पुस्तक समीक्षा : हल्लुँडको पोस्टमोर्डम र रिपोर्टहरू

~सङ्गीत नेम्वाङ~

सम्बन्धित पुकार:-

म बार्हौ श्रेणीमा पढ्थे। अर्थात् भर्खर-भर्खर साहित्यतिर रूची राख्दै गरेको समय। फेसबुकमा कविताहरू पढ्दै गरेको समय। अनुकरणीय प्रेमिल कविता लेख्दै गरेको समय। हिमालय दर्पणको साहित्यिक पृष्ट पढ्दै गरेको समय। यस्तै समयमा एकदिन दर्पणको साहित्यिक पृष्टमा भेटेको हो  ‘बाउको गन्ध’ कवितामा पुकार पार्दर्शीलाई। त्यसपश्चात चिनेको हो साहित्यिक व्यक्तित्वको रुपमा पुकार पासालाई।

यथार्थमा भन्नु पर्दा म उनको नाममा नै कविता देख्छु। पुकार शब्दको शाब्दिक अर्थ बिन्तीभाव, प्रार्थना, अनुयय-विनय भए तापनि यसको अन्य अर्थ आपद-विपदमा गुहार्ने बोली पनि हो। मैले दुई-तीन सालदेखि चिनेको पासा पुकार र उनको कविता प्रवृति पनि उल्लेख्य दोस्त्रो अर्थसँग सम्बन्धित छ। वैचारिकताले धनी पासा पुकार जहिले भेट हुँदा भन्ने गर्छन ‘पासा विसङ्गगति भनेको व्यवहारले होइन नैतिकतामा निर्भर हुने कुरो हो। अर्थात् मु नैतिकतामा विश्वास राख्ने मुन्छे हुँ।’

पुकार राई यस्ता कवि हुन्, जसलाई देखेपछि धेरैले भन्लान् वा सोच्लान् कि पुडको मान्छेको सृजना वास्तवमा पुडको नै होला। तर वास्तविकता भने उनको कवितामा डुब्दा पत्तो लाग्छ उनको सिर्जनात्मकता, वैचारिकता। अर्थात् पुढको कविको कवित्व उचाई।

कृतिभित्र प्रवेश:-

भारतीय नेपाली साहित्यिक आन्दोलन ‘हस्तक्षेप’ – लाई आत्मसात गरेर उभिएका युवा कवि हो – पुकार राई। उनी पेसाले पत्रकार पनि हुन्। तर कवि या पत्रकार हुन भन्दा अगि उ किसान थिए। र अहिले पनि हुन्। कविले देउता र माटोमा यसरी भनेको छ –  ‘म त्यतीकै म कवि भएको होइन। किनकि विस्तारवाद मेरो कविताको सिद्धान्त होइन। सांस्कृतिक  ढाँचा र व्यवस्थाको बाडीले मलाई कविता लेख्ने प्रेरित गर्यो भन्छु। कविताजस्तो उपयुक्त माध्यम मसँग अरू थिएन सायद। किसानहरूको तत्कालीन अवस्थाको जटिलताबोध गराउन आवश्यक लाग्यो। किसान सपनाको नयाँ संस्करण सिर्जनाको डोकोमा बोक्दा बोक्दा कविता बनिएको हो। जो विचारको हलोले जोतेपछि टुसाएको थियो, चेतनाको खेतमा।’

कवि पुकार राई ‘हल्लुँड’ सङ्ग्रहको माध्यमबाट वर्तमान विद्रुप राजनीति, जातिय अस्तित्वको सङ्कट, आध्यात्मवादको प्रभाव, युवा बेरोजगारी, प्रेम प्रसङ्ग आदिलाई उजागर गर्ने प्रयत्न गरेको देखिन्छ। तर वास्तवमा ‘हल्लुँड’ को मूल आश्र्य भने दिन-रात पसिना बगाएर देशलाई साँच्चै देश बनाउने श्रमजीवि किसानहरूको सरोकारको निम्ति सत्ताको विरुद्ध निस्केको कवितात्मक अभिव्यक्ति हो। र कवि पुकार भन्न भन्दा मलाई किसाने कवि, माटो कवि भन्न युक्तिसङ्गत लाग्छ। जो उनको कविताहरूले स्वय प्रमाण दिन्छन्-

‘म माटोको मायाले पलापिएको मान्छे
मान्छेको मायाले छुँदै छँदैन।’
(पाखुरो)

‘……….
माटोको मुटु हुन्छ र नै दुख्छ यो देश
……..’
(माटोको मृत्यु)

‘पाकिस्तानले देशको टाउको काटी लैजाउँदा’
भोट ब्याङ्कको निम्ति विद्रोह गर्न नसक्ने मेरो देशले
मेरो जीवनको बारीमा
एक घोगा खुशी नफल्दा के फर्क पर्थ्यो।’
(सरकार)

‘मलाई यो पनि हेर्नु छ
पसिनाको जम्मै बाकलहरूले आत्महत्या गरेको दिन
देश बाँच्छ कि बाँच्दैन?’
(पसिनाको बाकल)

कृतिको पोस्टमार्टम र रिपोर्टहरू:-

पुकारको कविताहरूलाई पढेर मैले यसको पोस्मार्टम रिपोर्ट तयार पार्नु पर्दा यसमा केही मुख्य कुराहरू भेटाए। जसलाई विश्लेषणात्मक ढङ्गमा उतार्ने प्रयास गरेको छु।

सङ्ग्रहमा कविले मोट ३५ वटा कविताहरू समावेश गरेका छन्। मोट ३५ वटा कविता भए तापनि ती कविताहरूले वेग्ला-वेग्लै विषयवस्तुलाई समात्न पुगेको देखिन्छ। जसमा मुख्य राजनैतिक उल्लङ्घन, मुद्दा गोर्खाल्याण्ड, समाजमा पुँजीवादको पकड, नारीवाद र आध्यात्मवादको उल्लङघन विशेष भेटिन्छ।

विषयवस्तुको आधारमा प्रसङ्गहरू छुट्टै भए तापनि कविताहरूको जम्मै प्रसङ्ग भनेको समाज सरोकार छ। अर्थात् हल्लुँडले पुकारलाई सरोकारी कविको रूपमा उभिएको छ भन्दा दुईमत नहोला।

कविताको मुख्य रिपोर्टहरू :-

  १. पुँजीवादको पकडमा समाज-

भोलि के खाने, के लाउने भन्ने विकाससँग जन्मेको व्यवस्था हो पुँजीवाद। यो कुनै आर्थिक व्यवस्थाले उत्पन्न हुँदछ। जसको मुख्य काम हो मुनाफा कसरी कमाउन सकिन्छ। तर वर्तमान समाजमा चलिरहेको राजनीतिले पनि विशेष पुँजीवादलाई आत्मसात गरेको देखिन्छ। र पुँजीवादको पकडमा राजनीतिले सैद्धान्तिक मान्यतालाई भुलेर फाइदा कसरी गर्न अर्जन गर्न सकिन्छ भन्ने मान्यतालाई लक्ष्य गरेको छ।
भारतीय राजनीतिको बुनोटलाई प्रभावकारी बनाउने पनि यही पुँजीवादी व्यवस्था हो। जो समाजमा जिउने आम मानिसको निम्ति हानिकारक बनेको छ। यहाँ सत्ताले आम नागरिकको सरोकार भन्दा पुँजीवादीको सरोकारलाई प्राथमिकता दिएको देखिन्छ। राजनीतिको पुँजीवादी पकडलाई कवि व्यङ्ग्यात्मक ढङ्गमा यसरी लेख्छ –

‘मलाई चिन्ता लाग्छ
कतै अम्बानीहरूलाई जिउँदै सहीद भन्यो भने?’
(पसिनाको बाकल)

भारतमा कुनै पनि सरकार गठन भए भने आफुलाई राष्ट्रवादको कट्टर पुजारी भन्छन्। त्यस्तो जाबो राष्ट्रवाद यहाँ स्वाङे मात्र हो। जसले केवल पुँजीवादीहरूलाई जिन्दावाद श्रमजीवि जम्मै मुर्दाको स्लोगन गाएर राष्ट्रवाद शब्दको ब्लात्कार गररे श्रमजीविहरू आफ्नो हक, अधिकार लुट्ने गरेको छ। पुँजीवादीको जोक्सले मक्ख परेको सत्ताले के सुन्थ्यो र गरिबीको रोदन? आखिर किसान बाध्य भई ढुङ्गाको मुटु बनाई निर्जिव बन्न बाध्य बनेका छन्। जसलाई कविले यसरी लेख्छन्।

‘जीवनको डिलमा उभिएर
अन्तिम सुस्केरा तानेर भन्यो उसले
ढुङ्गा फुटाउँदा-फुटाउँदा
म आफैँ ढुङ्गा बनेँ
सरकार अब मलाई फुटाऊ
र बनाऊ आफ्नो देश।’
(देश)

