिरहेको रहेछु । उनीहरूको काम सकियो । बल्ल आफू आउनुको कारण सम्झिन पुगेँ । म आफ्नो काम सकेर फर्किएँ ।
हो, त्यही व्यक्तिको हत्या भएको थियो । आखिर कसले गर्यो उसको हत्या ?
म केही सोच्न सकिरहेको थिइनँ । मेरो आँखामा त्यो अनुहार नाच्न थालेको थियो । आखिर को थियो त्यो ? यस्ता प्रश्न मेरासामु आउने-जाने गरिरहे । म दिनभरि कोठाबाट निस्किनँ । मन त्यसैत्यसै उदास भइदियो । साँझतिर अनलाइनले उसको बारेमा लेखेको देखेँ । झटपट लिंकमा क्लिक गरेँ ।
रामेछाप साँघुटारमा जन्मिएको जवान भवलाल । गाउँको स्कुल सकेर कलेज पढ्न काठमाडौं आएको थियो । गाउँबाट सहर आउँदा ऊसँग धेरै सपना थिए । कलेज राम्रोसँग पढ्यो । उसको सपनाले चाहिँ कहिल्यै सहरमा ल्यान्डिङ गर्न पाएन । सपनाको पहाडले ऊ दिनानुदिन थिचिँदै गयो । सहरको महँगीले पेलिँदै गयो । बल्लतल्ल पाएको काम पनि महिना दिन नपुग्दै फुत्किन्थ्यो । अन्ततः उसले देशबाट पलायन हुने विचार गर्यो ।
गाउँको पाखो जग्गा बन्धकी राखेर रिन लियो । जापान जान भनी लिएको रिन म्यानपावरको एजेन्टलाई बुझायो । गर्नुपर्ने प्रक्रिया गरेर ऊ ढुक्क भएर बस्यो । भारत हुँदै जानुपर्ने भएपछि ऊ उतै लाग्यो । एयअरपोर्ट पुगेपछि नक्कली भिसाको कागज भएकाले उसलाई फर्काइयो । ऊ छाँगाबाट खसेझैं भयो । आफूलाई धोका भएको बुझ्यो । काठमाडौं आएर एजेन्ट र म्यानपावरको अफिस खोज्यो । कोही फेला परेन । सबै फरार थिए । महिनौंसम्म खोजी गर्यो । कोही नभेटिएकाले ऊ निराश भयो । घरजग्गा बन्धकी परेको थियो । विदेश गएर कमाउने आधार पनि भत्कियो । उसले काठमाडौंमा काम खोज्न थाल्यो । बन्धकी राखेको घर छुटाउने उपायमा उसले अर्कै बाटो रोज्यो । ऊ पुरुष वेश्या भयो ।
यसभन्दा उता पढ्न सकिनँ । दिगमिग लागेर आयो । त्यो रातको घटना आँखैमा झलझली आयो । आखिर कसले गर्यो हत्या ? प्रश्न बनेर मसामु तेर्सियो ।केही दिन त्यसै बित्यो । मैले उसलाई दिन चाहेको गुलाब पनि ओइलाउन थालेको थियो । विडम्बना के थियो भने ऊ त्यस घटनाको अघिल्लो दिनदेखि सम्पर्कविहीन थिई । अबचाहिँ म उसको खोजीमा निस्किने योजनामा थिएँ । योजना बन्नासाथ म निस्किएँ भन्दा हुन्छ ।
धेरैजसो त ऊ मन्दिर धाउँथी । त्यसैले मैले सहरको धेरै मन्दिर चाहारेँ । ऊ त कहीँ फेला परिनँ । दिनभरिको हिँडाइले थाक्थेँ । थकानले गर्दा म कोठामा नगई होटलमै बास बस्थेँ । सधैं यस्तै हुन्थ्यो । दिनहँ नयाँनयाँ कपडा किन्न थालेको थिएँ । नयाँ रूपमा बजार र सहरको गल्ली चाहार्थेँ । मन्दिरको वरिपरि घुम्थेँ । मेरो खोजी सधैं जारी रहन्थ्यो । अचम्म कस्तो भइदियो भने मेरो अवस्थामा दिनहँ परिवर्तन आइरहेको हुन्थ्यो । महँगा होटलमा खान थालेको थिएँ । होटलमै बास बस्न थालेको थिएँ । उसको खोजीमा म खर्चिलो भइरहेको थिएँ ।
