समीक्षा : “पूजा” नाटकमा विचारको प्रभाकारिता

~रामप्रकाश पुरी~

१. “पूजा” नाटकको राजनीतिक सङ्घर्षसम्बन्धी दृष्टिकोण

नाटककार जीवन शर्माले मुक्तिकामी जनताको वर्तमान सङ्घर्षलाई राजनीतिक रूपले अग्रभागमा ल्याइदिएका छन् । राजनीतिक चेतना विना मुक्तिको आन्दोलन चल्न सक्दैन । जुन वर्ग अपेक्षित रूपमा चेतनाबाट जागृत छैन, आफ्नो शोषणको कारणलाई बुझ्न अक्षम छ र आफ्नो शक्तिप्रति अनभिज्ञ (मेहनतकश जनताको विशाल तप्का), त्यसलाई जागृत गराउन राजनीतिक रूपमा सही विचार र दर्शनको महत्वलाई नाटकभित्र प्रवेश गराइएको छ । सामाजिक वर्गहरूको सङ्घर्षको स्वरूप पहिले सामाजिक तथा आर्थिक उत्पीडनबाट उठान हुन्छ । त्यसको विकास राजनीतिक तहसम्म हुन्छ । अन्यायमा पिल्सिएका मानिसहरूले जीवनलाई अत्यन्त बोझिलो मानिरहेका हुन्छन् । त्यसैले उनीहरूले वैराग्य धुनमा काल (मृत्यु) लाई निमन्त्रणा गर्दछन् । जब विश्वास र आशाहरू अँध्यारोमा बिलाउन थाल्छन्, त्यसपछि निराशाको कुहिरोले यत्रतत्र सर्वत्र ढाक्न थाल्छ । यो सबै समस्याहरू सही राजनीतिक विचार, दर्शन र आदर्शको अभावमा सृजना भइरहेका हुन्छन् । जीवनको सही दर्शनलाई बुझेर त्यस अनुसार सङ्घर्षको पाइला बढाएमा न्यायपूर्ण समाजको रचना गर्ने शक्ति र क्षमता उत्पीडितहरूकै वशभित्र छ भन्ने दृष्टान्त यो नाटकमा देख्न सकिन्छ । जस्तो कि निराश शेरसिंहले गीत गाउँछन् ः

उर्ली बग्ने गन्डकी त सुस्त बग्ने भेरी
एकै बारको जीवन हाम्रो
लौ नि तारु फर्कदैन फेरी
बसौँ शितलमा………