पुँजीवादीले व्यवस्थाले व्यवस्थाले राजनीतिलाई आफ्नो अधिपत्यमा लिएर सत्तालाई आँखा छोप्ने गरेको तर सत्ता पनि यसैमा मक्ख छ। किनभने सत्ताले पाउने गरेको छ फण्ड। यसरी पुँजीवादी व्यवस्थाले पलापिएको सत्ताले श्रमजीविलाई अपहेलना गरेको देख्दा पुकारको कविता बोल्छ –

‘अचम्म लाग्छ
मेरो जीवनको अँध्यारो निभाउन
बाउले आफ्नै जिन्दगी निचोरेर निकालेको पसिना
साला पर्फ्युमभन्दा सस्तो कसरी भयो?’
(बाउको गन्ध)

   २. हल्लुँडको राजनैतिक प्रसङ्ग:-

भारत एक बहुपार्टी राष्ट्र हो। क्षेत्रिय होस् या राष्ट्र पार्टी धाक यसैको चल्छ देशमा। जहाँ सत्ता बोल्छ मान्छेले नियुक्त गरेको भोटको आडमा। तर बोल्दैनन् मान्छे। बोल्न दिँदैनन् र पाउँदैनन् पनि। यदि मान्छे बोले सत्ताको राजनीति आडमा गरिन्छ मान्छेलाई अपहरण। तर सत्ताले अपहरण भने गर्न सक्दैन मान्छेको चेतनालाई। पुकार यही चेतना लिएर उभिएको ज्वलन्त खाँबो हो समाजको।

तर सत्ता शब्द सुन्न साथ रन्किन्छ कविको कनचट। तातिन्छ शरीर। जसलाई बेहद घृणा गर्छ कविले। जहाँ पुगेपछि बिबेकशील मान्छे बिबेकहीन हुन्छ। र बन्छ मानरूपी राक्षस।
यही राजनीतिले बनेका राक्षसिय प्रवृतिको मानिसहरू प्रति विचारलाई कविता रूप दिइ लेख्छन्  कवि –

‘हजारौँ अँगुठाको छापको भारी बोकेर
लाखौँ जनताको आकांक्षा काँधमा बोकेर
एसेम्ली हिँडेको विधायक
एब्सट्रेक हुन् कि आर्टिफिसियल?’
(विधायक)

मानिसमा जन्मेकोदेखि नमरुञ्जेल सम्म घटबड नभई समान रूपमा देखिने मानवीय आकांक्षा हो – लोभ। जसले मान्छेलाई अवसरवादी बनाउँछ। यही प्रवृति आत्मसात गरी राजनेताहरू सत्तालाई शक्तिको रूपमा पर्दशन गर्छन। र घोषित गर्छन आफैँलाई सरकार अनि गुमाउँछ आफुभित्र आम मान्छे। र गुमाउँछ मान्छे हुनुको आइडेन्टिटि। यस प्रसङ्गलाई समाएर कवि पुकार रोचक ढङ्गमा लेख्छ –

‘सरकार!
तिमी सरकार मात्र हुन जान्यौ
एकपल्ट नागरिक भएर हेर त!’
(सरकार)

सत्ता वा सरकारको क्षमता शक्ति पर्दशन मात्र नभएर यसको क्षमता वास्तवमा जनताको सेवा, सहुलियतको प्रदानता पनि हो। तर यहाँ सहुलियत प्रदान गरिने होइन उल्टो खोसिने गरेको छ। जनमानसलले अधिकारको हक माग्दा अँगुठा देखाउने गरेको छ सरकारले। अर्थात् सरकारले अधिकार मुठ्ठी आफ्नो पकडमा राखेको छ यही विसङ्गति राजनीतिको परिपेक्षमा कवि लेख्छन् -.

