~लक्ष्मण नेवटिया~
चपाउनु मज्जाले दुई छाक ढुक्कसँग,
कमाउनुमा लाग्नु नुन देखि सुन सम्म,
श्वांसको उकालीओरालीमा अल्मलाउने,
जीउलाई खाना पचाउने भाँडो बनाउने,
के यही हो जिन्दगी?
अल्झिने सांसारिक राप र तापमा,
कहिले सुखदुखको प्राप्त अप्राप्तमा,
कहिले बकुला भक्तिको जापमा,
लोभदास बनेर सेवा पुर्याउने चापमा,
के यही हो जिन्दगी?
विवेक विचार सबै भास्सिएका,
सिद्धान्त एकआपसमा गाँसिएका,
संस्कृति संस्कार मास्सिएका,
ईश्वरीय गुण सब नाशिएका,
के यही हो जिन्दगी?
फूर्सद छैन् कतै चिन्तन मननको,
म को हुँ ?कहाँ को हुँ ? अध्ययनको,
तन को मन भित्रको शक्ति दर्शनको,
आत्मा भित्रका अनेक तीर्थ पर्यटनको,
के यही हो जिन्दगी?
असिमित आकांक्षा पुर्याउने खेलमा,
जकडिएकाछौ तृष्णाको नेलजेलमा,
रितिंदैछ उमेरको गागरो जेलझेलमा,
बग्दैछौं अनवरत उमेरको भेलमा,
के यही हो जिन्दगी???
-लक्ष्मण नेवटिया, बिराटनगर-१२
उद्घोष पत्रिकामा” लक्ष्मणको कुनो” साप्ताहिक स्तम्भमा प्रकाशित “५६४ ” औं सप्ताहकोकविता
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)