~दिल साहनी~
रातिको दस बजेको थियो । म कम्प्युटरमा बसेर कथा कोर्दै थिएँ । मैले पहिले पनि दुई-तीन चोटि मेरै घरमा देखिसकेकी एक जना महिला हुत्तिँदै ढोका खोलेर सरासर मेरो अगाडि आएर खडा भई । मैले उसका अनुहारमा नजर लगाएँ । ऊ रोइरहेकी थिई । उसका आँखाबाट बर्खे झरीजस्तै आँसुका धारा बगेका थिए । बालाजुका बाइसे धाराजस्तै आँसु बगेका थिए । उसको ब्लाउज च्यातिएको अवस्थामा थियो । उसले मलाई रुँदै भनी – दिदी कहाँ हुनुहुन्छ ?
यहीँ छन् । मैले छोटो उत्तर दिएँ ।
म चाहन्थेँ त्यो महिला चुपचाप यहाँबाट जाओस् । उसको उपस्थितिले मेरो कथा लेखनमा निकै धेरै बिघ्न बाधा पुराइरहेको थियो । मेरो एकाग्रता भङ्ग गरेको थियो । मलाई भर्खर टुसाउन थालिरहेको बिरुवा वा पलाउन थालेका पालुवालाई असिनापानीले थिचे जस्तो लागेको थियो । भर्खर बतिला लाग्न थालेका फूललाई हुरी बतासले झारे जस्तो लाग्न थालेको थियो तर मैले के देखेँ भने त्यो महिला त झन् सोफामा गएर बसी । गजधम्म । विना निम्तो आएको पाहुना जस्तै ।
एक छिनपछि मैले कम्प्युटर गरिरहेको कोठामा कल्पना प्रवेश गर्ना साथ त्यो महिला सोफाबाट जुरुक्क उठी र आफ्नो व्यथाकथाको सम्पूर्ण पुराण सुनाउन थाली । भट्भटाउन थाली ।
कल्पना गलैँचामा बसेर उसका कुरा सुन्दै थिइन् । म पनि कम्प्युटर चलाउन छोडेर उसका कुरा सुन्न बाध्य भएँ । उसले कुनै नेताले चुनावी सभालाई सम्बोधन गरेझैँ धुवाँधार भाषणको रूपमा आफ्ना कुरा राख्दै गई । ऊ कुनै काचो वायु उत्रेको व्यक्तिजस्तै सुपरफास्ट ट्रेन वा जम्बु जेट प्लेनको रफ्तारमा बक्दै गई ।
मेरो लोग्नेले मलाई कुटेको छ । मेरो ब्लाउज च्यातिदिएको छ । मैले दिन दिनै मेरो नागरिकता बनाई दे भन्दा सुनेको नसुनी बस्दछ । दुनियाँले सजिलै नागरिकता निकाले । मेरो एउटा नागरिकता समेत पनि भएन । घरभाडामा बस्ने मान्छेले मलाई बदचलन आइमाई भन्यो । म बदचलन आइमाई भनेको सहन सक्दिन । तपाईंहरूले त्यसलाई ठीक गरिदिनु पर्यो । मेरो लोग्नेले मलाई कुट्ने-पिट्ने नगरेको भए भाडामा बस्ने मान्छेले त्यसरी मलाई हेपेर बदचलन आइमाई भन्ने थिएन । मेरो चरित्र हत्या गर्ने थिएन । मेरो यति ठूलो बेइजती गर्ने थिएन । मेरो खिल्ली उडाउने थिएन । मेरो त्यसरी बदनाम गनर्ेे थिएन ।
माओवादीले अहिले कुनै पनि मुद्दा हेर्दैनन् । हामीलाई पार्टीले कुनै मुद्दा नहेर्नु भनेर निर्देशनसमेत दिएको छ । यसैले तपाईंले यो कुरा पुलिसमा रिपोर्ट गर्दा राम्रो हुन्छ । समाजमा शान्तिसुरक्षा खल्बलिन थाले त्यसलाई रोक्ने काम प्रहरीको हो । समाजमा मारपिट भए त्यसमाथि कारबाही चलाउने काम प्रहरीहरूको हो । कल्पनाले धारावाहिक रूपमा एकोहोरो बोल्दै गएकी आक्रोशित महिलालाई बीचमा नै रोकेर सम्झाउँदै बुझाउँदै भनिन् ।