गुलाब ओइलाइसकेको थियो । मेरो खोजी भने जारी थियो । म यसरी भौंतारिइरहेको थिएँ, मानौं म युगौंदेखिको कुनै नौलो वस्तुको खोजीमा छु, जसको अस्तित्व कहाँ छ भन्ने कसैलाई थाहै छैन ।
एक दिन म मन्दिरको बाटो हुँदै, टोलाउँदै हिँडिरहेको थिएँ । कसैले मलाई बोलाएको सुनेँ । धेरै पछि मेरो नाम कसैले बोलाएको थियो । म ऊतिरै फर्किएँ । सन्देश पो रहेछ ।
‘दाइ, तपाईं यहाँ ? के छ हाल खबर ? ‘, उसले उभिँदै सोध्यो । उसले झोला भिरेको थियो । पातलो ज्यानमा झोला ठूलो अनि नसुहाएको देखिन्थ्यो ।
‘ठीक छ भाइ । यसो घुम्दै गरेको । तिम्रो खबरचाहिँ के छ नि ? ‘, मैले जवाफ दिँदै उसलाई सोधेँ ।
उसले पनि आफ्नो सबै राम्रो भएको जानकारी गरायो । एक कप कफी खाऔं भन्ने हाम्रो सल्लाह भयो । नजिकैको कफी सपमा हामी गयौं । सन्देशले आफू पत्रकारितामा लागेको कुरा सुनायो । वास्तवमा ऊसँग भेट नभएको पनि एक वर्ष भएको थियो । हामी गफिँदै गर्दा कफी आइपुग्यो ।
‘पत्रकारिता नै किन रोजेको नि ? ‘, अनायासै सोधिदिएँ ।’यसै दाइ, रुचि भएकोले’, उसले भन्यो ।
‘साँच्चै त्यो भवलालको हत्यारा पत्ता लाग्यो ? ‘, झल्याँस्स सम्झेर सोधेँ ।उसले पत्ता लागेको छैन भनेर टाउको हल्लायो । त्यसपछि कफी पिउन थाल्यो । म पनि हातमा कफी लिएर कफी सपको यताउति हेर्न थालेँ । कफी सप भर्खरै खोलिएको हुनुपर्छ । रङरोगन र फर्निचर सबै नयाँ थिए, चिटिक्कको सुहाउँदिलो थियो । उसले चुरोट सल्काइसकेछ । चुरोटको धूँवा फैलियो । उसले चुरोट मतिर तेस्र्यायो । मैले नखाने भनी मुन्टो हल्लाएँ । उसले तनतनी चुरोट तान्यो ।
धेरै बेर उसले मेरो झोलामा हेर्यो । झोलाको खल्तीबाट गुलाब चियाइरहेको थियो । उसले त्यही गुलाब हेरिरहेको हो भन्ने लाग्यो । मैले झोलाबाट गुलाब झिकेर उसलाई देखाएँ । गुलाब पूरै ओइलाइसकेको थियो । ओइलाएको गुलाब किन बोकेको भन्ने उसले जिज्ञासा राख्यो । मैले आफ्नो कुरा भन्नैपर्ने भयो ।
‘वास्तवमा म आफूले मन पराएकी केटीलाई गुलाब दिन चाहन्थेँ । त्यो पनि नीलो गुलाब । जसलाई मैले मन पराउँथेँ, उसलाई मैले कहिल्यै प्रेम प्रस्ताव राख्नचाहिँ सकिनँ । म चाहन्थेँ यही नीलो गुलाब दिएर प्रेम प्रस्ताव राखूँ । तर, जुन दिनदेखि यो गुलाब मेरो हात पर्यो । त्यसै दिनदेखि ऊ गायब छे’, मैले आफ्नो कुरा सविस्तार बताएँ ।
