~रामप्रकाश पुरी~
१. अदम्य नारी शक्ति :
स्त्रीवादबाट मुक्त रही नारी र पुरुष दुवैको समान गरिमा, काम–पेशा र दायित्वहरूप्रतिको समान मूल्याङ्कन र दृष्टिकोण, केही प्राकृतिक रूपमा भएका व्यवस्थाहरू वाहेक मानवीय विवेक र तजबीजका आधारमा हुने विभिन्न क्षेत्रका व्यवहारहरूमा समान अधिकार, समान हैसियत, समान दायित्वको उद्देश्य राखी असङ्गत– विसङ्गतका विरुद्ध पुरुष वर्गसित हातेमालो गर्दै नेतृत्व र सहभागिता दिन सक्ने÷हुन सक्ने नारी क्षमता अदम्य नारी शक्ति हो । वर्गीय समानता, सामाजिक, राजनैतिक, आर्थिक आदि समानताहरू, लैङ्गिक समानता आदि मूल्य र मान्यताहरूले ओतप्रोत भएर जीवनको बाटोमा मुक्तिको सङ्गीत गाउने दार्शनिक, चिन्तक, योद्धा, लेखक वा कलाकारको उचाइमा उठेका नारीहरूको शक्ति र महत्वले विशेष अर्थ र महत्व राख्दछ । शक्ति भन्ने कुरा आकाशबाट वर्षिएर नारीको शरीरमा प्रवेश गर्ने र अलौकिक लीला देखाउने वस्तु र चमत्कारिता होइन । शक्ति भन्ने कुरा जीवन र जगतलाई बुझ्ने दृष्टिकोण र संसारलाई बदल्न खोज्ने प्रयत्न र परिश्रम तथा अदम्य आँट एवं दृढ इच्छा हो । पुरुषवाद र नारीवादको एकाङ्की एवं पक्षधरतावाट मुक्त रहेको समानता र न्यायको सिद्धान्तलाई आत्मसात गरेका नारी वा पुरुषहरूमा यस प्रकारको शक्तिको प्राचुर्य रहेको हुन्छ । यस प्रकारको सैद्धान्तिक मूल्य र मान्यतामा मानवीय व्यवहारको न्यायपूर्ण व्यवस्थापनको उद्देश्य दृढ र सङ्कल्पित भएर गतिवान भएको हुन्छ । यसमा कसैको पनि एकलौटी सत्ता र हैकमलाई स्वीकार गरिँदैन । तर दुवै (महिला र पुरुष) पक्षको सहअस्तित्वमा सत्तालाई स्थापित गरिन्छ, क्रियाशील बनाइन्छ । अदम्य नारी शक्ति उच्च विचार, उच्च चरित्र, उच्च नैतिकता, उच्च साहस, आँट र दृढ इच्छाशक्तिको प्रतिरूप भएकाले व्यवहारका कैयौँ क्षेत्रहरूमा पुरुषकोभन्दा नारी संस्कारका प्रतिभाहरू अत्यन्त मननीय, सर्वस्वीकार्य, अनुकरणीय, अवलम्बनीय र आदरणीय हुन्छन् । नारीमा चरित्र र नैतिक पक्ष असाध्यै बलियो भएकाले वर्तमानमा पुरुष वर्गले नारी वर्गबाट त्यस प्रकारको संस्कार लिनु, सिक्नु, बुझ्नु एकदम उपयुक्त हुन्छ । नारी ह्दयबाट प्रज्वलित हुने नैतिकपूर्ण स्नेह भाव र सत्य भाव अहिलेको पुरुष वर्गले आत्मसात गरेमा सदाचारी भै कुलत र दुव्र्यसनीबाट अलग रहन सकिन्छ । परस्त्रीगमनको अनाचरण, कुरामा सदाचारी, ब्रह्माचारी तर व्यवहारमा पर्दाभित्र रासलीलाका अनेकन कथाहरूको रचना गर्ने ढोँगी प्रवृत्ति र नारीहरूलाई उपभोग्य साधनको रूपमा बुझ्ने अत्यन्त घटिया सोचाइहरूबाट पनि निवृत्त हुनका लागि नारी संस्कार र सुशीलतालाई नैतिक शक्तिका रूपमा आत्मसात गर्न सके समस्त मनुष्य जीवनको नै हित हुन्छ । नारी संस्कार र शुशीलतालाई कमजोर ठान्ने वा दुरूपयोग गर्ने व्यक्तिहरूको समाजमा सभ्यता र शिष्टता जस्ता नैतिकपूर्ण गरिमाहरू स्थापित हुन सक्दैनन् । सैद्धान्तिक वा वैचारिक रूपले मात्र बखान गरेर नारी अधिकार र सम्मानको संस्कृति स्थापना हुन सक्दैनन् । सिद्धान्त र विचारहरू सही हुन त आवश्यक नै छ । साथसाथै सोही अनुसारको व्यवहार हुन जरुरी छ । होइन भने कुरामा गरिने नैतिकता र आचरणले व्यवहारमा रहेको छाडावादलाई छिपाउने कसरत वाहेक अरू केही पनि काम नगर्ला । नारी आचरण छाडावाद, दुव्र्यसन, रहस्यवाद र अश्लीलताबाट मुक्त रहेको विशिष्ट शक्ति हो । नारी संस्कार स्वनिर्मित कम र प्राकृतिक बढी हुन्छ । तर पुरुष वर्गले नारी वर्गबाट सिक्नु पर्ने र लिनु पर्ने हुन्छ ।
