~पूर्ण वैद्य~
कतिपय विचार
व्यवहारमा साट्न नसकी
आजकोबजारबाट
जिन्दगी— म
कैयौँपटक खोटोसाबित भई
फर्केकोछु।
आफ्नै भाउ हराएको
यस सहर–बजारमा
अजङ्गको टल्कने साँपझैँ—
बग्दै आइरहेको सभ्यताको जीउमा
चिप्लिएर
कैयौँ पटक मैले आफैलाई—
हराएर आएको छु
आफैले आफ्नो हुलिया दिएर आएको छु
प्रचलित मूल्यको
सख्त विपरीत— म
दिनहुँ—
अवमूल्यनको—
सिँढीबाट खसेर
बैँसभरिको आँटमा
साँचेर ल्याएको
सिङ्गै रूप मेरो
छताछुल्ल पोखिएका छन्
हिलैहिलोको यस दोबाटोमा
कति टिप्नै नभ्याई
कतिपय मानिसहरूको क्रूर अहम्मा
रूप मेरो चूर्ण भएको छ
जहाँकहीँ कुल्चिएर
यसरी आज म
आफ्नै बन्दो आकृतिबाट
धुजिएर च्यातिएको छु
टुक्रिएर फुटेको छु
आफ्नै इच्छित रूपबाट
विखण्डित— म
टुक्रा–टुक्रा जिन्दगीमा
बेरूप बाँचेको छु
रूप आफ्नो हराउँदै आएको छु।
रूखको विशाल रूप
सूक्ष्मतामा घनीभूत बियाँझैँ
कुण्ठित स्थितिको
सीमिततामा बन्धित— म
आफै रूपको
मात्र, प्रारूप
सीमितता र अनिश्चितताबाट घस्रँदै
आफ्नो रूपको आकाश खोज्न हिँडेको,
फैलिन—
तर, उज्यालो समय खोज्दाखोज्दै
यहाँका फोहोर अँध्यारा समयहरूले
मलाई कति खाएका छन्
कीरा लागेको बीउझैँ।
सान्त्वनाले मात्र
टालेको जिन्दगी— यो।
जहाँ पनि तन्काइराखेको
काँडे–यथार्थहरूमा मात्र
अड्केर—
जिन्दगी मेरो जहाँतहीँ च्यातिएको छ ।
तिमीलाई थाहा छ—
जिन्दगी— म
जहाँ–जहाँ हो च्यातिएको छु
त्यहीँ–त्यहीँ नै मेरो समय
नाङ्गो देखिएको छ
घाउबाट पिपझैँ
त्यहाँ मेरो सत्यबाट
बीभत्स र विसङ्गतिहरू
चुहिँदै आइरहेछन्।
किर्तेमा नै अरूको प्रारब्ध
बेचबिखन हुने
यस सहर–बजारमा
म फेरि आफैलाई बटुल्न आइरहेछु
चूर्ण भएका आफ्ना रूपका कनिकाहरू
सधैर्य जोड्न र फिँजाउन
म फेरि आफ्नो जमिन खोज्न आइरहेछु
मात्र मोलतोलको यस धरातलमा
म फेरि आफ्नो मोल सोध्न आइरहेछु
आफ्नो विचार साट्न आइरहेछु
यहाँका व्यवहारहरूमा ।