~रमेश पौडेल~
माघ मासको जाडो , अझ त्यसमा पनि अस्तिमात्रै पानी पर्दा देशका उच्च पहाडी तथा हिमाली भेगमा परेको हिउँको खार बोकेको चिसो सिरेटो मुटुनै छिचोल्ने गरी चलिरहेको छ । न त उसलाई त्यो सिरेटोसँग मतलव छ, नत त्यो साँझमा लहरै लास जलिरहेको त्यो ठाउँमा किन आइपुगें भन्ने अनुभूत गर्न सक्छ । भुन्टेले एकोहोरो माथि माथि आकाशतिर मात्र हेरिरहेको छ । एकसरो सलमा बेरिएको भुन्टे आफन्तको छातीमा टाँसिइरहेको छ ।
यद्यपि उसलाई यो यात्राको बारेमा केही थाहा छैन । यस धर्तीमा टेकेकै आठ महिना मात्र भएको उसलाई रोल्पादेखि काठमाडौंसम्मको यात्राको उद्देश्य नै के थाहा ? भुन्टेको न्वारानको दिनमा उसको बाबुले साउदी अरबबाट उसकी आमालाई फोन गरेको थियो “बधाई छ तिमीलाई, तिमीले पाएको छोरा र तिम्रो सुख तथा हाम्रो भविष्यको कल्पना गर्दै काम गरिरहेको छु । छोराको राम्रो स्याहार गर्नु, चिसो लाग्न नदिनु, म आउँ दा तिमीलाई नयाँ साडी अनि छोरालाई राम्रो नाना र खेलौना ल्याईदिउँला । ” खुशीले फुरूङ हुँदै भनेको थियो “खै खै एक चोटी भुन्टे आवाज सुनाउ त” अनायासै आएको भुन्टेको आवाज मोबाईल मार्फत् सुनेको गोपिमानले भनेको थियो “उ मेरो छोराले बाबा भन्यो ।”
साउदी अरबको ५० डिग्री तातोसँग उसलाई कुनै प्रवाह थिएन । चाहे तातो हावासँगै आउने मरूभूतिको बलौटे हुण्डरी किन नहोस् ती सबैका विरूद्ध एउटा पातलो ढिकुरे छाती फुलाएर काममा खट्थ्यो ।
मनमा अथाह उत्साह बोकेर २० घण्टासम्म काममा खट्थ्यो । अजंग अजंगका गगनचुम्बी घरहरूमा ढाडमा बाँधेको डोरीको साहारामा अडिएर ‘स्काफोलिङ’ को काम गर्नु दैनिकी थियो गोपिमानको । एक दिन, दुई दिन, हप्ता, महिना गन्दै उसले मनमनै कल्पना गरेको थियो । “अब त मेरो छोरो पनि २ महिना पुग्यो, अब त साँच्चिकै बाबा भन्न थाले होला ।” गोपिमानले अब १ वर्षपछि घर जाँदा घरवारी भिरमा झोला बोकेर झदै गर्दा पारी घरमुनीको बारीको डिलबाट “बाबा” भनेर बोलाएको अनि तोते बोलीमा “मेलो बाबा आनुभो, मेलो बाबाले मलाई चकेट ल्याई दिनुन्च ” भन्दै नाँच्दै गरेको दृश्य आफ्नो मानसपटलमा खेलाउन थालिसकेको थियो ।
यता आफ्नो श्रीमानको आग्रह अनुसार भुन्टेको राम्रो स्याहार गर्नुका साथै वर्षभरी काम गरेर तीन महिना पनि खान नपुग्ने आम पहाडी गाउँले परिवेशमा निम्न वर्गीय परिवारले भोग्ने नियति भोग्नु भुन्टेकी आमाको दिनचर्या नै थियो । त्यस अलावा प्रत्येक हप्ताको शुक्रबार मोवाईलको एक कुनामा सानो डोरी लगाएर बाहिर कतै टावर टिप्ने ठाउँमा झुण्ड्याउँदै फोनको प्रतिक्षा गर्नु पनि उसको साप्ताहिकी थियो । मोवाईलमा टिर्रर घण्टी बज्ना साथै केही लाज र केही हर्ष मिश्रित भावमा रातो अनुहार पार्दै भन्थि“हेलो तपाई कहिले आउनुहुन्छ ?” “खै भुन्टेको बालाई बिसन्चो भयो कि आज फुन गरेनन्” लामो सुस्केरास हाल्दै शंकामिश्रित भावमा गुनगुनाउँदै भुन्टेकी आमा सूर्यास्तसँगै भित्र पसी ।