यसरी शेरसिंहको गीतमा सङ्घर्षको लक्षणा पाइँदैन । आशा र विश्वासहरू मृत अवस्थामा पुगेका देखिन्छन् । “बसाँै” भन्ने आग्रहले “अगाडि केही पनि छैन” भन्ने अनास्था र अविश्वासको विजारोपण गर्दछ । यो अन्यायी समाजको सांस्कृतिक संस्कार हो । अन्यायलाई सहँदै जीवन भुक्तानी गरेर मृत्युवरण गर्नु पर्छ भन्ने अन्यायी व्यवस्थाको उपदेश मानिसको सांस्कृतिक संस्कारका रूपमा प्रकट भएको तथ्यलाई यसले स्पष्ट गर्न खोजेको छ । तर अर्काेतिर, उज्यालो पक्ष पनि छ । अन्यायी व्यवस्थाले आफू प्रतिकुलताका धारणाहरूलाई पनि जन्म दिइरहेको हुन्छ । अन्यायी व्यवस्थाको प्रतिकुलता भनेको न्यायपूर्ण व्यवस्थाका लागि चल्ने वा गरिने आन्दोलन, सङ्घर्ष र युद्धहरू नै हुन् । व्यवस्था न्यायपूर्ण वा अन्यायपूर्ण जे भए पनि यसलाई राजनीतिक सिद्धान्तले दिशा–निर्देशन गरेको हुन्छ । राजनीतिक सिद्धान्तका विरुद्ध राजनीतिक सिद्धान्तहरू नै विकल्पमा आउँछन् र अनुकुल र प्रतिकुलताका वातावरण सृजना हुन्छन् । आफू अनुकुलको संस्कार निर्माण गर्न खोज्नु हरेक राजनीतिक व्यवस्थाको उद्देश्य हुन्छ । सांस्कृतिक पद्धति र आर्थिक प्रणालीले कुनै पनि सामाजिक व्यवस्थाको स्थायित्वको सम्बन्धमा विशेष महत्व राख्ने भएकाले यी सन्दर्भहरूको मूल्य बढी भएको हो । कुनै पनि सामाजिक व्यवस्थाले सांस्कृतिक मूल्यहरूलाई आफ्नो सुरक्षा कवचको रूपमा उपयोगमा ल्याउने गर्दछ । यसरी ती सांस्कृतिक मूल्यहरू संस्कारमा रूपान्तरण हुन्छन् । आफ्नो जयगान भएमा मात्र अस्तित्व रहन सक्ने भएकाले पनि आफू अनुकुलका सांस्कृतिक व्यवहारलाई ल्याउनु पर्ने स्थिति देखिन्छ । यही सन्दर्भसित नै नाटकको एक पात्र शेरसिंहको प्रारम्भिक गीतले मेल खान्छ । क्षमता र विवेकलाई आफू अनुकुलमा पार्नुको अर्थ हुन्छ– वर्गीय पक्षधरतामा नै सबै संस्कार जन्मिरहेका हुन्छन् । जीवनका शून्य मूल्यहरूलाई साथमा लिएर बाच्नु पर्दाको अवस्थामा अन्यायप्रति सहनशीलता, भविष्यप्रति उदासिनता र जीवनप्रति विरक्तता हुने जस्ता संस्कारहरूले स्थान लिन्छन् । त्यसरी जीवनलाई मरणको दोसाँधमा उभिन बाध्य पार्ने तत्वको रूपमा नीति–नियमहरूको रचना गर्ने पक्ष र व्यवस्था नै अन्यायी भएकाले मानव जीवनका व्यावहारिक पक्ष र संस्कारहरूमा आशा र विश्वासको शक्ति निर्वल भएर जान्छन् । यसैले समाजमा हेपिएको वर्ग पनि शोषक वर्ग र त्यसको राज्यसत्ताप्रति मौनता साँधेर बस्न थाल्दछ । शोषित वर्ग जति बढी मौन भएर बस्न थाल्दछ, त्यति धेरै फाइदा शोषक वर्ग र त्यसको राज्यसत्तालाई हुन्छ । यसरी संस्कार र व्यवहारहरू विद्रोही स्वरूपमा खडा हुन सक्दैनन् भने पुरानो र अस्थायी राज्यव्यवस्थाका पक्षधरहरूले आरामपूर्वक मानव जातिमाथि आफ्नो शोषणको जाँतो घुमाइरहन्छन् । उनीहरूको अन्यायले समाजमा शासन गरिरहन्छ । प्रस्तुत “पूजा” नाटकमा शोषक वर्गका विरुद्ध खडा हुने उदीयमान वर्गीय विचारले प्रमुख ठाउँ पाएको छ । सङ्घर्षशील पक्षहरूको विकासोन्मुख शक्ति र सङ्गठनले विस्तारै व्यापक रूपधारण गरेको छ । यसको सूत्रधारमा गतिशील विचारलाई अगाडि सारिएको छ । “सम्झौता हैन, सङ्घर्ष” को बाटो गतिशील विचारले ग्रहण गरेकाले सम्झौतामा रमाइरहेको शेरसिंहको संस्कारलाई डबलसिंहको संस्कारले रूपान्तरण गर्ने प्रयत्न गरेको छ ः

