कथा : पुतलीको घर र मेरी भाउजु

~बिपिन शर्मा~

त्यहाँ नाटक नहेरे पनि जीवन्त हुन्छ भन्ने कुरा मैले सुनेको थिएँ। गुरुकुलका मित्रहरुले मलाई नाटक हेर्न पटक पटक निम्ता गरिराखेका थिए। यो विचमा म त्यहाँ कैयौं पटक पुगें तर नाटक हेर्न हैन, अन्य कामले नै।

म मन परेको कुराको चर्चा बढिनै गर्ने गर्छु। चाहे त्यो मान्छे होस् वा स्वभाव वा अरु कुनै कुरा । अघिल्लो साता मैले अग्नीको कथा हेरेर आएपछि घरमा नाटकको खुव प्रशंशा गरेको सुनेर मेरी भाउजुलाई पनि नाटक हेर्ने ईच्छा जाग्न थाल्यो। मेरो स्वभाव अनुसार म एक्लै हिंड्ने र एक्लै रमाउने गर्छु। आउने शनिवार “पुतलीको घर” को प्रदर्शन हुने कुराको चर्चाले भाउजुको नाटक हेर्न जाने इच्छामा अझ अभिवृद्धि गरायो। मैले तर्कन खोज्दै भनें “दादा सँग जानुस् न। रमाइलो पनि हुन्छ।” तर साथमा मैले अभिमान पूर्वक यो पनि भनें कि: “भाउजु नाटक त हेर्न लाई पनि कला चाहिन्छ भन्छन्, नत्र त्यो बुझ्न सकिन्न रे। देख्‍न त देखियो तर बुझिएन भने के काम भयो र? “कसौटी जिन्दगी” र “कहानी घरघरकी” जस्तो त पक्कै होइन। जीवनमा जम्मा एउटा नाटक हेरेको मान्छेको यस्तो उक्तिलाई अभिमानपूर्ण भन्ने की नभन्ने भनि मैले सोचिन। उनले पनि मौका पाएको, मलाई त्यसै छोडिनन: “हेर्नुस् बाबु! नारीले कति क्षमता राख्छन् भन्ने कुराको नजरअन्दाज नगर्नुस तपाई। हो उनीहरु गर्दैनन्, तर यो नठान्नुस की उनीहरु सक्दैनन।” मैले प्रतिउत्तरमा मनमनै भनें “पुरुषको काँधमा चडेर आफ्नो उचाई बढेको भान……..”

त शनिवार भयो। आज नाटक हेर्न जानु थियो। भाउजुलाई साथ लान परे पनि मलाई ठूलो आपत थिएन। मेरो दुर्भाग्य भनौं की सौभाग्य उनलाई आजको लागि हिजै कहिंवाट निम्ता आएको थियो। उनी सँधै बाहिर जानुपर्दा जसरी तयार हुन्थिन त्यसरीनै तयार भइन्। हरियो सारी, पहेंला गहना र आकर्षक श्रृङ्गार। जानु अघि मलाई सोधिन्- “बाबु म कस्ति देखिएँ?” हिन्दि टिभि सिरियलका अभिनेत्रीहरुसँग तुलना गर्दा उनको अवमूल्यन होला जस्तो लाग्दा लाग्दै पनि मैले भनिदिएँ , “प्रेरणा जस्ती”।

उनको चश्मा एक सिरियलकी नायिका प्रेरणाको जस्तो थियो। फेरी उनले गलाको हार देखाउँदै सोधिन्: “यो लुगासँग सेट मिलेको छ?” म त्यो विषयको डक्ट्रेड होइनथें, जवाफ कसरी दिन सक्थें र? खै मेरो अनुहारमा कस्तो भाव देखिन् उनले अनि भनिन्: “मलाई थाहा छ तपाईलाई के कुरा मन् परेन भनेर।” मैले स्पष्टिकरण दिने कोशिस त गरें तर त्यो निरर्थक भयो। उनले आफ्नो ओठ तिर इशारा गर्दैन भनिन् “यसरी लिपस्टिक लगाएको मन पर्दैन होइन?” मलाई मन पर्नु वा नपर्नु नै के थियो र। मैले भने “मलाई त कुनै कुरा मन पर्दैन आजकल।”

वास्तवमै किन किन म आजकल कुनै पनि कुरालाई मन पराउँदिन। म सोच्दै थिएँ म किन यसरी असहमत छु सवैसँग। आज उनले लगाएको गहना र उनले गरेको श्रृङ्गार मलाई पटक्कै मन परेको थिएन। तर म के गर्न सक्थें र? भाउजु गएपछि बैठक कोठाको टेविल माथि राखिएको निम्ता पत्र हेरें, जुन हिजो कसैले मेरै हातमा छोडिदिएको थियो।

“…………..को स्वर्गारोहणको छ महिनाको मासीक कार्यक्रममा उपस्थित भइदिनुहुन सादर निमन्त्रणा गर्दछौ ।

……………………….

