~विनय रावल~
जाडोमा—
आङमा— एक धरो लुगा नहुँदा
पेटमा— एक मुठी अन्न नहुँदा
बस्न— एउटा सानो ओढार नहुँदा
एउटी स्त्री
एउटा सानो बालकलाई काखमा गुटमुट्याएर
आँखाबाट सधैँ–सधैँ बलिन्द्र आँसु झारिरहन्थी
र, कहिलेकाहीँ
त्यो बालक चिच्याएको बेला
उसलाई कुट्थी पनि सुस्तरी ।
बालक—
यस्तो किन हुन्छ
नबुझेर एकछिन टोलाउँथ्यो पनि ।
आज बिस्तारै–बिस्तारै
ऊ सबै कुरा बुझ्दैछ
र, विगतका कुराहरू सम्झेर
ऊ धुरुधुरु रुन्छ पनि ।
तपाईं पनि सोच्दै हुनुहोला
त्यो बालक को हो ?
त्यो स्त्री को हो ?
साँच्चै भनूँ
त्यो मेरो आफ्नै कथा हो
र, त्यो स्त्री
मेरी आफ्नै आमा हो ।