प्राचीन कालदेखि नै नारी शक्तिको अदम्य र अद्वितीय चरित्रलाई स्वीकार गरिँदै आएको छ । नारीको उत्पत्ति कसरी भयो ? त्यो अध्ययनको विषय हो । तर पुरुषको उत्पत्ति त नारीबाट नै भएको हो । किनभने, उत्पत्ति गराउने (जन्म दिने) शक्ति नारी वर्गमा मात्रै प्रकृतिजन्य छ । त्यसैले मातृसत्तात्मक युगले सर्वप्रथम पृथ्वीमा विचरण गरेको थियो । विचरणका कालक्रमहरूमा थुप्रै नारी योद्धा र प्रतिभाहरूले दन्त्यकथाका विश्वासहरूदेखि वर्तमानसम्मका यथार्थहरूमा प्रशस्त मात्रमा ठाउँ लिइसकेका छन् । हिन्दू शास्त्रहरूमा अदम्य नारी शक्तिका रूपमा अम्बिका, काली, लक्ष्मी, सरस्वती, पार्वती, सतीदेवी, सीता, उर्वशी लगायतका सूर–असुर कुल र समाजका थुप्रै नारी रत्नहरूको साहसिक गाथाहरूको चर्चा छ । सृजना र विनासका अवस्थाहरू पनि नारी शक्तिको तजबीजमा सम्पन्न भएका देखिन्छन् । महाभारतमा कुन्तीको भूमिका युद्धवीरहरू जन्माउने आमाको रूपमा छ । आफ्नो छोरा कर्णलाई आफ्ना अरू छोराहरूका विरुद्ध युद्ध नगर्न उनले अन्तिम क्षणमा राजनीतिक कसरत गरेकी थिइन् । तर गरिखाने वर्गमा कर्णको पालनपोषण भएकाले स्वाभिमानको संस्कार दिने र पालनपोषण गर्ने आमाको शक्तिका कारण कुन्तीलाई माताको रूपमा बुझे पनि कर्मभूमिमा उनले (कर्णले) स्वाभिमानकै बिँडा उठाउछन् र युद्ध लड्नका लागि उद्यत हुन्छन् । द्रौपदीको कठिन परिस्थितिको सामना गरिरहेकी नारीको भूमिका प्रष्ट आँखाले देख्न सकिन्छ । त्यस्तै बाइबलमा पनि नारीको भूमिकालाई महत्वका साथ चर्चा गरिएको छ । अन्य धर्म र संस्कृतिमा पनि नारीपात्रको शक्तिबारे अनेक चर्चा–परिचर्चाहरू गरिएका छन् ।
आधुनिक विश्व इतिहासमा नारी विराङ्गनाहरूको शक्तिको महत्ता अत्यधिक प्रथनीय र अवलम्बनीय छ । मानव मुक्तिको सङ्घर्षमा देशभक्तिपूर्ण युद्धमा र लैङ्गिक विभेदका विरुद्धमा नारी शक्तिका विराङगनाहरू अद्वितीय शक्तिका रूपमा देखा परेका छन् । मानव मुक्तिको सङ्घर्षमा रोजा लक्जमबर्ग, देशभक्तिपूर्ण युद्धमा झाँसीकी रानी लक्ष्मीबाई, लैङ्गिक विभेदका विरुद्धमा क्लारा जेटकिनका प्रार्थनीय शक्तिको गाथा छ । अमर इतिहासमा अङ्कित भएका यस्ता अरू कैयौँ योद्धाहरूको गाथा इतिहासभरि देख्न सकिन्छ । म्याडम क्युरीको वैज्ञानिक शक्ति, फ्लोरेन्स नाइटिङ्गेलको सेवा शक्ति, जेनी र क्रूप्सकायाहरूको चारित्रिक शक्ति, च्याङचिङहरूको क्रान्तिकारी दृढ अडान शक्ति आदि नारी रत्नहरूका अभिव्यक्त र रचित इतिहास हुन् । नेपालमा योगमायाको विद्रोही शक्ति सर्वउल्लेखनीय एवं विचारणीय छ । राणा शासनका विरुद्धको सङ्घर्षमा योगमायाले धार्मिक विचारको अत्याधिक प्रयोग गरी आत्मदाहद्वारा शासन सत्तालाई हल्लाएको इतिहास सर्वदा जीवित छ । मदर टेरेसा, बङ्गलादेशकी लेखिका