उता त्यसै सुक्रबार सदाझैं नेपालीहरू भेटघाट र दुःख, सुखका कुराकानी गर्ने र हप्तामा ७२ घण्टाभन्दा बढी काम गर्दा थिलथिलो परेको शरीरलाई राहत दिन जमघट हुने ठाउँमा गोपिमान देखिएनन् । अर्को कम्पनीमा काम गर्ने गोपिमानको गाउँको दाई विर्खमान पनि त्यहाँ आयो । आफ्नो गाउँको भाईलाई सदाझैं त्यहाँ नदेखेपछि सोधखोज गर्न थाल्यो । गोपिमान सँगै काम गर्ने पूर्वतिरको रामकेवटले भन्यो “गोपिमान भाई तो ५० मंजिलसे गिरा, ओ तो हस्पितलमै है भाई” । एकछिन त विर्खमानको होसले साथ छाड्यो । आखिर जे हुनु थियो त्यो भैनै सकेको थियो । बिर्खमान हस्पितल गयो । त्यहाँ दुईदिन देखि बेवारिसे शवहरू राख्ने घरमा रहेको गोपिमानको मृत शरीर हे¥यो । भित्रैदेखि मुटु फुलेर आयो, एकैछिनमा खल्तीबाट रूमान निकालेर दुईहातले बेस्सरी मुख छोप्यो र बाहिर निस्क्यो । अब के गर्ने ? घरमा के भनेर खबर गर्ने ? यो लासलाई के गर्ने ? यस्तै सोच्दै विर्खमान हस्पिटलको पेटीमा थ्याच्च बस्यो । आखिर यो सब किन भैरहेको छ । दिनहुँ जसो एक न एक नेपालीले गोपिमानकै जस्तो नियति किन व्यहोर्नु परिरहेको छ ? कहिलेसम्म यस्तो नियति भोग्न बाध्य हुन्छौं हामी ? यस्तै यस्तै सोचाईमा डुब्न थाल्यो ।
धन्न विर्खमान त्यहाँ काम गर्न गएका नेपाली मजदुरहरूको संगठनको सदस्य थियो । अलिबेरमा लामो सास फेर्दै विर्खमानले सम्झ्यो र साउदी अरब नेपाली एकता समाजका अध्यक्षलाई फोन ग¥यो । लौन हाम्रो गोपीमान त दुर्घटनामा परेर मरेछ, अब कसो गर्ने ? तुरून्तै एकता समाजका अध्यक्ष र अरू केही नेपालीहरू अस्पताल पुगे । उनीहरू गोपिमानको मालिक कहाँ पनि पुगे । मृत शरीरलाई नेपाल पठाउन र मृतकको परिवारलाई क्षतिपूर्ति दिन माग गरे । उसले काम गरेको केही दिनको तलव त म दिन्छु तर डेढवडी पठाउनको लागि आफूले नसक्ने जवाफ मालिकले दियो । किनकि गोपिमान त्यो ठाउँमा गैरकानुनी रूपमा काम गरेको थियो । जाने बेला दलालले राम्रो काम र कमाई छ भन्दै पठाएको कम्पनीमा कामै नपाएपछि एक्लै भागेको गोपिमान धेरै हण्डर खाँदै त्यहाँ पुगेको थियो । त्यो कम्पनीमा आउनुभन्दा अगाडि १५–२० दिन त भोकभोकै हिंड्नु परेको थियो उसलाई । आफ्नो पासपोर्ट समेत थिएन साथमा गोपिमानको । कहिले हस्पिटल, कहिले नेपाली राजदुताबास अनि कहिले उसले पहिले काम गरेको कम्पनी धाउँदा धाउँदा ६ महिना गोपिमानको मृत शरीर अस्पतालमै बेवारिसे रहिरह्यो ।
