~कौशिला रिसाल~
भाषिक चिन्तनको प्रारम्भ
भाषा मानव समाजको अस्तित्वसँगै विकास हुँदै आएको हो । मानवको सृष्टिसँगै आफ्नो जीवनमा एक–आपसमा विभिन्न प्रतीकहरूद्वारा विचार विनिमय हुन थाल्यो । मानव समाजको उत्पतिसँगै भाषाको विकास भए तापनि यसको विषयमा धेरै पछि मात्र भाषिक चिन्तन सुरू भयो । पूर्वमा संस्कृत तथा पश्चिममा ग्रीक ल्याटिन भाषाका वाङ्मयहरूले आधुनिक भाषा विज्ञानका भाषिक चिन्तनका रूपमा प्रशस्त भूमिका निर्वाह गरेका छन् । यिनकै आधारमा नेपाली अङ्ग्रेजी तथा संस्कृत भाषाका व्याकरण निर्मित भएका छन् । इ.पू. १५०० तिरबाट वैदिक संस्कृत युगमा भाषिक चिन्तन सुरू भएको देखिन्छ । वैदिक युगमा भाषाबारे चिन्तनको विकास वैदिक संहिता आरन्यक, उपनिषदहरूमा व्यापक रूपमा भएको पाइन्छ । वेदका ६ अङ्गहरू शिक्षा, कल्प, ज्योतिष, छन्द व्याकरण र निरूक्तमध्ये ज्योतिष र कल्प बाहेक सबै अङ्गहरू भाषासँग सम्बन्धित हुन् । वैदिक युगमा खोजी गरिएका यी वेदका अङ्गहरूबाट पनि त्यस युगको गहन भाषिक चिन्तनको स्पष्ट स्वरूप भेट्न सकिन्छ ।
वैदिक संस्कृत भाषा अन्र्तगत चार वेदहरू पर्दछन् । ऋक, यर्जु, साम र अथर्व । वेदका सर्वप्राचीन ग्रन्थ ऋक वेदमा वाक् शब्दको प्रयोग धेरै ठाउँमा भएको पाइन्छ । वेदको भाषालाई दैवी वाक् भनिएको छ । वाक् चार प्रकारका छन् । मान्छेहरू चत्वारी वाक्, परा, पश्यन्ती, मध्यमा र बैखरीमध्ये चौथो वाणी बोल्दछन् । अन्य तिन चाहिँ गर्भमा निहित छ । संस्कृतका निरूक्तकारले ॐ.भू.भूव.स्व लाई चत्वारी वाक् मानेका छन् । अर्का विद्वान पतञ्जलिले नाम, आख्यात, उपसर्ग र निपातलाई चत्वारी वाक् मानेका छन् । कैयटको पनि यसैमा समर्थन छ । वैदिक सूक्तहरूमा उच्चारणलाई विशेष महत्व दिइएको पाइन्छ । पदपाठ गर्दा पदहरूको स्वर धातुयुक्त उच्चारणमा विचार गरिन्थ्यो । वैदिक भाषाको अध्ययनको क्रममा निघण्टु (वैदिक शब्द सङ्ग्रह) समेत लखिएको पाइन्छ । सर्वप्रथम यास्कले निघण्टुको चर्चा गरेका हुन् । यिनी संस्कृतका प्रथम निरूक्तकार हुन् । यिनले ३ कान्ड र ५ अध्यायको निघण्टु लेखेका छन् । त्यसको चौथो अध्यायको निरूक्तकार पनि उनी नै मानिन्छन् । अन्य विद्वानहरूले पनि वैदिक भाषाका १५–२० वटा निघण्टुहरूको चर्चा गरेका छन् । हाल एक मात्र निघण्टु उपलब्ध छ । वैदिक मन्त्रका अर्थ बुझ्ने क्रममा ऋषिहरूबाट आभाषित अर्थ लगाउन थालियो । यास्कले सबै नामलाई धातुबाट विकसित मानेर शब्दको व्युत्पत्ति गरेको पाइन्छ । ऋषिहरूबाट शब्दका अर्थ लगाउँदा यसरी लगाएको पाइन्छ ः जो काक् काक् गर्छ, त्यो काग, जो रमण गर्छ, त्यो राम आदि ।