तसलिमा नसरिन लगायतका कैयौँ लेखक, चिन्तक, दार्शनिक, योद्धा, नेता आदिको भूमिकामा रहेर आधुनिक नारी रत्नहरूले ठूलो महत्वको र वैभवशाली इतिहास रचेका छन् । सृष्टि, वृष्टि र दृष्टि नै समस्त ब्रह्माण्डको अस्तित्व हो, जहाँ नारी शक्तिको हिस्सा धेरै नै बृहद देखिन्छ । मातृभूमिलाई कल्पना गरिएको स्वर्गभन्दा महान ठानिएको छ । यक्षले युधिष्ठिरलाई पृथ्वीभन्दा ठूलो को हो भनी यक्ष प्रश्न गर्दा ‘माता’ उत्तर आयो । स्वीकार्य उत्तर भएकोले यक्षको चित्त उज्यालो भयो । युधिष्ठिरले मातृशक्तिको आँकलन राम्रोसँग गरेका थिए । कैकेयी चतुर राजनीतिक नारी थिइन् । युद्धमा शत्रु पक्षलाई भ्रष्ट गराउने र नष्ट गराउनेदेखि लिएर सभ्यताको स्तम्भ उठाउनमा नारी शक्तिको अस्मिता, चरित्र, कुर्बानी, सङ्घर्ष, बलिदानी र अटुट यात्राहरूको महत्वपूर्ण योगदान रहेको छ ।
“पूजा” नाटकमा नाटककार जीवन शर्माले नारी शक्तिलाई अपराजित, विनयशील, दृढ र निश्चयी प्रवृत्ततका रूपमा उभ्याएका छन् । स्रष्टामा नारी जातिलाई बुझ्ने क्षमता यथार्थवादी र भौतिकवादी छ । त्यसैले नाटककार जीवन शर्माले “पूजा” नाटककी पूजालाई जीवनका सङ्घर्षहरूबाट स्थापित सचेतनाको प्रमुख मूल्यको रूपमा अगाडि सारेका छन् । नारी वर्गलाई पुरुष वर्गको मनमौजी उपयोग र उपभोगको साधन ठान्ने, सहानुभूति र दयाको पात्र बनाउने, आरक्षण र ग्राह्यताको व्यवहार र नीतिबाट कमजोर भएको सावित गराउने र शक्तिहीनको रूपमा बुझ्ने सामन्ती प्रवृत्ति, पूँजीवादी आचरण, गलत व्याख्या र विश्लेषणलाई नाटककार जीवन शर्माले सशक्त प्रतिवाद गरेका छन् । नारी सशक्त, योग्य र सम्माननीय हुन्छन् भन्ने सही र वैज्ञानिक निष्कर्षलाई यहाँ स्वीकार गरिएको छ र स्थान प्रदान गरिएको छ । नारीको सम्मान, सराहना र गरिमा गाथालाई न्यायको सङ्घर्ष, सम्मानित जीवनको लडाइँ र पुरुष वर्गसित हातेमालो अर्थात् लैङ्गिक विभेदरहितको धरातलमा खडा गरिएको छ । नारी देवी वा चमत्कार केही होइनन्, जो अलौकिक होस् तर संवेदना, मान, विचार, इच्छाशक्ति भएका मानवहरू हुन्, जुन गुणहरू पुरुषहरूमा पनि हुन्छन् । तसर्थ विभेद कलङ्कित छ । नारीहरूको समस्त मानव जातिको लागि योगदान दिन सक्छन् । लड्न सक्छन् । सङ्घर्ष गर्न सक्छन् । गरिमापूर्ण शक्तिका साथ समाज र राष्ट्रलाई गति दिन सक्छन् । नारीहरूले आफूमाथि पुरुषवादबाट भएका भयानक दुुव्र्यवहारहरूको प्रतिवाद गर्दै समाज, राष्ट्र र समस्त मानव जातिका लागि कुर्बानी गरेका जीवनहरूको इतिहास र वर्तमान हामीसँग छ । त्यसैले नाटकमा प्रस्तुत गरिएको नारी शक्ति कुनै कल्पना वा असम्भव चिन्तन होइन । नाटककारले यथार्थलाई आफ्नो टेक्ने धरातल बनाएका छन् र भोलि निर्माण हुने न्यायपूर्ण समाजका लागि (नारीवाद वा पुरुषवाद दुवै होइन) समानताको स्थान पनि प्रदान गरेका छन् । यसैले यस नाटकमा परिवर्तन र न्यायका लागि न्यायोचित सङ्घर्ष गर्ने नारीमा निहित योद्धाशक्ति, विवेक शक्ति, नेतृत्व शक्ति, सहन शक्ति, दान शक्ति आदि प्रसङ्गहरूलाई नारी शक्तिको महत्ताको रूपमा पाउन सकिन्छ । यी यथोचित र सर्वस्वीकार्य विशेषताहरूले मात्र सामाजिक जीवनमा खोजिएको न्यायपूर्ण भविष्यका लागि वर्तमानमा दिशानिर्देश गर्न सक्ने भएकाले “पूजा” नाटककी केन्द्रीय पात्रको रूपमा रहेकी पूजा नारीवादबाट मुक्त रहेर मुक्तिको कठोर सङ्घर्षमा हिस्सा लिने अगाडि चर्चा गरिएका नारी रत्नहरूको पुनरावृत्ति र समग्र नारी वर्गकै नारी शक्तिको प्रतिरूप पनि हो ।
