~मायामितु न्यौपाने~
सिङ्गो जिन्दगी
उसले यसरी नै बिताएकी छे
चुल्हो र पँधेरोले चिन्छ उसलाई
घाँस र दाउराले डाक्छ उसलाई
घर आँगन प्रतीक्षा गर्छ उसैको
भत्किएको भित्तो
र मझेरीले पर्खिराख्छ उसैगरी
जसरी पर्खिराखेका हुन्छन्
परिवार र पाहुनाहरू
दिनभर घाममा जीवन सुक्छ उसको
तर कति पनि घाम खेल्न पाउँदैन
उसको आङमा
ऊ त-
अरूबाट उज्यालो माग्नुभन्दा
आफ्नो छायाँ नै मन पराउँछे
भोगाइले यस्तो लाग्छ उसलाई
सधैँ यो घाममा घाम छैन
जिन्दगी पढ्न सक्छौं उसको
उसका ऐनामा
उसका आँखामा
लाग्छ उसलाई
आकाश खुम्चँदैछ
धरती चोइटिँदैछ
आफूसँग पाउँदिन आफैंलाई
अझै धर्ैय छ उसमा
उसैले उदाउनु छ घरमा हर बिहान
र उदाइरहेकी छे आफू अस्ताएर ।
-झापा
हाल- काठमाडौँ
(स्रोत : मधुपर्क, चैत्र २०६३)