~डा. संगीता स्वेच्छा~
आउँदा र जाँदाका बाटाहरू
उही निरस भाकामा
लोलाउँदै, टोलाउँदै
हेर्ने र भन्ने गर्छ
मेरो जस्तो तिम्रो पनि
कतै व्यथा छन् कि ?
स्वाभाविक, सरल त्यो प्रश्न
कुन्नी, कुन कुनामा छिर्छ
घोच्छ, दुखाउँछ
अनि, अनायाशै हाँसो उठ्छ
निर्जिव लाग्ने ती बाटाहरू दुखाउँछन्
सोच्दै नसोचेको प्रश्न गर्छन् ।
बाटाहरू कुरूप अनि टाटा भए रे
ढल खन्दा र पाइप राख्दा ।
बल्ल बल्ल लगाएको
अलकत्राको क्रिम माथि
फोहर, मैला थुप्रिए रे
अनि,
मान्छे र जनावरको
लात्ती बाहेक
गाडिहरूले किच्नु किचे रे
यस्तै छन् बाटाहरू
बाटाहरू संगसंगै
आफू भित्रका पीडाहरू उम्लन्छन्
पोखिने जोशमा दौडन्छन्
तरपनि, ओंठ मौन बसिदिन्छ
मानौं, ऊ यस्ता भाकाहरू सुसेल्न
झर्को मान्दैछ
शरिरका सम्पुर्ण अङ्गहरूसंग
नाता तोडेर
ऊ एक्लै रमाउन चाहन्छ
बाटोमा हिंड्ने क्रममै
उसलार्इ बानी पर्छ
र, ऊ यसैमा रंगिन खोज्छ
परिचित यि बाटाहरू
प्रत्येक दिन
यस्तै प्रशंगहरू ल्याउँछन्, सोध्छन्
के तिमिमा परिवतर्न आउँदैन ?
आफ्नै अस्तित्वलार्इ संगालेर
उनीहरू सोध्छन् मलार्इ
ओंठ भने आफै फाटिदिन्छ
बिना कुनै शर्तमा
निर्जीवता भित्र पलाएको
उनको सजीवतालार्इ
कुल्चिंदै, हान्दै अनि ठोक्दै
म यात्रामा हुन्छु
बाटाहरू मलार्इ फर्केर हेर्छन्
प्रत्युत्तरको खोजीमा ।
(‘झन्कार’ – रेडियो नेपालको मुखपत्रमा प्रकाशित)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )