नियात्रा : यूरोप यात्राका केही सम्झना

~जीवन शर्मा~

अरू देशहरूमा जाँदा बैङ्क ब्यालेन्स देखाउनु पर्दैनथ्यो । तर युरोपतिर जाँदा यथेष्ट ब्यालेन्स देखाउनु पर्दो रहेछ । मेरो खातामा जम्मा हजार पन्द्र सय जति मात्र थियो । कहाँबाट देखाउनु उनीहरूले चाहे जति पैसा ? तैपनि साथीभाइहरूसँग भनसुन गरेर अलिकति पैसा जम्मा गरेर स्टेटमेन्ट लगेर जर्मन एम्बेसीमा बुझाएँ । मसँग जाने अन्य कलाकारहरूले प्रशस्त पैसा देखाएका रहेछन् । मैले कति नै कोशिस गर्दा पनि एक लाख सापटी पाउन सकिनँ । पाँच÷सात जना साथीहरूसँगबाट पचास÷साठी हजार जति सापटी मागेर बैङ्क खातामा जम्मा गरेको थिएँ । त्यही आधारमा भिसा एप्लाइ गरेँ । एम्बेसीका अफिसरको कुराको छनकले भिसा देलान् जस्तो लागेको थिएन । तर दश दिनपछि भिसा आयो । युरोप घुम्न जाने पक्का भयो । विदेश यात्रामध्ये यो मेरो सम्भवतः सबैभन्दा लामो सांस्कृतिक यात्रा थियो ।

यो वर्ष संसारका सबैभन्दा सम्पन्नशाली र सुखी कहलिएका देशहरूको यात्रा गर्ने मौका मिल्यो । जेठको अन्त्यमा म अष्ट्रेलियाको सिडनी, मेलवर्न र क्यानवेरा पुगेको थिएँ । काठमाडौँबाट सिडनी पुग्दा करिब बीस÷एक्काइस घण्टा लागेको थियो । अष्ट्रेलियापछिको मेरो लामो हवाई यात्रा थियो– काठमाडौँदेखि ब्रसेल्ससम्म । बेलुका करिब सात बजे हामी काठमाडौँ एयरपोर्टभित्र पसेका थियौँ । त्यसको तीन घण्टापछि कतार एयरको जहाज हामीलाई बोकेर दोहाको लागि रवाना भयो । काठमाडौँको आकाश अँध्यारै थियो । लोडसेडिङले निलेको शहरको दृष्य माथि आकासबाट हेर्दा पनि उस्तै फिका देखिन्थ्यो । एकै छिनमा त्यही फिका शहर पनि अस्तायो । मनमा अनेकौँ आशा, उत्कण्ठा र कौतुहलता बोकेर म विमानभित्रको सानो संसारभित्र रमाउँदै संसारका सुदूर पश्चिमी देशहरूको भ्रमणका लागि विमानभित्र बेगिँदै थिएँ । करिब एक घण्टापछि एयर होस्टजहरू नास्ता र ड्रिङ्क्स लिएर आए । मैले सोचेँ– अबसम्म त नेपाली आकासबाट पनि जहाज बाहिर निस्के होला । नास्ता खाँदा खाँदै तल कराँची शहरको झिलिमिली देखा पर्‍यो । त्यो पनि एकै छिनमा अस्तायो । मैले युरोपका साथीहरूलाई सम्झेँ । केही समय पहिला युरोपमा बस्ने अफगानिस्तानका साथीहरूसँग काठमाडौँमा भेट भएको थियो । उनीहरूलाई मैले असनमा गएर एउटा हार्मोनियम किनेर पठाइदिएको थिएँ । उनीहरूसँग भेट होला कि नहोला ? भेट्न पाए कति रमाइलो हुन्थ्यो ? मैले किनिदिएको हार्मोनियम बजाएर गीत गाएर सुनाए झन् रमाइलो होला ¤

मैले फ्रान्समा प्राध्यापन गर्नेप्रोफेसर एन डे सेल्सलाई सम्झेँ । उनले रक्तिमका गीतहरूका विषयमा लामो अनुसन्धानमूलक लेख लण्डनबाट निस्कने एउटा पत्रिकामा प्रकाशित गरेकी थिइन् । रक्तिमका गीतहरूले गाउँमा कसरी प्रभाव जमाए र कसरी सर्वसाधारण जनता ती गीतहरूको प्रभावबाट क्रान्तिकारी आन्दोलनमा होमिए भन्ने कुराको निकै मिहिन पाराले उनले वर्णन गरेकी छिन् । उनीसँग फ्रान्समा भेटेर धेरै कुरा गर्ने मनमनै योजना बनाएँ । कतार एयरभित्रको खानपिन र रमाइलोसँगै चार घण्टा बितेको पत्तै भएन । मनमा अनेकौँ कल्पना र तानाबाना बुन्दा बुन्दै विमान दोहा नजिकैको आकासमा आइपुगेको सङ्केत मिल्यो । दोहा एयरपोर्टमा उत्रँदा त्यहाँ मध्य रात भएको थियो । हामी चार जना कलाकार र एक जना युएनडिपीमा काम गर्ने अफिसर सहित पाँच जनाको टोली कतार विमानस्थलमा ओल्र्यौँ । त्यहाँ चेकिङ गर्ने ठाउँमै चिनेजानेका एक जना नेपाली भेटिए । उनले निकै विनम्रतापूर्वक व्यवहार गरे र सक्दो सुविधापूर्वक हाम्रो चाँजोपाँजो मिलाए । त्यसले गर्दा एयरपोर्टभित्रको झञ्झट समाप्त भयो । उनले हामीलाई एउटा आरामदायी कोठामा लगेर राखे । एकै छिन हामीले त्यहाँ गीत गायौँ । त्यहाँ थुप्रै नेपाली कामदारहरूले काम गर्दा रहेछन । उनीहरूले रक्तिमका गीतहरू निकै मन पराउँदा रहेछन । एकै छिन रक्तिमका गीत सुनेर तिनीहरू आ–आफ्ना काममा लागे । उनीहरूले त्यहाँ हामीहरूलाई निकै रमाइलोसँग रात बिताउने व्यवस्था मिलाइदिए, नत्र दश बाह्र घण्टा बिताउन निकै मुश्किल थियो । दोहामा लामो ट्रान्जिट परेकाले बेल्जियम पुग्न अझै निकै समय कुर्नु थियो ।

करिब दश घण्टापछि हामीकतार एयरबाटै युरोपको लागि रवाना भयौँ । कतारमाथिको आकाश पार गरेर विमान बहराइन शहरमाथि बेगिन थाल्यो । मरुभूमिमाथिको आकासको धुले हावा चिर्दै उडेको जहाजसँगै मेरो मन पनि त्यो भन्दा वेगवान भएर वेगिँदै थियो । इराकको बगदाद शहर, टर्कीको अङ्कारा माथिमाथिको आकास पछाडि छाडेर कृष्णसागरमाथि पुग्दा विमान निकै हल्लियो । एयर होस्टेजहरू कता हराए । क्याप्टेनको एनाउन्स बज्यो । हुरीको कारणले विमान हल्लिरहेकाले सबै यात्रुहरू सिट बेल्ट बाँधेर बस्नु होला । मैले मनमनै सोचेँ– ओहो, यहीँनेर विमान दुर्घटना भएर मरियो भने के होला ? एउटा इतिहास त पक्कै बन्नेछ । नेपालमा जन्मेर गरिब दुखीका गीत गाउँदै हिड्दै गरेको कलाकार युरोपमा जाँदै गर्दा ब्ल्याक सीमाथि विमान दुर्घटनामा परेर दिवङ्गत भएको थियो । धत् यो मनले पनि के के सोच्छ । सबभन्दा सुरक्षित मानिएको यात्रा नै हवाई यात्रा हो । संसारका सबै महत्वपूर्ण भेटघाट गर्न हवाइ साधनको नै प्रयोग हुने गर्छ । हवाई यातायात नहुँदो हो त अहिलेको विश्व समाज यति तीव्र गतिमा अघि बढ्न सम्भव थिएन । सिकन्दरलाई भारत पुग्न कति समय लागेको थियो ? यस्तै के के सोच्दा सोच्दै हावा हुरी बन्द भएछ । नास्ता र ड्रिङ्क्स लिएर एयर होस्टेसहरू निस्के । विमानभित्रको वातावरण तात्न थाल्यो । नास्ता, खाना र ड्रिङ्क्समा रमझमिँदै बल्गेरिया, रुमानिया, अष्ट्रिया जर्मनी आदि देशहरू नाघेर बेल्जियमको आकाशमाथि पुगिएछ ।

