~प्रकाश अविनाश~
म चढ्ने बित्तिकै बस हुँइक्याइहालेकोले आफ्नो सन्तुलन मिलाउन सकिनँ , त्यसैले म हुत्तिएर पछाडि पुगें। हुत्याइएको सन्तुलन मिलाउन मैले जुन सिटको डण्डी समात्न पुगेँ, त्यसको ठीक पछाडिको सिटमा एकजना प्रौढ महिला र एकजना हुर्क्यौली किशोरी बसेकी थिइन्। निमेष भरमा प्रौढ महिलाको अनुहार नियालिसकेको मेरो नजर जब ती किशोरीको अनुहारमा पर्यो, त्यहीँ अडिरह्यो।
गोलो अनुहार, पाक्कपुक्क परेका राता गाला, ठूल्ठूला आँखा , सुलुत्त परेको चुच्चो नाक, छरितो जिउडाल भएकी उनीप्रति म यति आकर्षित भएछु कि , हुत्तिएर म जुन अवस्थामा डण्डी समाउन पुगेको थिएँ, धेरै बेरसम्म त्यही अवस्थामा उभिएर उनैलाई हेरेर टोलाउन पुगेछु।
कन्डक्टरले पिठ्युँमा धाप मारेर भाइ तेह्र नम्बर सिटमा गएर बस्नोस् भनेपछि पो म झसङ्ग हुन पुगेँ। संयोग, मैले पाएको सिट उनको भन्दा विपरीत दिशाको तर एक सिट अघिल्लो परेछ ,जहाँबाट मैले अलिकति मात्र मुन्टो बटारेर पनि उनलाई सजिलै हेर्न सक्थें।
बसको सिटमा बसिसके पछि धेरै जसो समय सिधा अगाडि हेरेर यात्रा गर्नु पर्थ्यो, तर मेरो मन, मस्तिष्क र आँखा भर तिनै किशोरीको रुप जमिसकेको थियो , जसलाई सीधा अगाडि हेरेर मैले देख्नै सक्दिनथें। त्यसैले मेरो यात्राको नब्बे प्रतिशत अवधि तिनै किशोरीको तर्फ मुन्टो बटारेर बित्यो।
तन्नेरी केटाले आफ्नो १६,१७ वर्षे छोरीलाई बारम्बार घुरेर हेरेको कसको आमालाई पो सह्य हुन्थ्यो र ! ती किशोरीकी आमाले पनि मलाई मलिनो स्वरमा पटक पटक सरापेको सराप्यै गरिन्। असह्य भए छ क्यारे एकपटक त वरिपरिको सिटका व्यक्तिहरुले समेत सुन्ने गरेर सरापिन् – भर्खर जंगलबाट झरेर मान्छे देख्या जस्तो, घुरेर हेरिराख्छ, थेत्तर मुर्दा। आमाले यसो भनिरहँदा ती किशोरीले भने असजिलो माने जस्तो गरी पुलुक्क मतिर हेरेर घोसे मुन्टो लगाएर बसिन्।
थुप्रै सराप र वरिपरिका सिटका व्यक्तिहरुको खिसी उडाउने व्यवहारको स्पष्ट आभाष पाए पनि यात्रा अवधिभर म सोझो मुन्टो लाएर बस्न सकिनँ। भरसक आमा र वरिपरिका व्यक्तिहरुको आँखा छलेर उनलाई हेर्ने मेरो प्रयास कुनै बेला पनि निर्वाध पूरा हुन सकेन। जब म उनलाई हेर्न मुन्टो बटार्थेँ, उनकी आमाले खाउँला जस्तो आँखा पारेर मलाई सराप्न थालिहाल्थिन्, कहिले फुसफुसे स्वरमा त कहिले हल्का ठूलै स्वरमा र वरिपरिका व्यक्तिका आँखाहरुले मलाई खिस्याउन थालिहाल्थे।
यात्रा सिद्धियो। उनीसँग छुट्टिनु पर्ने खल्लो सोच सँगसँगै म आफ्नो झोला सम्हाल्न थालेँ। बसबाट ओर्लिइसकेपछि टयाक्सी समात्न जाने क्रममा आमाछोरी अघिअघि म पछिपछि पर्र्यौं। अन्तिम पटक उनको अनुहार हेर्ने लालसाले म पनि उनीहरुतर्फ एकोहोरो हेर्दै गइरहेको थिएँ। नभन्दै किशोरीले आमालाई छलेर पछाडि फर्केर मुस्काइन् र पूरा पञ्जा फुकाएर हात उठाइन् (पक्कै पनि मलाइ बाई गरिन् ) अनि आमाको कुममा हात राखिन्। सायद छोरीले पछाडि फर्केर हेरेको आभाष आमाले पाइन् , आमाले पनि मुन्टो फर्काइन्। पछाडि मलाई देख्नासाथ उनको पारो चढिहाल्यो, मुख बिगारेर फुसफुसे गाली गर्दै धारे हात लगाउँदै खकारेर मतिर थुक्दै दुत्कारिन् र छोरीको हात समातेर तान्दै ठिमठिम परेर अगाडि बढिन्।
मलाई भने यात्रा अवधिभरको सराप, खिसिट्युरी, अहिलेको धारे हात , थुकाई दुत्कारले कुनै असर परेको थिएन, अझ असंख्य सराप , सम्पूर्ण समाजको दुत्कार हुन्छ भने पनि म ती किशोरीको मुहार हेर्न अझै लालायित थिएँ, किनकी………
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
…….किनकी म भर्खरै गाउँबाट आफ्नी छोरीको न्वारान गरेर फर्केको थिएँ र ती किशोरीको मुहारमा आँखा भरिरहेको मेरो छोरीको मुहारको किशोरवयको प्रतिरुप देख्न थालेको थिएँ।
(स्रोत : माइ संसार डट कम)