‘वाउ, तपाईंको चाहनाचाहिँ गज्जब लाग्यो । तपाईंलाई शुभकामना छ’, उसले हौसला थप्यो ।
म मक्ख भइगएँ । त्यसपछि म भौंतारिएको कुरा पनि उसलाई सुनाएँ । महिनौं भएको थियो उसको खोजी गर्दै हिँडेको । मेरो खोजीमा सहयोग गरिदिन उसलाई अनुरोध गरेँ । उसले हुन्छ भन्यो ।
‘दाजु, मैले उहाँलाई कसरी चिन्नू ? तपाईंसँग उहाँको कुनै तस्बिर छ ? ‘, उसले मलाई सोध्यो ।
वास्तवमा मसँग उसको एउटा मात्रै फोटो थियो । त्यो यति बेला कहाँ छ ? मैले सम्झिन खोजेँ । झोला खोतलखातल गरेँ । एउटा किताबबाट उसको फोटो फुत्त झर्यो । मैले जतनसाथ उठाएँ । उसलाई दिएँ । सन्देशले फोटोलाई राम्रोसँग नियाल्यो । फोटोमा आँखा पर्नासाथ उसका आँखा विस्फारित भएका थिए । उसको मुखाकृतिमा परिवर्तन आएको थियो । म उसैलाई हेरिरहेको थिएँ।
‘दाइ, यिनको नाम अदृश्या हो ? अदृश्या शाक्य ? ‘, उसले प्रश्नवाचक दृष्टिले मलाई हेर्यो ।
‘हो’, मैले हतारिँदै भनेँ ।ऊ एकछिन मौन बस्यो । मलाई पनि हेरेन । फोटोमा एकोहोरो हेरिरह्यो । मलाई भने शंकाका बादलले घेर्न थाल्यो । कतै सन्देशको आफन्त त होइन भन्ने लाग्यो । अदृश्याको नाम उसलाई कसरी थाहा थियो ? उसले राम्रोसँग चिनेको हुनुपर्छ । म उसको बोली फुट्ने पर्खाइमा थिएँ ।
‘तिमी उसलाई चिन्छौ ? ‘, आखिर मैले नै बोल्नुपर्ने भयो र सोधेँ ।
‘उहाँ मैले काम गर्ने पत्रिकामै काम गर्नुहुन्थ्यो’, उसले मसिनो स्वरमा भन्यो ।
‘काम गर्नुहुन्थ्यो !? के अहिले काम छोडेकी हो ? ‘, मैले हतारिँदै सोधेँ ।
‘तपाईंलाई थाहा छैन ? ‘, उसले मेरो आँखामा आँखा जुधाउँदै सोध्यो । उसको कुराले मलाई झन् शंकाले घेर्यो । मैले केही थाहा नभएको कुरा बताएँ । ऊ फोटोमा एकोहोरो हेरिरहेको थियो । त्यसपछि मलाई नियाल्यो । बल्ल बोल्यो ।
‘दाइ, अदृश्या अब यो संसारमा हुनुहुन्न । हाम्रो पत्रिकाका लागि उहाँले एउटा गोप्य अनुसन्धान गरिरहनुभएको थियो । सहरका भ्रष्ट पुलिसहरूको कालो कमाइबारे । उहाँले त्यो रिपोर्ट पत्रिकामा बुझाउनु पनि भयो तर प्रकाशित भएन । त्यही रात उहाँको हत्या भएको थियो । विडम्बना भनौं त्यो हत्या, आत्महत्याजस्तो थियो । त्यसैले कुनै पत्रिकाले समाचार बनाएन’, मलाई उसको कुराले टेन्सन भयो ।’यो घटना चैत १२ गते भएको थियो’, उसले कुराको अन्त्य गर्न खोज्यो । यो त्यही रात थियो, जुन रात म नीलो गुलाब चोर्न सफल भएको थिएँ ।