काठमाडौँबाट उडेको पुरै चौबिस घण्टापछि मात्र हामी ब्रसेल्स एयरपोर्ट उत्रियौँ । ब्रसेल्समा उत्रेपछि झोला, गुण्टा बोकेर हामी आयोजकको आतिथ्य खोज्दै एयरपोर्टबाट बाहिरियौँ । साइमन आले, शिव बरुवाल, तारा अम्माई लगायत साथीहरू गाडी लिएर ब्रसेल्स एयरपोर्टमा आउनु भएको थियो । हामी ब्रसेल्सबाट सिधै एन्ट्रोपेन शहरतर्फ हानियौँ । त्यो दिन ब्रसेल्स शहरको खासै अवलोकन गर्ने स्थिति रहेन । बासस्थानमा पुग्दा साँझ परिसकेको थियो । हाम्रो बसाइँ एन्ट्रोपेनमा निश्चित गरिएको थियो । त्यो रात साइमन आलेको कोठमा निकै बेर कुरा गरेर बसियो र त्यहीँ सुतियो । भोलिपल्ट डिल्ली अम्माईसँग भेट भयो । सारै सज्जन मान्छे हुनु हुँदो रहेछ । उहाँसँग भेट हुनासाथ मेरा युरोप बसाइका सारा समस्या सजिलै हल भए । मैले केही रक्तिमका भिसिडीहरू लगेको थिएँ । हामी दुबै जना मिलेर ती बिक्री–वितरण गर्ने योजना बनायौँ । हिमाल थापासँग त्यहीँ भेट भयो । बालकृष्ण कँडेल पनि त्यही हुनु हुँदो रहेछ । सबै मिलेर युरोभरिको कार्यक्रमको योजना बनाइयो ।