विहानै भुन्टेकी आमाले भुन्टेलाई काखमा चापी । भुन्टेको ठूलो बुवा अघि अघि लागे । दिनभरको हिंडाई पछि सदरमुकाममा साँझ पुगे । “एउटा होटलमा पसेर चिया खाउँँ” भून्टेकी ठूलो वुवाले भन्यो । ‘मलाई चिया खान मन छैन’ भुन्टेकी आमाले केही खाने मन गरिन । साँझ ६ बजेको रात्री बसको टिक काटेर बस चढे । भुन्टेको यो पहिलो काठमाडौं यात्रा थियो । एकछिन आमाको काखमा बसेर हाँ हाँ हुँ हुँ ग¥यो । बसभित्र चारैतिर हेरेर खुशी भयो, अगाडि पछाडि सिटमा बसेका मान्छेलाई हातले तन्यो अनि बाबा बाबा भन्दै बोलायो । आखिर निर्दोष बच्चा न हो के थाहा उसलाई उ कहाँ र किन जाँदैछ ? अनि के थाहा विचरा उ आफ्नो पहिलो तोतेबोलीका साथ उच्चारण गरेको “बाबा” भोलि उ उसकै बाबाको मृत शरीर बुझ्न काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुछ भनेर ।
माघका दिन ६ नबज्दै झमक्कै साँझ पर्न थालिसकेको थियो । पशुपतिस्थित आर्यघाटमा तलदेखि माथिसम्म एउटा घाट पनि खाली थिएन । सबैजसो चितामा ह्वार ह्वार आगो बलिरहेको थियो । घरी घरी कालो धुवाँको मुस्लो त घरीघरी स साना आगोका झिल्काहरू माथि माथि आकाशतिर उड्थे । त्यही लहरमा भुन्टेको बाबु गोपिमानको पनि स्थान सुरक्षित गरिएको थियो । एकैछिनमा बाकसमा रहेको गोपिमानको मृत शरीरलाई बाहिर निकाले सबैले फुल र अविरले अन्तिम श्रद्धाञ्जली दिए तर भुन्टेलाई केही थाहा थिएन । उ त केवल आफन्तको काखमा बसेरमाथि माथि उडिरहेको आगोको ज्वाला र कालो धुवाँको मुस्लोहरू देखेर अचम्म मानिरहेको थियो । विचरालाई के थाहा उसलाई राम्रो नाना ल्याई दिने खेलौना ल्याइदिने अनि केही हजार पैसा कमाएर राम्रो शिक्षा दिक्षा दिने अनि आफू आफू जस्तै लाखौं लाख सोझा नेपालीहरूले गास बास र कपासको लागि त्यसरी खाडी मुलुक र विश्वका अन्य मुलुकमा गएर निम्न दर्जाको काम गर्न नपरोस् भनी मनमनै गरेका कामना अनि अठोट जति सबै आज त्यही कालो धुवाँको मुस्लो र आगोको ज्वालासँगै उडिरहेको छन्, कतै आकाशमा हराईरहेका छन् । खै किन किन आज भुन्टेले माथितिर मात्रै हेरिरहेको छ । सधै त चुलबुले भुन्टेले लोग्ने मानिस देख्यो कि बाबा बाबा भनिहाल्थ्यो । उसको निर्दोष मुखारबृन्दबाट आज त्यही शब्द “बाबा” बाहिर आउन सकेको छैन । शायद उ बोल्न नसकेपनि सोचिरहेको छ “कतै मेरो पनि नियति यस्तै त होइन ?” चिता जलिरहेको छ । भुन्टेकी आको अट्टाहस रोदनले सबैलाई स्तब्ध पारेको छ । आखिर उसको पनि नियती आम श्रमजीवी वर्गको जस्तै न हो ? उसले केवल त्यही हेरिरहेको छ, उसको बाबुको चिताबाट निस्केको आगोको ज्वाला र कालो धुवाँको मुस्लो, एक टकले ।
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १२ – Jan. 29, 2013 – २०६९ माघ १७ गते, बुधबार)