पुलिसमा खबर गरेर केही हुँदैन दिदी । पुलिसले कुनै कारबाही नै गर्दैन । पहिलो कुरो त बदमासहरूलाई पुलिसले समात्दै समात्दैन । कतै समाते पनि त्यत्तिकै छोडिदिन्छ । मैले मेरो लोग्नेलाई पुलिसमा रिपोर्ट गरेर पहिले पनि थुनाएको थिएँ । पुलिसले पकडाउ गरे पनि उनलाई केही नगरी त्यत्तिकै छोडिदियो । एक मुक्का पनि लगाएन । थानाबाट छुटेर आएपछि त ऊ झन् साँढे भएको छ । यसैले तपाईंले हात नहाल्ने हो भने उसले मलाई मार्छ । वाईसीएल लगाएर भए पनि तपाईंले मेरो लोेग्नेलाई ठीक गरिदिन पर्यो ।
कल्पनाले माओवादीमा उजुरी गर्न आएकी महिलाको कुरा ध्यानपूर्वक सुनेपछि मोबाइलमा नम्बर थिचेर वाईसीएलको स्थानीय कमाण्डर प्रकाशलाई फोन गरिन् । उताबाट जवाफ आयो अहिले उनी बाहिर कतै गएका छन् । उनले वाईसीएलका अर्का कमाण्डर मोतीलाई फोन गरिन् । थाहा लाग्यो उनी पनि कतै दाहिने बायेंं लागेका रहेछन् । यस्तो स्थितिमा वाईसीएलको एउटा जत्थालाई घटनास्थलमा पुराउन सम्भव देखिएन । यसैले कल्पनाले छरछिमेकका महिलाहरू र एकाध पुरुषलाई समेत संलग्न गराई एउटा सानोतिनो दस्ता नै खडा गरेर त्यहाँ कुराकानी गर्न जाने सुर कस्दै धमाधम फोन गर्न थालिन् । मैले देखेँ यसरी फोन गरिरहँदा उजुरी गर्न आएकी महिला केही उत्साहित जस्ती भएकी थिई । त्यतिबेला उसका आँखामा एक थोपा पनि आँसु देखिएको थिएन । बरु ऊ कुनै युद्ध जित्न जाने उत्साही सिपाही जस्ती देखिन्थिई ।
मलाई यी सब कुरा धेरै कारणले मन परेको थिएन । पुलिसमा यो मुद्दा परे उसले ३५ दिनसम्म त कागजी प्रक्रिया पुराएर पनि यसलाई फैसला गर्ने होइन कि अदालतमा पुराउने समय लिन सक्दछ । विनाकागजी प्रक्रिया त उसले कैयौँ महिनासम्म लम्बाउन सक्दछ । अदालती प्रक्रिया त झन् लामो हुने नै भयो । उसले दुई वर्षमा कुनै मुद्दाको फैसला सुनायो भने त्यसलाई रकेटको रˆतारमा मुद्दाको टुङ्गो लगाएको मान्न सकिन्छ । उसरी सुरु जिल्ला अदालतबाट मुद्दा लड्दै सर्वोच्चसम्म पुग्नु पर्दा एउटा मान्छेको जीवनकाल समेत मुद्दा लड्नको लागि अपर्याप्त पनि हुन सक्दछ । मैले सोचेको थिएँ कल्पनाले यो कुरा कम्तीमा पनि भोलिसम्मको लागि टार्नेछिन् तर जब मैले देखेंँ उनी दिन र रातको बीचमा पनि कुनै फरक नगरी मुद्दाको अन्तिम टुङ्गो लगाउन एउटा मूलतः महिलाको दलबल लिएर घटनास्थलतिर जाँदै छन् मैले नचाही नचाही पनि मुख खोल्न आवश्यक ठानेँ । मैले हस्तक्षेप गर्दै भनेँ- यो रातिको बेला मान्छेहरू सुतिसकेका पनि हुन्छन् । यो कसैको झैँ झगडा हेर्ने बेला होइन । भोलि बिहान उज्यालो भएपछि मान्छेहरू जम्मा गरेर कुरो के हो बुझे हुन्छ । कस्तो कदम चाल्न पर्ने हो विचार विमर्श गरे हुन्छ । भरसक प्रहरी बोलाएर उसका अगाडि कुरा गर्दा पनि हुन्छ ।