२. नारी विवेकको शक्ति
अदम्य शक्तिका विविध चरित्रबारेमाथि छलफल गरिएको भएता पनि केही शक्तिको किटानीपूर्वक यस नाटकका प्रसङ्गहरूका लागि गर्नु पर्ने आवश्यकता छ । त्यसमध्ये नारी विवेकको शक्तिका सन्दर्भमा हुने छलफल सान्दर्भिक र महत्वपूर्ण हुन् । समस्त मानव जातिको कल्याणका खातिर सकारात्मक विभाव पैदा भई सङ्घर्षका लागि सक्रिय, विसङ्गतिका विरुद्ध विप्लवी र युक्तिसङ्गतका लागि अडिग हुने चरित्र सद्विवेक हो । दानी, उदार, परोपकारी, धैर्यवान, स्नेही, ममतामयी, साहसी, प्रभावकारी आदि उल्लेखनीय विशेषता र गुणले युक्त नारी विवेकको स्थान सद्विवेक हो । विवेकद्वारा राम्रो र नराम्रो, सङ्गत र असङ्गत छुट्याएर सत्कर्मप्रति सङ्कल्पित एवं क्रियाशील कृतधीको सत्मार्ग नै सद्विवेक हो । सद्विवेकले मानवताका लागि सङ्घर्ष गर्न अभिप्रेरित गर्दछ । यथास्थितिबाट उठेर परिवर्तनको बाटोमा हिड्नका लागि अग्रसर गराउछ । सद्विवेकको सम्बन्ध उज्यालो भविष्यको प्राप्ति र त्यसका लागि गरिने सङ्घर्षसित हुन्छ । सङ्घर्ष भनेको कष्टसाध्य बाटो हो । रगत र पसिनाले मात्र यस्तो कष्टसाध्य यात्रालाई सम्पन्न गर्न सक्छन् । सुन्दर सपनाहरूले कच्चा पदार्थ झैँ अप्रशोधित रूपमा मानव जीवनका इच्छाहरूसित व्यवहार गरिरहेका हुन्छन् । तिनै सपनाहरूलाई लगानी गर्न सक्ने शक्ति सद्विवेक हो, जुन शक्तिले नारी विवेकमा प्रचुरता र प्रवलता कायम गरेको हुन्छ ।
निरपेक्ष रूपमा नारी विवेकको शक्तिलाई बढाइचढाइ गर्नु अधिभूतवादी दृष्टिकोण हुन जान्छ । सबै नारीहरूले विवेकको शक्तिलाई प्रयोगमा ल्याउछन् भन्ने हुन्न । कतिपयले सामान्य जीवनयापनलाई आफ्नो मूल उद्देश्य बनाएका हुन्छन् । कतिपयले सामाजिक सेवासम्मको उद्देश्यलाई प्रमुख बनाएका हुन्छन् र कतिपयले कष्टसाध्य बाटो अख्तियार गरेर पनि यथास्थितिलाई बदल्ने उच्च लक्ष्य बनाएका हुन्छन् । सामान्य जीवनयापनको लक्ष्यमा नितान्त व्यक्तिगत हितका कर्महरू समेटिएका हुन्छन् । यस्तो कर्म गर्नका लागि आर्थिक हैसियतले कुनै फरक पार्दैन । सामान्य जीवनयापनमा व्यक्तिगत हितका सोचाइहरू प्रबल हुन्छन् । यहाँ सामान्य जीवनयापन भन्नाले सामान्य भौतिक सुविधा नभएर यथास्थितिवादी सोचाइहरूलाई इङ्गित गरिएको हो । यो सोचाइ घरानादेखि सामान्य र गरिबहरूसम्म विस्तार भएको हुन्छ । तर सामाजिक सेवाको उद्देश्य बनाउने विवेक शक्तिको अत्याधिक सुधारसित सम्बन्धित हुन्छ । परिवर्तनको इच्छा गर्ने र यसका लािग सङ्घर्ष गर्ने विवेक शक्ति सबभन्दा उच्च र मानवपयोगी हुन्छ । ‘पूजा’ नाटकमा यही नारी विवेक शक्तिलाई प्रतिस्थापना गरिएको छ । ‘पूजा’ नाटककी केन्द्रीय पात्र पूजाले परिवर्तनका लागि आफ्नो विवेकको शक्तिलाई प्रयोग गरेको देखिन्छ । ऊ गाउँको सचेत युुवती हो । पूर्वावस्थामा नै सचेत रूपमा देखाइनुको अर्थ हुन्छ ः त्योभन्दा पनि पूर्वावस्थामा सङ्घर्षको इतिहास छ । त्यही सङ्घर्षले नै उसलाई पछिल्लो कालखण्डमा सचेत प्रतिनिधिको रूपमा विकास गरेको थियो । सङ्घर्षका कारणले इच्छा शक्तिहरू पनि फरक देखिन्छन । कार्यक्षमता पनि फरक हुन्छ र उद्देश्यहरू पनि फरक हुन्छन् । ‘पूजा’ नाटकमा पूजा नेताको रूपमा विकसित भैसकेको अवस्था छ । शोषणका रूपहरू बुझ्न सङ्घर्षको पुष्ठभूमि बिना कसैलाई पनि सम्भव हुँदैन । आफू विभिन्न ढङ्गले शोषित भएको छु भनेर बुझ्नका लागि ज्ञानको ठूलो आकारको आवश्यकता पर्दैन । तर मुक्ति पाउनका लागि गरिने सङ्घर्षलाई निरन्तर रूपमा अगाडि बढाउनका लागि भने ज्ञानको फराकिलो भूमि चाहिन्छ । सङ्घर्षमा सफलता वा असफलतामध्ये जे पनि हुन सक्छ । तर लगातार रूपमा उज्यालो भविष्यप्रतिको आशा र विश्वासद्वारा सङ्घर्षमा सामेल हुने वा नेतृत्व गर्ने कुरा महत्वपूर्ण हुन्छ । यस्तो महत्वपूर्ण विषयलाई आत्मसात गर्न सक्ने क्षमता सङ्घर्षको मैदानबाट प्राप्त हुन्छ, जसले ज्ञानको क्षेत्रलाई फराकिलो पारेको हुन्छ । नारीमा धैर्यता, शालीनता र अडान शक्तिको इतिहास सर्वशक्तिशाली देखिएकाले हरेक क्षेत्रमा उनीहरूले आफ्नो विवेक शक्तिलाई प्रचुर मात्रामा लगानी गर्न सक्छन् भन्ने ध्येय पूजा नाटकले सतहमा ल्याएको छ ।
शोषणका विरुद्धको सङ्घर्ष पूजाको व्यक्तिगत जीवनको लागि लाभ वा हानीको विषय थिएन, बरु सङ्घर्षका कारणले उसको व्यक्तिगत जीवन चौपट हुने सम्भावनाहरू प्रशस्त मात्रामा देखा परेका छन् । उसले जीवनका सुखहरूलाई मुक्त समाजका लागि बलिमा चढाउनु पर्ने छ । यी सबै तथ्यहरूलाई उसले बुझेकी थिई, तथापि ऊ शोषणका विरुद्धको सङ्घर्षमा सामेल भई । विवेक शक्तिले स्वतन्त्रता, अधिकार, मुक्ति, न्याय र समानताको भविष्यलाई बुझ्न सकेको छ । यसर्थ वर्तमानका सबै प्रकारका ज्वारभाटाहरूसित भिड्ने आँट ऊभित्र जुर्मुराएको छ । परिवर्तन, क्रान्ति र न्यायपूर्ण समाजको सपनाले जागृत भएको विवेक नयाँ विधान निर्माण गर्ने शक्तिका रूपमा उदाएको छ । नाटकको प्रारम्भदेखि अन्त्यसम्म क्रियाशील भएका सबै नारी पात्रहरूको विवेक शक्ति प्रबल भएर बोलेको छ । पूजाको विवेक शक्ति सुरुदेखि अन्त्यसम्म परिवर्तनको वाहक भएर प्रकट भएको छ भने नीताको विवेक शक्ति पनि परिवर्तनका लागि समझदारीपूर्ण देखिन्छ । आमाको विवेकले वर्तमान समाजका आमाहरूको अवस्थालाई प्रष्ट्याएको छ । आमाहरू सन्तानप्रति ममतामयी हुन्छन् । यही ममताका कारणले जस्तोसुकै कठिनाइलाई सामना गर्नु परे पनि गर्छन् । तर विषयवस्तुप्रति स्पष्ट हुँदै गएपछि विसङ्गतका विरुद्ध कठोर कदम चाल्ने उनीहरूको स्वभाव हुन्छ । पूजा नाटकमा आमाको स्वभावको विवेक शक्ति शिखरतिर उठेको छ । जस्तो कि उनलाई सन्तान मायाले पहिले कमजोर बनाइरहेको हुन्छ । उनको विवेकलाई जागृत हुनबाट रुकावट गरेको छ । तर सङ्घर्षको वातावरणले उनीभित्र रहेको कमजोर पक्षलाई दृढतामा रूपान्तरण गरिदिन्छ । उनको विवेकले शोषक वर्गका विरुद्ध सङ्घर्ष गर्नका लागि ढोका खोल्दछ र यस प्रकारका सङ्घर्षहरूमा सामेल हुने पूजा जस्ता