सुस्त बग्ने भेरी….
फटाहालाई मास्नै पर्छ लौ नि तारु
मौका हेरी हेरी उठौ लौ किसान

डबलसिंहले विकल्पमा दिएको यो संस्कार समाजका शोषक वर्गीय पात्रहरूलाई पाच्य हुँदैन । उसको यो गीतले यस नाटकको प्रतिकुल पात्र गव्बरे (जसले शोषक वर्गको प्रतिनिधित्व गर्दछ) लाई रिस उठ्छ भने शेरसिंहलाई जागरुकतातर्फ डो¥याउँछ । यसरी विचारबाट अभिव्यक्त भएको संस्कारले समाजका विपरीत वर्गहरूलाई फरक–फरक अनुभव र संवेदनाहरू पैदा गराउँछन् । त्यसैका आधारमा राजनीतिक सङ्घर्षमा फरक वर्गका साथ विचारहरू विभाजित हुन्छन् । त्यसपछि वर्गीय राजनीति समाजमा देखा पर्दछ । राजनीतिक सङ्घर्षहरू समाजका फरक वर्गहरूले सञ्चालन गर्दछन् । यसमा शोषक वर्ग र शोषित वर्ग नै प्रतिनिधि पात्रको रूपमा देखा पर्दछन् । “पूजा” नाटकले फरक वर्गको राजनीतिक सङ्घर्षलाई सतहमा ल्याएको छ । सामाजिक परिवर्तनमा भूमिका खेल्ने पक्षहरूमा राजनीतिक विचारको प्रभावकारितालाई नाटकमा कुशलतापूर्वक प्रकाशमा ल्याइएको छ । राजनीतिक रूपमा सचेत हुँदै जानु र आफ्नो हक, अधिकारका लागि सङ्र्घषको भूमिकालाई फराकिलो बनाउँदै लैजानु परस्पर सम्बन्धित विषयहरू हुन् । संस्कारमा रूपान्तरण हुन विचारको रूपान्तरण हुन जरुरी छ । विचारलाई यथास्थितिमा राखेर संस्कार बदलिँदैन । विचारको सम्बन्ध राजनीतिक दृष्टिकोणसित हुन्छ । राजनीतिक दृष्टिकोणको आधारमा निर्माण भएको राज्यव्यवस्थाले संस्कारहरू उत्पादन गर्दछ । यसर्थ कुनै नयाँ संस्कारहरू स्थापना गर्नका लागि राजनीतिक व्यवस्था नै बदल्नु पर्छ । राजनीतिक व्यवस्था बदल्नका लागि राजनीतिक दृष्टिकोण र विचार चाहिन्छ । “पूजा” नाटकले सुक्ष्म राजनीतिक दृष्टिकोणलाई पहिले स्थापना गर्छ र सामाजिक व्यवस्थाका व्यवहारहरूले पात्रमा राजनीतक दृष्टिकोण फराकिलो पार्दै लगेको कुरालाई पुष्टि गर्दछ । यसरी नाटकले राजनीतिक दृष्टिकोणको औचित्यतालाई उच्च स्थानमा राखेको छ ।

२. “पूजा” नाटकमा राजनीतिक सङ्घर्षको अवस्था :

