समीक्षा : भाषिक एकीकरणमा भानुभक्तको भूमिका

~डा. बाबुराम अधिकारी~

आजभन्दा २०२ वर्ष अगाडि विसं १८७१ असार २९ गते गण्डकी अञ्चलकै तनहुँ जिल्लाको रम्घा गाउँ चुँदीबेसीमा धनञ्जय आचार्यका सुपुत्रका रूपमा भानुभक्त आचार्यको जन्म भएको थियो । उनको ५४ वर्षको उमेरमा १९२५ सालमा आफ्नो जन्मस्थानमा नै देहावसान भएको हो । धर्तीबाट बिदा लिएको केही वर्षपछि युवा कवि मोतीराम भट्टले उनका विषयमा खोजी गरेर उनले नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदानलाई बाहिर ल्याए पश्चात् नै उनी नेपाली भाषी समाजबाट सम्मान र प्रतिष्ठा पाउन सफल भएका छन् ।

भानुभक्तले संस्कृत साहित्यका वाल्मीकि र हिन्दी साहित्यका तुलसीदास झैँ रामकथाका गायक बन्दै नेपाली भाषा र साहित्यलाई चम्काउने प्रकाशमान सूर्यको काम गरेका छन् । आज नेपाली भाषा साहित्याकाशमा पश्चिमका होमर, चसर र पूर्वका वाल्मीकि, तुलसीदास जस्तै नेपाली वाङ्मयमा आदिकविका रूपमा भानुभक्त विराजमान भएका छन् । वडामहाराजा पृथ्वीनारायण शाहले राजनीतिक दृष्टिले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा आबद्ध गरे पनि सांस्कृतिक र भाषिक रूपले नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने काम बाँकी नै थियो त्यो काम पुरा गर्ने कार्य भानुभक्तले नै गरका हुनाले आज भानुले प्रत्येक नेपाली भाषीको मुटु छुन सकेका छन्, हृदय पगाल्न सकेका छन् र नेपाली नेपालीमा भावनात्मक एकता कायम गर्न सक्षम बनेका छन् ।

भानुभक्त युगमा नेपालमा संस्कृत भाषाको अध्ययन र संस्कृत भाषामा नै कविता लेख्नु गौरव र प्रतिष्ठाको विषय मानिन्थ्यो भने नेपाली भाषाको अध्ययन र नेपाली भाषामा कविता लेख्नु सामान्य अझ तुच्छ सम्झिन्थ्यो । यस्तो परम्पराका माझमा पनि भानुभक्तले नेपाली भाषाको दाँजोमा अरू भाषा त्यति प्रभावकारी बन्न सक्दैनन् भन्ने कुरा सोच्न सक्नु नै उनको दूरदर्शी दृष्टिकोण र नेपाली भाषाप्रतिको प्रेम स्पष्ट हुन्छ ।

एकीकरण गरिएको नेपाली भूमिका सबै नेपालीहरूका लागि एकताको सूत्रमा बाँध्ने एउटै मात्र आधार नेपाली भाषा उपयोगी भएकाले यसै भाषाका माध्यमबाट आध्यात्मिक भावना फैलाउन र सामाजिक चेतना जगाउन सकिन्छ भन्ने भाव भानुभक्तमा सुषुप्त अवस्था रहेको थियो । यही सुषुप्त अवस्थामा रहेको लोक कल्याणकारी राष्ट्रिय भावनालाई घाँसीका विचारहरूले व्युँझाउने काम गरेको पाइन्छ ।

आफ्नो जीवनभरको कमाइलाई कुवा खनाएर लोकहितको कार्य गरी पछिसम्म नाम राख्ने चाहना व्यक्त गर्ने घाँसी नै भानुभक्त आचार्यका साहित्य लेखनका प्रेरणाका स्रोत बनेको देखिन्छ ।

बुद्धि, विवेक र सामथ्र्य भएका भानुभक्त घाँसीका कुराबाट प्रभावित भई आफू पनि जीवनमा केही महत्त्वपूर्ण कार्य गर्ने निर्णयमा पुग्दछन् । उनीभित्र रहेको कवित्व शक्ति प्रस्फुटन भएर बाहिर निस्कन्छ । उनले नेपाली जनमानसमा सजिलैसँग मिठो रूपले रामकथाका माध्यमद्वारा नेपाली भाषा र साहित्यप्रति आस्था जगाउने काम गरे ।

उनले मेचीदेखि महाकालीसम्म विभिन्न जातजातिमा बाँडिएका सम्पूर्ण नेपाली जातिलाई एउटै सांस्कृतिक सूत्रमा आबद्ध गर्ने नेपाली वाङ्मयको पहिलो महाकाव्य रामायण (१९१०) को रचना गरे । यो कृति अध्यात्म रामायणको भावानुवाद भए पनि यो नेपालीपनले महत्त्व पाएको एवम् पर्याप्त मौलिकता भएको सरस, सरल र सुबोध कृतिका रूपमा अद्यावधि नेपालीहरूका घरघरमा वाचन गरिन्छ । यसै गरी प्रश्नोत्तर (१९१०), भक्तमाला (१९१०) वधूशिक्षा (१९१९), रामगीता (१९२५) र फुटकर कविता लगायत सिर्जनाले भानुभक्तलाई नेपाली भाषा र साहित्यमा उझिल्याएका छन् । उनी नेपाली भाषा र साहित्यका शिखर पुरुषका साथै सम्पूर्ण नेपाली भाषी समुदायका एकताका प्रतीक बनेर उभिएका छन् ।