कैयौँ छोराहोरीहरूलाई आफ्नै सन्तानका रूपमा बुझ्न थालिन्छन् । यसरी आमाको सकात्मक सोचको विकासक्रम विस्तार भएर गएको देखिन्छ । त्यसैगरी प्रतिकुल पात्रको रूपमा अगाडि आएको महिला पुलिसको नकारात्मक विवेकीय भूमिका पनि इमान्दारिताको जगमाथि उभिएको छ । आफ्नो पेशा अनुसारको क्रियाकलापमा प्रतिबद्ध रहनु नारी विवेकको इमान्दारिता हो । यसैगरी सेवाको भावले नर्सबाट गरिएको व्यवहार पनि पेशागत इमान्दाररिताको एउटा कडी हो । नाटकभरि नारी विवेकका सकारात्मक–नकारात्मक भूमिका र स्थानहरूलाई महत्वका साथ आत्मसात गरिएको छ । विभेदपूर्ण सामाजिक व्यवस्थामा नारी विवेकहरू पनि विभाजित हुन्छन् र तिनीहरूको आ–आफ्नो भूमिकाको महत्व हुन्छ । नारी विवेक प्रवल हुन्छ । अवसर प्राप्त भएमा त्यसले नेतृत्वको स्थान लिन्छ भन्ने भावहरू नाटकमा पदार्पण भएका छन् । नाटककारले नारी विवेकको शक्तिलाई उच्च मूल्यका रूपमा बुझाएका छन् । वर्गविभाजित र लिङ्गभेद सामाजिक व्यवस्थाभित्र यस प्रकारको मूल्य–पक्षधरता एक प्रकारको सशक्त विद्रोह हो ।
३. विद्रोह भाव शक्ति
विद्रोहका विभिन्न तहहरू हुन्छन् । विद्रोहद्वारा नयाँ समाज निर्माण गर्ने भाव शक्ति र विद्रोहद्वारा पलायनको बाटोमा उन्मुख हुने भाव शक्ति विश्व दृष्टिकोणसित सम्बन्धित पक्षहरू हुन् । सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक रूपले गरिने विद्रोहहरूमा संसारका नारी जातिको ठूलो भूमिका र स्थान रहेको छ । सामाजिक कलङ्कका रूपका कैयौँ रुढिवादी प्रथाहरूले नारी वर्गमाथि अत्याचार गरेको कुरा सर्वविदितै छ । नारीहरूले हेपिएर त्यस्ता सामाजिक प्रथाहरूका लागि बलि हुनु परेको भएता पनि अन्ततः उनीहरूको निरन्तर विद्रोह र असन्तोषका कारणले त्यस्ता प्रथाहरू विलोप र ध्वंस हुँदै गए । हरेक सङ्घर्षमा पुरुष वर्गलाई पनि सहयात्री बनाउनु पर्छ भन्ने समानताका विचारहरूको पनि उदय भयो । स्त्रीवाद वा पुरुषवादहरू हानिकारक हुन् भन्ने उत्कृष्ट विचार र विवेकहरू पनि जागृत भए । पारिवारिक हिंसा, लैङ्गिक हिंसा, सामाजिक हिंसा, राजनीतिक हिंसा, आर्थिक हिंसा लगायतका हिंसाहरू सभ्य समाजका लागि मान्य भएनन् । तसर्थ आफूमाथि भएका हिंसाहरूको विरुद्ध प्रतिवाद गर्ने विद्रोही शक्तिले नारी समाजमा शक्तिशाली आसन ग्रहण गर्यो । परिणामस्वरूप वर्गीय आन्दोलनहरूमा नारी शक्तिको उपस्थिति महिला आन्दोलनहरूको परिचालन आदि घटनाहरूका शृङ्खलाहरू स्थापित भए ।
“पूजा” नाटकमा नारीको विद्रोही भावनालाई अग्रगामी परिवर्तनका लागि क्रियाशील तत्वको रूपमा प्रस्तुत गरिएको छ । राजनीतिक र आर्थिक स्वतन्त्रता र समानताका लागि भएको विद्रोह शक्तिले नारीहरूलाई परिचालित गरेको छ । प्रतिकृयावादी राजनीतिक सत्ताले अधिकारहरूलाई सङ्कुचन गर्छ भन्ने तथ्य यहाँ सतहमा ल्याएको छ । अधिकारहरू पुरुष र महिला दुवैका साझा वस्तुहरू हुन्, जसको प्राप्तिका लागि नारीले पनि उच्च सङ्घर्षको नेतृत्व गर्न सक्छन् र सङ्घर्षमा भाग लिन सक्छन् । विद्रोह भावहरू छताछुल्ल रूपमा पोखिएका दृश्यहरू नाटकमा देखा परेका छन् । जस्तै, पूजा ः गब्बरेले के गर्दैछ हँ ?