मुख्यतः यो नाटक राजनीतिक सङ्घर्षका आधारमा फरक खेमाबाट सङ्घर्षमा सामेल भएका वर्गचरित्रको चित्रण हो । उनीहरूको चेतना स्तर पनि समान प्रकारको छ । शोषक वर्गीय चरित्रले औद्योगिक युग कालीन चिन्तन बोकेको छैैन, बरु सामन्त कालीन चिन्तन प्रणालीद्धारा निर्देशित छ । उसले बलजफ्तीको तरिकालाई सामान्तवादी ढाँचाको विरासतबाट नै अँगालेको छ । उसको वौद्धिक स्तर, शैक्षिक गुण र परिवर्तित बजार व्यवस्था बुझ्ने शोषकीय क्षमता तल्लो तहमा छ । शोषक वर्गीय प्रतिनिधि गव्बरे सामन्तवादी विचारबाट निर्देशित भएका कारण उसको शोषण गर्ने प्रवृत्तिमा औद्योगिक प्रभावको अभाव छ । यस्तो अवस्थामा सामाजिक वर्गहरूमा पिछडिएको उत्पादन प्रणाली (सामन्तवादी) ले आर्थिक शासन गरिरहेको हुन्छ । सम्पूर्ण लाभहरूलाई आफूमा केन्द्रित गर्ने प्रवृति सामन्तवादी प्रतिनिधिहरूको मुख्य विशेषता हो । आफू वाहेकका अरू जम्मै प्राणीहरूलाई तुच्छ सम्झिएर तिनीहरूमाथि शासन गर्नुलाई यसले आफ्नो सफलता ठान्दछ । त्यसैले आफ्नो विरोध हुनुलाई यस प्रवृत्तिले आकास खसे झैँ ठान्दछ र तुरुन्त दमनको मार्ग अवलम्वन गर्दछ । यसले विरोध हुनाको कारणलाई खोज्ने हैसियत राख्दैन । किनभने उसले आफूलाई “सत्यम् शिवम् सुन्दरम्” को रूपमा सोच्दै आएको हुन्छ । उसले जे सोचेको भएता पनि उसका मूल्य र मान्यताहरूले समाजमा विरोधको शक्तिलाई माथि उठाइरहेका हुन्छन् । शोषित वर्गका मान्छेहरूले पहिले–पहिले सबै ज्यादतीहरूलाई चुपचाप सहन गर्दै गए पनि पछि–पछि आफनो मुख फोर्दै जाने सिलसिला बढ्छ र उनीहरू (उत्पीडित) का बीचमा एकता पनि मजबुत हुँदै जान्छ । तर सङ्घर्ष र विरोधका प्रयासहरू पनि स्तरीय छैनन् । “ढुङ्गाको जवाफ इँटले” भने जस्तै प्रतिकार गर्ने शैलीहरू पनि असङ्गठित र रोषपूर्ण छन् । किनभने सङ्घर्षको थालनी पनि सामन्ती उत्पादन प्रणालीको जगबाट नै हुने भएकाले पक्ष–विपक्ष शक्तिहरूले परस्पर विरोधी र समान प्रकारको चेतना शक्तिमा निर्भरता लिएका छन् । डबलसिंहले “फटाहालाई मास्नै पर्छ” भन्ने उद्गार गव्बरेको आफूलाई “सत्यम् शिवम् ुसुन्दरम्” ठान्ने सोचाइका विरुद्धको हाँक र चुनौती हो । आफूले नै फट्याइँ गरेको छु भन्ने महशुस हुनाका कारण गव्बरेले तुरुन्त “कसलाई भनिस् फटाह ?” भनेर जाई लाग्छ । फटाह प्रवृत्तिले जसलाई आलम्व बनाएको हुन्छ, त्यस प्रवृतिका विरुद्ध प्रतिरोधको वाण उठ्ने वित्तिकै त्यो आलम्व धर्मराउन थाल्छ । यहाँ गव्बरेको स्थिति त्यही रूपमा प्रकट भएको छ ।

