~रवि प्राञ्जल~
विश्वमा साहित्यिक वा सृजनात्मक रचनाको आरम्भ पद्य वा गेयात्मक रचनाबाटै भएको पाईन्छ । पश्चिममा होमरको इलियड, ओडिसी देखि पूर्वीय संस्कृतको आदि ग्रन्थ ऋग्वेद पनि पद्यात्मक नै छ । ऋग्वेदबाटै सामवेदको उत्पत्ति भएको मानिन्छ भने सामवेदकै विकसित रुपमा चार उपवेदमध्ये संगीतशास्त्रको रुपमा मानिने गान्धर्व वेदको निर्माण भएको पाईन्छ । यस अर्थमा संगीतको वीजारोपण वैदिक कालमै भएको पुष्टि हुन्छ । तत्कालिन प्रचलित संगीतको मूल श्रोत जनसंगीत नै थियो । श्रुतिपरम्पराबाट विकसित हुँदै गएको त्यो जनसंगीत नै कालान्तरमा लोकसंगीतका रुपमा स्थापित हुन पुग्यो ।
सभ्य समाजको विकासका क्रममा प्रचलित गीत भित्रका स्वर, लयादि तत्वहरुलाई लिपिवध्द गर्दै संगीतसंग सम्वन्धित शास्त्रको निर्माण भएपछि अभिलिखित गीत संगीतलाई शास्त्रीय संगीतका रुपमा मान्यता प्रदान गरियो । त्यस्ता शास्त्रीय विधा अन्तर्गत धुपद,धमार, खयाल, होरी, ठुमरी जस्ता शास्त्रीय एवं उपशास्त्रीय संगीतको दह्रो स्तम्भ खडा हुन पुग्यो । शास्त्रीय संगीत गाउनको लागि वौध्दिकता एवं प्रतिभा दुवै आवश्यक हुने हुँदा आरम्भमा शास्त्रीय संगीतका पारखीहरु विशेष गरी वौध्दिक वर्गका अतिरिक्त समाजका अभिजात्य एवं कुलिन वर्गका थिए । यसरी कथित उपल्लो वर्ग एवं बौध्दिक समाजमा प्रचलित शास्त्रीय संगीत नागर सभ्यताकै परिचायकका रुपमा रह्यो भने लोक संगीत चाँहि निम्न मध्यवर्ग, किसान, भरिया,दास दासी तथा दमित एवं पिछडिएका नारी वर्गका गीतका रुपमा सीमित रहन पुग्यो । यद्यपि शास्त्रीय सम्पूर्ण संगीतकै ब्याकरण हो । तानसेन जस्ता शास्त्रीय संगीतमा निपूर्ण सिध्द संगीतज्ञ गायकले आफ्नो गायनद्वारा वर्षा गराएको, आगो बालेको र हिन्दुस्तानका कतिपय विशिष्ट तबलावादक तथा पखावजवादकहरुले पागल हात्तीलाई तालवादनद्वारा वशमा परोको घटनाले पनि शास्त्रीय संगीतलाई अत्यन्त उचाईमा पु–याएको छ । तथापि समयको अन्तराल तथा विकाससँगै शास्त्रीय संगीतले पनि लोकसंगीतलाई आत्मसात गर्दै आएको छ । शास्त्रीय सगीत अन्तर्गत चैती, होरी, ठुमरी, सावन जस्ता गीतहरुमा स्पष्टः लोकगीतकै तत्व एवं शैलीको प्रभाव पाईन्छ भने राग पहाडी, माड, पिलु, खमाज जस्ता कतिपय रागहरु सुन्दा वास्तवमा शास्त्रीय संगीतको मूलरुप लोकसंगीत नै भएको पुष्टि हुन्छ ।
आखिर लोकसंगीत नै जनसंगीत भएको हुँदा समयको गतिसंगै जनप्रिय लोक धूनले पनि शास्त्रीय संगीत एवं आधुनिक संगीतमा मान्यता प्राप्त गरी आफ्नो स्थान मजवूत गराइसकेको छ भने लोकगीतका विकासका क्रममा चित्रपट संगीतमा समेत लोकगीतको प्रभावपूर्ण उपस्थिति रहनुले समकालीन संगीतमा लोकगीतले आफूलाई स्थापित गराइसकेको स्पष्ट हुन्छ ।