‘देशले फ्याँकेको कन्डम सोहोर्ने हातले
मृत्यु जस्तै कालो प्लास्टिक बाँड्छ नगरपालिका
उसैगरी चुहिबस्छ
मेरो जीवनको छानोबाट गरिबी।’
(संसद सत्र)

वास्तवमा कवि सत्तादेखि विक्षुप्त हुनको कारण हो राजनीति सङ्कीर्णता। जो राजैतिक विसङ्गतिहरूलाई समाएर कविले कवितालाई वैशाखी बनाएर तिखो राजनैतिक उल्लङघन गर्ने जमर्को गरेको छ। र गरिरहने छ।

   ३. प्रसङ्ग छुट्टै राज्य गोर्खाल्याण्ड –

‘गोर्खाल्याण्ड’ छुट्टै राज्य मागको आन्दोलन सन् १९८६ देखि थालिए तापनि यो अान्दोलन आजसम्म जारी छ। कविको विचारमा आन्दोलन प्राप्तिको निम्ति गुमाएको सहीदको प्राण वास्तवमा निर्थक बनाएको छ पहाडका एजेन्ड नेताहरूले। वास्तवमा आन्दोलनले आजसम्म लक्ष्य प्राप्त गर्न  सकिएको कारण पनि पहाडको राजनैतिक सङ्कीर्णता हो। जसले कविलाई विक्षुप्त बनााएको छ। र चिन्तित बनेको छ कवि।

कविको विचारमा पहाडका नेताहरू सभ्य मानिसको वर्गमा पर्दैन। किनभने आज पनि उनीहरू देशको कर्पोरेटहरूसित मिलेर ‘गोर्खाल्याण्ड’ को मुद्दालाई भात-दाल-चामल सम्झि साटी खानमा तल्लिन देखिन्छ। यसरी सिङ्गो नेपाली जातिको सपनालाई निजि सम्पति ठानी स्वार्थी राजनीति गर्ने नेताहरू र कर्पोरेटहरू सम्बन्धलाई कविले यसरी देखाउँछ, कालेबुङ प्रोटेट कवितामा-

‘८६ ले झुन्ड्याएको जुलुसको टाउको
१३ ले जलाएको मङ्गलसिंहको जिब्रो
दुवैको भाव सोधिबस्छ
कर्पोरेटहरूको देशले।’
(कालेबुङ प्रोटेट)

कविको हेरााइमा राजनीति चेतनाको लिलाम लगाउने बजार हो। जहाँ स्वार्थी राजनीति गर्ने नेताहरूले आफ्नो स्वार्थ प्राप्तिको निम्ति कसरी जनताको चेतनालाई नियन्त्रण गर्छ ,सो कुरा कवि पुकार कवितात्मक ढङ्गमा यसरी देखाउँछ –

‘यो राजनीति कति घटिया छ हगि?
गुङ्गालाई बोल्न सिकाउँछ
बोलेपछि ढाट्न सिकाउँछ
र त्यही ढाँट्ले नियन्त्रण गर्छ जनताको चेतना।’
(विधायक)

तर राजननीति चेतनाको लिलाम लगाउने बजार भए तापनि आलुको बोरामा यदि एउटा आलु कुहिन्दा जम्मै आलु कुहिन्छ भन्ने धारणा कविले सजिलै स्वीकार गर्दैन। अर्थात् एक बिकुवा भई बिक्दा जम्मै बिकुवा हुँदैन भन्ने धारणालाई कवि अात्मसात गर्छन्। र जनतामा ‘गोर्खाल्याण्ड’ प्रतिको अभिरूचीलाई ‘लिपिस्टिक’ विम्बको रूपमा देखाएर लेख्छन कविता-

‘सक्यो खान्दोलन होकि आन्दोलन
तर गाउँको ओठबाट अझ गएको छैन
आन्दोलनको लिपिस्टिक।’
(पेट्रोम्याक्स)

  ४. हल्लुँडमा नारीवाद  –

यस सङ्ग्रहभित्र नारीवादलाई समाएर लेखेको एउटै कविता छ  जो हो सेक्स टोय। शिर्षकलाई साधारण अर्थयाउँदा ‘यौन खेलौना’ निस्के तापनि कविले नारीवादको प्रसङ्ग समाएर वास्तवमा ‘महिला केवल यौनको खेलौना मात्र होइन’ भन्ने अगि सारेको देखिनछ।
प्राचिन समयदेखि वर्तमान समयसम्म नारीहरूमाथिको उत्पीडन सामाजिक र सांस्कृतिक सन्दर्भसँग जोडिएको विषय हो। पुरूष जहिले नारीहरूलाई कमजोर,  दुसाहस, ठान्छन् साथै पुरातन विचारधाराले केवल भोगको साधन बनाएर मान्छे छाप्ने मसीन नै सम्झिएको छ नारी र नारीशक्तिलाई। यस प्रसङ्गमा कवि लेख्छन –

‘बजारवादको क्रियाकलाप देख्दा लाग्छ
कि महिला भनेको मान्छे जन्माउने मसिन हो
कि मात चाहिन्छ, कि रातमा।’
(सेक्स टोय)