सङ्घर्षमा राजनीतिक दृष्टिकोणको विकासको क्रमवद्धता छ । पुलिसले शक्तिशालीहरूका तर्फबाट किन आफ्नो ड्युटी पूरा गर्छ ? एउटा गम्भीर प्रश्नको उत्तर खोतल्ने गरी नाटकको सुरुवाट हुन्छ । आफूमाथि अन्याय गर्ने शोषक वर्गका विरुद्ध शोषित वर्गका मानिसहरूले आफूलाई सङ्गठित र सचेत बनाउन खोजेका मात्र हुन्छन् । तर राज्यको शासन व्यवस्थाभित्र अमन चयन कायम राख्ने गरी कानुनको रखवाला बनेको पुलिसले गव्बरेका लागि नै किन वहुसङ्ख्यक जनसमुदायमाथि धरपकड र दमनको नीति अपनाउँछ ? यहाँ स्पष्ट हुन आवश्यक हुन्छ कि राज्यका विभिन्न निकायका तल्लो तहका सुरक्षाकर्मी तथा निजामति सेवाका व्यक्तिहरू अक्सर गरेर जनताकै छोराछोरीहरू हुन्छन् । यद्यपि उनीहरूले राज्यको आदेशको पालना गर्नु कर्तव्य भएकाले जनताकै विरोधमा आफ्ना गतिविधिहरू अगाडि बढाउँछन् । यसैले पुलिसको चरित्रलाई राज्य व्यवस्थाको नीतिले निर्धारण गरेको तथ्यलाई यहाँ स्मरण गर्नु पर्ने हुन्छ । राज्य व्यवस्थाको रक्षाका लागि परिचालित पक्ष र मुक्तिकामी चेतनाहरूका बीचमा हुने सङ्घर्ष नै राजनीतिक सङ्घर्षका रूपमा देखा परेको छ । राजनीतिक चेतनाहरूलाई माथि उठ्न नदिनका लागि राज्य र सरकारले गव्बरेहरूको हालीमुहालीलाई नै हुर्काउनु पर्ने हुन्छ । त्यसको सहयोगार्थ उसले राज्यको पुलिस–सेवा आदि शक्तिलाई विभिन्न ढङ्गले प्रयोग गर्नु पर्ने हुन्छ । “पूजा” नाटकमा राज्यको राजनीति गव्बरेको (शोषक वर्ग) पक्षमा समर्थित छ भने डबलसिंहहरूको राजनीति आम शोषित–पीडित जनसमुदायको विद्रोह चेतनाबाट उत्पाडित र वहुसङ्ख्यक जनताप्रति । राजनीतिलाई वर्गसङ्घर्षको रूपमा व्यक्त गरिएको छ । बाघलाई बाघकै रूपमा प्रस्तुत गरिएको छ भने बाख्रोलाई बाख्राकै रूपमा अर्थात् विपरीत वर्गहरूको सम्झौताहीन सङ्घर्षलाई यस नाटकले स्थापित गर्न खोजेको छ । “सम्झौता हैन, सङ्घर्षको बाटो” “पूजा” नाटकले अवलम्बन गरेरको वैचारिक बाटो हो । फरक–फरक दर्शनबाट विकसित भएका विपरीत वर्गहरूले विचारधारात्मक रूपले पनि फरक हैसियत राख्छन् भने राजनीतिमा पनि फरक–फरक भूमिकाहरू लिएर समाजमा देखा पर्दछन् । यस प्रकारको राजनीतिक सङ्घर्षमा मुक्तिकामी पक्षले बढीभन्दा बढी सङ्घर्ष र कुर्वानी व्यहोर्नु परेको छ । किनभने यो वर्गसँग केवल विचार मात्र एउटा शक्ति हो, जुन शक्तिमा पटक पटक स्खलन हुने गर्छ । जम्मै साधन र स्रोत शोषक वर्गकै हातमा केन्द्रित भइरहेको सन्दर्भमा शोषित वर्गका पनि वैचारिक स्खलन हुने हो भने त्यसको गति के हुन्छ ? अर्थात् मुक्ति आन्दोलन एउटा कथा मात्रै बन्छ । प्रस्तुत “पूजा” नाटकले सम्झौतालाई वैचारिक स्खलनको श्रेणीमा राखेको छ । सङ्घर्षलाई भावी विजयको अन्तिम अस्त्रको रूपमा व्याख्या गर्दछ । यो प्रस्तुति र व्याख्या द्वन्द्वात्मक भौतिकवादको दार्शनिक जगमा खडा भएको माक्र्सवादी–लेनिनवादी राजनीतिक प्रवृति हो । फरक वर्गहरू सङ्घर्षको मैदानमा छन् । उनीहरूको राजनीतिक सङ्घर्षले वर्गसङ्घर्षको सिद्धान्तलाई आत्मसात गरेको छ भने वर्गसमन्वयको सिद्धान्तलाई पूर्ण रूपमा इन्कार गरेको छ । यसरी सामान्य विद्रोह भावबाट उठान हुँदै राज्यका शक्तिपीठहरूलाई धक्का दिन थालेको राजनीतिक सङ्घर्षको अवस्थालाई “पूजा” नाटकले स्पष्टसँग प्रस्तुत गरेको छ ।