समकालीन संगीतमा लोकगीतको यति विध्न प्रभाव देखिएता पनि नेपाली लोक गीतका नाममा देखापरिरहेका कतिपय विकृत गीतहरुले नेपाली लोक गीतको स्तरमा ह्रास पु–याइरहेको छन् । यथार्थमा समाजमा परम्परादेखि चल्दै आएको र विभिन्न चाडपर्व एवं मनोरञ्जनका निमित लोकले गाँउदै आएको लोक ब्यवहार झल्कने गीतलाई नै सोझो अर्थमा लोकगीत भनेर वुझिन्छ । लोकगीत शब्दले नै लोक वा सर्वसाधारणको गीत वा जनगीत भन्ने अर्थवोध हुन्छ । तर लोकगीतका नाममा रेकर्ड भई श्रब्यदृश्य माध्यमद्वारा प्रसारमा आउने गरेका सवै गीतहरु यथार्थमा लोकगीत होइनन्, कोठेगीत हुन् । वास्तविध लोकगीत र कोठे लोकगीतको भेदलाई सञ्चार माध्यमहरुले समेत वुझ्न सकिरहेको देखिदैन ।
नेपाली लोकगीतमा निम्न तत्व तथा विशेषताहरु निहित रहन्छन् –
(क) मूल रचयिता अज्ञातः कुनै पनि लोक गीतको मूल रचयिताको नाम ज्ञात हुँदैन । परम्परादेखि समाजमा चलिआएको यस्ता लोकगीतहरुमा मूलरचयिताको नाम अज्ञात रहनु लोकगीतको प्रमुख विशेषता हो । तर कतैकतै लोकगीतसंगै रचनाकारको नाम जोडिएर आएको पाईन्छ । यसरी लोकगीतमा रचनाकारको नाम उल्लेख गरिनु अत्यन्त हास्यास्पद तथा लज्जास्पद कुरा हो भन्ने मान्यतालाई स्थापित गराउनु आवश्यक छ ।
(ख) लोकले रुचाएको भावनाः लोकगीतमा सर्वसाधारण जनताको भावना पोखिएको हुन्छ । ब्यक्तिगत भावमा रचित र जनभावना रहित गीतलाई लोकगीत मान्न सकिदैन । लोकगीत सदैव ब्यष्टी भावबाट उठेर समष्टि भावमा पुगेको हुन्छ ।
(ग) सहज भाकाः जनमानसको कण्ठबाट निःसृत भाका भएकोले लोकगीतको छन्द तथा भाका आफ्नै किसिमको हुन्छ । जसमा कुनै वनावटीपन हुदैन । असारे झ्याउरे, रसिया, कर्खा, सिलोक जस्ता निश्चित मात्रा तथा भाकामा लोकगीतहरुको निर्माण भएको पाईन्छ । कुनै कवि वा रचनाकारबाट यस्ता गीतहरु रचिएको नभई जनमानसकै कण्ठबाट निस्किएको हुँदा लोकगीतको भाका पनि सहज प्रतीत हुन्छ,जसलाई एकदुई पटक सुनिसकेपछि गाउनका लागि विशेष अभ्यास गरिरहनु पर्दैन ।
(घ) चलिआएको रीतिरिवाजः लोकगीतमा परम्परादेखि चलिआएको रीतिरिवाज, धर्म, संस्कृति,पर्व,ब्यवहार झल्किएको हुन्छ । द्यौसी, भैली गीत लगायत वालुन,मारुनी, सोरठी, धान जस्ता नृत्यप्रधान लोकगीतहरुमा समेत परम्परागत रीतिरिवाज एवं तीसंग सम्वध्द आख्यानहरु समेटिएका हुन्छन् ।
(ङ) समाज तथा प्रकृतिको चित्रणः समाज विशेषले भोगेका दुःख, पीडाका भावहरुलाई लोकगीतमा ब्यक्त गरिएको हुन्छ । विशेष गरी ग्रामीण समाजमा ब्याप्त गरीवि, अशिक्षा र चेतनाको कमीका कारण भोग्नु परेको दुःखद अवस्थाका साथै बाढी, खडेरी जस्ता प्राकृतिक असन्तुलनद्वारा सृजित कष्टकर जनजीवनको चित्रण लोकगीतमा भएको हुन्छ भने प्रकृतिको हरियाली, हिमालको सुन्दरता, चराचुरुङीको मधुर गानको वर्णनपनि लोकगीतमा गरिएको पाईन्छ ।
(च) सरल तथा सहज तालमा आधारितः शास्त्रीय संगीत अथवा आधुनिक भावसंगीतमा जस्तो विषम मात्री वा क्लिष्ट रुपको तालमा लोकगीतको निर्माण भएको हुँदैन । सममात्री तथा सरल तालमा लोकगीतको निर्माण भएको हुन्छ । लोकसंगीतको अध्ययनबाट के पुष्टि हुन्छ भने लोकगीतको मूल ताल कहरवा र दादरा नै हो । तालवादनमा सरल तालका नामले प्रसिध्द यी तालहरुलाई धुमाली र खेमटा तालको स्वरुपमा मादल, डम्फू जस्ता नेपाली वाद्ययन्त्रहरुमा बजाईने गरिन्छ । यसका अत्तिरिक्त पाश्चात्य तालबाद्यहरुमा पनि कहरवा र दादरा ताललाई 2/4 र 3/4 Beat मा लोक गीतहरुमा बजाइन्छ ।