मेरा यी कुराले कल्पना केही खुम्चिए पनि इन्साफ माग्न आएकी महिला निकै असन्तुष्ट भई । नजानिँदो ढङ्गले मप्रति आक्रोशित पनि भई । कतै बम नै भएर पड्किन्छ कि जस्ती देखिन थाली । उसले मनमनै के पनि सोची होली भने मेरो बनिसकेको काम यस मान्छेले बिगारिदियो । कल्पनालाई छिटै लिएर जानलाई सोफाबाट उठेर दुई कदम अघि बढिसकेकी महिला फेरि सोफामा बसेर सुक्क सुक्क गर्दै रुन थाली । केही बेर हराएका आँसु फेरि बर्खे झरी जस्तै र्झन थाले । ऊ तुफानी गतिमा टेप जस्तै बोल्न थाली । तपाईंले पनि मेरा कुरा नसुने अरू कसले सुन्ने । लोग्नेले मलाई रक्सी खाएर यसरी सधैँ कुटिरहने । म यसरी कुटाई खाएर कति बसिरहने । मेरो डेरामा बस्नेले पनि मलाई हेपेर वेश्या भन्ने । म सबै सहन सक्छु तर वेश्या भनेको सहन सक्दिन । मान्छेको चरित्रमाथि यसरी दाग लगाउन पाइन्न । मनमा जे आयो त्यही कुरो बोल्न पाइन्न । गरिब भनेर हेप्न पाइन्न ।
यति भएपछि मैले के पनि बुझँें भने यो महिला अब कल्पनालाई नलगी त्यहाँबाट डिग चल्दिन ।
कल्पना पनि यो महिलाविना कुनै सुनवाई यहाँबाट डिग चल्नेवाला छैन भन्ने निष्कर्षमा पुगेर नै होला उनले अघि नै फोन गरेका टोल छिमेकका दिदी बहिनी र केही पुरुष कमरेडहरूको एउटा सानो तिनो दस्ता लिएर उसको डेरातिर जानलाई त्यहाँबाट उठिन् । महिला पनि सोफाबाट उठेर उनको पछि लागी ।
कल्पना र महिला बाहिर निस्किँदा ढोका लगाउन म अघि बढेँ । ढोकानेर म झगडिया महिलाको नजिक हुन पुगेँ । उसका मुखबाट निस्केको रक्सीको गन्धले मेरो नाकलाई खुम्चायो । मलाई कता कता सारा घर नै रक्सीको भट्टीजस्तो लाग्यो । मैले यसभन्दा पहिले हान्ने गोरुजस्तै दिदी खोई भन्दै आउने महिलाको आकृतिमा देख्ने रणचण्डी रूपमा पछाडि जाँडको स्पष्ट भूमिका देखेँ । मलाई कता कता बवालको विरुद्ध बुलन्द आवाज उठाउँदै हिँडेकी महिला आफैँ एउटा बवाल भए जस्तो पनि लाग्यो ।
रातिको बेलामा मुद्दा मिलाउन कल्पनाहरू ल्ाामालस्कर लागेर निस्केपछि के कुरामा चिन्तित भएँ भने यदि महिलाका लोग्नेका पक्षमा मान्छेहरू बलिया रहेछन् भने त न्याय निसाफ गर्न गएका टोलीहरूलाई उनीहरूले उल्टै थर्काएर फर्काउन पनि सक्छन् । सायद वाईसीएललाई अघि लाएर गएको भए कुरा अर्कै हुने थियो । सायद कल्पनाहरूका कुरा सुन्न उसको लोग्ने बाध्य हुन्थ्यो होला । सही कुरो स्थापित गर्न पनि आखिर ताकत नै चाहिन्छ ।
कल्पना मुद्दा हेर्न राति घरबाट निस्केपछि मैले कम्प्युटरमा बसेर आफूले लेख्न थालेको कथालाई अघि बढाउन सकिन । उतातिर के भयो भन्ने कुराले मेरो मनमा घर गरेपछि कथा लेखनमा ध्यान केन्दि्रत हुन सकेन । घरबाट मुद्दा केलाउन निस्केकी कल्पना यस्तै झण्डै दुई घण्टा पछि फर्किन् । बेल बजेपछि मैले ढोका खोलिदिएँ । गेट त खुलै थियो । उनी कोठामा प्रवेश गर्नासाथ मैले पहिलो आफ्नो असन्तुष्टि प्रकट गर्दै भनेँ- तिम्रो राति राति मुद्दा मामिला हेर्ने कुरा मलाई कत्ति मन परेन । यसरी बवाल मिलाउन हिँड्दा आफैँ पनि बवालमा पर्न सकिन्छ ।
उनले मेरो कुराप्रति आफ्नो प्रतिक्रिया जनाउँदै भनिन्- आज गेट बन्द गर्न ढिलो भएछ । सिधै भित्र पसेर सोफामा धर्ना बसेपछि केही त गर्नै पर्यो ।
मुद्दा मिलाएर नै फक्र्यो त ? मैले प्रश्न गरेँ ।
(स्रोत : मधुपर्क २०६५ चैत)