कविता : नजन्माइएका सन्तानहरुको आवाज

~अल्पविराम~AlpaBiram

हामी जन्मन नपाएर के भो र
बा-आमाको
आँखाहरुबाट संसार हेरिरहेका छौं
मष्तिस्कहरुबाट सोंचीरहेका छौं
फरक यति न हो
दाइ दिदी अथवा
दुई दाइ अथवा
दुई दिदी
मात्र जन्माएर
परिवार नियोजन गर्ने बा-आमाहरु
धन्य हुनुहुन्छ
जन्मनु नपरेकोमा
हामी पनि धन्य छौं
ति बा-आमाहरुलाई साधुबाद
जसले हामीलाई जन्माएनन् /

अन्यथा
छोरी भएर जन्मेको भए
इज्रायलहरुमा यौन हिंशा र श्रम सोषणको सिकार भइरहेका हुन्थ्यौं
छोरा भएर जन्मेको भए
मलेसियाका जंगलहरुमा
गुमनाम जिन्दगी बाँचीरहेका हुने थियौं
अथवा
छोरा छोरी जे सुकै भएर जन्मेको भए पनि
अनेकौं कारणले
काठको बाकसमा सुतेर
मात्री भूमि फर्कीरहेका हुने थियौं
अथवा
त्यो पनि नभए
भोकको ज्वाला शान्त पार्न
पाउरोटी चोरिरहेका हुने थियौं
आफ्नो पहिचानको खोजीमा आफ्नै देश भित्र
फेरि अर्को देश प्राप्तिका लागि
अर्को बन्दुक बोकिरहेका हुने थियौं
आतंकबादी बनिरहेका हुने थियौं /

अनियन्त्रित सन्तानहरु
आंधी बाढी र भूँईचालो हुन्छन्
आंधी बाढी र भूँईचालो पसेको वस्तीमा
लथालिंग र भताभुंग ब्यबस्थापन हुन्छ
महंगीको उचाई सगरमाथा भन्दा माथि हुन्छ
उद्योग धन्दामा अन्धकारको साम्राज्यले
शिक्षित बेरोजगारको कमिला ताँती हुन्छ
अभावको सहकाल लागेर
भोक हुन्छ
रोग हुन्छ
शोक हुन्छ
यस्तोमा नजन्मेका सबै भाग्यमानी हुन्छ /

ए परिवार नियोजन बिरोधी बा-आमाहरु !
अनियन्त्रित सन्तान जन्माएर
कोही बिश्व बिजेता सिकन्दर बन्न सकेको छैन
तिमीहरु मान्छे होईनौ
मान्छेको रुपमा आफ्नै सन्तान खाएर बाँच्ने सर्प हौ
सर्पहरुको
बिषालु पोखरी देश हुन्छ
ईर्ष्यालु फूँकार भाषा र संस्कृति हुन्छ
लासको थुप्रोमा उभिएर मृत्यु बाँड्ने धर्म हुन्छ
समग्रमा सर्पहरु
परिवार नियोजनको बिरोधी हुन्छ /

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.