(छ) लोक भाषा (जन भाषा) : लोकगीतमा साहित्यका अन्य काब्य विधाहरुमा जस्तो क्लिष्टता पाईदैन । जटिल तथा दुर्वोध्य शब्दहरु रहित लोकगीतमा जनताकै भाषा रहेको हुन्छ । कथ्य बोलीचालीमा प्रयोग हुने भाषाको प्रयोग लोकगीतमा पाइनुले ब्याकरणको वन्धनबाट लोकगीत सदैव मुक्त रहेको देखिन्छ ।
(ज) रागको अपेक्षा तालको प्रधानताः लोक संगीत राग प्रधान नभएर ताल प्रधान हुन्छ । शास्त्रीय वा अन्य आधुनिक संगीतमा जस्तो राग तथा स्वरको चमत्कार लोकगीतमा हुँदैन । तथापि सरल तालमा प्रस्तुत हुने लोक गीतमा पनि विभिन्न प्रकारका तालका छन्दहरुको प्रयोग गरेर रञ्जकता थप्ने काम गरिएको हुन्छ । मादलकै बोल ‘घिन्ती नाधिन घिन्ती नाधिन’ लाई ‘घिन्ताङ ताङ घिन्ताङ ताङ’, ‘ताङ्घि नाघिन ताङ्घि नाघिन’ जस्ता विभिन्न प्रकारका फरकफरक छन्दहरुद्वारा सुन्दर ढंगले लोकगीतलाई सजाउने गरेको पाईन्छ ।
(झ) गीतका शब्दसँगै भााका निर्माणः लोकगीतका लागि शब्द रचना गरेर त्यसमा संगीत वा भाका हाल्ने काम गरिदैन । लोकगीतको शब्द सँगसँगैै गीतको भाका निर्माण भइसकेको हुन्छ । यसरी लोकगीतमा शब्दसँगै त्यसको भाका तयार हुनु लोकसंगीतककै विशेषता हो ।
”असारे मास्को दबदबे हिलो छि मलाई घिन् लाग्यो” यो असारे भाकाको लोकगीतमाा अक्षरका आधारमा र लयका आधारमा अलगअलग मात्रा गणना गर्दा गीतको भाका यसरी प्रकट भइरहेको पाईन्छ ।
१) अक्षरका आधारमाः अक्षरका आधारमा मात्रा गणना गर्दा पाँचौ र दशौं मात्र पछि विश्राम हुने १६ अक्षरी मात्राको गीतको यस्तो स्वरुप भेटिन्छ–
अ सा रे मास् को दब् द बे हि लो छि म लाई घिन् ला ग्यो
१ १ १ १ १ + १ १ १ १ १ + १ १ १ १ १ १= १६ अक्षरमात्राको पंक्ति ।
२) लय (ताल) का आधारमाः लय (ताल)का आधारमा प्रस्तुत गीतको मात्रा गणना गर्दा निम्न बमोजिम १ आवृत्तिमा ६ मात्रा हुने दादरा तालमा यसको लय निर्माण भएको देखिन्छ –
अ सा रे मास् को ऽ दब् द बे हि लो ऽ
छु न लाई घिन् ला ऽ ग्यो ऽ ऽ ऽ ऽ ऽ
पा त ली ना नी लाई फ रि या किन् दा ऽ
छ बि सै रिन ला ऽ ग्यो ऽ ऽ ऽ ऽ ऽ ऽ
× 0 × 0
यसरी अक्षर तथा तालको आधारमा लय भेद रहेर पनि गीतको मूल भाकालाई संशोधन नगरीकनै सहज रुपमा लोकगीतको निर्माण भएको हुन्छ ।
शास्त्रीय संगीतदेखि आधुनिक पप,–याप जस्ता संगीतहरुमा समेत यसरी अत्याधिक प्रभाव जमाउन सफल लोकगीतहरुको जर्गेना गर्दै लोकसंगीतसँग आबध्द टुङना, विनायो, सारङ्गी, मुर्चुङगा जस्ता नेपाली मौलिक वाद्ययन्त्र एवं लोकसंगीतजन्य सम्पूर्ण अभिलेखहरुलाई समेत सुरक्षित राख्नु सम्वन्धित निकायका अतिरिक्त संगीतज्ञ विद्वान, अध्येता, पारखी श्रोता तथा समस्त जिज्ञासुवर्गको दायित्व हुन आउँछ ।
(स्रोत : मधुपर्क २०६३ भदौ वर्षः३९ अङ्क ४ – लोकसाहित्य विशेषाङ्क )