म चुपचाप भुइँ नियालिरहेको थिएँ । सन्देशले मलाई कतिपटक बोलायो भन्ने पनि भेउ पाइनँ । एकछिनपछि जुरुक्क उठेँ । उसलाई जान्छु भनेर म बाहिरिएँ । ऊ मेरो पछिपछि आइरहेको थियो । म आफैं जानसक्छु भन्ने विश्वास दिलाएपछि उसले मलाई एक्लै जान दियो । नत्र ऊ मलाई पुर्याइदिने ढिपि गरिरहेको थियो । सन्देशसँग छुटिएपछि पो मेरा आँखाबाट वर्षा भइदियो । म बाटोमै एक्लै आँसुले रुझेर बसेछु ।
होटलमा गएर त्यसै निदाएछु ।
भोलिपल्ट अबेला उठेँ । अल्छी लागिरहेको थियो । होटल छोड्न मन लाग्यो । अब यहाँ बसेर पनि के हुने हो र ! धेरैपछि मलाई आफ्नो कोठा फर्किन मन लागेर आयो । त्यसैले नुहाइधुवाइ गरेर आफ्नो सामान प्याक गरेँ । रिसेप्सनमा गएर मेरोे हिसाब गरिदिन भनेँ । रिसेप्सनिस्ट हिसाब गर्दै थियो । म उभिँदै टीभीमा दिइरहेको समाचार हेर्न थालेँ । समाचारमा एउटा हत्याबारे जानकारी गराइएको थियो । समाचारले म रन्थनिएँ ।
मेरो छिमेकीको हत्या भएको समाचार थियो । हत्यापछि जंगलको बाटोमा लास फालिएको रहेछ । कस्तो अचम्म भने म त्यो समाचार हेरिरहेको थिएँ तर मेरा आँखामा भने डीआईजीकी श्रीमतीको अनुहार र त्यो रात झलझली आइरहेको थियो । वास्तवमा समाचारमा त्यही डीआईजीकी श्रीमतीको हत्या भएको बताइएको थियो । हिजो भएको भनिएको घटनाले म अक्क न बक्क भइगएँ ।
बिल मेरो अघिल्तिर तेस्र्याएर रिसेप्सनिस्ट अघिदेखि प्रतीक्षामा रहेछ । ऊ घरि मलाई त घरि समाचार दिइरहेको टीभीलाई हेर्दै रहेछ । धेरैबेर पछि मैले उसको बिललाई ध्यान दिएँ । त्यसपछि पैसा तिरेँ ।
बाटोभरि मलाई त्यो रात अनि भवलाल र ती महिलाको हत्याको घटनाले पछ्याइरह्यो । यसरी त्यो रात देखिएकाहरूकै हत्याले मचाहिँ रन्थनिनु कति जायज थियो मलाई थाहा भएन । तर, सोची ल्याउँदा यो कुनै तानाबानाले भएको हत्या हो भन्ने लाग्यो । कुनै षड्यन्त्रको गन्ध छ झैं लागेर आयो । मभित्र भने एउटा अनौठो किसिमको डरले प्रवेश गरेको थियो ।
कोठामा पुग्दा साँझै पर्यो । कोठा डुङ्डुङ्ती गन्हाएको थियो । झ्याल खोलेँ । झ्याल हुँदै हावा छिर्यो । विस्तारै कोठामा नयाँ हावाले स्थान लियो अनि कोठा अलि गन्हाउन छोड्यो । त्यस्सै थाकिएछ । म ओछ्यानमा पल्टिएँ ।
ब्यूँझिनासाथ चिया पिउन मन लाग्यो । कालो चिया बनाएँ । चिया पिउँदै झ्यालबाट बाहिर हेर्न थालेको मात्र थिएँ त्यही घरमा आँखा पुग्यो, जहाँ मैले धेरै दिनदेखि नजर पुर्याएको थिएँ, जहाँबाट मेरो रहरको गुलाब चोरेको थिएँ । जब मूलढोकामा नजर पुग्यो, टक्क अडिएँ । एउटा परिचित झैं अनुहार थियो, जसलाई मैले यसभन्दा अघि पनि कतै देखेको थिएँ । किन उसलाई हिजो-अस्ति देखेको हुँ भन्ने भ्रम भइरहेको छ मलाई ?