यो विद्रोहात्मक शैलीमा घृणाको भावले भरिएको र प्रतिरोधको अर्थ बोकेको सवाल हो । फेरि पूजाको भनाइ यस्तो छ ः “जेसुकै गरोस् । जे जे पर्छ, सामना गर्दै जाने हो ।”
यो विद्रोह शक्ति र चेतना शक्तिको उच्चतम रूप हो । “सामना” भन्ने कुरासित धेरै गहनता र जिम्मेवारीहरू अन्तरसम्बन्धित छन् । “सामना गर्ने, तर पछाडि नहट्ने” चेतना विद्रोहको शालीनता, वौद्विकता हो । पूजा नाटककी पूजा पात्रका हरेक प्रस्तुतिमा विद्रोही स्वरहरू मुखरित भएका छन् ः
आगोका लप्का छ ह्दयमा झन्
क्रान्तिको वेगसँगै उड्छ मेरो मन
जेलका ढोका तोडेर
फलामे पर्खाल फोडेर
माथि उल्लेखित अभिव्यक्तिहरूले नारी विद्रोह शक्तिको उजागर गर्दछन् । आमाको विद्रोही स्वर यसरी प्रकट भएको छ ः
“तिमी राक्षसहरू १” “मेरो गर्भबाट निस्केकी पूजाले तिमीहरूको सत्यानास गर्ने छ । ऊ एक्लै छैन । संसारभरि उसका साथीहरू छन् ।” “तेरो चिहान खन्दैछन्” आदि ।
आमाको यो प्रस्तुति सुरुमा भएको हैन, गब्बरेका कृयाकलापहरूले यो उचाइमा उठाएका थिए । आमाहरूले उन्नत मानवताका लागि ठूूलो कुर्बानी गर्न सक्छन् । पूजा नाटककी आमा पात्रमा विस्तारै त्यतातिर बढिरहेको विद्रोहात्मक भाव अगाडि आएको छ । नीताको विद्रोह भावमा आरोह–अवरोह देखिँदैन तर आन्दोलनमा निरन्तर रूपमा सहभागी रहेको, सहयोगी भूमिकामा रहेको, इमान्दार र निष्ठावानको रूपमा दृष्यमान छन् । कलाकारको भूमिकामा रहेका महिला कलाकारहरूको सङ्गीत र नृत्यमा विद्रोह, क्रान्ति र नव चेतनाको सौन्दर्यता चम्केको छ । यसले के दर्शाउछ भने असङ्गत कला र संस्कृतिका विरुद्ध प्रगतिशील स्वर, चेतना र कला स्थापना गर्नका लागि विद्रोहको बाटोमा नारी हैसियतले उच्चतम ठाउँ पनि लिँदैछ । यसरी नाटककारले ‘पूजा’ नाटकमा नारी ह्दयमा विद्रोही भावनाको बेजोड शक्तिलाई वस्तुगत ढङ्गले सम्प्रेषण गरेका छन् । धर्मशास्त्रहरूमा उल्लेख भएका नारी रत्नहरूसितको तुलना वर्तमान समाजका विद्रोही नारीहरूलाई गर्न सकिन्छ । यस नाटकमा नारी विद्रोहको भावशक्ति स्त्रीवादबाट मुक्त छ, बरु समस्त मानव जातिको न्याय र समानताका खातिर विद्रोहको बिँडा उठेको छ ।
४. दृढता र आँट शक्ति
पूजा नाटकमा प्रष्टसाथ सामान्य दर्शक, पाठक, समिक्षक जो कसैले देख्न, बुझ्न, लेख्न सक्ने नारी पात्रहरूको दृढता र आँट शक्ति हो । यो विचार र दृष्टिकोणसित सम्बन्धित पक्ष हो । कुनै सङ्घर्ष वा आन्दोलनमा सहभागी हुन वा प्रतिबद्ध भइरहन विचार र दृष्टिकोणबाट उत्पत्ति भएको दृढता र आँट शक्तिले नै दिगोपनाको स्थान लिन सक्दछ र दृिष्टकोणरहित आँट र दृढताको ढिलो–चाँडो पलायन हुने कुरा निश्चित हो । रोजा लक्जमबर्गको दृढता र आँट, च्याङचिङको दृढता र आँट विचार शक्तिको वैभवतामाथि आधारित थियो । ती उच्च प्रकारका विरङ्गनाहरू मात्र होइन र सङ्घर्षको मैदानमा लामवद्ध भएका कैयौँ योद्धाहरूको दृढता र आँटमा विचार शक्तिको वैभवता हुन्छ । “पूजा” नाटकमा स्थापित गरिएकी पूजामा योद्धाको स्तर कायम भएको छ । पूजाको दृढता र आँट शक्तिमा पनि विचारको वैभवताले प्रभाव पारेको छ । दृढता, आँट र शक्तिमा उच्चता छ । कुनै पनि सजाय र यातनाहरूले उसलाई विचलित बनाउन सक्दैनन् । प्रतिरोधको शैलीमा पूजाको अभिव्यक्ति यस प्रकारले प्रस्तुत भएको छ ः