अक्टोबर ६ तारिकका दिनएन्ट्रोपेन शहरको हलमा दर्शकहरू खचाखच थिए । युरोपका नेपालीहरूले गरिब दुखीका गीतहरू कस्तो मान्दा रहेछन् ? मनमा कौतुहलता तीव्र थियो । मेडोनाका गीतहरू लाइभ कन्सर्टमा सुन्ने कानहरूले नेपाली सर्वहाराका गीत सुन्दा कस्तो प्रतिकृया देलान् ? यस्तो जिज्ञासा बोकेर म मञ्चमा उत्रेँ । सुरुमा दुई वटा गीत गाउन्जेल दर्शकहरू खासै आकर्षित भएको पाइएन । उनीहरू नाच्ने मुडमा थिए । मैलै स्लो टाइमिङका गीत गाएको थिएँ । मैले गाएको ‘आकासैमा बादलु छैन, पानी पर्‍यो करेली झालैमा’ बोलको तेश्रो गीतले निकै प्रभाव पार्‍यो । त्यसपछि ‘झरनाको चिसो पानी’ ले हल पुरै ततायो । ‘सिमली छायाँ’ ले दर्शकलाई जुरुक जुरुक पार्‍यो । ‘यसपालि त यस्तै भो आमा, अर्को साल आउनेछु दशैमा’ भन्ने गीतले झन् बुरुक बुरुक उफार्‍यो । म सन्तोषको लामो सास फेर्दै तल झरेँ । कार्यक्रम सकिएपछि पूर्ण सफलताको महशुस गर्दै डिल्ली अम्माई, हिमाल थापा, प्रेम पाठक साइमन आले र अन्य कलाकारहरू लगायत हल बाहिर निस्क्यौँ । बाहिर देवा राईको आयोजनामा नेपाली फुड फेस्टिभल थियो । त्यहाँ केहीबेर रमाइलो गरेर हामी नेपालबाट गएका सबै कलाकारहरू देवा राईको कोठामा गएर रमझमपूर्ण रात बितायौँ । युरोपको पहिलो साङ्गीतिक कार्यक्रम उमङ्गमय तरिकाले सम्पन्न भएकोमा त्यो रात मैले सम्पूर्ण सफलताको अनुभूतिसाथ बिताएँ । पर्सिपल्ट हामी शिव बरुवालको घरमा डिनर पार्टीमा सामेल भयौँ । म्याग्दीबाट त्यहाँ गएर ठूलो अर्थिक उन्नति गर्नु भएको रहेछ उहाँले । सारै नै सरल व्यक्तित्व । सामाजिक काममा पनि अभिरुचि भएको । हामीलाई रिसिभ गर्न एयरपोर्ट पनि जानु भएको थियो । रोमान्टिक प्रकारको मान्छे । त्यो घरबाट हामीले ठूलो आतिथ्य पायौँ । भोलि पल्ट बिहानै उहाँकै गाडीमा हामी नेदरल्याण्डतर्फ प्रस्थान गर्‍यौँ । त्यहाँबाट हिड्दा एन्ट्रोपेनको आकास कुहिरोले ढाकिएको थियो । बोर्डर पार गरेर नेदरल्याण्ड प्रवेश गरेको केही समयपछि तुवाँलो हट्यो र दृष्यहरू छर्लङ्ग देखिन थाले ।

निकै सुन्दर बाटो । छेउछाउको सजावट उस्तै सुन्दर । नेदरल्याण्ड प्रवेश गर्नासाथ भौतिक संरचना भिन्दै भएको महशुस भयो । सारै रमाइला दृष्यहरूका बीचैबीच शिव बरुवालको गाडी हुइकिरहेको थियो । बाटो वरिपरिका हरिया बृक्षहरू र सुन्दर महलहरूले चुपचापसँग विहानीको बालोघामाको न्यानो तापिरहेका थिए । सडकका दुबै किनारामा फुलिरहेका रङ्गीविरङ्गी पूmलहरू सधैँ आतिथ्य सत्कारमा व्यस्त जस्तै देखिन्थे । निलो गहिरो आकासका बीचबाट झरेका बालोघामका किरणहरूले गाडीको सिसा छिचोलेर हामीलाई रङ्गाइरहेका थिए । अक्टोबरको सुरुका दिनहरू युरोपमा निकै रमाइला हुँदा रहेछन् । शरद ऋतुको शोभा पर पर फाँटसम्म फैलिएको देखिन्थ्यो । बाटोघाटो उत्तिकै सफा, आकास सफा, बाटो वरिपरिका मनोहर दृष्यहरू सफा र गाडीभित्र बसेका साथीहरूका मनहरू झन् सफा थिए । यस्तै वातावरणभित्र मेरो हृदय आनन्दले बल्किरहेको थियो । नेपालमा मलाई एन्थ्रोपोलोजी पढाउने गुरुहरूले नेदरल्याण्डको विकासको महिमा सुनाउने गर्थे । त्यही महिमाले आकर्षित भएर मेरो मन छिटो छिटो नेदरल्याण्डको शहरतर्फ तानिरहेको थियो । प्राकृतिक सुन्दरता र मानव निर्मित सुन्दरताको अनुपम सङ्गम हेर्दै हेर्दै हामी नेदरल्याण्डको पहिलो सुन्दर शहरभित्र प्रवेश गर्‍यो ।

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ११ – Feb.5, 2014 – २०७० माघ २२ गते, बुधबार)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.