वास्तवमै हो नि ! केही दिनदेखि जब म अदृश्याको खोजीमा थिएँ, यो अनुहार मेरो वरिपरि कुनै बेला देखा पथ्र्याे । कुनै बेला अलि परै हुन्थ्यो । कतिपटक त मैले देखेर पनि बेवास्ता गरेको थिएँ । ऊ के-के गरिरहेको हुन्थ्यो । के यसले मेरो पिछा गरिरहेको थियो ? प्रश्न दिमागमा आउनासाथ म उभिएको धरातल भासिएझैं भयो । म कुनै चक्रव्यूहमा फसिसकेको अनुभव गर्दै थिएँ । अचानक थरथर काप्न थालेँ ।
नीलो गुलाब चोर्न त्यस रात जब म तेस्रो तलामा पुगेँ, पुरुषको आवाज सुनेर म एकछिन अलमलिएको थिएँ । डीआईजी आज आएका थिएनन् । के डीआईजी आएको हो ? मेरो मनमा ढ्यांग्रो बज्यो । मुटु बेतोडले हल्लिरहेको थियो । त्यही बेला डीआईजीकी स्वास्नी कोठाबाट बाहिर निस्किइन् । त्यो थाहा पाएर म नजिकैको अर्काे कोठामा लुसुक्क पसेँ, जुन पुराना सामान राख्ने भण्डार कोठाजस्तै लाग्थ्यो । म केही बेर त्यहीँ चाल मारेर बसेँ । म जहाँ बसेको थिएँ त्यहाँ पुराना थोत्रा झोलाहरू थिए, छामेँ । थोत्रा झोलाभित्रको बस्तुले मलाई लोभ्याएझैं भयो ।
झोलाभित्र पैसाका गड्डीहरू थिए । यस्ता थोत्रा झोलामा पैसा ? म अचम्म मान्दै थिएँ । यो कालो धन हुनुपर्छ । मेरो मनले यसै भन्यो । अनायासै एउटा झोला बोकेछु । ढोकाबाट बाहिरको आवाज सुनेँ । फेरि त्यही कोठाभित्र अनौठो आवाज आइरहेको थियो । म खुसुक्क बाहिरिएँ । चाल मार्दै त्यो कोठाको झ्यालमा पुगेँ जहाँ ती दुई थिए । उनीहरूको रतिराग हेरेपछि, नीलो गुलाब चोरेर म लुसुक्क बाहिरिएको थिएँ ।
साँच्चै भन्नुपर्दा त्यो झोलाको पैसा खर्च गर्दै अदृश्याको खोजीमा लागेको थिएँ । मैले त्यही झोलाको रुपैयाँ खर्च गरेको थिएँ । अहिले सम्झिँदा पो एउटा सम्भावित भयले डेरा जमायो । म साँच्चै नै फसिसकेको पक्कापक्की भयो । के त्यो कालो धन हराएपछिको कुनै खोज थियो यो ? मेरो पिछा हुँदै रहेछ यो सहरमा, जुन कुराको मैले भेउसम्म पाएको थिइनँ । हे भगवान ! यो के भयो ? म आत्तिएँ।
अदृश्याले कुन प्रहरीको अनुसन्धान गरेकी थिई ? उसको अनुसन्धान कालो धन कमाउने प्रहरीबारे थियो रे ! के उसले त्यो धनबारे थाहा पाएकी थिई ? जसलाई मैले पनि चोरेको थिएँ भन्दा हुन्छ । हे दैव ! मैले पनि त त्यो कालो धनलाई उडाएको थिएँ । यस्ता विचार आउँदा नआउँदै गेटपालेमा मेरो नजर पुग्यो । ऊ त्यही थियो, घरिघरि उसले मेरो झ्यालतिर नजर पुर्याएको म चाल पाउथेँ । अबचाहिँ मैले आफूलाई सुरक्षित नरहेको पक्का गरेँ ।
अचानक म आफूलाई असुरक्षित मानिरहेको थिएँ । झटपट झ्यालको पर्दा लगाएँ । कोठाबाट भाग्न मन लाग्यो । तर, कहाँ जाऊँ ? म छटपटिन थालेँ । साँच्चै आफूलाई सम्हाल्न नसकेरै म कोठाबाट त्यसै भागेछु । निस्किने बेलाचाहिँ टेबलमा त्यसै पल्टिरहेको ओइलाएको त्यो नीलो गुलाबमा आँखा पर्यो । त्यो नीलो गुलाब त्यहीँ अलपत्र छाडेर म बाहिँरिएँ ।
(यो कथा तपाईं जुन पत्रिकामा पढिरहनुभएको छ, त्यही पत्रिकामा कृपया हेर्नुहोला, मेरो हत्या भएको समाचार पक्कै छापिएको हुनुपर्छ ।)
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)