भाषामा व्याकरणिक चिन्तनको खोजी
वैदिक संस्कृत भाषा क्रमशः लौकिक संस्कृतका रूपमा विकसित हुँदा भाषिक चिन्तनसम्बन्धी परम्परा अझ व्यापक रूपमा अगाडि बढेको देखिन्छ । पाणिनि, पतञ्जलि, भतृहरि जस्ता विद्वानहरूले संस्कृत भाषिक चिन्तन परम्परालाई माथि उठाए । पाणिनि सम्प्रदायका त्रिमुनि मानिने पाणिनि, कात्यायन र पतञ्जलिको विशेष योगदानपछि संस्कृत भाषाको भाषिक चिन्तन विभिन्न मोडमा अगाडि बढ्यो । विभिन्न खाले व्याकरण सम्प्रदायको उदयास्त हुँदै गयो । पाणिनिले अष्टाध्यायी लेखे । उनको अष्टाध्यायीको अनुसरण गरेर विभिन्न वैयाकरण तथा दार्शनिकहरूले संस्कृतका भाषिक चिन्तन तथा व्याकरण परम्परालाई अगाडि बढाउँदै लगे । व्याकरणका साथै संस्कृत साहित्य, मिमांसा, आदि क्षेत्रहरूमा पनि व्याकरणिक चिन्तन भए । पालि प्राकृत भाषाका व्याकरण समेत लेखिए ।
संस्कृत व्याकरणमा पाणिनि सम्प्रदाय
पाणिनिको उदय पूर्व संस्कृतमा निकै समय अघिदेखि व्याकरणको परम्परा रहेको देखिन्छ । उनी अघि संस्कृतका २३ वैयाकरणहरूको नाम उल्लेख भएको पाइन्छ । संस्कृत व्याकरणमा पाणिनि सम्प्रदायको व्याकरणलाई तिन चरणमा राखेर अध्ययन गरिएको छ ।
१) पूर्व पाणिनि युग
यास्कपछि र पाणिनिपूर्वको युग पाणिनि पूर्वको युग हो । यस समयमा एकातिर, वैदिक भाषाको अध्ययन जिवित थियो भने अर्कोतिर, लौकिक संस्कृत भाषाको अध्ययन क्रम सुरू भइसकेको थियो । पाणिनिपूर्वको भाषिक चिन्तनको क्रममा ऐन्द्र सम्प्रदायको उल्लेख पाइन्छ । देवताहरूले स्वर्गका राजा इन्द्रलाई शब्द र अर्थको बोध सजिलो किसिमले गराउने व्यवस्था मिलाउन अनुरोध गर्दा ईन्द्रले प्रकृति र प्रत्ययको विभाजन गरी शब्दोपदेशको प्रक्रिया सुरू गरेका थिए भन्ने आधार संस्कृत व्याकरण परम्परामा पाइन्छ । पाणिनि स्वयम्ले पनि आफू पूर्व १० वैयाकरणहरूका नाम अष्टाध्यायीमा उल्लेख गरेका छन् । आपिशलि, गाग्र्य, काश्यप, गालव, चक्रवर्मन, भारद्वाज, शाकटायन, शाकल्य, सेनक, स्फोटायन ।
२) पाणिनि युग (इ.पू. पाँचौँ–छैटौँ)
