~रेम राना~
माफ गर आमा मैले ठुलो घर बनाउँदिन
किनकि मलाई ठूलो घरको भुतले सताउँछ
मेरो सानै घर भए औकात अनुसार
जे खाए पनि जे लाए पनि सुहाउँछ
देवकोटाका कविता गुन्छु
“साग र सिस्नु खाएको बेस आनन्दी मनले”
जब ठुलो घर बनाउँछु आमा
साइकल चढ्दा लाज लाग्ने भूतले सताउँछ
मोटर साइकल, अनि कारको भुतले बोलाउँछ
मलाई सकी नसकी लवाइखवाइको शानले सताउँछ
“नाम पर्यो सुब्बेनी के खाएर उभ्भिनी”
मेरा श्रीमतीलाई बिसौँ हजारको
सितारा जडित साडी चाहिन्छ
पचासौँ हजारको आइफोन सेट चाहिन्छ
त्यसैले आमा मैले ठूलो घर बनाउँदिन ।
मलाई ठूलो घरको भूतले सताउँछ
भित्रभित्र ऋणले चुर्लुम्म डुबे पनि
बाहिरी शान देखाउनै पर्ने
छोराछोरी महङ्गो बोर्डिङ राखी
सभ्यताको परिचय दिनै पर्ने
प्रिन्सिपलको आसामी जस्तो
कारिन्दा जस्तो झुक्नु पर्ने
त्यसैले आमा मैले ठूलो घर बनाउँदिन ।
मलाई ठूलो घरको भूतले सताउँछ
बरु आमा म आफ्नै औकात अनुसारको घर बनाउँछु
चाहे देखुन् अरूले झुप्रा
त्यो मेरो हृदयको भव्य महल हुने छ
भित्र–बाहिर घरको वरिवरि सफा गर्छु
फूलका बगैँचा बनाउँछु, फूल सजाउँछु
अनि, ताजा स्वच्छ हावा फिजाउँछु
ठुला महलका दुर्गन्ध मेटाउँछु
सर्वहारा मानवतावाद सजाउँछु
त्यसैले आमा मैले ठूलो बनाउँदिन
किनकि मलाई ठूलो घरको भूतले तर्साउँछ ।
(कविता सङ्ग्रह “सङ्घीयताको भारी” बाट)
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क २९ – June 15, 2016 – २०७३ श्रावण १ गते, बुधबार)