………………………”

छ महिना अघि उनले यो संसार छोडेका थिए।……… अनि संसार भन्दा प्रिय, मेरो भतिजो जत्रै एक पुत्र र मेरी भाउजुकै उमेरकी एक श्रीमति पनि।

मेरो पनि समय भइसकेछ नाटक हेर्न जाने। म घरवाट निस्किएँ। बाटो भरि मैले जति पनि सारीहरुदेखें तीनलाई बिदुवाको सारी जस्तो देखें जति पनि सिउँदो देखें रित्तो मात्र देखें। गुरुकुल सम्मको यात्रा मलाई अनौठो लाग्यो आज।

नाटक शुरु भयो। पहिलो दृश्यमा एक महिलाको प्रवेश हुन्छ। मेरी भाउजुझैं झकिझकाउ, सजिसजाउ, फरक यतिमात्रकी उसले हरियो नभएर रातो सारी लगाएकी छ। नाटकमा देखाइएको कतिपय दृश्य मेरै घरवाट चोरिएको थियो। नाटकको सुरुवात रमाइलो, ठट्टा, माया-प्रेम अनि मित्रता। खै खास केहि लागेन। जति आखिरी तिर गयो त्यति कथामा गम्भिरता आउन थाल्यो। नाटकघरको सन्नाटामा निरन्तर अर्को सन्नाटा थपिंदै गएजस्तो लाग्थ्यो।

बिचरा नोरा ! ऊनले पतिलाई बचाउनका लागि ऋण लिनुनै उनी र उनको परिवारको बर्बादिको कारण बन्ने अवस्था आउँछ। यस्तो महासंकटमा पतिले साथ दिन त टाढाको कुरा अझ उनीमाथि आरोप थोपर्छ। उनलाई छोराछोरी माथिको हकवाट नै वञ्चित गर्ने निर्णय सुनाउँछ। उनीसँग केहि उपाय हुँदैन, न त आत्महत्या गर्न सक्छिन न त घर छोडेर जानैं। जुन संकट उनी र उनको पतिलाई आइपरेको हुन्छ त्यो टर्छ पनि। जव हेमन्तले सुरक्षित महशुस गर्छ नोरालाई क्षमा गरेर उदारता देखाउन खोज्छ। नोरा अव एक कमजोर नारी रहन्नन्। उनलाई आफ्नो अस्तित्ववोध हुन्छ र आफ्नो सारा जीवन कसैको खेलौना बनेर बाँचेको महसुस गर्छिन्।

ओहो! हेर्दा हेर्दै नोरा कस्तोवाट कस्तो बनिन्। के यी तिनै नोरा हुन् जो हेमन्त ले मैनाचरि भनि बोलाउँदा लाडिएर प्याउलिएर उसको सामिप्यमा रमाउँथिन। मलाई कता काता शंका लाग्छ जव नोराले भन्छिन्:

” ………म के ठान्छु भने सवभन्दा पहिले म एउटा मान्छे हुँ- तपाई जत्तिको मान्छे- म त्यतिको हुनैपर्छ। मलाई थाहा छ, धेरै मान्छेले तपाईकै कुरालाई ठीक भन्छन्, किताबहरुले पनि त्यसै भन्छन्। धेरै मान्छेले के भन्छन् वा कितावमा के लेखेको छ भनेर अव म आफ्नो चित्त बुझाउन सक्दिन। अव म आफैले यी कुराहरु स्पष्टसँग बुझ्नुपर्छ। र आफ्नो ठाउँ बनाउनु पर्छ।”

लाग्छ एउटा आँधि आयो जसले नोरालाई यहाँवाट लगेरै छाड्नेछ।

नोरा फेरि भन्छिन- “……म यहाँ यी आठ बर्षसम्म एउटा अपरिचित मान्छेसँग वाँचेको रहेछु र उसवाट तीन वटा सन्तान जन्माएछु। उफ! सोच्दा पनि कहाली लागेर आउँछ। हुने भए म आफूलाई धुजा धुजा पारेर च्यातिदिन्थे।”

अन्त्यमा नोराले घर छोड्छिन। म भन्न सक्दिन नाटक सकियो कि बाँकीनै छ किनकि म बाहिर निस्कदा नाटक घरको बायाँ एक छाप्रोमुनी नोरालाई देख्छु। म अनुमान गर्न सक्दिन अव उनी के गर्छिन्।

अँध्यारो भइसकेको थियो। म घर तिर लागें। हिंड्दा हिंड्दै मैले घर पुगेपछिको सम्भावित प्रश्‍नको कल्पना गरें “बाबु, नाटक कस्तो रहेछ?” जवाफमा भित्रै देखि मेरो मन दुखेर आयो। सोचें- नाटकका सुरुका दृश्‍यहरु मात्र मञ्चन भएराखेका छन् मेरो घरमा। त्यहाँ देखाएका भन्दा धेरै पात्र छन् मेरो घरको नाटकमा। मलाई लाग्छ- म यताको नाटकमा एउटा पात्र पनि हुँ र दर्शक पनि। मैले अभिनय गरेको नाटकमा मेरी भाउजु मेरो लागि बिहानको एक कप चिया हुन् , दश बजेको खाना हुन्, कहिलेकाहिं दिउँसोको खाजा हुन् र मेरा लुगाहरुमा चिटिक्क पारेर लगाइएको ‍स्त्रि…….., उनी मेरो कोठको सरसफाइ र सजावट …..यस्तै त हुन्। यो भन्दा बढी अरु के हुन् र? म सोच्न थालें, ….उनी मेरो लागि अरू पनि केहि रहिछन्। साँच्चै! एउटा दुई वर्षको पुतली मलाई उपहार दिएकी एक अपरिचित मित्र! फेरि सोचें उनी अरुको लागि पनि त यस्तै यस्तै केहि हुन्। मेरो लागि भन्दा थोरै मात्र भिन्न होलिन्। खै किन हो मेरा हातहरु चश्मा उठाएर मेरो आँखा छाम्न थाले।

भोली गुरुकुलमा पुतलीको घरको अन्तिम प्रदर्शन हुँदैछ। म चाहन्छु की अव यो नाटक कहिल्यै प्रदर्शन नहोस् र भइहाल्यो भने पनि मेरी भाउजुले कदापी हेर्न नपाउन्।

(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.