३. “पूजा” नाटकमा वर्गीय पक्षधरताको स्थिति

नाटककार जीवन शर्मा आफै पनि शोषित वर्गको राजनीति र विचारलाई आत्मसात र कार्यान्यन गर्ने राजनीतिक तथा सांस्कृतिक योद्धा भएकाले तथा हरेक सङ्घर्षहरूलाई द्वन्द्वात्मक भौतिकवादको दृष्टिकोणबाट विचार गर्ने प्रवृति बोकेका कारणले सामाजिक वर्गहरूबीचको सङ्घर्षमा वर्गीय पक्षधरता देख्नु नाटकको स्वतः सही अधिकारभित्रको कुरा हो । तर जे भए पनि नाटककार र स्रष्टा हुनाको हैसियतलाई उनले पूर्ण रूपमा कायम पनि राखेका छन् । नाटकका पात्रहरूले सामाजिक वर्गहरूको प्रतिनिधित्व गरेका छन् र उनीहरूले परिवेश बोलेका छन् । त्यसरी परिवेशलाई बोल्ने क्रममा समाज विभाजित हुन्छ । “म खाऊँ”, “हामी आऊँ” तथा “तँ गर” र “हामी गरौँ” जस्ता प्रवृत्तिहरूले समाजमा वर्गहरू पैदा हुन्छन् । “म” र “हामी” को राजनीतिक अर्थ फरक र निकै गहन पनि छ । “म” ले गव्बरेहरूलाई अस्तित्वमा ल्याउँछ भने “हामी” ले डबलसिंहहरूलाई अस्तित्वमा ल्याउँछ । वर्गहरू विभाजित भएका छन् भने शोषक वर्गीय राज्यसत्ताले शोषक वर्गलाई नै सहयोग र समर्थन गरेको अवस्था छ । शोषित र शोषक वर्ग यहाँ देखा पर्छन् । वैचारिक रूपले उनीहरूको सङ्गठनको ढाँचा पनि फरक–फरक कित्तामा उभिन्छ । आर्थिक, सामाजिक र विभिन्न ढङ्गले शोषित जनसमुदाय एकातिर, शोषक वर्ग, राज्य सरकार र प्रशासन† अर्कातिर, उभिएको वर्गसङ्घर्षको पहाड यहाँ देख्न पाइन्छ । उत्पीडनबाट मुक्ति खोज्नेहरूले आफ्नो वर्गलाई पछ्याउने कोशिस गरेका छन् भने शोषक वर्गका पक्षधरहरू पनि आफ्नो वर्गीय स्वार्थका लागि प्रयासरत छन् । नाटककारले कुशलतापूर्वक वर्गीय पक्षधरताको राजनीति प्रस्तुत गरेका छन् । हरेक विचार र राजनीति वर्गीय हुन्छ र सबै क्रियाकलापहरू वर्गीय पक्षधरतासँग सम्बन्धित हुन्छन् भन्ने कुरालाई नाटकले स्पष्ट गरेको छ ।

४. निष्कर्ष :

“पूजा” नाटक वैचारिक छ । यसका विविध रस र आयामहरू छन् । विचारका आधारमा शक्ति केन्द्र बसेको छ । त्यसैबाट सङ्घर्षहरू उत्पन्न हुन्छन्, शक्तिहरू निर्माण हुन्छन् तथा दमन र प्रतिरोधका शृङ्खलाको थालनी हुन्छ । पक्ष–विपक्षहरूले विचारको जगमा उभिएर आफ्नो वर्गीय स्वार्थलाई पूरा गनै प्रयास गरेका छन् । वैचारिक भएता पनि उदीयमान र युक्तिसङ्गत विचार र त्यसलाई आत्मसात गरेको वर्गले विभिन्न उतरचढावको सामना गरेर अन्तिममा विजय हासिल गर्छ भन्ने तथ्यलाई प्रकाशमा ल्याइएको छ । यसरी विचारको क्षेत्रमा “पूजा” नाटकले प्रगतिवादलाई आत्मसात गर्दछ । त्यसकारण क्रान्तिकारी र सशक्त हुनाका साथै उदीयमान वर्गका लागि प्रचन्ड प्रभावकारी पनि छ ।

(स्रोत : रातो लालटिन वर्ष १४ अङ्क ३, २०७० कार्तिक–पुस बाट)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.