आदिकवि भानुभक्तद्वारा रचित उल्लिखित सिर्जनाहरू मध्ये सबैभन्दा बढी लोकप्रिय र चर्चित रचना ‘रामायण’ नै हो । विषयवस्तुको प्रतिपादनमा नवीन दृष्टि र मौलिक प्रस्तुति दिने नयाँ भाषाशैलीले गर्दा नै रामायण प्रत्येक नेपालीको जिब्रोमा बस्न सकेको छ । नेपाली भाषामा लेखिएको हुनाले नै नेपालभरि र प्रवासका सबै नेपाली भाषी व्यक्तिहरू माझ व्यापक लोकप्रियता आर्जन गर्न सकेको छ ।

बहुभाषी, बहुजाति र बहुसांस्कृतिक देशमा कुनै एउटा भाषालाई सर्वव्यापक बनाउन सक्ने र सम्पूर्ण भाषाभाषीलाई एउटै सूत्रमा बाँध्न सक्ने सामथ्र्यले नै भानुभक्त नेपाली भाषा एकीकरणकर्ताका रूपमा स्थापित हुन सफल भएका हुन् । नेपालका सम्पूर्ण भाषाभाषीले हृदयङ्गम गर्न सक्ने सरल नेपाली भाषामा लेखिएको रामायण नै नेपाली मात्रका लागि गौरवको विषय बन्यो ।

नेपाली भाषाले राष्ट्रभाषाको मान्यता नपाएको र नेपाली भाषामा रचना गरिएका कृतिलाई आलोचना गरिने कुराको पर्वाह नै नगरी नेपाली भाषामा कृतिहरू रचना गर्ने कार्यले भानुभक्त नेपाली भाषाप्रति अटल आस्था राख्दथे भन्ने कुरा पुष्टि हुन्छ । यही उनको आस्था र विश्वास नै आज नेपाली जाति मात्रको गौरव वृद्धि र नैतिक स्तर उठानको जीवन्त प्रमाण बनेको छ ।

पृथ्वी नारायण शाहले राज्य एकीकरण गर्नुभन्दा अगाडि बाइसी चौबिसी राज्यमा भाषा र व्यवहारिक चलनमा ठुलो तात्त्विक अन्तर थिएन तथापि देशको भौगलिक विकटता, जनसम्पर्कको अभावका कारण नेपाली भाषाका भाषिकाहरूलाई एउटै भाषिक सूत्रमा ल्याएर भाषिक एकताको सन्देश प्रवाह गर्ने आधार खोज्नु स्वाभाविक थियो । भानुभक्तले जहाँबाट राज्य एकीकरणको सुरुवात भयो त्यही पेरिफेरिबाट भाषिक एकीकरण हुन सक्ने अनुभूत गरेँ ।

गोर्खासँग जोडिएको तनहुँमा जस्तो नेपाली भाषा बोलिन्थ्यो त्यसैलाई आत्मसात् गरेर साहित्य लेखेको पाइन्छ । त्यसैले भानुभक्तको भाषामा तनहुँ मुखरित भएको छ । भानुभक्त पूर्वका साहित्यकारहरूको जस्तो दरबारिया प्रभावको अरबी, फारसी र हिन्दीका शब्दले कम महत्त्व पाएका छन् उनले आफ्ना रचनामा संस्कृत वर्णवृत्त आंशिक उपयोग गरे पनि नेपाली भाषा र साहित्यमा यस्तो नयाँ झ्याल उघारेका छन् जसबाट आउने ताजा हावा नेपाली भाषा साहित्यका निम्ति नव जीवनदायी भयो ।
भानुभक्तका रचनामा लोकभाषाले महत्त्व पाएको छ ।

काठमाडौँको छ्यासमिसे भाषिक प्रस्तुतिबाट टाढा रहेर नै उनले शुद्ध स्वदेशी पहाडी खोंचमा प्रयोग हुने शब्दलाई समेटेर कलम चलाए । फलतः नेपाली भाषाको निजत्वको साफ झलक सबभन्दा पहिले भानुभक्त कै रचनामा देखिन पुग्यो । नेपाली ग्रामीण समुदायको माझमा बसेर उनैको शुद्ध बोलीमा लेखेका कविताले मध्य पहाडी भूखण्डमा भाषिक एकताको सम्यताका रूपमा अगाडि बढ्दै जाँदा नेपालभरि नै फैलिन पुग्यो ।

फलतः राजधानीमा हुर्कन लागेको विदेशी परम्परालाई आफ्नै देशको जनभाषाको नयाँ सुगन्ध दिएर भानुभक्तले नेपाली भाषाका निमित्त नयाँ र महत्त्वपूर्ण बाटो देखाए । भाषाको ठेट देशी मर्यादा र निजीपनको भाषिक स्वरूपलाई अगाडि बढाए । तसर्थ भानुभक्तले जनताका बिचमा बसी जनताको भाषालाई महत्त्व दिने काम गरे । नेपाली भाषाको सामाजिक रूप स्थापना गरेर मध्यम श्रेणीका परिवारले बुझ्ने लोकग्राही स्वरूप प्रदान गरेकाले नै नेपाली भाषालाई दह्रो बनाउने श्रेय सर्वप्रथम भानुभक्तलाई नै जान्छ । उ

नले जनताकै भाषामा जनताकै कुरा, जनताकै निम्ति लेखेर नेपाली वाङ्मयको सेवामा अग्रसर हुँदै यस दिशामा जुन एउटा गोरेटो निर्माण गरे, आफ्ना प्रतिभा र साधनाका कारणले प्रकाश दिए, त्यो नेपाल र नेपालीका लागि अविस्मरणीय बनेको हुनाले नै आज हामी उनको योगदानलाई स्मरण गरिरहेका छौँ ।

लेखक पृथ्वीनारायण क्याम्पस,पाेखरा का सहप्राध्यापक हुन् ।

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.