भारतीय हिन्दु समाजमा रजस्वला भएकी कि महिलाले ईश्वर आराधरणा गर्न पाइन्दैन भन्ने धार्मिक रूढीवादी मान्यता पाइन्छ। तर आध्यात्मवादको मुजुत्रो ओडेर सजिलै भनिन्छ पुरूष नारी सब बराबर। जसरी पुरूषहरूको स्वप्न दोषलाई प्राकृतिक नियम मानिन्छ र उनीहरूलाई  यसो हुँदा ईश्वर आराधणा गर्नमा कुनै धार्मिक नियम लागिन्दैन तब नारीलाई चाहिँ किन यसो?। कवि पुकारको मगज खाएको छ यही रूढीवादी धार्मिक मान्यताले। जसलाई भत्काउन कवि प्रतिवाद गर्दै धार्मिक मान्यताहरूलाई प्रश्न गर्न पुग्छ –

‘कुन धर्म शास्त्रले भन्यो
कि रजस्वला हुँदा महिलाहरू गोठमा सुत्नु
कुन देवताले घोषणा गर्यो
लोग्नेको गोडा धोएको पानी पिए चोखो होइन्छ।’
( सेक्स टोय)

समाजमा मानिस पाखण्डी विचारका छन्। जसले वर्षै नारीलाई दबाएर एक दिन ‘ह्याप्पी वुमन्स डे’ लेखी आफुले नारीलाई सम्मान गरेको बोक्रो कुरालाई दर्शाई रहेको देखिन्छ। वास्तवमा ह्याप्पी वुमेन्स डे लेख्नुको साटो पुरूषले नारीले हेर्ने सङ्कीर्णतालाई बदल्नु पर्छ तब मात्र सामाजिक, सांस्कृतिक र धार्मिक मान्यताहरूबाट नारी मुक्ति सम्भव छ। कविले पुरूषले नारीलाई हेर्ने सङ्कीर्णता, उत्पिडनबाट मुक्ति चाहेका कुरालाई यसरी दर्शाएको छ –

‘ ८ मार्च नै किन
मलाई ३६५ दिन नै महिला दिवद मनाएको हेर्ने मन छ।’
(सेक्स टोय)

कविता स्केचमा आमा र युद्ध:

म अहिले आख्यान पढ्छु र लेख्छु‌।
तर शुरुवातमा भने मैंले प्रेमिल कविताहरू कोरे। बाल्यकालको बुद्धि, आफैँ वाह्-वाह् गर्थे। साथी-भाईलाई सुनाएर दिक्क पार्थे। अाखिर कविता विधा मार्फत नै साहित्यसंसारमा डुबे। रमाए।

जीवन पहिलो पल्ट इन्द्रबहादुर गुरुङको कवितासङ्ग्रह ‘बेदुइन’ हात लाग्यो। पढे। ‘धाक’ कविता खतरा लाग्यो। र मैले पनि त्यस्तै कविता लेख्न कोशिश गरे, जो प्रेमिल नभएर समाजसँग सम्बन्धित‌‌ होस्। लेखे पनि दिमागले भ्याए जति‌।

पछि म अलिक बुद्धि छिप्पेको केटो भए। उमेर अनुसार मान्छेको इच्छा पनि बढ्छ भन्छ। लेखेर पूरा भएको कविताहरू पढ्थे र म आफैसँग भ्रममा पर्थे। “कविता होकि कथा”।

पछि कालेबुङ आए। कवितासङ्ग्रहहरू हात लाग्यो। पढे। वाह् वाह् गरे। दमदार भने। सङ्ग्रहहरू पढेपछि सोचे, “यतिको त म पनि लेख्न सक्छु “। फेरी कविता लेख्ने जमर्को कसे। लेखे कविता। कविता सवितादेखि बबिता भयो। ‘फुर्कियो भने चुर्किन्छ’ भने जस्तो भए म। र कविता लेख्नै छोडि दिए। बुझे कविता भनेको कम्पलिकेटेट विषय हो मेरो निम्ति, जो म कदापि सोच्न सक्दिन। लेख्न सक्दिन। बहाना पनि बनाए कविताले सम्पूर्णता बोक्दैन। त्यसपछि मैले दिमागमा कवितालाई फाँसी दिए।

लागे कथातिर। कवितादेखि बिछोडियो। दिमागबाट कविता हरायो, सविता-बबिता मात्र रह्यो।
निरन्तर लागे कथा लेख्नमा‌।

कविता नलेखे तापनि हाल दिनहरूमा कविहरूसँग भेट हुन्छन्। भन्छन् “अब त उपन्यास पो लेख्नु थाल्नु पर्यो। कवितामा सम्पूर्णता नै देखाउन सकिन्दैन। थाल्छु अब उपन्यास लेख्नु।” मलाई पनि त्यस्तै लाग्थ्यो र म पनि हाँ मा हाँ मिलाउँथे।

केही दिन अगि पासा पुकार सङ्ग्रह निकाल्नमा व्यस्त थियो। भेट्यो एकदिन।
– ‘सक्यो कविताको काम?’
– ‘सेटिङ चै सक्यो।’
– ‘पिडिएफ छ भने देउन मूला।’
– ‘छैन्।’
– ‘देउन मूला। म समीक्षा लेख्छु।’ (समीक्षा लेखिसकेको थे रिसेटले उडायो।)
– ‘मूला! जता पायो त्यस्तै बाँड्ने होइन नि…’ भन्दै दियो।

रूम आएर खोले पिडिएफ फाइल। नयाँ-पुरानो कविताको मिकसअप थियो। कविताक्रम हेरेर केही नपढेको मौलिक कविता पढ्ने निर्णय बनाए। हेरे कविताक्रम‌। थुप्रै रछ मौलिक कविताहरू। तर सबैभन्दा अन्तिमको

शिर्षकले तान्यो मगज – “आमा र युद्ध”।

पढे। लाग्यो म कुनै चित्रलाई हेर्दैछु र मेरो मगजले त्यसलाई व्याख्या गर्दैछ।

कवितामा पहिलो पल्ट कथा भेट्दा पनि रमााए म। र सन्तावना दिए मनलाई कविताले पनि आखिर कथा नै त बोकेको हुन्छ‌।

धेर भन्दिन। यति भन्छु “लाइफमा पहिलोपल्ट कुनै कविताले मेरो दिमागलाई ब्लात्कार गर्ने कविता छ भने त्यो हो – ‘आमा र युद्ध।”

साला र्यापइस्ट पुकार!!

    निष्कर्ष:
कवि पुकार समकालीन भारतीय नेपाली कवितामा समाज सरोकार लिएर प्रगतिवादी धारालाई प्रतिनिधित्व गर्ने सशक्त युवाकवि हुन्। उनले कविताको माध्यमबाट पुँजीवादी विकृति, राजनीति सङ्कीर्णता, शोषन, निम्नवर्ग र श्रमजीवि प्रति सहानुभूति, धार्मिक तथा सांस्कृतिकको चपेटको परेको नारी समस्या, विद्रोह चेतना, अस्तित्व पीडा आदिलाई जोड दिने गरेको पाइन्छ। अर्थात् प्राय: कविताहरू समाज सरोकारको निम्ति लेखिएको छ। कविले कविताहरूमा मुद्दा उठाएर त्यसलाई प्राप्ति गर्न विद्रोह मात्र नदेखाएर परिणाम प्राप्त गर्ने धौर्यता पनि राख्न अाह्वान गरेको देखिन्छ। चेपारोमा चेपिएकाहरूले निराशावादी भई भोलिको दिनको लागि आशावादी हुनपर्छ भन्ने कविहरूको अर्को उपलब्धि मान्न सकिन्छ। जो सङ्ग्रहमा कविताहरूमा भेटिन्छ –

‘जाबो इत्रु आलीमा कालोदाल र भटमास फल्छ भने
तिमले बाँझै छोडेको चेतनाको खेतमा के-के नफल्ला?’
(हल्लुँड)

‘हार्नु पनि जीवनको सुन्दर पाटो हो
जसले अक्सर दिइरहन्छ जित्नुको अफर।’
(विधायक)

पुकार युवा आक्रोशले भरिएको कवि हुन्‌। युवा भए तापनि चेतना र विचारले कवि परिपक्क छन्। जसलाई उनको कविताहरूले स्वय प्रमाण दिन्छ। यति म विवश भइ भन्न सक्छु कि यही विचारको परिपक्वले उनलाई यस कवितासङ्ग्रहले भारतीय नेपाली समकालिन कवितामा स्थापित गराउने छ। एक कच्चा कवि सच्चा कविमा परिणत हुनेछ।

सङ्गीत नेम्वाङ
कालचिनी, डुवर्स, भारत।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.