म वीर नारी हुँ हैन अबला
यातनाले म त झन् हुन्छु सवल
फाँसी छ गलामा पैतलामा नेल
मेरा हुन् पाठशाला यिनै जेलनेल
जीत हाम्रो हुने छ सत्य हाम्रो शान
म रक्तबीज हुँ क्रान्तिको निशान १
यस्ता अभिव्यक्तिहरूबाट विचारको वैभवतालाई बुझ्न सकिन्छ र त्यो गतिशील दृढता र आँट शक्तिको महत्ता पनि मननीय छ भन्न सकिन्छ । दृढता र आँटको उच्चतम मूल्यलाई सामाजिक परिवर्तनका लागि उपयोग गर्न सक्ने नारीहरूको प्रतिनिधिमूलक पात्रको रूपमा पूजालाई अगाडि सारिएको छ । आमा, नीता र कलाकर्मी नारी पात्रहरूको आँट र दृढताका शक्तिहरू पनि नाटकभरि औल्याइएका छन् । नाटकमा जीवन शर्माले नारीभित्रको आँट र दृढ शक्तिलाई विचार र दृष्टिकोणबाट उत्पन्न शक्तिको रूपमा उभ्याएका छन् । नाटककारले विचार र दृष्टिकोणलाई केन्द्रमा राखेर आँट र दृढतालाई शक्ति प्रदान गरेका छन् । क्षमता र कुर्बानीका दुष्टिले नारीको दृढता र आँट पुरुषको दृढता र आँट शक्तिसित प्रतिस्पर्धा गरेका छन् । समानतापूर्ण न्याय प्रदान गरिएको छ ।
५. प्रेम शक्ति
अप्ठेरोमा पनि ममतामयी बनेकी पूजा नाटककी आमा पात्रले प्रेम शक्तिलाई जोडदार रूपमा व्यक्त गरेको पाइन्छ । नारीभित्रको निष्कलङ्क प्रेम भावलाई नाटकमा उजागर गरिएको छ । विचार र उद्देश्यको जगमा फक्रिएका स्वतन्त्र युवाहरू (विपरीत लिङ्गी) को प्रेमलाई स्वच्छ, गतिशील, सभ्य र निष्ठापूर्ण रूपमा अगाडि सारिएको छ । आपूmले प्रेम गरेको व्यक्ति सहिद भएपछि पनि पूजाले विचार र उद्देश्यलाई निरन्तरता दिनुमा पनि प्रेम शक्तिको एउटा हिस्सा भन्न सकिन्छ । आमाले आफ्ना सन्तानहरूप्रति व्यक्त गरेको ममतामयी व्यवहार र दुश्मनप्रति व्यक्त गरेको घृणा प्रेमको सही सिद्धान्तमाथि आधारित छ । आफ्नो सहयात्रीका लागि साथीहरूबाट भएको संवेदना वर्गीय प्रेमको उज्यालो पाटो हो । यसरी नाटककार जीवन शर्माले नारीभित्रको प्रेमशक्ति पनि विचार, अनुशासन र शालिनताबाट निर्देशित भएको अत्यन्त उत्तम पराकाष्ठाको रूपमा व्यक्त गरेका छन् ।
यसरी “पूजा” नाटकमा नाटककार जीवन शर्माले नारी शक्तिको महत्तालाई उत्तम नेतृत्व, अदम्य शक्ति, दृढ निश्चयी, विवेकशाली, विद्रोही आदि लक्षणहरूले भरिएको सौन्दर्य शक्तिको रूपमा प्रस्तुत गरेर न्यायपूर्ण सोच अगाडि सारेका छन् । नाटककारले नारी शक्तिको महत्तालाई यसरी उभ्याउनुलाई सभ्य र न्यायपूर्ण भविष्यको प्राप्तिका लागि जायज सङ्घर्षको रूपमा लिन सकिन्छ । नारी शक्तिको महत्ताले नाटकलाई गरिमापूर्ण बनाएको कुरामा विमति नराखे पनि हुन्छ ।
२०७१ जेष्ठ ६ गते
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३९ – Aug.27, 2014 – २०७१ भाद्र ११, बुधबार)