पाणिनिको समयबारे विद्वानहरूको मतैक्य पाइँदैन । यिनी भारतको शालातुर भन्ने ठाउँ (हाल लाहोर) का हन् । यिनी दाक्षी पुत्र हुन् । यिनको प्रमुख व्याकरणिक ग्रन्थ अष्टाध्यायी हो । आठ अध्यायमा संरचित पाणिनिको अष्टाध्यायी महत्त्वपूर्ण व्याकरण हो । यसैलाई आधार मानेर त्यसपछिका कैयौँ वैयाकरणहरूले लौकिक संस्कृत व्याकरणलाई अगाडि बढाउने कार्य गरे । अष्टाध्यायीको प्रत्येक अध्यायमा चार पाउ छन् । लौकिक संस्कृतका प्रचलित नियमलाई सङ्क्षिप्त रूपमा प्रयोग गरिएको छ । यस व्याकरण ग्रन्थमा ३९९५ सूत्र छन् । अष्टाध्यायीका सूत्रहरू बीजगणितीय सूत्र जस्तै सङ्क्षिप्त र सारगर्भित छन् । पाणिनिको अष्टाध्यायीमा अध्याहार, अनुवृत्ति, अधिकार र अन्तरालम्बनसम्बन्धी धारणा पाइन्छन् । यिनका अन्य कृतिहरूमा शिवसूत्र, प्रत्याहार,सूत्र, धातुपाठ, गणपाठ, उणादि सूत्र, फिट सूत्र आदि पर्छन ् ।
पाणिनि युगलाई त्रिमुनि युग भनिन्छ । यस समयमा पाणिनिको अष्टाध्यायीलाई आधार मानी विभिन्न विद्वान दार्शनिकहरूले विभिन्न किसिमका व्याकरण परम्परालाई अगाडि बढाएको पाइन्छ । जसमा पाणिनिपछि कात्ययान र पतञ्जलिलाई प्रमुख रूपमा लिन सकिन्छ । पाणिनि, कात्यान र पतञ्जलिलाई त्रिमुनि भनिन्छ । यिनको छोटकरी चर्चा तल गरिएको छ ।
कात्यान (इ.पू.४५०–३००)
यिनी प्रसिद्ध वार्तिककार हुन् । यिनलालई ऐन्द्र सम्प्रदायका वैयाकरण मानिन्छ । यिनी पाणिनिका आलोचकका साथै पाणिनिको सूत्रमा परिवद्र्धन र संशोधन गर्ने व्यक्ति हुन् । पाणिनिको अष्टाध्यायीलाई यिनले बुभ्न सजिलो बनाइदिएका छन् । यिनले कात्यायनी शिक्षाको रचना गरेका छन् ।
पतञ्जलि ः (इ.पू. तेस्रो–पहिलो)
यिनी भाष्यकार हुन् । पाणिनिको अष्टाध्यायीमाथि कात्यानले उठाएका प्रश्नका जवाफ पतञ्जलिले दिएका छन् । यिनले महाभाष्यको रचना गरेका छन् । महाभाष्यको शैली सरल सुबोध र सुस्पष्ट छ ।
३) उत्तरपाणिनि युग
त्रिमुनिको युगवपछि पाणिनि सम्प्रदायमा महत्त्वपूर्ण कार्यहरू भए । त्रिमुनिका व्याकरणलाई जिवित राख्न धेरै विद्वानहरूले योगदान दिए । भतृहरि, कैयट, नागेश, जस्ता चिन्तक, जयादित्य, वामन तथा भट्टोजी दीक्षित जस्ता वृत्तिकार र व्याख्याताहरूको योगदान उत्तरपाणिनि युगमा महत्वपूर्ण रहेको छ ।
उपसंहार
यसरी मानव समाजको विकासक्रमका दृष्टिले भाषिक चिन्तनको परम्परा ढिलो सुरू भएको हो । पूर्वको संस्कृत भाषा तथा पश्चिमका ल्याटिन, ग्रीक जस्ता भाषामा गरिएका भाषिका चिन्तन तथा व्याकरणिक चिन्तनको परम्पराले नै आधुनिक भाषा विज्ञानको विकास तथा व्याकरणिक चिन्तनलाई फराकिलो तुल्याइदिएको छ ।
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २८ – May 29, 2013 – २०७० जेष्ठ १५ गते, बुधबार)